नेपालको सामाजिक सुधार एनजीओ/आइएनजीओको एजेन्डाबाट होइन, इतिहासको यथार्थता आन्तरिक आत्मसुधार र राष्ट्रिय एकताबाटै सम्भव छ । पुर्खा र इतिहासलाई धिक्कारेर हैन पश्चिमी मिसनको जरा काटेर नेपाली एकता कायम राख्दै जातीय विभेदको अन्त्य गर्न लागौँ ।
✍ काशी पौडेल ‘आयुष’
हराउँदै गएको पुरानो जातिय विभेदलाई नेपालका केही राष्ट्रिय सञ्चारमाध्यममा लिखित वा श्रव्यदृश्यमार्फत केही अभियन्ता, लेखक, कलाकारद्वारा पुनः खोतल्ने अभियान तीव्र छ । त्यसैलाई आधार बनाएर सामाजिक सञ्जालमा भ्रामक सन्देश फैलाउने कार्य तीव्ररूपमा फैलिएको पाइन्छ । मानौं वैदिक हिन्दु धर्ममै छुवाछूत तथा जातिय विभेद छ । त्यसैले यो वैदिक सनातन धर्म त्याग्नु र ब्राह्मण-क्षत्रीलाई सत्तोसराप गर्नु नै छुवाछूत अन्त्य हुनु हो भनेजसरी प्रचारप्रसार गरिएको छ । छुवाछूत नै वैदिक सनातनको वर्णव्यवस्थाबाट उत्पन्न भएको घोकाइन्छ । आम जनमानसले त्यही कुरामा दायाँबायाँ केही नसोची विश्वास गर्दछ । पङ्क्तिकार यही भ्रमको उजागर गर्दै आम जनमानसमा यथार्थ सूचित गर्ने जमर्को गर्दैछ ।
छुवाछूतको गहिरो जरा युरोपेली समाजमा नराम्रोसँग जकडिएको तथ्य धार्मिक सामाजिक इतिहास र बाइबलकै पुरानो करार (Old Testament) भित्र निहीत छ । जसलाई मध्यकालीन चर्चले कानुनी, सांस्कृतिक, मुल्य-मान्यताको ढाँचा बनाइ दीर्घकालीन भेदभावमा परिणत गऱ्यो । र, पोर्चुगिस्त पादरीको गोवा प्रवेशसँगै दक्षिण एसियायी मुलुकमा ब्याप्त बन्यो अनि हाम्रो नेपालमा पनि यसले नराम्ररो छाप छाड्यो ।
युरोपमा छुवाछूतको उत्पत्ति धर्मशास्त्रबाट सामाजिक नियमन सम्म ब्याप्त थियो । त्यसका अवशेष आज पनि छिटफुटरूपमा देख्न सकिन्छ । युरोपमा विभेद अहिले जस्तै केवल धनी, गरिब वर्गमा सीमित थिएन । यो धार्मिक शुद्धता, पेशागत दर्जा, जातीय-धार्मिक पहिचान, वर्ण र लिङ्गको संगमबाट बनेको कडा ऐतिहासिक धार्मिक संरचना थियो । चर्चकेन्द्रित समाजले Leviticus र Deuteronomy का नियमलाई धार्मिक, नैतिक र कानुनी औजार बनाउँदै समाजमा छुवाछूत र विभेदलाई कायम गरेको थिए ।
Leviticus ११ः को आदेश अनुसार अशुद्ध, मृत जनावर, तिनको मासु र तिनसँगको सम्पर्कलाई पाप, अशुद्ध छुवाछूत ठहर गऱ्यो । त्यसले गर्दा कसाई, पोडे, छाला कामदार, पशुपालक, कृषक जस्ता श्रम गर्ने साथै पशुसम्बन्धी पेशा गर्नेहरू ‘सदैव अशुद्ध’ अछुत बनाइए र युरोपेली समाजमा बहिष्कृत भए । त्यस्तै छालारोग, संक्रमणसम्बन्धी नियमले रोगीलाई अलग राख्ने आदेश दियो । परिणामतः छालासम्बन्धी रोगी, कुष्ठरोगी लगायत दीर्घरोगीहरू सामरोगी र कानुनी बहिष्कारको चक्रमा धकेलिँदै मृत्युका शिकार बन्दै गए ।
त्यै पुरानो करार Leviticus १९ः३४ अनुसरण परदेशीप्रति भिन्न धार्मिक, सांस्कृतिक समूहप्रति दूरी र नियन्त्रण कायम राख्दै गए । विदेशी वा अल्पसंख्यक समुदायलाई स्थायी रूपमा कनिष्ठ, अछूतसरह व्यवहार गर्ने हुनाले तत्-तत् समुदायले सामाजिक, धार्मिक र नैतिक दुर्व्यवहारको सामना गर्नुपऱ्यो । जाती, लिङ्ग, विवाह, वंश, पवित्रता, आज्ञाकारिताको परिभाषामा महिलाको उत्तराधिकारी अधिकार, सार्वजनिक भूमिकामा भागीदारी र स्वतन्त्रतामा कडा अंकुश । भिन्न समुदायसँग वैवाहिक सम्बन्ध राख्दा ‘अशुद्धता वा अछुत’को स्थायी दाग लगाउँदै तिन्का सम्पूर्ण परिवार, वंशलाई बहिष्करणतिर धकेल्ने व्यवस्थालाई लागू गरिएको थियो ।
युरोपका केही पीडित समुदायको ऐतिहासिक उदाहरण यहाँ राख्दा उपयुक्त देखिन्छ । जस्तैः यहूदी समुदायलाई अछुत मानेर अलग बस्ती, पेशागत प्रक्रियामा रोक, विशेष कर, सार्वजनिक पदबाट बहिष्कार, धार्मिक भिन्नतालाई आधार बनाएर दीर्घकालीन विभेध गरिएको ऐतिहासिक, वास्तविक तथ्य आज पनि जीवित नै छ । त्यस्तै, रोमा (Gypsy) समुदायको बसोबास, यात्रा नियन्त्रण, पेशामा सीमितता, जादूटोनागिरी गर्ने आरोप लगाउँदै तिनको जाति समुदायलाई अशुद्ध अछुत मान्दै राज्य, चर्च दुवैको कडा निगरानीमा जीवन यापन गर्न बाध्य पारिएको थियो ।
माथिल्ला केही तथ्यले जाति समुदायलाई छुवाछूत वा विभेद गरेको वास्तविकतालाई उजागर गर्दछ । अब आउनुहोस् युरोपेली महिलाहरू पुरानो करारअनुसार कस्तो विभेद वा दुर्भाग्यको नियति भोग्न बाध्य थिए त्यो पनि जानौँ । उत्तराधिकार कटौती, शिक्षा, स्वास्थ, कार्यक्षेत्रमा अवरोध, पति अभिभावक अधीनता, कानुनी मान्यतासहितको लैङ्गिक विभेदको सामना गर्दै जिउन बाध्य बनाइएका थिए । यी विभेदहरू २०औँ शताब्दीको सुरूवाततिर कानुनी रूपमा घट्दै गए पनि मानसिक पूर्वाग्रह लामो समय जिउँदै रह्यो । यदाकदा छिटफुट धनी-गरिब, कालो-गोरो, पादरी साथै सर्वसाधारणबीच सूक्ष्म दूरी आज पनि देखिन्छ ।
माथि युरोपेली समुदायमा भएको विभेदको बारेमा उल्लेख गरियो अब आउनुहोस् यो जातिय विभेद दक्षिण एसिया हुँदै नेपालमा कसरी भित्रिन पुग्यो त्यसको ऐतिहासिक तथ्यलाई बुझौँ । युरोपेली धर्मप्रचारको औपचारिक र दीर्घकालीन मिसन बोकेर Francis Xavier (Jesuit पादरी) ले सन् १५४२ मा गोवामा पाइला टेके । उनीसँगै पोर्चुगाली उपनिवेशवाद, व्यापार र चर्चनियन्त्रित धर्मप्रचार कानुनको लहर गोवामा भित्रियो । युरोपमै जरा गाडेर झाँंगिएको ‘शुद्ध-अशुद्ध’ अर्थात् छुत-अछुतको अवधारणा उनीहरूको प्रवेश र अधीनसँगै यहाँ पनि पेशा, सांस्कृतिक भिन्नता जाति-समुदायमाथि नैतिक, कानुनी नियमनले जकड्दै बलियो बनाउँदै लग्यो । ‘जो पशु/चमडासँग काम गर्छ, उसले अशुद्धता बोक्छ’ भन्ने युरोपेली धार्मिक मनोविज्ञान दक्षिण भारतमा ब्याप्त बन्दै गयो ।
छुवाछूत, जातिय विभेदको नेपालमा ऐतिहासिक प्रवेशलाई आम नेपालीले बुझ्न झनै जरुरी छ ।Father Juan Cabral (Jesuit पादरी) सन् १६२८ मा मल्लकालीन काठमाडौं उपत्यका प्रवेश गरेको थिए । गोवादेखि तिब्बत यात्रा क्रममा नेपालको मार्ग हुँदै जानेक्रममा स्थानीय समाज संस्कारको अवलोकन गर्दै उपत्यकामै आफ्नो मिसनको प्रभाव छाडे ।
Father Johann Grueber (Jesuit) र Albert d’Orville र Albert d’Orville सन् १६६१ मा काठमाडौं हुँदै तिब्बत जाने क्रममा छोटो बसाइ भए पनि उपत्यकाको सामाजिक धार्मिक बुनोट र भू-राजनीतिक अवस्थाबारे युरोप पठाउन उपत्यकाको धार्मिक सांस्कृतिक सहिष्णुतालाई तोड्दै चर्च कानुन लागू गर्ने प्रतिवेदन तयार पारेर पठाएको पाइन्छ ।
यही प्रारम्भिक यात्रा र तिनका दस्तावेजले नेपाललाई युरोपेली दृष्टिकोणबाट ‘डिफाइन’ गर्ने पहिलो प्रयत्न जन्माए । यहाँका पेशा, आहार, पूजा-पद्धति, शुद्धीकरण-रीति जस्ता विषयलाई यूरो-धर्मशास्त्रीय लेन्सले हेर्ने अभ्यासको बीउ मल्ल राजालाई कुटनैतिक प्रभावमा पारेर त्यतिबेलै रोपियो । नेपाल उपत्यकामा पेशागत काम (कृषि, पशुपालन, चमडा-काम, धातु-कला, कसाई) मा आधारित कार्य-विभाजन ऐतिहासिक रूपमा थियो । तर युरोपेली ‘शुद्ध-अशुद्ध’ लेबल मिसिँदा नैतिक, धार्मिक, सांस्कृतिक परिवेशलाई उच्च-निम्न वर्ण, ब्राह्मण, क्षत्री, वैश्य र शुद्र अनुसार युरोपेली कार्यविभाजनकै शैलीमा विभेद वा छुत-अछुतको बिजारोपण गरियो । नेपाली स्थानीय परम्परामा रहेको सांस्कृतिक सद्भाव, वर्ण लचकता, आपसी सहृदयता अब बहिष्कार, छुवाछूत जस्तो कठोर आदतमा बदलियो । यसरी, आयातित मानसिकता र स्थानीय सन्दर्भ मिसिएर दीर्घकालीन विभेदको संरचना नेपालको उपत्यकामा जम्दै गयो । पृथ्वीनारायण शाहले मितव्यायिताको आडमा नेपालमा आफ्नो जासुसी मिसन फैलाएको आरोपमा पादरीलाई देश निकाला गरेपनि तिनका अवषेश निरन्तर रहिरहे ।
आज एनजीओ/आइएनजीओ मार्फत एउटै पुरानो स्क्रिप्टको नयाँ आवरणमा हराउँदै र बिर्संदै गएको पुरानो कालो धब्बालाई खोतलेर पुनः नव पुस्ताको मगजमा लाद्ने काम हुँदैछ । समयसँगै तिनका शैली बदलिएको छ । हिजो तिनका मिसन बन्दुक वा कुटनैतिक आवरणमा प्रवेश गर्ने रह्यो भने आज मानवाधिकार, समावेशिताको आवरणमा ब्याप्त छ । तर तिनका कार्यशैली धेरै हदसम्म उही एजेन्डा, अनुदान, आख्यान र सहयोग, निर्माणका योजनामा व्याप्त छन् ।
शैक्षिक पाठ्यक्रमा जातीय अपराधबोधलाई एकमात्र दृष्टि बनाउँदै, इतिहासको बहु-आयामलाई छायामा धकेल्ने । मिडिया, संस्कृति क्षेत्रका उच्च अधिकारी, लेखक, पत्रकार, कलाकारलाई आर्थिक अनुदान, पुरस्कार दिँदै आफ्नो मिसनअनुसारको आख्यान, सामग्री निर्माण गर्न लगाउने । स्थानीय एकता, धार्मिक, सांस्कृतिक आस्थालाई समस्याको मूल जड भन्दै धर्मान्तरण गर्न उकास्ने । जातिय घृणा पैदा गर्ने । डिजिटल मनोविज्ञानद्वारा सामाजिक सञ्जालमा युवालाई विज्ञान, आधुनिकता/स्वतन्त्रताको नाममा मूल संस्कृति, परम्परालाई रुढीवादी, हीनताबोध, आत्मग्लानीतर्फ धकेल्दै लगेर पश्चिमी संस्कृति नै सर्वोत्तम हो भन्ने धारणा बसाल्ने । हामीले के बुझ्नुपर्छ भने पश्चिमाहरू हामीलाई चेतना जगाउन वा सामाजिक आर्थिक सुधार गर्न नभइ नेपाली एकतामा विखण्डन, सांस्कृतिक मूल्य-मान्यतालाई चिरा-चिरा पारेर बाह्य हस्तक्षेपको ढोका उघार्ने दीर्घकालिन रणनीतिको खेल खेल्न खर्बौं लगानी गर्दैछन् ।
आउनुहोस् अब हामीले युरोपेली चर्च/मिसनले थोपरेको जातिय छुवाछूत जस्तो घृणित कर्मको ऐतिहासिक अन्त्य गर्न हातेमालो गर्दै अगाडि बढौँ । सांस्कृतिक महत्त्व नेपाली एकता वा आफ्ना पूर्वजलाई धिक्कार्ने/दोषारोपण गर्ने होइन, इतिहासको वास्तविक कारक युरोपेली बाइबलिक जरा, चर्च-कानुन, उपनिवेशवाद वा एनजीओ/आइएनजीओको छद्म मिसनको अन्त्य गर्ने मार्गको खोजी गरौँ ।
प्राचीन Francis Xavier (१५४२) र Juan Cabral (१६२८), Grueber-d’Orville (१६६१) जस्ता पादरीको मिसनलाई आजका एनजीओ/आइएनजीओको नयाँ स्क्रिप्ट नयाँ भाषामा चलाइरहेका छन् । यिनिहरूको छद्म मिसन बुझ्नु आजको आवश्यकता राष्ट्रिय चेतनाको नौलो आयाम हो ।
छुवाछूत पूर्वीय सभ्यता वैदिक सनातनको मौलिक उपज होइन । यो युरोपेली धर्मशास्त्र र चर्च-कानुन शुद्ध-अशुद्धबाट दक्षिण एऐया हुँदै नेपालमा (Francis Xavier, १५४२) र त्यसको नेपाल-प्रवेश (Juan Cabral १६२८, Grueber-dÚOrville, १६६१) सँग गाँसिएको आयातित सामाजिक, मनोवैज्ञानिक/मानसिक रोग हो । आज उही मानसिकताको रोग एनजीओ/आइएनजीओको आवरणमा समावेशिता, न्यायिक अधिकार वा विभिन्न आवरणमा विखण्डनको राजनीति चलिरहेको छ । नेपालको सामाजिक सुधार एनजीओ/आइएनजीओको एजेन्डाबाट होइन, इतिहासको यथार्थता आन्तरिक आत्मसुधार र राष्ट्रिय एकताबाटै सम्भव छ । पुर्खा र इतिहासलाई धिक्कारेर हैन पश्चिमी मिसनको जरा काटेर नेपाली एकता कायम राख्दै जातीय विभेदको अन्त्य गर्न लागौँ ।
जय मातृभूमि !
प्रतिक्रिया