मथुराबाट पलायन गर्दा होस्, अनेकौँ राजाहरूसँग युद्ध गर्दा होस्, सम्पूर्ण राजाहरूबाट सम्मान प्राप्त गर्दा होस्, हरेक ठाउँमा ‘ग्वाला’ भनेर अपमानित हुँदा होस् वा ऋषिहरूबाट सम्मान प्राप्त गर्दा होस् – कृष्णमा कुनै प्रकारको अतिउत्साह वा खेद देख्न सकिन्न । तेसैले विश्वका कुनै पनि देवीदेवता वा व्यक्तिसँग श्रीकृष्णको तुलना हुनै सक्दैन ।
✍ डा. गोविन्द एस. उपाध्याय
१. श्रीकृष्णले गीतामा आफू ब्रह्माण्डको ‘बीजतत्व’ भएको घोषणा गर्नुभएको छ । भने थप ठाउँहरूमा परमतत्व, परमसत्व, अनादितत्व, ब्रह्मतत्व, अक्षर र अक्षरातीत सत्व भएको कुरा धेरै ठाउँमा सूचित गर्नुभएकै छ । केहीले यो घोषणा मान्दैनन् । श्रीकृष्णलाई आदितत्व नै मान्दैनन् । केही गीताका ब्याख्याताले त कृष्णलाई ‘ब्रह्मको भूत’ भन्न भ्याएका छन् । तर श्रीकृष्णलाई यसप्रति कुनै गुनासो छैन । उनीसँग गुनासोका लागि कुनै ठाउँ नै छैन । यही कृष्णको सर्वकर्षण हो । नमान्नेहरूलाई दण्डित गर्ने श्रीकृष्णले आदेश दिनुभएको छैन । तर यी सूचना स्वीकार गर्न र नगर्न मान्छेलाई पूर्णस्वतन्त्रता प्रदान गर्नुभएको छ । तेसैले गीता धर्मग्रन्थ होइन, श्रीकृष्ण देवता होइनन् र श्रीकृष्ण लीला बायोग्राफी होइन । श्रीकृष्ण कुनै धर्मका ‘गड’ वा परमेश्वर पनि होइनन् । श्रीकृष्ण कि श्रीकृष्ण नै हुन् कि जगद्गुरू हुन् । तेसैले उनी सबैलाई आकर्षित गर्ने चुम्बक हुन् । कृष्ण जसले जसरी विचार गर्छ, त्यही हुन्छ । संसार कंशको सभागार हो ।
(२) आज वैज्ञानिक विश्वका लागि कृष्ण विवर (Black Hole) र कृष्णतत्व (Dark Matter) सबैभन्दा रहस्यको विषय हुन् । फिजिक्सको अनुमानमा विश्वास गर्ने हो भने डार्क-म्याटरमा तारामण्डलहरू (Galaxies) नियन्त्रित छन् । कृष्णले गीतामा म सम्पूर्णको आधार हुँ भन्नु र आधुनिक विज्ञानको उपरोक्त अनुमान के काकताली होला र ? भागवतको दशौँ स्कन्धको १४औं अध्यायमा ब्रह्माले अनेकौं तारामण्डलहरू, ती तारामण्डलमा अनेकौं पृथ्वीहरू र त्यसमा अनेकौं ब्रह्माहरूको दर्शन गरेको बयान छ । नेपाली फिजिक्सका विद्वानहरूका लागि उपर्युक्त विवरण अनुसन्धानको राम्रो उठान हुन सक्छ । कृष्ण विवर, कृष्णतत्व र कृष्णतत्वभित्रका अनेकौं तारामण्डलको बारेमा बोलिएको, लेखिएको प्राचीन साहित्य विश्वका कुनै सभ्यतासँग छैन । अचम्मको कुरा त के भने कृष्णको जन्म पनि कृष्णपक्ष (अँध्यारो) रात्रीमा नै भएको इतिहास छ ।
(३) धार्मिक प्रतिमानहरूलाई आधुनिक विज्ञानसँग दाँज्न खोज्नु र विज्ञानसम्मत भएको प्रमाणित गर्न खोज्नु सबैभन्दा दिक्कलाग्दो र स्वार्थी काम हो । कृष्णतत्वलाई आधुनिक विज्ञानका खोजसँग जोड्न खोज्नु सनातनका प्रतिमान र ऋषिहरूको तपोवलका तुलनामा आधुनिक विज्ञानका सामुन्ने आत्मसमर्पण गर्नुसरह हो । यो विचलन वैदिक, बौद्ध र जेनी सबैमा आएको छ । ऋषिहरूको तपोबल नै वैदिक प्रतिमानहरूको शक्तिशाली प्रमाण हो । एयरकन्डिसनमा बसेर गरिने डाटा-बेस्ड अनुसन्धान र मानसिक, शारीरिक र बौद्धिकरूपमा कठोर तपस्याका माध्यमबाट प्राप्त हुने आत्मसाक्षात्कार (Intuitive realization) धेरै भिन्नता हुनुपर्छ । शारीरिक सुख त्याग्न नसक्नेहरूका लागि कृष्णतत्वको ज्ञान सजिलो छैन । तर समर्पणयुक्त भक्तिका लागि कृष्णतत्वको ढोका खुला छ । कृष्णजन्मोत्सव यसैको प्रस्थान विन्दु हो ।
(४) कृष्ण ईश्वर हुन् तर उनको जन्म क्षत्रीय परिवारमा भएको हो । नेपथ्यको कुरा सुनेर आफ्नै मामाले आमाबुवालाई कैद गरेका र अनेकौं सन्तानको हत्यापछि श्रीकृष्णको जन्म भएको कुरा अनेकौं पुराणग्रन्थमा उल्लेख छ । बसुदेवले गोकुलका गोठाला नन्दको घरमा पुऱ्याएर, त्यहीँ साढे आठ वर्ष बिताएका थिए । पछि, मामा कंशले हत्याकै योजना बनाएर मथुरा बोलाए । तेहाँ कृष्णले कंशको हत्या गरिदिए र आफ्ना बुवाआमालाई जेलबाट मुक्त गरे । मथुराको कथा यहीँ टुङ्गिन्छ । वृन्दावन, मथुराका कृष्णलीलाहरू कृष्णले आफ्नो साढे आठ वर्षभित्र सम्पन्न गरेका हुन् । मथुरा-वृन्दावनका कृष्णलीलासँग सम्बन्धित प्रसंगले श्रीकृष्णलाई एउटा विलक्षण महापुरुषका रूपमा स्थापित गर्छ जसको विश्वमा कुनै तुलना छैन । तेसै भएर होला, कथाकारहरूले कृष्ण लीला भन्छन् र लाखौँ करोड़ मान्छेहरू भक्ति, श्रद्धा र विश्वासपूर्वक ती प्रसङ्ग सुन्छन् । झूटो, असत्य र बाहियात कथाहरूको आयु हुँदैन । मैले बाल्यकालमा धेरै उपन्यासहरू पढेको थिएँ तर ती कुनै पनि कथा बन्न सकेनन् । स्मृतिमा पनि छैनन् ।
(५) केही उपनिषद् र धेरै पुराणहरूले श्रीकृष्णलाई पूर्णब्रह्म (कृष्णस्तु भगवान् स्वयम्) मानेका छन् । श्रीकृष्णसम्बन्धी साहित्य धेरै विशाल छ । केही सम्प्रदायहरूले कृष्णको आलोचना पनि गरेका छन् । कृष्ण विष्णुका अवतार हुन् कि कृष्ण विष्णुका अवतार हुन् ? भन्ने विषयमा पनि आ-आफ्ना तर्क छन् । यी सबै तार्किक बहस हुँदाहुँदै पनि कृष्ण र विष्णु एकै हुन् भन्ने कुरामा कुनै विवाद छैन । श्रीकृष्णको ब्रह्मत्वका विषयमा श्रीपाद आचार्य रामानुजले गीताको भाष्य गरेर नै स्वीकृति प्रदान गर्नुभएको छ । यसको अर्थ श्रीसम्प्रदायमा लक्ष्मीनारायणको महत्व कम हुन्छ भन्ने हुँदैन । अन्य कृष्णप्रधान सम्प्रदायहरू निम्बार्क, माध्व, राधाबल्लभ, स्वामी नारायण, प्रणामीआदिका लागि कृष्ण नै परमतत्व हुन् भने आचार्य शङ्कर र उहाँका अनुयायी मधुसुदन सरस्वतीले त झन् ‘कृष्णात्परमं किमपितत्वमहं नजाने’ भनेर घोषणा नै गरेका छन् । भक्तिमार्गमा सर्वाधिक लोकप्रिय आराध्यदेव ‘राधाकृष्ण’ नै हुन् ।
(६) कृष्णका धेरै परिचयहरू छन् तर राजाको परिचय छैन । मलाई कृष्णको सबैभन्दा मन पर्ने परिचय गोठालो, सुदामाको मित्र र गीताको उपदेशकर्ता (पण्डित) हो । उनी प्रेमी हुन् तर उनको प्रेम निर्मोही छ । गोकुल वृन्दावन छोडेपछि उनी फर्केर गएनन् । आफ्ना सम्पूर्ण सन्तानहरू एकआपसमा लडाइँ गरेर मासिँदा श्रीकृष्ण पिपलको रुखमुनि बसेर ध्यान गरिरहेका थिए । सायद, हरेक व्यक्तिको जीवनको यथार्थ यही हो । संसारसँगको मोहमा बाँधिएको मान्छे सुखी हुनै सक्दैन । मथुराबाट पलायन गर्दा होस्, अनेकौँ राजाहरूसँग युद्ध गर्दा होस्, सम्पूर्ण राजाहरूबाट सम्मान प्राप्त गर्दा होस्, हरेक ठाउँमा ‘ग्वाला’ भनेर अपमानित हुँदा होस् वा ऋषिहरूबाट सम्मान प्राप्त गर्दा होस् – कृष्णमा कुनै प्रकारको अतिउत्साह वा खेद देख्न सकिन्न । तेसैले विश्वका कुनै पनि देवीदेवता वा व्यक्तिसँग श्रीकृष्णको तुलना हुनै सक्दैन । गीताजस्तो ‘वेदवेदान्त’को सार प्रकट गर्न सक्ने कृष्णको सरलता राजसुय यज्ञमा अतिथिहरूको पाद-सेवनमा प्रकट हुन्छ । धेरै ज्ञानीहरूलाई निरअभिमानको यो स्तरमा कल्पना पनि गर्न सकिन्न । धेरैजसो मान, सम्मान र स्तुतिका भोका छन् । कृष्ण यी सबैबाट विरक्त छन् तैपनि कुशल, मायालु तथा जिम्मेवार गृहस्थ छन् ।
(७) कृष्ण साँच्चिकै महायोगी हुन् । एउटा महायोगीले मात्र गीताजस्तो अत्यन्त सरलसूत्रमा (अनुष्ठुप छंदका सातसय श्लोकमा) वेदवेदान्तको सार र भौतिक, दैविक र आध्यात्मिक जीवनको सार प्रस्तुत गर्न सक्ने थिएनन् । श्रीकृष्णका उपदेशहरू मध्ये गीता नै सर्वाधिक सरल प्रवचन हो । श्रीमद्भागवतको एकादशौँ स्कन्ध, हरिबंश पुराण, ब्रह्माण्डपुराण आदिका श्रीकृष्णका अनेकौं उपदेश छन् । ती उपदेशहरूको संस्कृतभाषा गीताको भन्दा अझैं कठीन पनि छ तर सम्पूर्ण उपदेशहरूको सार गीताले समेटेको छ । श्रीमद्भगवद-गीतामात्र श्रीकृष्णको उपदेश हो भन्ने भ्रमबाट मुक्त हुनुपर्छ । श्रीकृष्णको गीता कुनै धार्मिक (Religious) उद्देश्यका लागि रचिएको ग्रन्थ होइन । यो विशुद्ध धर्मनीतिको (dharma) को ग्रन्थ हो । यसको उद्देश्य वर्णाश्रम धर्म र धर्म, अर्थ, काम मोक्षको लक्ष्यलाई साधनाका माध्यमबाट उपलब्ध गराउने साधना पद्धति हो । यो साधना गर्ने मान्छे केवल जिज्ञासु र साधनाका लागि समर्पित भए पुग्छ । धर्म परिवर्तन गर्न पर्दैन, कर्म र चिन्तन परिवर्तन गरे पुग्छ ।
(८) केही भारतीय र नेपाली कम्म्युनिस्ट र घोरजातिवादी निओ-बुद्धिष्टहरूले गीताको आलोचना गरेका छन् । सेमेटिकहरूले पनि गीताको आलोचना गरेका छन् तर गीताको धार्मिकता (Religiosity) निर्क्योल गर्न सकेका छैनन् । राजनैतिक रूपमा आफुलाई निकै प्रगतिशील मान्नेहरूका लागि गीताको उपदेशहरूपछि ‘अर्जुन ! तिम्रो विवेकले के गर्नुहुन्छ, हुँदैन आफै स्वतन्त्रता पूर्वक निर्णय गर (गीता १८/६३) बाक्य निकै चुनौतीपूर्ण छ । कुनै पनि राजनैतिक सिद्धान्तकार, कुरान, बाइबलले आफ्नो आलोचना गर्ने वा नमान्ने छूट दिंदैनन् । तर गीता विश्वको एकमात्र एस्तो उपदेशग्रन्थ हो जसको उपदेशकर्ताले पाठक वा साधकलाई ‘यथेच्छसि तथा कुरूः’को महास्वतन्त्रता दिन्छ । यही मोक्षको सार हो, महानिर्वाणको सार हो । तर अर्जुन पनि बिनम्र छन् – मैले तपाईंको आज्ञा नै पालन गर्छु भन्छन् । वैदिक माइन्ड-सेटको निर्माण यसै आधारमा भएको हुँदा ‘कट्टरपन्थी’ शब्द वैदिकहरूमा प्रयोग गर्नु केवल पूर्वाग्रह हुन्छ ।
(९) अब, व्यक्तिगत कुरा । मैले धेरै पटक गीतासँग आन्तरिक सम्बाद, साक्षात्कार र मार्गदर्शन प्राप्त गरेको छु । एउटा दर्शनशास्त्रको विद्यार्थी भएको नाताले तर्क नै मेरो स्वभाव हो । मेरो तर्कको स्वभावलाई गीताले सम्बोधन गरेको छ । अनेकौं धार्मिक ग्रन्थ, अनेकौं सिद्धान्त तथा वादहरू पढे र पढाएपछि मेरो बौद्धिक सन्तुष्टि गीतामा थामिएको हो । सबै वादहरू राम्रा छन् तर गीता ती भन्दा धेरै उच्चस्तरीय छ । मैले भन्दैमा मान्नु पर्ने छैन । पढौं, मनन गरौँ र निर्णय गरौँ । प्रवेश नगरी विषयवस्तुको ज्ञान प्राप्त हुँदैन । गीता पढेपछि श्रीकृष्णतत्व र आफ्नै जीवन र त्यसको लक्ष प्रष्टसंग बुझिन्छ । यही बुझाईको निरन्तरता श्रीकृष्णको जन्मोत्सवले ताजा गर्छ । सबैमा शुभकामना ।
प्रतिक्रिया