धारिलो हतियार देखाइ विदेशी नागरिकलाई अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
आइतबार पोखरा-२२ अनदु जङ्गल (कास्की)को सार्वजनिक स्थानमा ६७ वर्षीय जर्मन नागरिक अन्स पिटर मार्टीन एक्लै हिँडिरहेको अवस्थामा खुकुरी देखाइ हातपातसहित अभद्र व्यवहार गरेको सूचनाका आधारमा दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए ।
प्रहरीले जनाएअनुसार सूचना प्राप्त हुनासाथ तत्काल वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट प्रहरी टोली खटिई घटनामा संलग्न व्यक्तिहरूलाई एक थान खुकुरीसहित नियन्त्रणमा लिइएको हो । पक्राउ पर्नेमा माछापुच्छ्रे गाउँपालिका–८ का २४ वर्षीय नविन विक र तनहूँ व्यास नगरपालिका–५ का २१ वर्षीय विशाल दर्लामी रहेका छन् ।
उनीहरूलाई जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर अन्तर्गत अभद्र व्यवहारसम्बन्धी मुद्दामा १० दिन म्याद थप गरी अनुसन्धान अगाडी बढाइएको प्रवक्ता बस्नेतले बताए ।
प्रतिक्रिया