क्यानडामा नेपाली समुदायले सतबीज छरेर मनायो बालाचतुर्दशी

क्यानडामा नेपाली समुदायले सतबीज छरेर मनायो बालाचतुर्दशी


  • शिशिर सिंखडा, टोरण्टो

क्यानडाको नेपाली समुदायले बालाचतुर्दशी पर्वको अवसरमा सतबीज छर्दै पितृहरुको स्मरण गरेको छ । आज (३ मंसिर) बिहान क्यानडा अन्टारियोस्थित इस्ट गाराफ्य्राक्समा आयोजित मेलामा नेपाली समुदाय जम्मा भएर सतबीज छरिएको हो । मेलाको आयोजना नेप्लीज क्यानेडियन हेरिटेज सेन्टरले गरेको हो । सेन्टरका अध्यक्ष लीला भण्डारीका अनुसार नेपाली संकृतिको संरक्षण र आफ्ना दिवंगत पितृहरुको सम्झना गर्न कार्यक्रम आयोजना गरिएको हो ।

हेरिटेज सेन्टरकै अगुवाइमा ब्रामटनमा २०१६ देखि पशुपति मन्दिर सञ्चालनमा ल्याइएको छ । ठूलो पशुपति मन्दिर निर्माण र बौद्घ स्तुपा निर्माणका लागि सेन्टरले १० एकड जमिनसमेत खरिद गरेको छ । सतबीज मेला पनि मन्दिर निर्माणका लागि खरिद भएको नेपाली समुदायकै जमिनमा आयोजना गरिएको हो । मेला मन्दिरका पुजारीले शिवश्तोत्र, गणेशस्तुती वाचन र दीप प्रज्वलन गर्दै सुरुवात गरेका थिए ।

पितृ उद्धारका लागि गरिएको मेला तथा अन्य विभिन्न पर्वका अवसरमा गरिने यस्ता सांस्कृतिक गतिविधिले परदेशमा पनि नेपालीपन झल्किरहने एनआरएन क्यानडाका अध्यक्ष जगन सापकोटाको भनाइ छ । नेपाली समुदायका लागि गरिने साना तथा ठूला कार्यक्रमहरुमा सकेको योगदान गर्नुपर्ने र नेपालीबीच भाइचाराको भावना बढाउँदै संकृति संरक्षण गर्नुपर्नेमा अध्यक्ष सापकोटाले जोड दिए ।