आफ्ना मौलिक मान्यताहरूको संरक्षण र सम्वर्द्धन गर्दै सबल राष्ट्रियतासहितको समृद्ध मुलुक बनाउने विचार नै दक्षिणपन्थ हो । दक्षिणपन्थमा मात्र राष्ट्रियता, सार्वभौमिक स्वतन्त्रता, इतिहास, मौलिक सभ्यता, संस्कृति र धर्मको रक्षा हुनसक्छ भन्ने विश्व अभ्यासले सिद्ध गरिसकेको छ । यही बुझेर हुनसक्छ- अमेरिका पनि डोनाल्ड ट्रम्पको नेतृत्वमा दक्षिणपन्थी मान्यताहरूको सम्वर्द्धन गर्न जुटेको छ ।
✍ देवप्रकाश त्रिपाठी
नेपाल दशकौँदेखि वाममार्गमा छ र वाममार्गबाट मुलुकको समग्र समस्या समाधानको प्रयास हुँदै आएको छ । राजनीति वाममार्गमा भएकैले समाजको सबै विधामा वाम-राजनीतिको प्रभाव अधिक रहेको छ । यतिबेला प्रजातन्त्रवादी र साम्यवादी दुवै विचार दर्शनका हिमायतीहरू वामपन्थी मनोवृत्तिमा छन्, पहिले प्रकट स्थापित दक्षिणपन्थीविरूद्ध जाइलागेर आफ्नो राजनीतिक हैसियत स्थापित गरेका उनीहरू दक्षिणपन्थी शासनको अन्त्यपछि पनि पुरानै राजनीतिक ‘ह्याङओभर’मा रहेर छायाँसँग लड्दै गरेको महसूस गर्न सकिन्छ । परास्त भइसकेको पुरानो दक्षिणपन्थी बिम्बलाई शत्रु थापेर आफ्नो राजनीतिक क्रियाकलाप सन्चालन गरिनुको अर्थ खोज्दा उनीहरू पुरानो ‘ह्याङओभर’मा रहेको स्पष्ट हुन्छ ।
म सबै राजनीतिक विचार दर्शनको सम्मान गर्दछु र मैले ग्रहण गरेको विचार नै सर्वस्वीकार्य हुनुपर्छ भन्ने मान्यता पनि राख्दिनँ । तिक्त वास्तविकता के हो भने, आम मानिस आफै दृष्टिकोण बनाउन असमर्थ हुन्छन् । सही सूचना प्राप्तिका श्रोत र साधनको अभाव, अध्ययनको कमी र अनुभवको सीमितताका कारण आम मानिसले दृष्टिकोण बनाएपनि ती अपूर्ण, अतार्किक र तथ्यभन्दा टाढा हुन सक्छन् । ज्ञानको कमी जसमा रहन्छ, तिनलाई सकारात्मक भन्दा नकारात्मक कुराले ज्यादा आकर्षित गर्ने गर्दछ, र नकारात्मकता वामपन्थको एउटा अङ्श हो ! नेपालमा बामपन्थको साम्राज्य कायम हुनुको एउटा प्रमुख कारण आम मानिसमा देखिएको यस्तै अल्पज्ञान नै हो ।
नेपाल कसरी वाममार्गी बन्यो, किन बन्यो र कहिलेसम्म यही स्थिति रहन सक्ला भन्ने प्रश्नमा विचरण गर्न यहाँ खोजिएको होइन । वामपन्थी विचारमा रमाइरहेकाहरूको मानमर्दन गर्ने नियतले यो लेख तयार पारिएको पनि होइन । तथापि, वामपन्थी विचारको उत्पत्ति र नेपालमा त्यसको प्रभावबारे सङ्क्षिप्त चर्चा गर्नु उपयुक्त ठानिएको छ ।
वाममार्गले भौतिक विज्ञानलाई स्वीकार र अध्यात्म विज्ञानलाई अस्वीकार मात्र नभएर तिरष्कार नै गर्दछ । सुझावात्मकतालाई भन्दा आलोचनात्मकतालाई, साकारात्मक भन्दा नकारात्मकतालाई, प्रेम र सद्भाव भन्दा निन्दा र घृणालाई उपयुक्त ठान्ने, समन्वय र सहकार्यलाई भन्दा सङ्घर्ष र प्रतिरोधलाई जायज मान्ने प्रवृत्ति या सोचलाई वामपन्थ भनिन्छ । अर्को शब्दमा सकारात्मकता भन्दा नकारात्मकताबाट प्रेरित र परिचालित हुने मनोविज्ञानलाई वाम मनोविज्ञान भन्न सकिन्छ । हरेक कम्युनिष्ट वामपन्थी हुन्, तर हरेक वामपन्थी कम्युनिष्ट होइनन्, हुन सक्दैनन् । कम्युनिष्ट बन्नु भनेको सैद्धान्तिकरूपले नै संसारमा देश र राज्यहरूको अस्तित्वलाई अस्वीकार गर्नु हो, मौलिक सभ्यता तथा परम्परागत धर्म र संस्कृतिलाई तिरष्कार गर्नु हो ।
पूर्वीय दर्शनशास्त्रमा वाममार्गी विचारलाई वितण्डावादको सङ्ज्ञा दिइएको छ । भिन्न मतलाई दुषित देखाउनु र त्यसको खण्डन गर्नु वितण्डावादको लक्ष्य हुने गर्दछ । वितण्डतावादीहरू आफ्नो स्वतन्त्र मत (विचार) स्थापित गराउने कुरामा रुचि राख्दैनन्, जति अर्काको बदख्वाइँ गर्न समय खर्च गरिरहेका हुन्छन् ।
मार्क्सवादलाई अन्तिम सत्य नमानिकन कम्युनिष्ट बन्न सकिँदैन । मार्क्सवाद भौतिकवादको मात्र पक्ष पोषण गर्दछ र वर्ग समन्वयमा नभएर वर्ग सङ्घर्षमा विश्वास गर्दछ । यथास्थितिको समर्थनमा वामपन्थीहरू कहिल्यै हुँदैनन्, वामपन्थी हुनु भनेकै संधै यथास्थितिको विपरीत रहनु हो । त्यसैले सच्चा वामपन्थीहरू जहिले पनि आलोचनात्मक चेतका हुन्छन् र विद्रोही मनस्थितिमा रहन्छन् । आफूले चाहेको राज्य ब्यवस्था, सत्ता र सरकार प्राप्त भइसकेपछि पनि वामपन्थीहरू नकारात्मक ढङ्गले नै प्रस्तुत भैरहेका हुन्छन् । आफू सम्पूर्ण सत्ताको मालिक बनिसकेपछि पनि माओ त्से तुङ्ले सास्कृतिक क्रान्ति (सन् १९६६-१९७६)का नाममा ठूलो उत्पात मच्चाएको घटनादेखि प्रधानमन्त्रीको जिम्मेवारी प्राप्त गरिसकेपछि पनि नेपालमा प्रचण्डहरूले राष्ट्रिय सेनाका विरूद्ध जाइलागेको या विद्यार्थीहरूको कार्यक्रममा पुगेर विद्रोह गर्न उक्साएको घटना एउटै प्रवृत्तिको अभिव्यक्ति हो । काङ्ग्रेस पार्टीले आफ्नो विचार दर्शन अनुरुपको मध्येमार्ग त्यागेर वाममार्गी विचार अवलम्बन गरेकोले पनि नेपालमा वामपन्थी प्रभाव ब्याप्त भएको हो ।
वामपन्थी विचार के हो भनेर बुझ्न यसको प्रादुर्भावबारे जानकारी पाउनुपर्ने हुन्छ । पूर्वीय दर्शनशास्त्रमा वाममार्गी विचारलाई वितण्डावादको सङ्ज्ञा दिइएको छ । भिन्न मतलाई दुषित देखाउनु र त्यसको खण्डन गर्नु वितण्डावादको लक्ष्य हुने गर्दछ । वितण्डतावादीहरू आफ्नो स्वतन्त्र मत (विचार) स्थापित गराउने कुरामा रुचि राख्दैनन्, जति अर्काको बदख्वाइँ गर्न समय खर्च गरिरहेका हुन्छन् । वितण्डतावादीहरूमा विध्वङ्सात्मक चरित्र हुन्छ, उनीहरू भिन्न विचारप्रति असहिष्णु हुन्छन्, सहन सक्दैनन् र प्रतिवादमा सीमित नरहेर आक्रमणमा उत्रन्छन् । प्राचीन ऋषि गौतमले आफ्नो न्याय दर्शनमा वितण्डतावाद बारे विस्तृत विवेचना गर्नु भएको छ । तर हाल राजनीतिमा विश्वब्यापी बनेको वामपन्थवादको इतिहासचाहिँ करिव दुई हजार वर्षको आसपास रहेको विश्वास गरिन्छ र यसको उद्गमका रूपमा प्राचीन मिश्र राज्य (हालको इजिप्ट)लाई लिइन्छ ।
यहुदी, इसाई र ईस्लामीहरू आत्माको स्वतन्त्र अस्तित्वलाई अस्वीकार गर्दछन । तिनका विचारमा आत्मा केवल शरीरसँग मात्र रहन्छ र शारीरिक मृत्यु भैसकेपछि पनि आत्मा त्यही शरीरमा लटपटिएर रहेको हुन्छ भन्ने मान्यता मिश्रवासीहरूको थियो । त्यसैले मिश्रमा कसैको मृत्युपश्चात् लासलाई राम्रो बस्त्रमा सजाएर सुन्दर कफिनमा राख्ने र त्यसलाई चिहानमा गाड्ने गरिन्थ्यो । वर्षमा एउटा रात परमेश्वर चिहानमा आएर मरेका मानिसलाई उठाउनु हुन्छ र धर्मात्मालाई आफ्नो दायाँ (दक्षिण) हाततर्फ र पापी जतिलाई आफ्नो वाम (बायाँ) हाततर्फ लामबद्ध गराइ पापीहरूलाई नरक र धर्मात्मा जतिलाई स्वर्ग पठाउने काम गर्नुहुन्छ भन्ने विश्वासमा उनीहरू थिए, छन् । त्यसैले आज पनि यहुदी, इसाइ र इस्लामीहरू मृत्युपछि मानिसलाई सूरक्षित चिहानमा गाड्छन र रेष्ट इन पिस (शान्तपूर्वक रहन)को कामना गर्दछन् । परमेश्वर आगमनको रातलाई उनीहरूले अन्तिम विचारको दिन (last day of judgement)का रूपमा लिने गरेका छन् । हो, त्यही परमेश्वर चिहानमा आइपुग्ने दिनसम्मका लागि उनीहरूले मृतकलाई आरामसङ्ग रहनु (rest in peace) भनेका हुन् ।
राणाहरूप्रति घृणा जगाउँदै काङ्ग्रेस र कम्युनिष्टको नेपाली राजनीतिमा प्रवेश भएको थियो । त्यसपछि पञ्चायत र राजाप्रति घृणा फैलाउँदै बहुदलीय प्रजातन्त्र स्थापनासम्म पुगेको हो । प्रजातान्त्रिक प्रणाली र काङ्ग्रेस-एमालेविरूद्ध घृणा बढाउँदै माओवादी प्रकट भयो र अहिले सबैप्रति घृणा जगाएर आफ्नो धन्दा चलाउन अदृष्य शक्तिका खेतालाहरू नेपाली राजनीतिमा स्थापित हुने र अर्को केही दशक नेपाललाई आफ्नो बन्दी बनाउने प्रयासमा जुटेका छन् ।
यसरी परमेश्वरले पापी जतिलाई बायाँतर्फ र धर्मात्मालाई आफ्नो दायाँतर्फ राखेर निर्णय सुनाउने गरेको परम्पराबाट प्रभावित भएर नै फ्रान्स र बिलायतका राजाहरूले संसदमा दायाँ र बायाँ बस्ने सांसदहरूको वर्गीकृत गरेका हुन् । फ्रान्सका राजाले परम्परागत मान्यताबाट प्रभावित भइ अलिक सभ्य, सकारात्मक सोचका, भद्र, शालिन, संस्कारी र सहयोगी विचार-भावनाका सांसदहरूलाई आफ्नो दायाँ हाततर्फ र अलिक अनुशासनहीन, अराजक, आलोचनात्मक, उपद्र्याहा, अभद्र र असभ्य जस्ता लाग्ने सांसदहरूलाई चाहिँ बायाँतर्फ राखेर संसदीय कारवाही सञ्चालन गर्ने गरेकाले त्यसैको अनुकरण बिलायतका राजाबाट भएको हो । आधुनिक राजनीति र राजनीतिक अभ्यासको जननी बिलायतलाई मानिएको हुँदा वामपन्थी र दक्षिणपन्थी विचार तथा ब्यवहारको अनुकरण त्यहीँबाट हुँदै आएको छ । आधुनिक विश्वका प्रजातन्त्रवादी र वामपन्थी सबैले वाम-विचारको उद्गम बिलायतलाई नै मान्ने गरेका छन्, यद्यपि बिलायतभन्दा अघि फ्रान्सले त्यस्तो अभ्यास गरिसकेको थियो ।
सामान्यतया वामपन्थीहरू नास्तिक हुन्छन्, भौतिकवादमा विश्वास गर्दछन् र पुराना सबै मान्यताप्रति आलोचनात्मक तथा नकारात्मक दृष्टि राख्छन् । नेपालमा इसाई र कम्युनिष्टको प्रवेश करिव एकै समयमा भएको हो । विक्रम सम्वत् २००७ सालको परिवर्तन लगत्तै नास्तिक नेता तत्कालीन गृहमन्त्री बीपी कोइरालाले युएमएन नामक इसाई मसिनरीलाई एक सम्झौतामार्फत नेपाल प्रवेश गराएका हुन् । देशको एकीकरणलगत्तै राष्ट्र निर्माता पृथ्वीनारायण शाहद्वारा सधैका लागि लखेटिएका इसाईहरूले त्यसपछिका १८२ वर्षसम्म नेपालमा प्रवेश पाएका थिएनन् । बीपीले इसाईलाई प्रवेश गराउनु भन्दा करिब एक वर्ष अगाडी मात्र कम्युनिष्ट पार्टीको स्थापना भएको थियो । दुःखद संयोग नै भन्नुपर्छ, उनै बीपीका नास्तिक भाइ गिरिजाप्रसाद कोइरालाले चाहिँ इसाईकरणलाई सहज तुल्याउन देशको सांस्कृतिक पहिचान मेटेर षडयन्त्रमूलक ढङ्गले धर्मनिरपेक्ष बनाइदिए ।
कम्युनिष्टहरू पुराना मान्यता, विश्वास, परम्परा र संरचनाको समूलनष्टी पश्चात् मात्र नयाँ कम्युनिष्ट संस्कृतिको स्थापना गर्न सकिने धारणा राख्दछन् । त्यस्तै इसाईहरू पनि नेपाल र नेपाल जस्तै विपन्न एवम् दरिद्री हाबी भएका मुलुकमा पुरानो धर्म संस्कृति र परम्परा नास गरेपछि मात्र इसाई पन्थीय संस्कृतिको विकाश गर्न सहज हुने ठान्दछन् । कम्युनिष्ट र क्रिश्चियन यही बिन्दुमा एक रहन्छन्, रहेका छन् । युरोपमा डिगर्स र मज्दाक नामक इसाईधर्मी समूहहरूले पन्ध्रौं शताब्दी र त्यसभन्दा अगाडिदेखि नै इसाई साम्यवादको अवधारणा ल्याएका थिए । निजी सम्पत्ती उन्मूलन गर्ने तिनकै विचार दर्शनमा आधारित रहेर युरोपमा अहिले पनि क्रिश्चियन कम्युनिष्ट पार्टी अस्तित्वमा छन् । पुरानोजति सबै ध्वस्त गर्ने विचार नै वामपन्थी विचार हो र प्रजातन्त्रको पक्षधर दाबी गर्नेहरू समेतले वामपन्थ अवलम्बन गरेका कारण मुलुक वाममय भएको हो ।
छिमेकी मित्रराष्ट्रहरू चीन र भारत दक्षिणमार्गी भएपछि मात्र तिनको समृद्धिको यात्रा प्रारम्भ भएको हो । माओले अवलम्बन गरेको अति वामपन्थी मार्गबाट अलग हुँदै देङ सियाओ पिङ्ले चीनलाई दक्षिणमार्गी बनाएर सुरु गरेको समृद्धिको यात्रा शिखरोन्मुख छ । माओको कथित साँस्कृतिक क्रान्ति र चियाङ्चिङका पक्षधरहरूले देङमाथि दक्षिणपन्थी संशोधनवादी विशेषण दिए पनि अन्ततः त्यही दक्षिणपन्थी विचार नै चीनको सान र समृद्धिको कारण बनेको छ ।
यतिबेला संसदमा रहेका सबै राजनीतिक दलहरू बामपन्थी हुन्, त्यसैले पूर्वीय दर्शन अनुसार उनीहरू वितण्डतावादी हुन् । वितण्डतावादले अर्को पक्षका विरूद्ध सम्पूर्ण बल लगाएर प्रस्तुत हुन मानिसलाई प्रेरित गर्दछ, उनीहरू विपक्षीप्रति अत्यन्तै कठोर र निर्मम हुन्छन, आलोचना सुन्न तथा सहन सक्दैनन् र आफ्नै मौलिक विचार निर्माण गर्न पनि उनीहरू असमर्थ रहन्छन् । २००७ सालको परिवर्तन भन्दा अलिक अघि राणाहरूप्रति घृणा जगाउँदै काङ्ग्रेस र कम्युनिष्टको नेपाली राजनीतिमा प्रवेश भएको थियो । त्यसपछि पञ्चायत र राजाप्रति घृणा फैलाउँदै बहुदलीय प्रजातन्त्र स्थापनासम्म पुगेको हो । प्रजातान्त्रिक प्रणाली र काङ्ग्रेस-एमालेविरूद्ध घृणा बढाउँदै माओवादी प्रकट भयो र अहिले सबैप्रति घृणा जगाएर आफ्नो धन्दा चलाउन अदृष्य शक्तिका खेतालाहरू नेपाली राजनीतिमा स्थापित हुने र अर्को केही दशक नेपाललाई आफ्नो बन्दी बनाउने प्रयासमा जुटेका छन् । यसरी अदृष्य शक्तिका खेताला बनेकाहरू देश र देशको हितसँग सरोकार राख्दैनन्, तर घृणाको व्यापार गरेर आफू ‘जेन्युइन’ राजनीतिक पक्ष भएको पुष्टि गर्न हरदम प्रयास गरिरहेका हुन्छन्, छन् । संसदमा रहेका दल, तिनका नेता र कार्यकर्ताको सोच-ब्यवहारमा समानता देखिनु, जुनकुनै पनि पक्ष कुनैपनि निहुँमा जुनकुनै पक्षसँग सहमति गर्न र विमति जनाउन तयार हुनु तथा अस्वस्थ एकता या अस्वस्थ बेमेलको स्थिति पैदा गराउन जहिले पनि तयार हुनुको मूल कारण पनि वितण्डतावाद अर्थात् वामपन्थवाद नै हो ।
कम्युनिष्ट वामपन्थीहरू पृथ्वीमा देशहरूको अस्तित्व नास गरेर मात्र साम्यवाद अर्थात कम्युनिज्म स्थापना गर्न सकिने अटल विश्वासमा छन् भने बाँकी सबै समूहले कम या बढी तिनै वामपन्थीहरूको अनुकरण अनुशरण गरिरहेका छन् । नकारात्मकताबाट आफ्नो भविष्य खोज्ने वामपन्थी विचारको प्रभावका कारण सिङ्गै नेपाली समाज नकारात्मक बनेको छ । शासकीय जिम्मेवारीमा पुगेका मानिस सबै खराब हुन्छन् भन्ने सन्देश प्रवाह गराएर वामपन्थीहरूले शासकीय भूमिकामा रहेका हरेक व्यक्ति गलत हुन् र तिनका विरुद्ध हरदम जाइलागिरहनु पर्छ भन्ने संस्कार आम जनतामा विकास गराएका छन् । वामपन्थकै कारण मानिसमा निराशा बढेको हो, यिनकै कारण मानिसले आफू र मातृभूमिप्रतिको विश्वास गुमाएका हुन् ।
दक्षिणपन्थमा मात्र राष्ट्रियता, सार्वभौमिक स्वतन्त्रता, इतिहास, मौलिक सभ्यता, संस्कृति र धर्मको रक्षा हुनसक्छ भन्ने विश्व अभ्यासले सिद्ध गरिसकेको छ । यही बुझेर हुनसक्छ अमेरिका पनि डोनाल्ड ट्रम्पको नेतृत्वमा दक्षिणपन्थी मान्यताहरूको सम्वर्द्धन गर्न जुटेको छ । आफ्ना मौलिक मान्यताहरूको संरक्षण र सम्वर्द्धन गर्दै सबल राष्ट्रियतासहितको समृद्ध मुलुक बनाउने विचार नै दक्षिणपन्थ हो । नेपालको सन्दर्भमा वाम र दक्षिण भन्दापनि मध्यमार्गी विचार नै उपयुक्त हुन सक्थ्यो । पहिले काङ्ग्रेस पार्टी बीपीको मार्गदर्शनअनुरुप क्रियाशील हुँदा उक्त पार्टी मध्यमार्गी भूमिकामा थियो । बीपीविचार त्यागेर माओवादीसँगको सहकार्यमा सामेल भएपछि मध्यमार्गी राजनीति सङ्कटमा परेको हो । तर अब नेपाली राजनीति भिन्न स्थितिमा पुगेको र राष्ट्रियताकेन्द्रित राजनीति सङ्कटमा परेको हुनाले विद्यमान राजनीतिमा दक्षिणमार्गी भएर मात्र सुधारको सम्भावना रहने स्थिति बनेको छ ।
परमेश्वरले पापी जतिलाई बायाँतर्फ र धर्मात्मालाई आफ्नो दायाँतर्फ राखेर निर्णय सुनाउने गरेको परम्पराबाट प्रभावित भएर नै फ्रान्स र बिलायतका राजाहरूले संसदमा दायाँ र बायाँ बस्ने सांसदहरूको वर्गीकृत गरेका हुन् । फ्रान्सका राजाले परम्परागत मान्यताबाट प्रभावित भइ अलिक सभ्य, सकारात्मक सोचका, भद्र, शालिन, संस्कारी र सहयोगी विचार भावनाका सांसदहरूलाई आफ्नो दायाँ हाततर्फ र अलिक अनुशासनहीन, अराजक, आलोचनात्मक, उपद्र्याहा, अभद्र र असभ्य जस्ता लाग्ने सांसदहरूलाई चाहिँ बायाँतर्फ राखेर संसदीय कारवाही सञ्चालन गर्ने गरेकाले त्यसैको अनुकरण बिलायतका राजाबाट भएको हो ।
नकारात्मकताको ‘विकास’ले नेपाली समाजलाई यसरी गाँजेको छ कि जसले अर्कालाई जति बढी गाली गर्नसक्छ सोही ब्यक्ति योग्य भनेर बुझ्ने ठाउँमा नेपाली समाज पुगेको छ । वामपन्थी विचारले पहिले धर्म-संस्कृति छोडायो, ईश्वर र परमात्मासँगको अटुट सम्बन्ध छुटायो, आफ्नो मौलिक सभ्यता र इतिहासप्रतिको गौरव छुटायो, अब सबैलाई देश छोड्ने मनस्थितिमा पुऱ्याएका छन् । यसरी सिङ्गै देश वाममार्गी हुन पुगेको छ, जबकि देशलाई राजनीतिक रूपले दक्षिणमार्गी नबनाएसम्म मुलुकको उत्थान र समृद्धि असम्भव हुन्छ । छिमेकी मित्रराष्ट्रहरू चीन र भारत दक्षिणमार्गी भएपछि मात्र तिनको समृद्धिको यात्रा प्रारम्भ भएको हो । माओले अवलम्बन गरेको अति बामपन्थी मार्गबाट अलग हुँदै देङ सियाओ पिङ्ले चीनलाई दक्षिणमार्गी बनाएर सुरु गरेको समृद्धिको यात्रा शिखरोन्मुख बनेको छ । माओको कथित साँस्कृतिक क्रान्ति र चियाङ्चिङका पक्षधरहरूले देङमाथि दक्षिणपन्थी संशोधनवादी विशेषण दिए पनि अन्ततः त्यही दक्षिणपन्थी विचार नै चीनको सान र समृद्धिको कारण बनेको छ । मित्रराष्ट्र भारतमा पनि दशक अघि नरेन्द्र मोदी, अटल बिहारी बाजपेयी र लालकृष्ण आडवाणीहरूको अगुवाईमा दक्षिणमार्गी यात्रा सुरु भएपछि भारतको उचाई ह्वात्तै बढेको हो ।
यसैगरी, वाममार्गी शासनले खोक्रो बनाएको विघटित सोभियत सङ्घको मूल राज्य रसिया भ्लादिमिर पुटिनको दक्षिणमार्गी यात्रामा अघि बढेसँगै रसियाको सान र मानमा कायापलट भएको छ । दक्षिणमार्गी पार्क चुङ हीले बनाएको दक्षिण कोरिया र बाममार्गी उत्तर कोरियाबीच तुलना हुनै नसक्ने स्तरको अन्तर छ । सिङ्गापुर बनाउने ली क्वान यु पनि दक्षिणपन्थी नै थिए । अति वामपन्थीले ध्वङ्श तुल्याएको कम्बोडियाले दक्षिणपन्थी मार्ग अवलम्बन गरेपछि त्यसले समृद्धिको बाटो पाएको महसूस गर्दैछ । स्काण्डिभियन मुलुकहरू नर्बे, स्वेडेनआदि तथा बिलायत, क्यानाडा, अष्ट्रेलिया र अधिकाङ्श युरोपेली मुलुकले अभ्यास गरेको दक्षिणपन्थी मार्ग हो । विश्वमा जति पनि मुलुकले सफलता पाएका छन् ती सबैले अपनाएको दक्षिणमार्गी विचार नै हो । लामो समय बाममार्गमा अड्किएको भियतनाम पनि दक्षिणमार्गी बनेपछि गरिबीलाई जित्ने अवस्थामा पुगेको छ । वाममार्गी भएर समृद्धिको यात्रा तय गर्ने विश्वमा अहिले एउटा पनि मुलुक नरहेबाट पनि वामपन्थी विचार उपयुक्त नरहेको शिद्ध हुन्छ ।
जबसम्म नेपाल वाममार्ग त्यागेर दक्षिणपन्थी मार्ग अवलम्बन गर्न तयार हुँदैन, तबसम्म देश ‘यस्तै’ चक्रब्यूहको चक्करमा रुमल्लिइरहने निश्चित छ । वाममार्गको प्रभाव उत्कर्षमा पुगेको हुनाले यसमा अलिकति पनि करेक्सन (सुधार) खोज्नु भनेको देशलाई दक्षिणपन्थी मार्गमा लैजानु हो, त्यसैले वैकल्पिक विचार भनेको दक्षिणपन्थी विचार हो र अब वैकल्पिक शक्ति बन्ने पनि दक्षिणपन्थी नै हुन् । त्यसैले आउनुहोस्, दक्षिणपन्थी बन्नुमा गौरव गरौँ र देश समृद्धिको यात्रामा अघि बढौँ, जय मातृभूमि !
प्रतिक्रिया