भागेका कैदीबन्दीलाई पक्राउ गर्न ‘अप्रेसन’ चलाइएको र लुटिएका थप हतियार पनि फिर्ता हुने क्रममा रहेको जिकिर
गृहमन्त्री ओमप्रकाश अर्यालले लुटिएका हतियार र भागेका कैदीबन्दीका कारण निर्वाचनलाई बिथोलिन नदिने बताएका छन् । धनगढीमा आज (१६ मंसिर) आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा गृहमन्त्री अर्यालले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा लुटिएका हतियार र फरार कैदीबन्दीका विषयमा धेरै अतिरञ्जित गर्न जरुरी नभएको अभिव्यक्ति दिए ।
जेनजी आन्दोलनको घटनामा लुटिएका ७२७ थान हतियार फिर्ता भइसकेको र चार हजार ५५२ कैदीबन्दी फिर्ता हुन बाँकी रहेको जानकारी दिँदै उनले फरार बाँकी कैदीबन्दीलाई पक्राउ गर्न ‘अप्रेसन’ चलाइएको र लुटिएका थप हतियार पनि फिर्ता हुने क्रममा रहेको जिकिर गरे ।
लोकतान्त्रिक पद्धतिमा चुनाव अपरिहार्य रहेको उल्लेख गर्दै उनले भने, ‘सरकारले वार्ता, संवाद र छलफललाई प्राथमिकता दिएको छ, कसैलाई पनि काखा र पाखा नगरी सबैका कुरा सुनिरहेका छौँ, सबैका भावना समेट्दै चुनावमा होमिइसकेका छौँ ।’ उनले विधिको शासन, हस्तक्षेप मुक्त प्रशासनसहित सुशासन कायम गरी तोकिएको समयमा निष्पक्ष र धाँधलीरहित निर्वाचन गराउनु सरकारको मुख्य उद्देश्य रहेको बताए ।
गृहमन्त्री अर्यालले कुशासन बेथितिका विरुद्ध जेनजी युवाहरुले उठाएका माग र भदौ २३ र २४ गतेको घटनापश्चात् गृह प्रशासनले शान्तिसुरक्षा, अपराध नियन्त्रण, सुशासन र सेवा प्रवाहको प्रभावकारितामा निष्ठापूर्वक काम गरिरहेको बताए ।
नागरिक र सुरक्षाकर्मी बीचको सम्बन्ध सुदृढ हुँदै गएको बताउँदै उनले भने, ‘सुरक्षाकर्मीको मनोबल उच्च भयो भने मात्र नागरिक र राष्ट्रको मनोबल पनि उच्च हुन्छ ।’ उनले तोकिएको समयमा निर्वाचनको वातावरण बनाउने काममा प्रदेश सरकारको भूमिका पनि महत्वपूर्ण हुनेमा जोड दिए ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले निर्वाचनको वातावरण बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै भने, ‘निर्वाचनमार्फत देशलाई सही मार्गमा लैजान सकिने भएकाले सबै एकजुट भएर निर्वाचनको वातावरण जरुरी छ ।’ आन्तरिक मामिला तथा कानुनमन्त्री हीरा सार्कीले नेपाल सरकारले दलहरुसँग समन्वय गरेर सुरक्षाको उचित वातावरण बनाउनुपर्ने बताए ।
photo: rss
प्रतिक्रिया