उपभोक्तावादको नियमन नै पर्यावरणको संरक्षण

उपभोक्तावादको नियमन नै पर्यावरणको संरक्षण


विश्वव्यापीकरणको यस युगमा उपभोक्ता/भौतिकवादको वर्चस्व र पर्यावरणको दुष्चक्रले विश्व आहत हुने क्रम बढ्दो दरमा रहेकाले आगामी दिनहरूमा मानवले अझ बढी कष्टकर जीवन झेल्नुपर्ने हुन सक्छ । यसको अल्पदृष्टिको लाभचक्रले पृथ्वीको स्वास्थ्यलाई दीर्घरोगी बनाउँदै लगेको छ । अझ भनौँ पर्यावरणमा नुनचुक दलिए जस्तो भएकाले पृथ्वी उकुसमुकुसमा छ । मानव सभ्यता ध्वस्त पार्ने पर्यावरणीय जोखिम/खराबीहरू (जलवायु परिवर्तन र बढ्दो वैश्विक तापक्रम) चरमचुलीतिर अग्रसर भइरहेका तथ्याङ्कहरू बेलाबखत आइरहेकै छन् ।

हिमताल/नदी (रसुवाको भोटेकोशी, हुम्लाको तिलगाउँ, सोलुखुम्बुको थामे) सिर्जित बाढी र जनधनको बर्बादी, गत वर्ष रोशीनदीले बीपी राजमार्गको केही खण्ड ध्वस्त पारेको कष्टदायी हालत, खीर गंगा नदी (भारत, उत्तराखण्ड) आरीघोप्टे वर्षापछि आएको माटोपानीको भयावह बहावले उत्तरकाशी जिल्लाको धराली र हर्सिल क्षेत्र तहसनहस भएको हृदयविदारक दृश्य र अमेरिकाको टेक्ससमा पानीको वितण्डाले वातावरण बिथोलिएर निम्तिएका केही प्रकृतिक विपत्तिका प्रतिनिधि/(अ)प्रत्यक्ष भोगाइहरू मात्रै हुन् भन्न सकिन्छ ।

प्रकृतिप्रदत्त निःशुल्क उपहार- हावा, पानी, जङ्गल, जमिन, जडीबुटी जस्ता पर्यावरणमाथिको खेलवाड र अन्धाधुन्ध उपभोक्तावादको दौडले लियो टोल्सटोयको लोकप्रिय कथा ‘मानिसलाई कति जमिन चाहिन्छ ?’ भन्ने जीवनदर्शनको पाठलाई अन्तरदृष्टिले उधिन्नु/घोत्लिनुपर्ने सान्दर्भिकता अझ बढेर गएको हो कि जस्तो लाग्छ । अमेरिकी जीवशास्त्री र वातावरणविद् बैरी कोम्नरका अनुसार पर्यावरणका चार अलिखित नियमहरू (प्रकृतिका सबै जीवजन्तु एवम् चिजबिजहरू एकआपसमा अन्तरसम्बन्धित छन्; प्रकृतिमा फालिएको मानव फोहोरले कतै न कतै असर गर्छ; प्रकृतिको आफ्नै स्वचालित लय हुन्छ अर्थात् मानवले चलाए उल्टो असर पर्छ; निःशुल्क प्राप्त प्राकृतिक फाइदाको मूल्य मानवले भुक्तान गर्नुपर्छ) को बुझपचाइ/अल्पबुझाइले अकल्पनीय दुष्परिणामहरूको भागीदार र शिकार मानव स्वभाविक रूपमा हुन पुगेका अनेकानेक परिदृश्यहरूले झल्काउन थालेको देखिन्छ ।

वैश्विक दुष्परिणामका केही तथ्य र तथ्याङ्क

संसारमा प्राकृतिक संसाधनको अत्यधिक उत्खनन् (प्रत्येक वर्ष लगभग सय बिलियन टन खनिज जो सन् १९७० को भन्दा तीन गुना बढी) भएको पाइन्छ । प्रमुख सय जैविक इन्धन उत्पादकहरू ७१ प्रतिशत वैश्विक हरितगृह ग्यास उत्सर्जनमा उत्तरदायी छन् । भारत, चीन र अमेरिकाको समग्र कार्बन डाइअक्साइड उत्सर्जन ४५ प्रतिशत भन्दा बढी देखिन्छ, जहाँ वैश्विक जनसङ्ख्याको झन्डै एक चौथाई रहन्छन् । संयुक्त राष्ट्र संघ खाद्य तथा कृषि संगठन लेख्छ- कृषि तथा औद्योगिक विस्तारका लागि प्रत्येक वर्ष १० मिलियन हेक्टर जङ्गल नोक्सानी हुन्छ । पूँजीपतिको कृषि-व्यापारसँग जोडिएको उष्ण प्रदेशीय वनविनाश ५० प्रतिशतभन्दा धेरै रहेको तथ्याङ्क पाइन्छ । विश्वव्यापीरूपमा खेर गएको फोहोरपानीको लगभग २० प्रतिशत औद्योगिक गतिविधिको भागमा पर्न आउँछ अनि ठूलो मात्रामा उपचार (शुद्धिकरण) नगरिकनै नदीनालामा मिसिन पुग्छन् । विश्वव्यापी जमिनको करिब ३३ प्रतिशत औद्योगिक कृषि र रसायनको कारणले माटो क्षय (माटो कटान, जमिनको उर्वराशक्ति तथा उत्पादकत्व घट्नु आदि) ले कृषिको उत्पादन तथा गुणस्तर खस्कँदै जनजीविकामा गम्भीर असर पारिरहेको छ । सन् १९७० यता वैश्विक जङ्गली जनावरको जनसङ्ख्या औसत ६९ प्रतिशतले घटेको देखिन्छ । मानव क्रियाकलाप (धेरैजसो औद्योगिक वृद्धि गर्दाखेरि) को कारणले एक मिलियन प्रजाति लोप हुने अवस्थामा छन् । संसारले प्रत्येक वर्ष २.२४ बिलियन टन ठोस फोहोर निकाल्छ जो सन् २०५० सम्ममा बढेर ३.४ बिलियन टन पुग्ने अनुमान छ । सन् २०२१ मा विद्युतीय फोहोर मात्रै ५९ मिलियन टन निस्कियो, जो अधिकांश औद्योगिक अर्थतन्त्रका थिए । बाहिरी हावाको प्रदूषणले ४.२ मिलियन भन्दा बढी मानिस प्रत्येक वर्ष मृत्युवरण गर्न पुग्छन् । यस्तै-यस्तै यावत् तथ्य र तथ्याङ्कहरूले पृथ्वीमा मानवको बास दुष्कर हुँदै जाने देखाउँछ ।

आशाको धूमिल प्रकाश

ठूला-ठूला कम्पनीहरू (जस्तै स्विडिस बहुराष्ट्रिय कम्पनी आइकिया (IKEA) ले सन् २०३० सम्ममा शतप्रतिशत चक्रिय अर्थात् जलवायु सकारात्मक कम्पनीमा लैजाने) का समय-समयको प्रतिबद्धताले पनि पर्यावरणीय जोखिमलाई केही हदसम्म न्यून बिन्दुमा झार्न प्रयत्नशील रहेको आशाको मधुरो किरण मान्न सकिन्छ । विकसित अर्थतन्त्रहरूले अपनाएका समाधानका उपाय तथा नीतिहरू हरित प्रविधिमा अन्वेषण (नवीकरणीय ऊर्जामा लगानी, विद्युतीय सवारी साधनको बढ्दो प्रयोग, प्रदूषण नियन्त्रण, कार्बन क्याप्चर र स्टोरेज आदि), चक्रिय आर्थिक अभ्यासहरू, वातावरणीय, सामाजिक तथा सुशासनका क्रियाकलापहरूमा बढ्दो लगानी, दिगो विकासको प्रवर्द्धन आदिले सकारात्मक दिशामा पहल गरे तापनि समस्याका आकारको हिसाबले ‘हात्तीको मुखमा जिरा’ नै बोध हुन्छ ।

नेपालको भोगाइ

सन् १९९० मा आर्थिक उदारीकरणको अवलम्बनले गति लिएपश्चात् नयाँ-नयाँ पुँजीका स्रोतहरू खुलेसँगै पर्यावरणमाथि प्रहारहरू अझ बढ्न थालेको देख्न-सुन्न-पढ्न पाइन्छ । बढ्दो शहरीकरणले निम्त्याएको गम्भीर हावा प्रदूषण, अव्यवस्थित निर्माण तथा बसोबास, परम्परागत पानीका स्रोतहरू जस्तै ढुङ्गेधारा सुक्नुले पर्यावरण नराम्ररी बिटुलिएका सङ्केत तथा कारणहरू हुन् । त्यसमाथि मधेसमा चुरेको विनाशले देखापरेको हालको जलसङ्कट एक प्रतिनिधि भोगाइको उदाहरण मात्र हो । सन् २०१९-२००० को अवधिमा बस्ती र पूर्वाधार विस्तारको कारण कृषियोग्य जमिन २.१ प्रतिशतले घटेको तर गाउँघरका बस्ती खाली हुँदै जानाले वनक्षेत्र चाहिँ १.७ प्रतिशतले बढेको पाइन्छ । त्यस्तै, शहरी घरपरिवार र बजारहरूमा ६० प्रतिशत भन्दा बढी ठोस फोहोर निस्कन्छन्, जसको कमजोर रिसाइक्लिङ प्रणाली देखिन्छ । नदी प्रदूषित हुने मुख्य कारण औद्योगिक गतिविधि रहेको धेरै अध्येताहरूको मतैक्य छ । फोहोरपानीको करिब १२ प्रतिशत मात्रै शुद्धिकरण हुने गरेको पढ्न पाइन्छ । विगतमा भक्तपुरका इँटाभट्टाहरूबाट उत्सर्जित धुलो-धुवाँका विषाक्त कणहरूले कतिको स्वास्थ्य बिगाऱ्यो… ? स्थानीय जैविक विविधतामा कतिको हानी/नोक्सानी गऱ्यो… ? जस्ता कैयौँ पर्यावरणीय क्षतिको ठोस लेखाजोखा हुन नसकेको जगजाहेर छ ।

अन्त्यमा,

उपभोक्ता/कृत्रिम भौतिकवादले समाजलाई तीव्रतर दरमा लपेट्दै लगेको लुकेछिपेको कुरा होइन । खासगरी पुँजीवादले विभिन्न अन्वेषणद्वारा अनेकन सुविधाहरू उपलब्ध गराउने हुनाले जो-कोही तत्कालिक सुखमा मजैले भुल्न पुग्छन् । तर दीर्घकालीन वातावरणीय अनिश्चितताहरूको जालोमा थाहा पाइ-नपाइ फस्न पुग्छन् । त्यसैले बस्तु तथा सेवा उत्पादन र उपभोग गर्ने तौरतरिकामै आधारभूत परिवर्तन नगरेसम्म समस्याको निप्टाइमा डेग चल्न मुस्किल छ । दीगो तथा चक्रिय अर्थतन्त्र (बस्तुहरूको पुनः प्रयोग-मर्मत-नवीकरण-रिसाइक्लिङ ढाँचा अवलम्बन गर्ने न कि लेउ-बनाउ-मिल्काउको परम्परागत मोडेल) मा जानु अनि आर्थिक समृद्धिलाई सामाजिक कल्याण तथा पर्यावरणीय जोखिमको लाभ लागत विश्लेषणको गहन मूल्याङ्कन पद्दतिले नअँठ्याएसम्म सर्वनाशको बाटोतिर नै लाग्ने संशय अधिक छ । मानवको निःसङ्कोच/स्वार्थजनित उपभोक्तावादको खेलाले अतिक्रमित पर्यावरणको निहुँले पृथ्वी कुनै पनि बखत घोर प्रतिकूल हुन के बेर…!

अतः समय नघर्किंदै ‘ल्हासा जाने कुतीको बाटो’ हुन नदिन, अझ भनौँ पर्यावरणीय संरक्षण तथा सम्वर्द्धनको लगामले उपभोक्तावादलाई बेलैमा पगाहा लगाउन हरेक मानव मन-वचन-कर्मको एकनिष्ठ मन्त्रणासहित आजैदेखि दरो चालले लाग्ने हो कि… ? नत्र एलोन मस्कले भनेझैँ – मङ्गलग्रह आत्मनिर्भर हुनुभन्दा पहिले नै पृथ्वीको सभ्यताको अन्त्य भयो भने अरु केहीले माने राख्दैन । अनि मानव चेतनाको अस्तित्व माटोमा मिल्नेछ ।

(प्राध्यापन गर्दै आएका लेखक स्वतन्त्र अनुसन्धाता हुन् ।)