सडकमा देखिएको आक्रोश क्षणभरका लागि विजयजस्तो लागे पनि त्यो केवल विजयको भ्रम मात्र हो। सिंहदरबार, संसद भवन, अदालत यी पुर्खाले रगत बगाएर निर्माण गरेका नासो हुन् । तिनलाई जलाउनु केवल इँटा ढुङ्गा जलाउनु होइनस राष्ट्रको पहिचान जलाउनु हो। जसले पुर्खाको नासो जलाउँछ, उसलाई नेपाली भन्न सकिन्न ।
✍ काजी कार्की
नेपालको इतिहास केवल संघर्षको कथा होइन, चेतना र विजयको पनि कथा हो । जब पृथ्वीनारायण शाहले २० वर्षको उमेरमा नेपालको एकीकरणको यात्रा सुरु गरे; त्यो केवल भू-भाग जोड्ने अभियान थिएन; त्यो राष्ट्रको आत्मा निर्माण गर्ने कार्य थियो । उनले भनेका थिए- ‘नेपाल दुई ढुङ्गाबीचको तरुल हो ।’ यो चेतावनी मात्र थिएन, भविष्यको राजनीति र भौगोलिक यथार्थ बुझाउने गहिरो दृष्टि थियो ।
नेपाल बाँच्नका लागि सधैं सावधान रहनुपर्छ भन्ने शिक्षा त्यहीँबाट सुरु भएको हो । तर, आज, भदौ २३ र २४ को युवा विद्रोहले देखाएको चित्र पृथ्वीनारायण शाहको राष्ट्रनिर्माणको चेतनासँग ठ्याक्कै विपरीत छ। सडकमा देखिएको आक्रोश क्षणभरका लागि विजयजस्तो लागे पनि त्यो केवल विजयको भ्रम मात्र हो। सिंहदरबार, संसद भवन, अदालत यी पुर्खाले रगत बगाएर निर्माण गरेका नासो हुन् । तिनलाई जलाउनु केवल इँटा ढुङ्गा जलाउनु होइनस राष्ट्रको पहिचान जलाउनु हो। जसले पुर्खाको नासो जलाउँछ, उसलाई नेपाली भन्न सकिन्न ।
इतिहासले देखाउँछ, नेपालको शक्ति केवल विद्रोह र विभाजनमा होइन, दूरदर्शी नेतृत्वमा निहित छ। राजा महेन्द्रले २०१७ सालपछि लिएको कठोर निर्णयलाई आज पनि विभिन्न कोणबाट व्याख्या गर्न सकिन्छ तर उनले राष्ट्रिय एकता र विकासको जग हालिदिएका थिए । गाउँ-गाउँमा सडक पुगे, शिक्षाको विस्तार भयो, राष्ट्रिय पहिचानको खोजीलाई बलियो बनाइयो । उनले बुझेका थिए नेपालको अस्तित्व बाह्य शक्तिको कठपुतली भएर होइन, स्वाभिमानी राष्ट्र बनेर मात्र सम्भव छ। तर दुर्भाग्यवश, महेन्द्रपछि आउने नेतृत्वले त्यो धरोहरलाई निरन्तरता दिन सकेन। दलहरू सत्तालिप्सामा फस्दै गए, राष्ट्र निर्माणको सपना खोसिँदै गयो।
नेपालको भौगोलिक अवस्थाले हरेक निर्णयलाई संवेदनशील बनाउँछ। उत्तरमा चीन, दक्षिणमा भारत यी दुई शक्तिशाली छिमेकीबीच उभिएको नेपाल सधैं सावधान रहनुपर्ने राष्ट्र हो । भारतले आफ्नो स्वार्थअनुसार हस्तक्षेप गर्ने गरेको इतिहास छ, चीनले रणनीतिक दृष्टिले नेपाललाई आफ्नै सुरक्षासँग जोडेर हेर्ने गरेको तथ्य छ । यी दुवै छिमेकीबीच नेपालको स्वतन्त्रता कायम राख्नु सजिलो युक्रेनको उदाहरण हेर्दा स्पष्ट हुन्छ छिमेकी शक्तिहरूको खिचातानीमा परेपछि राष्ट्र कसरी अँध्यारो सुरुङ्गमा पुग्छ, त्यस्तै खतरा नेपालमा पनि छ । यदि हामी सचेत भएनौं भने नेपाल अर्को युक्रेन बन्न सक्छ, जहाँ विद्रोह र बाह्य हस्तक्षेपले देशलाई चिरफार गरिदिन्छ ।
नेपालको आन्तरिक राजनीतिमा डिप स्टेट को प्रभावबारे पनि विचार गर्नुपर्छ । दशकौँदेखि नेपालमा देखिएको अस्थिरता केवल दलहरूको असक्षम नेतृत्वका कारण मात्र होइन, गहिरो तहमा बसेको डिप स्टेटले पनि परिस्थितिलाई आफ्नो अनुकूल बनाउन खेलिरहेको छ । कहिले विदेशी स्वार्थ बोकेर, कहिले स्वदेशी नेताहरूलाई कठपुतली बनाएर । परिणाम एउटै हुन्छ, देश अस्थिर हुन्छ, जनता निराश हुन्छन्, र विकास अँध्यारो सुरुङ्गमै हराउँछ ।
अब विकल्प दुईवटा मात्र छन्- विजयको भ्रममा अँध्यारो सुरुङ्गतर्फ पस्ने वा शहीदका सपना र स्वाधीनताको लक्ष्यलाई स्मरण गर्दै चेतनाको उज्यालोतर्फ अघि बढ्ने । निर्णय हाम्रो सामूहिक विवेकमा छ । यही निर्णयले नेपाललाई खरानीमाथिबाट पुनर्जन्म दिन्छ, र यही निर्णयले साँचो अर्थमा नयाँ नेपाल निर्माण गर्छ ।
आज व्यवसायी पलायन भइरहेका छन्, लगानी हराउँदैछ । युवाको रगत सडकमा पोखिएको छ । तर दोष केवल विद्रोही युवामा छैन । मूल दोष त पुराना दलका नेताहरूमा छ, जसले सत्तालिप्सा र भ्रष्टाचारको राजनीतिले देशलाई यहाँसम्म ल्याए। उनीहरू अझै सच्चिएनन् भने, आगामी संकट अझै गहिरो हुनेछ ।
यसैबीच, सुशीला कार्की जस्ता गैर राजनीतिक नेतृत्व अस्थायी आशाको किरण बनेर आएका छन् । तर आकस्मिक समाधानले मात्र दीर्घकालीन स्थिरता सम्भव हुँदैन। त्यसका लागि संस्थागत संरचना अपरिहार्य छ। नेपालको दीर्घकालीन समाधान संवैधानिक राजसंस्थामा निहित छ। यसले शक्ति सन्तुलन कायम गर्छ, बाह्य हस्तक्षेप रोक्छ, राष्ट्रिय एकतालाई बलियो बनाउँछ, र भावी पुस्तालाई सुरक्षित भविष्य दिन्छ । युक्रेन र बंगलादेश जस्ता उदाहरणहरूले देखाइसकेका छन् दिशाहीन विद्रोह र विभाजनले राष्ट्रलाई कहाँ पुर्याउँछ भनेर ।
विजय भनेको भवन जलाउनु होइन, नागरिक त्रसित पार्नु होइन, व्यवसायी पलायन गर्नु होइन। विजय भनेको न्याय, विवेक र समावेशितामा आधारित चेतना हो। भ्रममा रमाएको विजय क्षणिक हुन्छस चेतनामा आधारित विजय मात्र शाश्वत हुन्छ। आज नेपाल खरानीमाथि उभिएको छ। तर खरानीमाथिबाट पनि पुनर्जन्म सम्भव छ। फिनिक्स पक्षीझैं नेपाल फेरि उठ्न सक्छ। तर त्यसका लागि अब १०-१० वर्षमा विद्रोह दोहोरिने चक्र अन्त्य गर्नुपर्छ। पुरानो राजनीति सुधार्नुपर्छ। राष्ट्रिय एकता, संवैधानिक राजसंस्था र नागरिक चेतनामा आधारित नयाँ नेपालको निर्माण गर्न सबै जुट्नुपर्छ।
नेपालले पृथ्वीनारायण शाहको एकीकरणदेखि राजा महेन्द्रको विकाससम्मको यात्रा गरेको छ । तर, आज पुराना दलहरूको असक्षमता, छिमेकी शक्तिहरूको हस्तक्षेप र डिप स्टेटको खेलले राष्ट्रलाई अँध्यारो सुरुङ्गतिर धकेलिरहेको छ । भदौ २३ र २४ को विद्रोह यसको प्रत्यक्ष प्रमाण हो । अब विकल्प दुईवटा मात्र छन्- विजयको भ्रममा अँध्यारो सुरुङ्गतर्फ पस्ने वा शहीदका सपना र स्वाधीनताको लक्ष्यलाई स्मरण गर्दै चेतनाको उज्यालोतर्फ अघि बढ्ने । निर्णय हाम्रो सामूहिक विवेकमा छ । यही निर्णयले नेपाललाई खरानीमाथिबाट पुनर्जन्म दिन्छ, र यही निर्णयले साँचो अर्थमा नयाँ नेपाल निर्माण गर्छ ।
जय मातृभूमि !
प्रतिक्रिया