डा. रामेश कोइरालाले पनि देश छोडेको सुनियो । यी जस्ता दक्ष, अनुभवी र जीवनदाताहरूलाई पलायन हुन बाध्य पार्नु केवल व्यक्तिगत क्षति मात्र होइन, यो राष्ट्रकै दुर्भाग्य हो । विदेशीहरू दक्ष जनशक्ति आयात गर्छन्, हामी पलायन रोक्न सक्दैनौँ… विडम्बना !
✍ रश्मिशेखर सुवेदी
बीस वर्षअघि डेढ वर्षकी सानी छोरी लिएर म गंगालाल हृदयरोग केन्द्रमा एक महिना बसेको सम्झना आलो छ ।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले ‘Breech infant’को रूपमा जन्मिएकी मेरी कान्छी छोरी जन्मिँदै मुटुको रोगी भएको पत्तो त लगायो, तर अस्पतालले उपचार कम र अध्यापन धेरै गऱ्यो मेरी छोरीमाथि । अस्पतालले निकै दिन ‘NICU’मा राखेर मेरो आर्थिक दोहन पनि गऱ्यो ।
NICU मा राखिएकी मेरी छोरीको अवस्था बुझ्न खोज्दा त्यहाँ कार्यरत एकजना भट्ट थरकी महिला डाक्टरले अपमानजनक व्यवहार गरेका कारण मैले जोखिम उठाएर छोरीलाई गंगालाल हृदयरोग केन्द्र बाँसबारी (काठमाडौं) पुऱ्याएँ । त्यहाँ परामर्श मिल्यो– ‘नानी डेढ वर्ष पुगेपछि शल्यक्रिया गर्ने ।’
नानी डेढ वर्षपुगेपछि फेरि लिएर गएँ गंगालाल अस्पताल । मेरी छोरीको जीवन बचाउन दुई देवदूत बने- डा. भगवान कोइराला र डा. रामेश । त्यो समय हाम्रो परिवारका लागि केवल उपचारको कुरामात्र थिएन, यो जीवन र मृत्युको सङ्घर्ष थियो । गंगालाल हृदयरोग केन्द्रको अपरेसन थिएटरमा यी दुई असाधारण चिकित्सकको दक्षता, धैर्य र समर्पणले मेरी छोरीको मुटुमा पुनः जीवनको धड्कन भरियो । न उनीहरूले मेरो आर्थिक अवस्था सोधे, न त धर्म, राजनीति वा जातको कुरा ! उनीहरूका लागि त्यो बालजीवन मात्र महत्त्वपूर्ण थियो ।
आज त्यही मेरी सानी छोरी संस्कृति सुवेदी काठमाडौंको एउटा प्रतिष्ठित कलेजमा ‘बिबिए’को अन्तिम वर्षमा अध्ययनरत छिन् र ‘कलेज टपर’ समेत भएकी छिन् । म जब उनको शैक्षिक उपलब्धि हेर्छु, त्यतिखेरको अस्पतालको दृश्य आँखामा आउँछ- यदि त्यो दिन यी दुई चिकित्सकको हातबाट उनको जीवन सफल नभएको भए, आजको यो क्षण कहिल्यै सम्भव हुने थिएन । यी दुईको हातबाट जीवन पाउने मेरी छोरीमात्र होइनन्, कैयौँ नाबालक, युवा, वृद्धवृद्धाहरू अझै पनि सास फेर्दैछन्- जसको वास्तविक हिसाब गंगालालको इतिहासका पानामा भेटिन्छ होला !
तर विडम्बना ! आज यी दुवै चिकित्सक गंगालाल हृदय केन्द्रमा छैनन् । डा. भगवान कोइराला आफ्नै मार्गमा लागिरहनुभएको छ र डा. रामेश कोइरालाले पनि देश छोड्नुभएको सुनेँ । यी जस्ता दक्ष, अनुभवी र जीवनदाताहरूलाई पलायन हुन बाध्य पार्नु केवल व्यक्तिगत क्षति मात्र होइन- यो राष्ट्रकै दुर्भाग्य हो । विदेशीहरू दक्ष जनशक्ति आयात गर्छन्, हामी पलायन रोक्न सक्दैनौँ…, विडम्बना !
नेपालमा स्वास्थ्य सेवा अझै पनि असमान, अपूरो र राजनीतिक प्राथमिकताबाट बाहिर छ । गाउँमा सिटामोल नपाएर मर्नेको कथा केवल सुन्नेमात्र होइन, आज पनि दोहोरिरहेछ । धेरै सरकारी अस्पतालहरूमा उपकरणको कमी, औषधिको अभाव र पर्याप्त दक्ष जनशक्ति नहुँदा सामान्य उपचार पनि चुनौतीपूर्ण हुन्छ । शहरका ठूला अस्पतालमा पनि धेरै समयसम्म बिरामीलाई उपचार पर्खन बाध्य बनाइन्छ, र जटिल रोगका बिरामीहरू अझै विदेश धाइरहेछन् ।
हामीसँग विश्वस्तरको जटिल शल्यक्रिया गर्न सक्ने चिकित्सकहरूको कमी छैन । नेपालका गंगालाल हृदयरोग केन्द्र, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायत धेरै सरकारी, नीजि तथा साामुदायिक अस्पातलहरूमा अनेक प्रतिभाशाली विशेषज्ञहरू छन्, जसले न्यून स्रोतमा पनि चमत्कारिक परिणाम देखाएका छन् । तर भागवण्डाको राजनीति, संस्थागत अस्थिरता र आवश्यक सम्मान र सुविधाको अभावले उनीहरूको मनोबल गिराइन्छ । कतिपयलाई त योजनाबद्ध रूपमा संस्थाबाट टाढा पारिन्छ, जसको परिणाम- प्रतिभा पलायन र सेवा/गुणस्तरमा गिरावट स्वाभाविक बनेको हुन्छ ।
स्वास्थ्य जीवनको अत्यन्त संवेदनशील विषय हो, तर लाखौँ नेपाली अझै पनि उचित स्वास्थ्य सेवाबाट वञ्चित छन् । यो अवस्था केवल स्रोतको अभावका कारण होइन, बरु राज्य हाँक्नेहरूको प्राथमिकतामा नागरिकको स्वास्थ्य नपरेको कारण हो । नेताहरू आफ्नो र आफन्तको जीवन र सुविधाको चिन्तामा मात्रै केन्द्रित छन्, अरूको जीवन र पीडाप्रति संवेदनशील देखिँदैनन् ।
जीवन दिने हातहरूलाई हामीले सम्मान गर्ने अवसर गुमाइरहेछौँ । उनीहरूलाई उपेक्षा, अविश्वास र राजनीतिक दबाबले टाढा धकेलिरहेछौँ ।
हाम्रा नेताहरूको ‘रोगी मानसिकता’ अझै विदेशी उपचारमा बाँचेको छ । सामान्य परीक्षणका लागि पनि उनीहरू राष्ट्रको ढुकुटी रित्याएर विदेश धाउँछन् । यहाँका विशेषज्ञहरूमाथि विश्वास नगरी विदेशी अस्पतालमा लाखौँ खर्च गर्न उनीहरूलाई सङ्कोच छैन । स्वदेशी स्वास्थ्य संस्थालाई सुविधा सम्पन्न र मर्यादित बनाउने सवालमा उनीहरू उदासीन छन् । यो प्रवृत्ति केवल स्वदेशी चिकित्सकको अपमानमात्र होइन, उनीहरूको मनोबल घटाउने काम हो । यसको प्रत्यक्ष परिणाम- स्वास्थ्य प्रणाली सुधार नहुनु र दक्ष जनशक्ति विदेशिने दर बढ्नु हो ।
गंगालाल हृदय केन्द्र केवल एउटा अस्पताल होइन, यो हजारौँ नेपालीको जीवनसँग जोडिएको विश्वासको नाम हो । यहाँ भएका शल्यक्रिया र उपचारले कस्तो स्तरको सम्भावना नेपालमा छ भन्ने प्रमाणित गरेको छ । तर राजनीति, स्वार्थ र अस्थिरताले केही उत्कृष्ट चिकित्सकहरूलाई टाढा हुन बाध्य पारेको देखिन्छ । डा. भगवान कोइराला र डा. रामेश केवल गंगालालका चिकित्सक मात्र होइनन्- उनीहरू जनताको आँखामा जीवनका प्रहरी थिए । उनीहरूको नेतृत्वमा गंगालालले हजारौँ मुटु-बिरामीको जीवन जोगाएको छ, त्यो पनि न्यून लागतमा । तर आज यो संस्था यस्ता दक्ष जनशक्तिहरुको अनुपस्थितिमा छ र यो केवल संस्थाको समस्या नभइ राष्ट्रकै समस्या हो । यसको अर्थ त्यहाँ अन्य सक्षम चिकित्सक छैनन् भन्नेचाहिँ होइन ।
अधिकांश नेपालीको स्वास्थ्य अवस्था आर्थिक क्षमता, भौगोलिक पहुँच र सेवा-गुणस्तरको असमानतामा अडिएको छ । ग्रामीण क्षेत्रमा स्वास्थ्य चौकीका नाममा भवन त छन्, तर सेवा छैन । शहरी क्षेत्रमा निजी अस्पतालको उपचार महँगो छ, जसलाई सामान्य नागरिकले धान्न सक्दैन । सरकारी अस्पतालमा सेवाको पहुँच भए पनि, भीड, उपकरणको कमी र राजनीतिक हस्तक्षेपले गुणस्तर घटाएको छ । यसबीच, जीवन दिने हातहरूलाई हामीले सम्मान गर्ने अवसर गुमाइरहेछौँ । उनीहरूलाई उपेक्षा, अविश्वास र राजनीतिक दबाबले टाढा धकेलिरहेछौँ ।
म मेरी छोरीको मुटुको धड्कन सुन्दा हरेकपटक सम्झन्छु- यी चिकित्सकहरू मात्र होइनन्, जीवनका प्रहरी हुन् । हजारौँ बालबालिका, युवा, वृद्ध-वृद्धाको सास उनीहरूको कारण अझै चलिरहेको छ । तर जब यस्ता हातहरू नै प्रणाली र नेतृत्वको कारण पलायन हुन बाध्य हुन्छन्, त्यो केवल कसैको व्यक्तिगत पीडा मात्र होइन- सिङ्गो राष्ट्रकै क्षति हो ।
नेतृत्वले विदेशी उपचार मोह त्यागेर स्वदेशी स्वास्थ्य सेवामा विश्वास र लगानी गर्न जरुरी छ । यो केवल उपचारको कुरा होइन, यो जनताको जीवन-गुणस्तर र राष्ट्रको आत्मनिर्भरता दुवैसँग सम्बन्धित विषय हो । जसले जीवन बचाउँछ, उसलाई केवल धन्यवाद होइन- संस्थागत कदर, सुरक्षा र दीर्घकालीन सहारा आवश्यक छ ।
यदि हामीले सोच परिवर्तन गर्न सकेनौँ भने, भोलिका पुस्ताले केवल पछुतोको कथा सुन्नेछन्- जीवन दिने हातहरू भने पहिले नै टाढा भइसकेका हुनेछन् ।
प्रतिक्रिया