सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा रहेको श्री शारदा माध्यमिक विद्यालय एसएलसी व्याच २०५५ का अध्यक्ष एवं सिन्धुपाल्चोक उद्योग बाणिज्य संघका सदस्य उमेश नामबाट सुपरिचत युवा व्यवसायी अम्बर श्रेष्ठ श्री शारदा माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा चयन भएका छन् । लामो समयदेखि व्यवसाय तथा सामाजिक कार्यहरुमा समेत सक्रिय रहेका श्रेष्ठको पहलमा गत साल सोही विद्यालयमा विपन्न विद्यार्थीहरुको सहयोगको लागि एसएलसी व्याच २०५५को तर्फबाट अक्षयकोष समेत स्थापना गरिएको थियो ।
यसअगाडिका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शम्भु बहादुर तिमल्सिनाको कार्यकाल समाप्त भएसंगै बाह्रबिसे नगरपालिकाले अध्यक्षमा अम्बर श्रेष्ठ (उमेश) र सदस्यहरुमा बैकुण्ठ कार्की, बिष्णुगोपाल श्रेष्ठ र शंकर बस्नेतलाई मनोनित गरेको हो ।
विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा मनोनित भएपछि अध्यक्ष श्रेष्ठले आफ्नो काँधमा ठुलो जिम्मेवारी थपिएको महसूस भएको बताएका छन् । उनले विद्यालयलाई अझ उत्कृष्ट बनाउन के गर्न सकिन्छ भन्ने विषयमा आफुले प्रारम्भिक खाका तयार गरिसकेको भए पनि विस्तृत मोडल तयार गरेर मात्र सार्वजानिक गर्ने बताए । विद्यालयको शैक्षिक गुणस्तर उच्च बनाउन आफ्नो विवेक र क्षमताले भ्याएसम्म काम गर्ने श्रेष्ठको भनाइ छ ।
प्रतिक्रिया