श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक दलसँग गठबन्धन नगर्ने स्पष्ट गरेका छन् ।
बराहक्षेत्रस्थित चक्रघट्टीमा बुधबार (१७ मङ्सिर) आयोजित आमसभालाई सम्बोधन गर्दै उनले श्रम संस्कृति पार्टी स्वतन्त्र रूपमा चुनावी प्रतिस्पर्धामा उत्रिने बताए ।
‘हामी कसैसँग गठबन्धन गरेर होइन, आफ्नै बल र विश्वासको आधारमा चुनाव लड्छौँ, नेपालको कुनै पनि राजनीतिक दल चोखो र जनउत्तरदायी छैनन्’- साम्पाङले भने । श्रम संस्कृति पार्टी जाति, धर्मवर्गका आधारमा फुटेको देशलाई जोड्न निस्केको भन्दै उनले मुलुकको सामाजिक एकता र श्रमको सम्मानमा आधारित राजनीतिक संस्कृति विकास आफ्नो लक्ष्य रहेको जिकिर गरे ।
अध्यक्ष साम्पाङले आफ्नो नेतृत्वमा गठन भएको श्रम संस्कृति पार्टीले हाल देशभर सङ्गठन विस्तारलाई आक्रामक रूपमा अघि बढाइरहेको जानकारी दिँदै भने, ‘जेनजी आन्दोलनपछि ठूला भनिने दलहरू ‘पर्ख र हेर’ को अवस्थामा रहेको बेला श्रम संस्कृति पार्टीले सङ्गठन विस्तारलाई तीव्रता दिएको छ । जनताको विश्वास र समर्थन वृद्धिले आफ्नो दल राष्ट्रिय विकल्पका रूपमा स्थापित भएको छ ।’
प्रतिक्रिया