स्थानीय व्यवसायीले रसुवा नाका नै कब्जा गर्ने चाल चलेपछि…

स्थानीय व्यवसायीले रसुवा नाका नै कब्जा गर्ने चाल चलेपछि…


एकातिर चीनसँगको ब्यापारका लागि अत्यन्त महत्वपूर्ण रहेको तातोपानी नाका दश वर्षअघिको भूकम्पको बेलादेखि नै पहिरोका कारण कहिले ठप्प त कहिले अनेक किसिमका झमेलाका कारण बन्द रहँदै आएको छ । तातोपानी नाकामा आइपरेको ब्यवधानका कारण सयौँ व्यापारीले ठूलो घाटा ब्यहोर्नुपरेको सर्वविदित नै छ । गत दशैँको समयमा पनि पहिरोले सडक बन्द हुन्दा नेपाली व्यवसायीका सयौँ कन्टेनर सामान चीनतर्फ रोकिएर निकै क्षति पुगेको थियो ।

यस्तो परिवेशमा यता रसुवाको गोसाईंकुण्ड गाउँपालिका-२ टिमुरेमा गत असार २४ गतेको भीषण बाढी-पहिरोले चीन र नेपालको सिमानामा रहेको पुल समेत बगाएपछि अर्को समस्या थपियो । सो पुल बगेपछि हालैमात्र बेलिब्रिज प्रकारको पुल चीन सरकारले निर्माण सम्पन्न गरेको छ । तर, चाइनाबाट आउने मालवस्तु हालसम्म चाइनामै रोकिएको अवस्था छ । यही १३ पुस आइतबारदेखि सो पुलबाट मानिस आवतजावत गर्न दिइने र पुस १७ (जनवरी १, २०२६) देखि मालबाहक ट्रकहरू पनि आवतजावत गर्न दिने भनिएको छ, जसले व्यवसायी वर्गलाई राहत महसूस गराएको बुझिन्छ ।

तर, रसुवा जिल्लाका केही व्यक्तिले बाहिरी जिल्लाका व्यवसायीहरूलाई कारोबारका लागि रसुवा भएर चीन जान नदिने भनी बखेडा निकालेका छन् । रसुवाका सीमित ब्यक्तिले ब्यक्तिगत लाभका लागि नाका नै कब्जा गर्न लागेपछि अन्य जिल्लाका व्यवसायीहरू तरङ्गित भएका छन् । सम्बन्धित व्यवसायको सामान चेकजाँच गर्नको लागि व्यवसायी व्यक्तिहरू नै चीन जानुपर्ने बाध्यता रहेको हुँदा ‘माफिया’ले झिेकेको बखेडा र विवादलाई समाधान गरी जुन जिल्लाको भएपनि नेपालभरिका चाइना साइट जान मिल्ने व्यवसायी व्यक्तिहरूलाई सहज रूपमा आफ्नो व्यवसाय वा आफ्नो लगानी बचाउको लागि जाने-आउने वातावरण मिलाइदिन उनीहरूले सरकारलाई गुहारेका छन् । जेन्जी आन्दोलनपछि गठित सरकारले आफ्नो गुनासो सुनेर समस्या समाधान गरिदिने अपेक्षा व्यवसायीहरूले गरेका छन् ।