अपहरण तथा शरीर बन्धक अपराधमा संलग्न दुई भारतीय नागरिक पक्राउ

अपहरण तथा शरीर बन्धक अपराधमा संलग्न दुई भारतीय नागरिक पक्राउ


अपहरण तथा शरीर बन्धक अपराधमा संलग्न दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले अपहरण तथा शरीर बन्धक राख्ने अपराधमा संलग्न भारत पञ्जाबका २४ वर्षीय परमप्रितसिंह र २८ वर्षीय लवप्रित सिंहलाई पक्राउ गरेको हो ।

परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले उनीहरुले भारत हरियाणाका २६ वर्षीय अङ्कित कुमारलाई झुक्यानमा पारेर नेपाल हुँदै अष्ट्रेलिया पठाइदिने भनी काठमाडौं ल्याएर बन्धक बनाएको सूचनाका आधारमा पक्राउ गरिएको जानकारी दिए ।

दुवै जनालाई सुन्धाराको होटल न्यू जोमसोमको कोठा नं ६ मा बन्धक बनाएर पीडितसँग रु २० लाख फिरौती मागेको सूचनाका आधार शुक्रबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला अदालत काठमाडौंबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले जानकारी दिए । उनीहरूका साथबाट विभिन्न कम्पनीका चार थान मोबाइलसमेत बरामद गरिएको छ ।