हङकङमा दशकौँपछि भएको सबैभन्दा भीषण आगलागीका कारण मृत्यु हुनेको सङ्ख्या शुक्रबार (२८ नोभेम्बर) ९४ पुगेपछि बेपत्ता आफन्त खोज्दै असह्य पीडाबीच परिवारजन अस्पताल-अस्पताल धाइरहेका छन् । उत्तरी ताई पो जिल्लास्थित वाङ फुक कोर्टमा गत बुधबार दिउँसो लागेको आगो केही मिनेटमै द्रुत गतिमा फैलिँदै आठवटै आवासीय भवनलाई ३६ घण्टाभन्दा बढी समयसम्म जलेका खण्डहरमा रूपान्तरित गरिदिएको थियो । प्रत्यक्षदर्शीहरूका अनुसार आगो एक भवनमा लागेको केही मिनेटमै अर्को–अर्को ब्लकमा फैलिएको थियो ।
सम्बद्ध अधिकारीहरूले आगलागीको कारणबारे प्रारम्भिक अनुसन्धान सुरु गरेका छन्, जसमा भवनहरूलाई घेरेर निर्माणाधीन बाँसको मचान र प्लास्टिकको जाल सुरक्षाका लागि जोखिमकारक भएको आशङ्का गरिएको छ । शुक्रबार बिहानसम्म खोज तथा उद्धार टोलीले जलेका भवनहरूबाट लगातार कालो झोलामा शवहरू निकालिरहेका देखिएको एएफपीले जनाएको छ ।
थुप्रै परिवारका सदस्यहरू अझै बेपत्ता रहेकाले अस्पतालमा भीड बढिरहेको छ । अस्पतालहरूमा ५० जनाभन्दा बढी उपचाररत छन्, जसमा १२ जनाको अवस्था अत्यन्त गम्भीर र २८ जनाको अवस्था गम्भीर रहेको अधिकारीहरूले बताएका छन् ।
सन् १९४८ पछि हङकङमा भएको यो सबैभन्दा घातक आगलागी हो । त्यसबेला कम्तीमा १३५ जनाको मृत्यु भएको थियो । पछिल्ला वर्षमा सुरक्षा उपाय कडा बनाइएकाले यस्ता दुर्घटना धेरै कम भएका भए पनि यस प्रकरणले पुनः सुरक्षा प्रणालीबारे कठोर प्रश्न उठाएको छ ।
यसैबीच, भ्रष्टाचारविरोधी निकायले परिसरमा भइरहेको नवीकरण कार्यको अनियमितता बारे अनुसन्धान सुरू गरेको छ । प्रहरीका अनुसार आगलागीको सम्भावित कारण बन्नसक्ने तरल सामग्री लापरवाहीपूर्वक छोडिएको आशङ्कामा तीन जनालाई पक्राउ गरिएको छ । केही बासिन्दाले आगो लाग्दा फायर अलार्म नबजेको र घर–घर दौडेर आफूहरूलाई एक–आपसमा चेतावनी दिनुपरेको गुनासो गरेका छन् ।
हङकङ सरकारले पीडित सहयोगका लागि ३० करोड हङकङ डलरको राहत कोष स्थापना गरेको छ । प्रभावितहरूका लागि अस्थायी आवास, आपतकालीन सहयोग, निःशुल्क मनोवैज्ञानिक परामर्श तथा स्वास्थ्य सहायता उपलब्ध गराइएको छ ।
अनेक समुदायले सहयोग अभियान सञ्चालन गरिरहेका छन् । नजिकैका सार्वजनिक चोकमा कपडा, खाना, औषधि र दैनिक आवश्यक वस्तुहरूका केन्द्र स्थापना गरिएको छ । सहयोग यति धेरै आएपछि आयोजकहरूले थप राहत सामग्री हाललाई आवश्यक नभएको अपिल गर्नुपरेको थियो ।
प्रतिक्रिया