मधेस प्रदेश : मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान

मधेस प्रदेश : मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान


मधेस प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले मुख्यमन्त्री पदमा नियुक्तिका दाबी पेस गर्न आह्वान गरेका छन् ।

प्रदेश प्रमुखको कार्यालयले बुधबार (१७ मंसिर) सूचना जारी गरी शुक्रबार दिनको ५ः०० बजेभित्र दाबी पेस गर्न आह्वान गरेको हो ।

प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्री सरोजकुमार यादवले दिएको राजीनामा स्वीकृत भएकाले प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेशसभा सदस्यलाई दाबी पेस गर्न आह्वान गरिएको छ ।

यसअघि विश्वासको मत पाउने सम्भावना नदेखिएपछि यादवले मुख्यमन्त्री पदबाटले प्रदेशसभाको बैठकमै राजीनामा घोषणा गरेका थिए ।

राजीनामा दिनुअघि मुख्यमन्त्री यादवले आफ्नो नियुक्ति नै बाध्यात्मक रहेकाले विश्वासको मत अनिवार्य रूपमा लिनुपर्ने स्थिति नरहेको दाबी गरेका थिए । आफ्नो २२ दिनको कार्यकाल जनतामुखी काममा केन्द्रित रहेको उल्लेख गर्दै उनले भने, “म कुर्सीसँग होइन, सांसदहरूसँग विश्वासको मत लिने हो । तर, उनीहरू बैठकमै आएनन् । त्यसैले राजिनामा घोषणा गर्दछु ।”

बैठक सञ्चालन गरिरहेकी उपसभामुख बबिता राउत ईसरले मुख्यमन्त्री यादवले राजीनामा घोषणा गरिसकेको हुँदा विश्वासको मतसम्बन्धी प्रक्रिया अघि बढाउनुपर्ने आवश्यता नरहेको बताउँदै सभा स्थगित गरेकी थिइन् ।