प्रधानमन्त्रीसँगको छलफलमा प्रसाईंले उठाए जनमत सङ्ग्रहमा जानुपर्ने माग

प्रधानमन्त्रीसँगको छलफलमा प्रसाईंले उठाए जनमत सङ्ग्रहमा जानुपर्ने माग


प्रधानमन्त्री सुशीला कार्कीले नागरिक बचाउ अभियानका टोलीसँग भेटघाट तथा छलफल गरेकी छन् ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा भेटघाटका लागि मन्त्रिपरिषद् कार्यालय पुगेको उक्त टोलीसँगको छलफलमा प्रधानमन्त्री कार्कीले आफूहरु पनि बेथिति र भ्रष्टाचार नियन्त्रण गर्नकै लागि आएको जिकिर गर्दै सरकार त्यसका लागि प्रयासरत रहेको बताइन् । प्रसाईंले उठाएका कतिपय माग जेनजी आन्दोलनका क्रममा उठेकै माग भएकाले तिनको सम्बोधन गर्नु आफ्नो दायित्व रहेको प्रधानमन्त्रीको भनाइ थियो । तर, ऋण मिनाहा गर्ने विषय भने राज्यले कसरी थेग्न सक्छ भनेर विचार गर्नुपर्ने धारणा उनले अघिसारेकी थिइन् ।

प्रसाईंले अघिसारेका मागका विषयमा आगामी दिनमा छलफल गर्दै जाने समझदारी भएको जनाइएको छ । नागरिक बचाउ अभियानका नेता प्रसाईंले प्रधानमन्त्री कार्कीलाई उपहारस्वरुप भगवती दुर्गाको मूर्ति प्रदान गरेका थिए ।उनले आफ्ना मागबारे प्रस्ट्याउँदै आफ्ना कुरा सुन्न तयार भएकोमा सरकारलाई धन्यवाद पनि दिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । सचिवालयकाअनुसार शान्तिपूर्ण वार्ताका माध्यमबाट सडकको आवाज सुन्ने वातावरण बनाइदिएको भन्दै उनले गृहमन्त्री ओमप्रकाश अर्यालको पनि प्रशंसा गरे ।

यता, प्रधानमन्त्री कार्कीसँगको छलफलपछि सञ्चारकर्मीसँगको संवादमा प्रसाईंले सर्वदलीय तरिकाले जनमत सङ्ग्रहमा जानुपर्ने माग राखेको जानकारी दिए । प्रधानमन्त्री कार्कीले आगामी पौष २ गतेसम्म मागहरुबारे निर्णय गर्ने आश्वासनदिएकोसमेत उनले खुलासा गरे ।

छलफलमा गृहमन्त्री ओमप्रकाश अर्याल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल, जनसम्पर्क सल्लाहकार गोविन्दनारायण तिमिल्सिना, मुख्य सचिव सुमनराज अर्याल सहभागी थिए । अधिवक्ताद्वय विनोदमणि भट्टराई र लवण न्यौपानेले भेटघाटको सहजीकरण गरेको पनि प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

photo: rss