एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेलले बुझाए ११औँ राष्ट्रिय महाधिवेशनका सन्दर्भमा ‘अवधारणा-पत्र’
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ११औँ राष्ट्रिय महाधिवेशनका सन्दर्भमा आफ्नो अवधारणा पत्र बुझाएका छन् । महासचिव शङ्कर पोखरेलमार्फत उनले सो अवधारणापत्र बुझाएका हुन् ।
ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा वरिष्ठ उपाध्यक्ष पोखरेलले अध्यक्ष ओलीलाई लेखिएको ‘अवधारणा-पत्र’ पार्टी महासचिव पोखरेललाई बुझाएका हुन् । अध्यक्ष ओलीलाई बुझाउने भनेता पनि समय नमिलेपछि महासचिव पोखरेललाई ‘अवधारणा-पत्र’ बुझाइएको हो ।
नेता पाोखरेलको अवधारणा पत्रमा पार्टी महाधिवेशनमा पार्टीको कार्यक्रम, कार्यदिशा, संगठनात्मक सिद्धान्त र नेतृत्वका सम्बन्धमा छलफलको माग गरिएको छ । उनले महाधिवेशनमा छलफलका लागि तयार पारिएको ‘अवधारणा-पत्र’ महाधिवेशनको बन्दसत्रमा प्रस्तुत गरी प्रतिनिधिको बीचमा छलफल गर्नेसमेत वातावरण मिलाउन अध्यक्ष ओलीलाई अनुरोध गरेका छन् ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले भदौ २३ गते भएको ‘जेन-जी’ आन्दोलन र भदौ २४ गतेको विध्वंशपछि मुलुकमा असाधरण फेरबदल भएकाले पार्टीले लिएका नीति र कार्यनीतिका समस्याबारे पुनः मूल्याङ्कन गर्नुपर्ने बताएका छन् ।
“राष्ट्रिय महाधिवेशनमा पार्टीको कार्यक्रम, कार्यदिशा, संगठनात्मक सिद्धान्त र नेतृत्वका सम्बन्धमा छलफलको आवश्यकता देखिएको छ । हिजोका हाम्रा कतिपय निष्कर्षलाई नयाँ सन्दर्भमा अद्यावधिक गर्न जरुरी भएको छ,” उनले अवधारणा पत्रमा उल्लेख गरेका छन् ।
अवधारणा पत्र बुझाउन वरिष्ठ उपाध्यक्ष पोखरेलसँगै उपाध्यक्ष सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली, सचिव योगेश भट्टराईसमेत गएका थिए ।
ज्ञातव्य छ, वरिष्ठ उपाध्यक्ष पोखरेलले आसन्न महाधिवेशनमा अध्यक्षको उम्मेद्वारी घोषणा गरेका छन् ।
प्रतिक्रिया