तीज पर्व : महिला सशक्तिकरण र आत्मसम्मानको पर्व

तीज पर्व : महिला सशक्तिकरण र आत्मसम्मानको पर्व


तीज आयो भनेर गाउँघर र शहर दुवैतिर रमाइलोको तरङ्ग चल्न थाल्छन् । टोल-छिमेकका आँगनहरू सजिन थाल्छन्, महिलाहरू रंगीचंगी पहिरनमा सिँगारिएर झुम्मिन थाल्छन् । फेसबुक, युट्युब, टिकटक लगायतका सामाजिक सञ्जालहरूमा तीज आउनु केही दिनअघि देखि नै तीजका गीतहरू गुञ्जिन थाल्छन् । जहाँ हेऱ्यो, त्यहाँ ‘रातो सारी, चुरा, पोते’मा सजिएका महिलाहरू आफ्नो नाचगानमार्फत तीजको स्वागत गरिरहेका हुन्छन् । फोटो, भिडियो र लाइभ कार्यक्रममार्फत महिलाहरू आफ्नो खुशी, आस्था र पहिचानलाई सामाजिक सञ्जालमा सेयर गर्छन् । कलाकार, गायक-गायिकाहरू पनि यस पर्वलाई अझ रंगीन बनाउने प्रयासमा जुटेका हुन्छन् । आधुनिक शैली र परम्परागत भाकाको संयोजनमा आधारित तीजका नयाँ गीतहरूले सबै पुस्तालाई जोड्ने प्रयास भइरहेको हुन्छ । गायक पुरुषहरू पनि स्वर र संगीतमार्फत महिलाको कथा, व्यथा, र उत्सवको सार प्रस्तुत गर्न तत्पर देखिन्छन् । यतिमात्र होइन, देश-विदेशका नेपाली महिलाहरूले सामाजिक सञ्जालमा तीजको तयारी देखाउँछन्, गीतहरू शेयर गर्छन्, अनि आफ्ना कथाहरू सुनाउँछन् । यिनै दृश्य र भावनाहरू मिलेर बनाउँछ तीजको ‘माहोल’ जुन केवल भौतिक सजावट होइन, आस्था, समर्पण, संघर्ष र पहिचानको पर्व हो ।

तीज पर्वको धार्मिक पृष्ठभूमि निकै पुरानो छ । हिन्दू धर्मग्रन्थहरूमा वर्णित कथन अनुसार, देवी पार्वतीले भगवान् शिवलाई पतिको रूपमा प्राप्त गर्न कठोर तपस्या गरेकी थिइन् । त्यो तपस्या सफल भएपछि शिवले पार्वतीलाई स्वीकार गरे । त्यसैको सम्झनामा महिलाहरूले पनि आफ्नो वैवाहिक जीवन सुखी होस्, वा भावी जीवनमा राम्ररी अघि बढ्न सकोस् भन्ने कामनासहित व्रत बस्छन् । तथापि, आजको तीज केवल पतिको प्राप्तिको निम्ति गरिएको ब्रत होइन – यो महिलाहरूको आत्मबोध, आत्मबल र सामाजिक चेतनाको उत्सव बनेको छ ।

तीजको माहोलले महिला सशक्तिकरणको बहुआयामिक परिप्रेक्ष्य ल्याएको छ । विगतमा तीजको महत्व केवल धार्मिक र परम्परागत सीमामा सीमित थियो भने आज यसको घेरो सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक पक्षसम्म फैलिएको छ । महिलाहरू अब केवल व्रत र पूजा गर्ने पात्र होइनन् तीजको माध्यमबाट आफ्नो आवाज बुलन्द गर्ने, समाजको गलत सोचप्रति प्रश्न उठाउने, अनि समानताको पक्षमा बोल्ने बनेका छन् । सामूहिक नाचगान, गीत लेखन, नारी विषयमा केन्द्रित कार्यक्रमहरू र संवादको आयोजनाले तीजलाई नयाँ परिभाषा दिएको छ । आजको तीज महिलाहरूको सामूहिक अभिव्यक्तिको स्वरूप बनेको छ । विभिन्न संघ-संस्था, बचतसमुहरू, महिला समूहहरू, सहकारी, लगायतका विभिन्न समूहरूले सामूहिक रूपमा मिलेर तीजका कार्यक्रमहरू आयोजना हुने गरेका छन् । यी कार्यक्रमहरू केवल रमाइलोका लागि होइन, सशक्त विचार आदानप्रदान, नारी शिक्षा, लैङ्गिक समानता, हिंसाविरुद्ध चेतना र आर्थिक सशक्तिकरणजस्ता विषयमा केन्द्रित हुन्छन् । यसरी तीज अब ‘नाच्ने’ र ‘गाउने’ पर्व मात्र नभइ ‘बोल्ने’ पर्व पनि बनेको छ ।

महिला सशक्तिकरणको सन्दर्भमा तीज पर्व एक प्रतीक हो । महिलाले आफूलाई समाजको निर्णय प्रक्रियामा ल्याउन, आफ्नो अनुभव सुनाउन, र आफ्नो उपस्थितिलाई मूल्य दिनका लागि तीज पर्व एउटा सशक्त माध्यम बन्न गएको छ । विशेषगरी ग्रामीण क्षेत्रमा, जहाँ महिलाको स्वर प्रायः दबिन्छ, त्यहाँ तीजको बेला महिलाले खुलेर गाउन पाउँछन्, आफ्नो दुःख, पीडा, आशा र सपना । यस्ता गीतहरू केवल सांस्कृतिक मनोरञ्जनका लागि मात्र होइन, महिलाहरूको जीवनको जीवित दस्तावेज हुन् ।

तीज पर्वले महिलाहरूको आर्थिक सशक्तिकरणमा पनि उल्लेखनीय योगदान दिन थालेको छ । महिलाहरूले यस अवसरमा उत्पादन गरिएका सामानहरू (जस्तै- तीजको सजावट, श्रृंगार सामग्री, मौलिक पहिरन, परिकारहरू) बजारमा ल्याउन थालेका छन् । घरेलु उद्यम र हस्तकला प्रवद्र्धनमा तीज महत्त्वपूर्ण अवसर बनेको छ । सहकारी संस्थाहरूले तीजको मेलामा महिला उद्यमीहरूलाई स्टल उपलब्ध गराउने, उत्पादन प्रदर्शन गर्ने र बिक्रीको अवसर दिने गरेका छन् । यस्तो कार्यले महिलाहरूलाई आर्थिक रूपले आत्मनिर्भर बन्न, व्यापारिक सोच विकास गर्न र आफ्ना सीपहरू प्रदर्शन गर्न प्रेरित गरिरहेको छ ।

तीज पर्वले हाम्रो मौलिक संस्कृतिको संरक्षणमा पनि महत्वपूर्ण योगदान दिएको छ । आज जति आधुनिकता बढेको छ, त्यति नै परम्परागत गीतहरू, मौलिक नृत्य, लोकभाषा र परिकारहरू लोप हुने खतरा पनि बढेको छ । तीजका मौलिक भाका, झ्याम झ्याम नाच, ढोलक, मादलको ताल अनि माइती-ससुरालीको सम्बन्धमा गाइने गीतहरूले हाम्रो संस्कृति जोगाइरहेका छन् । स्थानीय सरकार, विद्यालय र सांस्कृतिक संस्थाहरूले यस्ता मौलिक तीज गीत प्रतियोगिता, परम्परागत पहिरन प्रर्दशनी र सामूहिक साँस्कृतिक कार्यक्रम आयोजना गरेर युवापुस्तालाई आफ्नो संस्कृति बुझ्न र आत्मसात गर्न प्रेरित गर्नु आवश्यक छ ।

आजको तीजको सन्दर्भमा पुरुषहरूको भूमिका पनि बहसको विषय बन्न थालेको छ । महिला सशक्तिकरण केवल महिलाले मात्र गर्ने कार्य होइन यो समग्र समाजले बुझ्नुपर्ने विषय हो । पुरुषहरूले तीजको मर्म बुझ्न, महिलाको योगदानलाई स्वीकार गर्न एवम् महिलाको स्वतन्त्रता र आत्मसम्मानलाई सम्मान गर्न जरुरी छ । कतिपय स्थानहरूमा पुरुषहरूले महिलाका लागि खाना पकाउने, उनीहरूका लागि कार्यक्रम व्यवस्थापन गर्ने वा तीज गीत लेख्ने, गाउने, नाच गरेर सहयोग गर्ने क्रम सुरु भएको छ । यस्ता क्रियाकलापले पारिवारिक समन्वय बढाउँछ, आपसी सम्मानको भावना बलियो बनाउँछ र लैङ्गिक समानताको अभ्यासमा सकारात्मक सन्देश दिन्छ ।

मानसिक स्वास्थ्यको दृष्टिकोणबाट पनि तीज पर्व महत्त्वपूर्ण छ । वर्षभरि घर-व्यवहार, जागिर, समाज र पारिवारिक दबाबका बीच महिलाहरू आफूलाई लुटाउँछन्, समर्पित गर्छन् । तीज त्यो समय हो जहाँ महिलाले आफूलाई सम्झन्छन्, आफूलाई प्रेम गर्छन्, र आफूभित्रको शक्ति र अस्तित्वको पुनः स्मरण गर्छन् । सामूहिक नाचगान, गीत लेखन, मिलन र संवादका माध्यमबाट महिलाहरूको भावनात्मक थकान कम हुन्छ, सामूहिक सदभाव पाउँछन् र मानसिक रूपमा बलियो महसुस गर्छन् । यसरी तीज केवल धार्मिक पर्व मात्र नभइ एक प्रकारको ‘थेराप्युटिक फेस्टिवल’ बन्न पुगेको छ ।

नयाँ पुस्ता र तीजको सम्बन्धलाई पनि हामीले गम्भीर रूपमा लिनुपर्छ । आजका युवतीहरू, विशेषतः शहरमा हुर्किएकाहरूले तीजलाई फैशन, फोटोशूट वा टेण्डी ट्रेन्डको रूपमा हेर्न थालेका छन् । तर त्यो बाह्य स्वरूपमा मात्र केन्द्रित हुँदा तीजको गहिरो मर्म गुम्न सक्छ । त्यसैले परिवार, विद्यालय र समुदायले युवापुस्तालाई तीजको मूल कथा, देवी पार्वतीको तपस्याको दर्शन, महिलाको संघर्ष र सामाजिक सन्देशलाई बुझाउने खालका कार्यक्रम सञ्चालन गर्न जरुरी छ ।

निष्कर्षका रूपमा भन्नुपर्दा, तीज पर्व केवल देवीको पूजा वा रीतिरिवाजको निरन्तरता मात्र होइन, यो पर्व महिलाहरूको आत्मविश्वास, सामाजिक चेतना, आर्थिक आत्मनिर्भरता र सांस्कृतिक पहिचानको पर्व हो । यस पर्वले महिलाहरूलाई नाच्न, गाउन र रमाउन मात्र होइन, सोच्न, बोल्न र बदल्न पनि सशक्त बनाएको छ । तीजले आस्थाको माध्यमबाट मानसिक सशक्तिकरण, संगठनको माध्यमबाट सामाजिक सशक्तिकरण, र सीपको माध्यमबाट आर्थिक सशक्तिकरण गर्न भूमिका खेलिरहेको छ ।

यस पर्वको मर्मलाई बुझ्ने, यसको सकारात्मक रूपान्तरणलाई साथ दिने र भावी पुस्तालाई यसको सही मूल्य हस्तान्तरण गर्ने हामी सबैको उत्तरदायित्व हो । जब महिला सशक्त हुन्छिन्, तब मात्र समाज सशक्त हुन्छ । तीज यो यात्राको एक सशक्त माध्यम हो । हामीले यो पर्वलाई केवल संस्कारको निरन्तरता नभइ, समृद्धिको सम्भावना बनाउनु पर्छ । तीज हाम्रो गौरव हो नारीत्वको, संस्कृतिको र परिवर्तनको ।

(लेखक डा. ढकाल नेपाल बौद्धिक परिषद्की प्रचार सचिव हुन् ।)