राजनीतिक नेतृत्वको अपराधपूर्ण निर्लज्जताको पराकाष्ठाले यति ठूलो रूप र आयतन लिएको छ कि, त्यसबाट नेपाली जनता घोर निराशामा बाँच्न बाध्य मात्र छैनन्; देश र जनता लगभग आत्महत्याकै डिलमा छन् । हो, यो बेला नेपाल र सिङ्गो नेपाली जनता फेरि आशा र विश्वास नपलाउने टुङ्गो भएको निराशा बाँचिरहेका छन् ।
✍ राजेश ढुंगाना
नेपाल राष्ट्रले २०४६ सालमा प्राप्त गरेको प्रजातन्त्र र त्यसपछि ल्याइएको भनिएको गणतन्त्रले मुलुक उन्नतिको मार्गमा बढ्नेछ, खराब कामहरू हुनेछैनन् भन्ने नेपाली जनताको आशा र विश्वासमा निर्मम तुषारापात भएको कुरा जतिपटक भने पनि पुरानो र गलत हुँदैन ।
मुलुकको यो दुर्भाग्यले हाम्रो सुदूर भविष्यका सयौं वर्षहरूका लागि हाम्रो ३५वर्षे प्रजातान्त्रिक शासनमा राजनीतिक नेतृत्वले निधारमा कलंकको टीका लगाएको पुष्टि गर्ने कुराको कुनै प्रमाण खोजिरहनु पर्दैन – भावी पुस्ताले नाङ्गा आँखाले स्पष्ट देख्न सक्नेछन् ।
हाम्रो नेतृत्वको आँखामा नीतिगत अराजकता, भ्रष्टाचार, राष्ट्रदोहनको अर्जुनदृष्टि मात्र भएपछि उसको मस्तिष्कमा कुनै भिजन र रिजन खोज्नु हाम्रो आफ्नै गल्ती, भूल र कमजोरी हुने छ । ३० वर्षको हाम्रो राजनीतिक नेतृत्वले हरप्रकारबाट जतिसक्दो धेरै अपराधपूर्वक राज्य दोहन गरेको छ । केवल यति मात्र गरेका छैनन् – राजनीतिक, प्रशासनिक र न्यायिक क्षेत्रका समेत सबै संरचनालाई निर्ममतापूर्वक निर्लज्ज रुपले ध्वस्त नै पारिदिएका छन् । सबै कुराको सिस्टम बिगारिएको छ, छरपष्ट र समाप्त पारिएको छ ।
यस्तो अवस्था शायद यो मुलुकले इतिहासमा कहिल्यै व्यहोरोको/भोगेको थिएन । नेपाली जनता र नेपाल राष्ट्रले भोग्नु परेको यो दुर्भाग्यको निमित्त हामीले मानेका र पत्याएका नेताहरू तथा राजनीतिक नेतृत्व नै सम्पूर्ण रुपमा जिम्मेवार छन् । तर, गैरजिम्मेवार र अझ अगाडि बढेर भन्नुपर्दा अपराधीहरूका अघिल्तिर जिम्मेवारीबोधका कुरा गिड्गिडाउनुको कुनै अर्थ छैन । त्यो केवल हाँस्य र पीडा दुबै एकै पटक हो । कुरा के बाट, कहाँबाट, कसरी शुरु गर्नु, अब त अतिचार भएर नेपाली जनताले त्यसको भेउ समेत पाउन छाडिसके । एउटा र केही कुरा मात्रै भए पो !
राजनीतिक नेतृत्वको अपराधपूर्ण निर्लज्जताको पराकाष्ठाले यति ठूलो रूप र आयतन लिएको छ कि, त्यसबाट नेपाली जनता घोर निराशामा बाँच्न बाध्य मात्र छैनन्; देश र जनता लगभग आत्महत्याकै डिलमा छन् । नेतृत्वको इमान सम्पूर्णमा जब चुक्दछ – त्यतिबेला देश र जनताले भोग्ने यही राजनीतिक र सामाजिक आत्महत्या नै हो । हो, यो बेला नेपाल र सिङ्गो नेपाली जनता फेरि आशा र विश्वास नपलाउने टुङ्गो भएको निराशा बाँचिरहेका छन् ।
हालै कर्मवीर महावीर पुन आफ्नो अभियान लिएर यो पंक्तिकारको पनि बसोबास रहेको झापामा आएर आफ्नो पुस्तक आफैँ बेच्ने काम गरेको देखेपछि पंक्तिकारको अगाडि केही विचारहरू तरंगित भएका छन् । राष्ट्रका महान् आविष्कारक पुनलाई यसरी सडक-सडक र चोक-बजारमा पुस्तक बेचेर हिँड्न बाध्य पार्ने हाम्रो राजनीतिक नेतृत्वलाई न्यूनतम् लज्जाबोध समेत भएको छैन । एउटा महान प्रतिभाले आफ्नो अत्यन्त महत्वपूर्ण समय र काम छाडेर यसरी सडकमा किताब बेच्न बाध्य हुँदै हिँड्नुले उनको समय नष्ट भएर राष्ट्रलाई अपुरणीय घाटा भएको छ ।
एउटा वीरगञ्ज कृषि औजार कारखाना र त्यसभन्दा पनि महत्वपूर्ण रहेको राष्ट्रिय आविष्कार केन्द्रलाई लाग्ने सम्पूर्ण लगानी गरिदिएर नवप्रवर्तनमा लगाउनु पर्ने किमती समय नष्ट नगर्नु होस् भनेर सरकारले वैज्ञानिक पुनलाई आविष्कार कर्ममा लाग्न भन्नु पर्ने हो । यति सानो काम पनि नगर्ने राजनीतिक नेतृत्वसँग फेरि पनि के आशा र विश्वास गर्नु ? भो… राजनीतिक नेतृत्वसँग अब कुनै भरोसाको कुरा गर्न बाँकी रहेन !
र, हिजो मात्रको एउटा नयाँ प्रसङ्गको संक्षिप्त चर्चा-
लामो समय मुटु रोगका असल, कुशल र दक्ष चिकित्सक भएर राष्ट्र र जनतालाई सेवा गरिरहेका वरिष्ठ चिकित्सक, मुटु रोग विशेषज्ञ डा. रामेश कोइरालाले आफ्नो पदबाट राजीनामा मात्र दिएनन्, पेशा नै समेतबाट पनि अलग यात्रा थाल्ने घोषणा गरेका छन् । यसरी यो घटनाबाट पनि राष्ट्रले नै एउटा अपूरणीय क्षति व्यहोर्न पुगेको छ ।
यसको कारणमा, अहिले दोस्रो पटक पनि उनको योग्यता र क्षमताले मनग्गे भ्याउने चिकित्सा अध्ययन संस्थानको उपकुलपति पद दिन सरकारले रोकेपछि उनले त्यो अपमान सहेर बस्न चाहेनन्, सकेनन् । उनलाई उपकुलपति बनाउन नसकिएको कारण के अरे भने – पहिले जस्तै यसपटक पनि कुनै कनिष्टलाई शेरबहादुर देउवाले त्यो पद दिने वचन दिइसकेका थिए रे ! वचन पनि शायद साविकबमोजिम नजरानासहितकै त होला नि ! त्यसो भएपछि योग्य र क्षमतावानहरु कहाँ अट्थे अनि चाकरबाज र नजरानादाता कसरी पो छुट्थे !
प्रतिक्रिया