एमाले महाधिवेशन : आज उम्मेदवारको मनोनयन

एमाले महाधिवेशन : आज उम्मेदवारको मनोनयन


नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले जारी ११औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रको दोस्रो दिन आज (२९ मङ्सिर) नयाँ नेतृत्वका लागि उम्मेदवार मनोनयन हुँदैछ ।

निर्वाचन कार्यतालिकाअनुसार आज बिहान १०ः३० देखि १ः३० बजेसम्म उम्मेदवारको दर्ता मनोनयन हुनेछ । एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा.विजय सुब्बाका अनुसार आयोगले आज बिहान १०ः१५ बजे मतदाताको अन्तिम नामावली प्रकाशन गरेर उम्मेदवारको दर्ता प्रक्रिया सुरु गर्नेछ ।

आयोगले हिजो मतादाता नामावली सार्वजनिक गर्दै निर्वाचन प्रक्रिया सुरु गरेको हो । निर्वाचन कार्यतालिकाअनुसार आज मनोनयनका लागि बिहान ९ः०० देखि दिउँसो १२ः०० बजेसम्म उम्मेदवारको दरखास्त फारम विवरण गरिनेछ । मनोनयनपछि आजै दिउँसो २ः३० बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गर्ने र दिउँसो २ः३० देखि ३ः०० बजेसम्म उम्मेदवारको विरोधमा उजुरी लिने समय तालिका तोकिएको छ ।

यस्तै, आयोगले उम्मेदवारको नाम फिर्ता लिनका लागि आज दिउँसो ३ः१० देखि ५ः०० बजेसम्म समय तोकेको छ र उम्मेदवारको अन्तिम नामावली साँझ ६ः०० बजे प्रकाशित गर्ने निर्वाचन कार्यतालिकामा उल्लेख गरिएको छ । निर्वाचन आयोगले आज सबै प्रक्रिया सकेर भोलि पुस १ गते निर्वाचन हुने जनाएको छ ।

आयोगका अध्यक्ष डा. सुब्बाका अनुसार नयाँ नेतृत्वका लागि यही पुस १ गते बिहान ११ः०० देखि बेलुका ५ः०० बजेसम्म मतदान हुनेछ । मतदान महाधिवेशनस्थल भृकुटीमण्डपमा हुनेछ ।

एमालेले यसपटक पनि विद्युतीय भोटिङ मेसिनबाट मतदान गर्ने भएको छ । महाधिवेशनमा दुई हजार २६२ प्रतिनिधि सहभागी छन् । नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने भएको छ ।