नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ उपाध्यक्ष एवम् आफ्ना सम्भावित प्रतिद्वन्द्वी ईश्वर पोखरेललाई किन सन्चो नभएको हो भन्ने प्रश्न राख्नुभएको छ । पोखरेलले जेन्जी विध्वङ्शका क्रममा भएका घटनालाई लिएर गठित आयोगमा उपस्थित भएर ओलीले बयान दिनुपर्छ भनी भन्नुभएको कुरालाई लिएर सोधिएको प्रश्नको जवाफ दिँदै उहाले उक्त अभिव्यक्ति दिनुभएको हो ।
अध्यक्ष ओलीले सुशीला कार्की र हाम्रा केही मित्रहरूको इच्छा एउटै रहेको आफूलाई थाहा भएको बताउनुभएको छ । महाधिवेशनको पूर्वसन्ध्यामा आज (२५ मंसिर) काठमाडौंमा आयोजित सम्पादकहरूसङ्गको छलफलका क्रममा ओलीले उक्त अभिव्यक्ति दिनुभएको हो । एक प्रश्नको जवाफमा ओलीले आफू कामचलाउ प्रधानमन्त्री भइ मुकाम बदलेर काम गरिरहेको अवस्थामा भागेको भनी हल्ला गरिएको स्पष्टोक्ति दिनुभयो । उहाँले केटाकेटीहरूलाई ठूला मान्छे भागेको जस्तो देख्दा रमाइलो लाग्ने हुँदा आफूले यसो मुकाम बदलिदिएको उहाँको भनाइ छ ।
अब कसैले कसैसङ्ग डराउनु पर्दैन भन्दै ओलीले एमाले आफ्नो मात्र होइन देशको रक्षा गर्न पनि समर्थ रहेको विश्वास प्रकट गर्नुभयो । उहाँले संसद् विघटन र सरकार गठन असम्वैधानिक भएको पनि स्पष्ट गर्नुभएको छ।
यदि स्थायी रूपले प्रजातन्त्र नास गर्न खोजियो र राष्ट्र सङ्कटमा पर्ने भयो भने हामी शान्तिपूर्ण जनआन्दोलन गरेर देशलाई लिकमा ल्याउनेछौँ ।
केपी ओलीले सुशीला कार्की र जेन्जीकाबीच भएको सम्झौतालाई कलाविहीन नाटकको संज्ञा दिनुभयो । लुटपाट, तोडफोड र आगजनीका घटना जेन्जीले गरेको होइन त्यस्तो घटना आपराधिक तत्वहरूबाट भएको हो भन्दै तिनले कानूनी कारबाही भोग्नुपर्ने बताउनुभयो । ओलीले झुक्क्याएर नागरिकता लिनेहरू समेत आगजनी र लुटपाटमा सहभागी भएको आशङ्का गर्नुभएको छ । उहाँले मिचिएको संविधान, खोसिएको लोकतन्त्र र असंवैधानिक तवरमा गरिएको संसद् विघटनलाई बदर गर्दै देशलाई ट्र्याकमा ल्याउन पुनर्जागरण आन्दोलन गरिने धारणा राख्नुभयो ।
ओलीले सन्निकट महाधिवेशनमा आफ्नोविरूद्ध कोही नउठ्ला र आफू निर्विरोध बनौला भन्ने विश्वास रहेको बताउनुभयो । मेसीले दुईवटा मात्रै खेल खेलेर छोडेका हुन् र ? भन्ने प्रश्न गर्दै ओलीले आफूले पनि भविष्यमा छोड्ने बताउनुभयो । उहाँले दुई कार्यकालको प्रावन आफूले खेल खेल्नसक्ने भएको हुनाले हटाइएको दाबी गर्नुभएको छ ।
मोदीले जस्तो तीन कार्यकाल, सी जिन पिङले जस्तो तीन कार्यकाल र पुटिनले जस्तो तीन चार कार्यकाल काम गर्न पाउँदा मात्रै देशमा परिणाम ल्याउनेगरी काम गर्न सकिने विचार ओलीले ब्यक्त गर्नुभएको छ ।
सेनामा लोकतान्त्रिकरणको कुरा वाहियात हो भन्दै सेनामा लोकतन्त्र होइन अनुशासन महत्वपूर्ण हुने पनि ओलीले स्पष्ट गर्नुभएको छ !
प्रतिक्रिया