जिन्दगी धान्नलाई काम..काम भन्दाभन्दै जीवन बाँच्नै पाएको छैन, सहजरूपमा जीवन बाँच्नु छ । प्राकृतिक दृष्यहरू हेर्नु छ, आफ्नै देशका डाँडाकाँडा, हिमाल, तराई, पहाड घुम्नु छ । अरुको जीवनमा अलिकति आत्मविश्वास भर्नु छ, जिन्दगीमा भोगको अनुभवहरू लेख्नु छ, बोल्नु छ, के के छ के के !
✍ बबिता बस्नेत
कहिलेकाहीँ लाग्छ- जीवन धेरै लामो छ । कहिले लाग्छ- जीवन छोटो छ । खासमा जीवन छोटो छ कि लामो ? सायद लामो र छोटो दुवै छ । हामीले खुशीसाथ सहजरूपमा समय बिताउन पायौँ भने जीवन छोटो छ, तनावमा रहेर सकसपूर्ण बाँच्नु पऱ्यो भने जीवन लामो छ । जीवनलाई सकसपूर्ण बनाउने कि सहज भन्ने कुराचाहिँ आफूवरिपरिका कतिपय कुरालाई हेर्ने दृष्टिकोणमा भर पर्छ । कसले के खायो, के लायो, किन त्यस्तो गऱ्यो, कसरी त्याहाँ पुग्यो जस्ता कुराहरूबाट मुक्त हुनासाथ जीवन सहज हुन्छ । ‘समय’ जिन्दगीमा निकै महत्वपूर्ण कुरा हो । आएको समय, गएको पनि समय । आउँदैछ जस्तो लाग्ने पनि समय, जाँदैछ जस्तो लाग्ने पनि समय । जन्मिदाको पनि समय, मर्दाको पनि समय । यही समय हो जहाँ हामी जन्मन्छौँ, यही समय हो जहाँ हामी हुर्किन्छौं र आफ्नो जीवनका विविध पाटा बिताउँछौं, यही समय हो हामी मर्छौं । अनि यही समय हो हामी बाँचिरहेका छौँ । हामीसँग जिन्दगीको कति समय बाँकी छ भनेर चाहिँ हामी कसैले पनि भन्न सक्दैनौँ ।
जिन्दगीको पूरै समय बाँचियो भने हामी ८० वा ८५ को आसपास या वरपर बाँच्छौं । हामीले आ-आफ्नो उमेरलाई केन्द्रबिन्दु मानेर हेरौँ त अब कति समय बाँकी छ ? मेरो उमेरको हाराहारीका मानिसको बढिमा ३० वर्ष । त्यसो त भोलि नै या एकैछिनपछि नै जेपनि हुनसक्ने वास्तविकताका साथ हामी बाँचिरहेका छौँ । तथापि पूरा समय बाँचियो भने ३० वर्ष, त्यो ३० वर्षमा १५ वर्ष त रात नै हुन्छ, बाँकी रह्यो १५ वर्ष । विगतको १५ वर्षलाई हेरौँ त कसरी एकैछिन जस्तो गरेर बितेको थियो ? यो १५ वर्षमा कसैलाई राम्रो गर्नका लागि त समय छैन, नराम्रो गर्ने समय कहाँ पाउनु ? कति काम गर्नु छ, कति मूल्य मान्यताहरू बदल्नु छ, कति नयाँ-नयाँ कुराहरू अपनाउनु छ । जिन्दगी धान्नलाई काम.. काम भन्दाभन्दै जीवन बाँच्नै पाएको छैन, सहजरूपमा जीवन बाँच्नु छ । प्राकृतिक दृष्यहरू हेर्नु छ, आफ्नै देशका डाँडाकाँडा, हिमाल, तराई, पहाड घुम्नु छ । अरुको जीवनमा अलिकति आत्मविश्वास भर्नु छ, जिन्दगीमा भोगको अनुभवहरू लेख्नु छ, बोल्नु छ, के के छ के के !
पूर्वीय दर्शनले समयलाई चार युगमा विभाजित गरेको छ, सत्य युग, त्रेता युग, द्वापर युग र कलि युग । सत्य युग १७ लाख २८ हजार वर्षको थियो भन्ने छ । त्रेता युग १२ लाख ९६ हजार, द्वापर युग ८ लाख ६४ हजार र कलि युग ४ लाख ३२ हजार वर्षको । तर कुनै पनि मानिसको जिन्दगीको समय तोकिएको छैन । जतिसुकै धनी होस् या नामी, कसको समय कति हो कसैले भन्न सकेको छैन । सत्ता, शक्ति सबै क्षणिक हुन् । तथापि, आफू ठाउँमा हुँदा राम्रो ऱ्यो भने आगामी पुस्तालाई काम लाग्ने रहेछ । विगतमा राणाजीहरूले गरेका कतिपय कामहरू राम्रा थिएनन् होला तर उनीहरूले ठुला र राम्रा भवनहरू बनाइदिएका कारण अहिले हामीलाई ती भौतिक संरचनाको प्रयोग गरेर संचालन गर्न सहज भएको छ । प्रधानमन्त्री कार्यालय, मन्त्रालयका भवनहरू हेर्दा राम्रा छन् । हिजोका पुस्ताले निर्माण गरिदिएका कारणले यी भौतिक संरचनाहरू अहिलेका पुस्तालाई उपयोग गर्न सहज भएका हुन् । हामीअघिको पुस्ताले हामीलाई प्रजातन्त्र ल्याइदिएर स्वतन्त्रता दियो । हाम्रो पुस्ताले आगामी पुस्तालाई के दिने हो ? हामी सबैको मनमा यस्ता प्रश्नहरूले ठाउँ लिनु आवश्यक छ जस्तो लाग्छ ।
विगतमा राणाजीहरूले गरेका कतिपय कामहरू राम्रा थिएनन् होला तर उनीहरूले ठुला र राम्रा भवनहरू बनाइदिएका कारण अहिले हामीलाई ती भौतिक संरचनाको प्रयोग गरेर संचालन गर्न सहज भएको छ । प्रधानमन्त्री कार्यालय, मन्त्रालयका भवनहरू हेर्दा राम्रा छन् ।
प्रकृति र मानिसको शरीरबीच गहिरो सम्बन्ध छ । आफूवरिपरिका रुखलाई हेरौँ, केही वर्षअघिसम्म कल्कलाउँदो बिरुवा थियो, हुर्किंदै गयो, बढ्दै गयो, फूल फुल्न थाल्यो, फल लाग्न थाल्यो । फूल फुल्दै गर्दा मानिसहरूले आहा… भने, कति राम्रो भनेर प्रशंसा गरे, बाटो हिँड्दै गरेका बटुवाले पनि एकछिन उभिएर हेरे, भमराहरू झम्मिए, वरिपरिको माहोल नै रमणीय बन्यो । फल लागेपछिको अवस्थाको त झन् कुरै भएन, हेर्दै रमाइलो… खान मिल्ने नमिल्ने कुनै पनि फल फलेको बेला रुख झन् राम्रो देखियो । चराहरू झुम्मिए, मानिसहरूले फल टिपे र रमाउँदै खाए । कतिपय फलहरूलाई असिनाले झाऱ्यो, कति चिचिलैमा निमोठिए, घाम पाएनन् र कतिलाई चाहिँ हावाहुरीले झाऱ्यो । वर्षौंसम्म फल दिएको रुख हेर्दाहेर्दै बिस्तारै कम फुल्न थाल्यो र थोरै फल दिन थाल्यो । पातहरू झर्न थाले, जिङ्रिङ्ग पर्न थाल्यो । चराहरू बास बस्न छोडे, मानिसहरूको पनि आँखा जान छोड्यो । केही वर्ष जिङ्ग्रिएर अन्ततः रुख मऱ्यो, मर्छ ।
मानिसको जीवन पनि त्यस्तै हो । कलिलो बच्चा बढ्दै गएर युवा बन्यो । युवा महिला, पुरुष या एलजीबीटीआइक्यू जे भएपनि शारीरिक परिवर्तनहरू भए । जीवनमा कहिले उत्साह उमङ्ग छायो त कहिले निराशाले घेऱ्यो । फल लागेका वृक्षको पछिलागे जस्तै गरी धन सम्पत्ति, पद भएका मानिसहरूका पछि कतिपय मानिसहरू लागे र खासै केही नभएकाहरूका पछि मानिसहरूको भीड लागेन । जीवनयात्रा अघि बढाउँदै जाँदा अनेक हुरी, खडेरी, खाल्डाखुल्डी, असिना जीवनमा पनि पऱ्यो । धान्न सक्नेले धाने, धान्न नसक्नेले संसार छोडेर पनि गए, जसरी कतिपय रुखहरू बीचैमा मरेका थिए । रुखका हाँगाहरू छिमलिएजस्तै मानिसका पनि कति इच्छा, आकांक्षा र चाहनाहरू छिमलिए, कतिले मौलाउने मौका पनि पाए । रुखको बोक्राहरू सुक्दै गएर साँघुरिए झैँ मानिसको मुहारमा पनि चाउरी परेर वरिपरि रेखाहरू बस्न थाले, बसे । कालो कपाल फूल्न थालेपछि तिलचामले हुँदै सेतो रङ्गमा परिणत हुन थाल्यो, भयो । फल लाग्न छोडेको रुखलाई झैँ मानिसहरूले अलि फरक ब्यवहार गर्न थाले । कुनै बेला आफ्ना बोली, शब्दहरू सुन्न अघि-पछि झुम्मिने मानिसका समूह कता गए थाहा भएन तर आफूले भन्न खोजेको कुरा सुनिदिने कोही भएन । कता कता हराए जस्तो, एक्लिए जस्तो महसूस हुँदाहुँदै जिन्दगी सकियो, सकिन्छ ।
हामीले ब्यक्त गरेपनि नगरेपनि जिन्दगीको वास्तविकता यही नै हो । त्यसैले अहिले हामी जहाँ छौं, जस्तो अवस्थामा छौं एकर्काका सहयोगी भएर बिताऔँ न कि अर्कालाई कसरी सकुँ भन्ने रणनीति बनाएर । जीवनको अन्तिम अवस्थामा मैले अरुलाई दुःख दिएका कारण खुशी जीवन बाँचें भन्ने मान्छे अहिलेसम्म भेटिएको छैन । अरुलाई दुख दिने, अरुको बारेमा नराम्रो सोच्ने मानिसहरूले पश्चाताप नै गरेको देखिएको छ । ‘अब मेरो समय कति छ र !’ भनेर निराश हुने मानिस पनि भेटिएको, देखिएको छ । जुन कुरा सही होइन । मसँग धेरै समय नभएका कारण यी दुई/चार वटा राम्रा कामचाहिँ गरिहालुँ भनेर गर्न सक्यो भने स-साना कुराले पनि जीवनमा खुशी दिन सक्छ । सबै मानिसले नीति, कानून, पुलपुलेसा, सडक नै बनाउनुपर्छ भन्ने छैन, आफू जहाँ छौँ त्यहीँबाट सामान्य प्रयास गर्दा पनि कसैको जीवन सहज हुन सक्छ । आफ्नो उमेर हेरौँ, वर्षहरू गनौँ, जिन्दगीलाई फर्किएर हेरौँ, आफू सहज बाँचौं र अरुलाई पनि सजिलो गरि बाँच्न सक्ने वातावरणको सिर्जना गरौँ ।
प्रतिक्रिया