दशौँ निर्यात दिवसका अवसरमा राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा दुईदिने ‘निर्यात मेला’ सुरु भएको छ । नेपाल निर्यात परिषद्को आयोजना, व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र र नेपाल हस्तकला महासङ्घको सहकार्यमा आइतबार (२० पुस) देखि दुईदिने निर्यात मेला सुरु भएको हो ।
मेलाको उद्घाटन कार्यक्रममा व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाले विश्व बजारमा नेपाली सामान निर्यात गर्ने नेपाल निर्यात परिषद्ले खेलेको भूमिका सराहनीय रहेको बताए । विदेशमा सामान निर्यातका क्रममा देखिएका झन्झटलाई समाधान गर्नका लागि व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले काम गर्दै आइरहेको उनको भनाइ थियो ।
नेपाल हस्तकला महासङ्घका अध्यक्ष रवीन्द्र शाक्यले नेपालमा उत्पादित हस्तकलाका सामानलाई विदेशमा निर्यात गर्न परिषद्सँग महासङ्घले सहकार्य गरिरहेको बताए । निर्यात परिषद्का वरिष्ठ उपाध्यक्ष डा. रामशरण थपलियाले विदेशी मुद्रा भित्र्याउने निर्यातजन्य वस्तुमा सरकारले दिइरहेको नगद अनुदान रोकिँदा व्यवसायीहरु मर्कामा परेको अवगत गराए । उनले नगद अनुदान रोक्ने सरकारको निर्णय तत्काल सच्याउन मागसमेत गरे ।
मेलामा हस्तकलाका सामान, फेल्ट, धातुका सामग्री, गार्मेन्ट, नेपाली ढाकाका कपडा, उलनका हाते उत्पादनका सामग्रीलगायत २० कक्ष राखिएको परिषद्का महासचिव हरि ढकालले जानकारी दिए । सोमबारसम्म चल्ने मेलामा सामग्री प्रदर्शन, बिक्रीवितरण र विदेशी व्यवसायीसँग छलफल हुनेछ । नेपालबाट आर्थिक वर्ष २०८१/८२ मा रु दुई खर्ब ७७ अर्ब तीन करोड र चालु आवको चार महिनामा रु ९३ अर्ब ५० करोडको सामान विभिन्न मुलुक निर्यात भएको तथ्याङ्क छ ।
photo: rss
प्रतिक्रिया