कांग्रेसद्वारा १५औँ महाधिवेशन आगामी पुस २६, २७ र २८ गते काठमाडौंमा गर्नेगरी कार्यतालिका सार्वजनिक

कांग्रेसद्वारा १५औँ महाधिवेशन आगामी पुस २६, २७ र २८ गते काठमाडौंमा गर्नेगरी कार्यतालिका सार्वजनिक


यही मङ्सिरको २३ गते म्याद सकिन लागेको पार्टीको वर्तमान कार्यसमितिको म्याद दुई महिना थप गर्दै नेपाली कांग्रेस केन्द्रीय समिति बैठक सम्पन्न भएको छ । पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा जारी केन्द्रीय समितिको सोमबार (१५ मङ्सिर) सम्पन्न बैठकले कार्यसमितिको म्याद दुई महिना थप गरेको हो ।

विसं २०७८ मङ्सिर २८ गतेसम्म काठमाडौंमा सम्पन्न भएको १४औँ महाधिवेशनबाट निर्वाचित सबै तहका पदाधिकारी र सदस्यहरूको अवधि पार्टीको विधानअनुसार मङ्सिर २३ गतेसम्म कायम रहेको थियो ।

देशमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमका कारण १५औँ महाधिवेशन अहिले गर्न सम्भव नभएपछि महाधिवेशनको तयारीकका लागि थप समय आवश्यक पर्ने भएकाले यस्तो अवस्थालाई ‘असाधारण स्थिति’ मानेर पार्टीको विधानको धारा ४३ बमोजिम पार्टीका सबै तहका पदाधिकारी तथा सदस्यको पदावधि मङ्सिर २४ गतेदेखि लागू हुनेगरी आगामी माघ मसान्तसम्मका लागि थपिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

उनका अनुसार दुई महिना म्याद थप भएसँगै कांग्रेसले १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता नवीकरण र वितरण गर्ने कार्यतालिकासहित महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । कांग्रेसले १५औँ महाधिवेशन आगामी पुस २६, २७ र २८ गते काठमाडौंमा हुनेगरी यही मङ्सिर २० गतेभित्र केन्द्रबाट नयाँ क्रियाशील फाराम वितरण गर्ने निर्णय गरेको छ ।

बैठकमा मङ्सिर २४ गतेभित्र प्रतिनिधिसभा क्षेत्रीय समिति हुँदै वडासम्म नयाँ क्रियाशील सदस्यताको फाराम पठाउने निर्णय भएको मुख्यसचिव पौडेलले जानकारी दिए । उनका अनुसार यसरी वितरण भएको क्रियाशील सदस्यता फाराम प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिको बैठकले निर्णय गरी उक्त सूची जिल्ला कार्यसमितिलाई आगामी पुस ८ गतेभित्र बुझाउने कार्यतालिका तय गरेको छ ।

आगामी पुस ११ गतेभित्र जिल्ला कार्यसमितिले क्रियाशील सदस्यता दिई फाराम र सूची केन्द्रीय समितिमा पठाउनुपर्नेछ । त्यस्तै, केन्द्रीय कार्यालयले केन्द्रीय सभापति/कार्यवाहक सभापतिबाट प्रमाणित क्रियाशील सदस्यताको नामावलीको अन्तिम सूची पुस १४ गते केन्द्रीय निर्वाचन समितिलाई बुझाउनेछ ।

पार्टीको क्रियाशील सदस्यता लिन चाहनेलाई नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित)को धारा ४ को उपधारा (१) र (३) बमोजिम योग्यता पुगेका व्यक्तिलाई सहज रूपमा सदस्यता प्रदान गर्ने र कुनै पनि पनि योग्य व्यक्तिलाई सदस्यताबाट वञ्चित नगर्ने निर्णय केन्द्रीय समितिले गरेको मुख्यसचिव पौडेलले जानकारी दिए ।

१४औँ महाधिवेशनमा कायम रहेको क्रियाशील सदस्य सङ्ख्याको शतप्रतिशत नयाँ क्रियाशील सदस्यता फाराम प्रतिनिधिसभा क्षेत्रलाई केन्द्रले उपलब्ध गराउने तथा वडाको जनसङ्ख्या, मतदाता र क्रियाशील सदस्यताको अनुपातमा आवश्यकताअनुसार थप माग भएबमोजिम सदस्यता वितरण गर्नसक्ने गरी सदस्यता फाराम उपलब्ध गराउने निर्णय केन्द्रीय समितिले गरेको छ ।

पार्टीले वडाको जनसङ्ख्याभित्र पनि महिला, आदिवासी जनजाति, दलित, मधेसी, खस, आर्य, थारु, मुस्लिम, अल्पसङ्ख्यक, अपाङ्गताको जनसङ्ख्यालाई मध्यनजर गरी सोही आधारमा समानुपातिकरसमावेशी प्रतिनिधित्वलाई ध्यान दिने, नयाँ क्रियाशील सदस्यता वितरण गर्दा १८ देखि ३० वर्षका युवाको व्यापक प्रतिनिधित्व हुनेगरी प्राथमिकता दिई वितरण गर्नुपर्ने, समाजमा विभिन्न पेसागत बुद्धिजीवी तथा सामाजिक कार्यमा संलग्न व्यक्तिलाई प्राथमिकता दिनुपर्नेलगायत निर्णय गरेको मुख्यसचिव पौडेलले बताए ।

निर्वाचनका समयमा पार्टी र उम्मेदवारका पक्षमा मत जुटाउने अभियानमा संलग्न भएका व्यक्ति, पार्टीले आयोजना गरेको प्रशिक्षण, गोष्ठी, अन्तरक्रियालगायत राजनीतिक, सामाजिक, सांस्कृतिक एवं विविध रचनात्मक कार्यक्रममा सक्रियतापूर्वक सहभागी भएका व्यक्ति, पार्टी वा भ्रातृ सङ्घका माध्यमबाट विकास निर्माण र अन्य सामाजिक कार्यमा सक्रिय रहेका व्यक्तिलाई क्रियाशील सदस्यता प्रदान गर्न आवश्यक प्रबन्ध गर्ने निर्णय गरेको उनको भनाइ छ ।

कांग्रेसले राष्ट्रिय मान्यता प्राप्त अन्य राजनीतिक दलबाट नेपाली कांग्रेसमा प्रवेश गरेका व्यक्तिलाई अनिवार्य रूपमा पार्टीको क्रियाशील सदस्यता उपलब्ध गराउने निर्णय गरेको मुख्यसचिव पौडेलले जानकारी दिए । उनका अनुसार मृत्यु भएका, पार्टी परित्याग गरेका, केन्द्रीय अनुशासन समितिले कारबाही गरेर निष्कासन गरेका, ‘मेरो क्रियाशील नवीकरण नगरिदिनु’ भनी लिखित वा मौखिक आग्रह गरेकाको बाहेक मङ्सिर २५ गतेभित्र सबैको सदस्यता नवीकरण गर्ने निर्णय गरेको छ ।

आगामी पुस १५ गतेभित्र जनसम्पर्क समितिको अधिवेशन सम्पन्न गरी पुस १६ गते गाउँ/नगर वडा अधिवेशन, पुस १७ गते गाउँ/नगरपालिका अधिवेशन, पुस १९ गते प्रदेशसभा क्षेत्रीय अधिवेशन, पुस २१ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन/एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन, पुस २२ गते दुई वा दुईभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन, पुस २३ र २४ गते सातै प्रदेश अधिवेशन र पुस २६, २७ र २८ काठमाडौंमा केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने निर्णयसहित कार्यतालिका सार्वजनिक गरेको मुख्यसचिव पौडेलले जानकारी दिए ।

केन्द्रीय समितिले १५औँ महाधिवेशनसँग सम्बन्धित कार्यको सिलसिलामा आवश्यकताअनुसार केन्द्रीय प्रतिनिधि सभापति/कार्यवाहक सभापतिले खटाउनसक्ने निर्णयसहित विधान संशोधन मस्यौदा समिति, क्रियाशील सदस्यता केन्द्रीय छानबिन समिति गठन गर्ने र केन्द्रीय निर्वाचन समितिलाई पूर्णता दिने जिम्मेवारीसमेत दिएको छ ।

कांग्रेसले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनतर्फको उम्मेदवारीका लागि विधानको धारा ३२ को उपधारा (९) (क) बमोजिम तथा प्रतिनिधिसभा (प्रत्यक्ष र समानुपातिक) सदस्यको निर्वाचनतर्फको विधानको धारा ३२ को उपधारा (८) (क) बमोजिमको प्रक्रिया पुर्‍याई उम्मेदवारको नाम प्रस्ताव र सिफारिस गर्न पार्टीका सम्बन्धित निकायलाई केन्द्रीय कार्यालयमार्फत स्पष्ट निर्देशनसहितको परिपत्र गर्ने निर्णय गरेको मुख्यसचिव पौडेलले बताए ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिनका लागि निर्वाचन आयोगमा निवेदन पेस गर्ने निर्णय समेत गरेको उनले जानकारी दिए ।

photo: rss