एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक

एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक


नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी मनोनयनको अन्तिम नामावली सार्वजनिक गरिएको छ ।

सो पार्टीको केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको नामावलीअनुसार अध्यक्ष पदमा वर्तमान अध्यक्ष केपी शर्मा ओली र वर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने भएको छ । निर्वाचन कार्यक्रम भृकुटीमण्डपमा जारी रहेकोे छ ।

यस्तै, ५ जना उपाध्यक्ष पदका लागि ११ जनाको उम्मेदवारी परेको छ । महासचिव पदका लागि शङ्कर पोखरेल र सुरेन्द्र पाण्डेको मनोनयन दर्ता भएको छ ।

तीन उपमहासचिव पदका लागि सात जनाको उम्मेदवारी परेको छ । नौ सचिव पदका लागि २० जनाको उम्मेदवारी दर्ता भएको छ । आयोगले आज (१ पुस) अपराह्न साँझ ४ बजेदेखि निर्वाचन गर्ने तयारी गरेको छ । महाधिवेशनमा २२६२ प्रतिनिधि छन् ।

नेता गौतमद्वारा उपमहासचिव पदको उम्मेदवारी फिर्ता

यसैबीच, उपमहासचिव पदमा उम्मेदवार बनेका नेता राजेन्द्र गौतमले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । एमाले प्रचार विभाग प्रमुखसमेत रहेका नेता गौतमले प्रेस विज्ञप्ति जारी गर्दै उम्मदवारी फिर्ता लिएका हुन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षको समूहमा नपरेपछि उनले उपमहासचिव पदका लागि स्वतन्त्र रुपमा प्रतिस्पर्धा गर्नेगरी उम्मेदवारी दिएका थिए । उनले खुला केन्द्रीय सदस्य पदका लागि दिएको उम्मेदवारी भने कायम नै रहेको जनाइएको छ ।

photo: rss