इन्दिरा राना, महाभियोग र सादा पन्नामा हस्ताक्षर !

इन्दिरा राना, महाभियोग र सादा पन्नामा हस्ताक्षर !


केही दिनअघि विदेश भ्रमणमा रहेको बेला उपसभामुख इन्दिरा रानामगरलाई महाभियोग लगाएर पदमुक्त गर्न एमाले र कांग्रेसका सांसदहरुलाई केही नलेखिएको सादा पन्नामा हस्ताक्षर गराइयो ।

एउटा संवैधानिक पदमाथिको यो अनैतिक र अराजनीतिक कर्म आफैंमा खेदजनक र आलोच्य विषय हो । केही वर्षअघि पनि अत्यन्त इमान्दार, निर्भीक एवम् कार्यक्षमताकी प्रचुर धनी नेपालकी प्रथम महिला प्रधानन्यायाधीश सुशीला कार्कीका सम्बन्धमा पनि यस्तै दुर्भाग्यपूर्ण कुरा आएका थिए । यतिबेला भने सार्वभौम संसद्ले निर्वाचित गरेको उपसभामुख इन्दिरा रानाविरुद्ध फेरि त्यही हतकण्डा अपनाएर महाभियोगको वितण्डा मच्चाउने तर्खर छ । यदि यो धम्कीमात्र होइन भने सम्भवतः त्यसलाई कुनै दिन कार्यान्वयनमा पनि लगिएला नै ।

निर्लज्जताको पनि एउटा सीमा हुन्छ । नाङ्गिनुमा पनि कहीँकतै एउटा लाज हुनुपर्ने हो । तर, एमाले र कांग्रेसमा त्यो अन्तिम लाज पनि रहेन । एकपछि अर्को निर्लज्ज हरकत गर्न दामाले बनेका कांग्रेस र एमाले किन यसरी विक्षिप्त हुँदै गएका हुन् ?- नेपाली जनताले भने त्यो नाङ्गो नाच हेरेर बारम्बार लाज मानिरहनु परेको छ, लामो समयदेखि ।

कांग्रेस र एमालेले वर्तमानमा गरिरहेका दुष्कर्ममाथि नेपाली जनता चरम रूपमा घिनाइसकेका छन् । जनताको त के कुरा, स्वयम् उनीहरुका तल्लो तहका कार्यकताहरू समेत नै पनि नेपाली जनताको यही घिनाइमा सहमत र सामेल भइसकेका छन् । भ्रष्टाचार र अनियमिततामा चुर्लुम्म डुबेका एमाले र कांग्रेससँग जन-आक्रोशको चरम सीमा छ । त्यसले कुनै पनि दिन र समय विष्फोटको रूप लियो भने एमाले र कांग्रेसको जीवन नै फेरि कहिल्यै उठ्न नसक्नेगरी समाप्त हुने पक्का छ ।

यतिबेला तत्कालै त्यो समय र स्थिति टड्कारो नभइदिएकै कारणले जनता एमाले र कांग्रेसको साथमा छन् भन्ने गुलियो भ्रम पालेर बसेका कांग्रेस-एमालेले थाहै नपाई त्यो दिन र समय आउने छ, उनीहरु नेपाली राजनीतिबाट सधैंका लागि बाहिरिने छन्- एक समयको नेपाल प्रजा परिषद् झैं । बरू प्रजा परिषद्ले चाहिं, एकरत्ति बेइमानी र अपराध गरेको थिएन । अहिले एमाले-कांग्रेसहरुले त नेपालको इतिहासमै कहिल्यै नभएको बेइमानी गर्दै नेपाली जनतालाई अक्षम्य धोका दिएका छन् । माफी गर्नै नसकिने अपराध गरेका छन् ।

प्रसङ्ग : उपसभामुख इन्दिरा रानामगर र उनीविरुद्धको महाभियोगको निर्लज्ज निशानाको थियो । इन्दिरा रानामगर राष्ट्रिय मात्र नभएर अन्तर्राष्ट्रिय रुपमा पनि चिनिएकी नेपाली समाजसेवी हुन् । उनले सानै उमेरदेखि सानै समयमा गरेकी सामाजिक कार्य उल्लेख्य र प्रशंसनीय मात्र होइन, सिङ्गो नेपाली जनताका हकमा गौरवयोग्य विषय पनि हो, छ । उनको क्षमता र इमान्दारीमा कुनै शंका छैन र त्यसलाई राष्ट्रले उपयोग गर्नु पर्दछ भनेर एउटा राजनीतिक दलले सांसद बनायो र संसद्ले उनलाई उपसभामुख बनायो ।

यतिबेला एमाले र कांग्रेसले प्रयोजन समेत नखुलाइएको कागजको सादा पन्नामा आ-आफ्ना सांसदहरुलाई हस्ताक्षर गराएको प्रकरण आलै छ; जसमा महाभियोगको भित्री षडयन्त्र सन्निहित छ । यदि महाभियोग प्रस्ताव ल्याउनु नै छ भने त्यो लेखेरै हस्ताक्षर गराइएको भए बरू त्यो थोरै भए पनि इमान्दारी हुने थियो । तर, खाली कागजमा हस्ताक्षर गराइनु सांसद पदको अवमूल्यन मात्र होइन, संसद्कै समेत अपमान, मानमर्दन र अन्तिम प्रहार हो । यो प्रकरणले यतिबेला कांग्रेस-एमालेबाट सिंगो सार्वभौम स्वतन्त्र संसद् घाइते भएर लम्पसार छ ।

कुरा दलहरुको मात्र छैन, स्वयम् सांसदहरू पनि मध्ययुगीन दासभन्दा पनि बढी दास भएका छन् – खाली पन्नामा हस्ताक्षर गरेर । दासले पनि बरू प्रश्न गर्ने थियो होला, खाली कागजमा सही गर्न लगाइँदा ! तर, हाम्रो सार्वभौम संसद्का दलीय ह्वीपपरस्त सांसदहरुले त कुनै प्रश्नबेगरै धस्काइदिए – हस्ताक्षर !

रवि लामिछानेको समर्थन पनि होइन र विरोध पनि होइन, त्यो बैग्ले विषय हो र छ । अहिले त्यतापट्टि नजाउँ । को दोषी र को निर्दोष – त्यो नेपाली जनताले फैसला गर्ने नै छन् । तर, इन्दिरा रानामाथिको प्रतिशोधपूर्ण जालसाजीले पक्कै पनि रविमाथि राजनीतिमा अराजनीतिक प्रतिशोध भएको हो भन्ने कुरामा ह्वात्तै बल पुगेको छ ।

सहकारी ठगीमा वर्षौंदेखि मुख्य रुपमा एमाले र त्यसपछि कांग्रेसकै माथिल्ला स्तरका नेता/कार्यकर्ताहरु भएका कुरा निष्पक्ष छानवीन गर्दा प्रमाणित हुने अवस्था छ । रविबाट गल्ती भएकै हो भने पनि राष्ट्रको चौथो ठूलो दलका नेतालाई जेलमै राखेर मुद्दा चलाउने जरुरत कदाचित थिएन, छैन । यसमा न्यायालय समेत चुकेकै हो र सत्तासीन दलहरुको प्रभावमा परेर तिनको गूढ मनसुवामा साथ दिएकै हो । यसबेला इन्दिरामाथि आरोप मढ्नुको अन्तर्य रविसँग प्रतिशोध साँधिएको प्रमाणित हुन पुगेको छ ।

कांग्रेसको डा. शेखर समूहले खाली कागजमा सही गर्न अस्वीकार गरेर सांसद र संसद्को धुकधुकी बचाउन खोजेको हो । तर, उनीहरु पनि कति समय टिक्ने हुन्- त्यो पनि हेर्नलायक नै हुने छ ।

निष्कर्षमा भन्नु पर्दा, एमाले-कांग्रेसले आफ्नै दुष्कर्मका कारण आफ्नो औचित्य त गुमाएका छन् नै – मानसिक सन्तुलन नै समेत गुमाएको परिप्रेक्ष्य पनि हुन सक्छ । इन्दिरा रानामगरविरुद्ध महाभियोग आओस्, टरोस् वा त्यो प्रस्ताव पारित नै किन नहोस् – एमाले र कांग्रेसले भने फेरि पनि एक पटक गहिरो अर्थ राख्ने जनविश्वास गुमाएका छन् ।