पर्यटनमा पनि कमिसनखोरी : पाइला-पाइलामा ठगिँदै पर्यटक

पर्यटनमा पनि कमिसनखोरी : पाइला-पाइलामा ठगिँदै पर्यटक


नेपालमा वर्षेनि लाखौंको संख्यामा विदेशी नागरिक घुम्न आउँछन् । यहाँको प्राकृतिक सुन्दरता हेर्न, रहनसहनबारे बुझ्न छिमेकीसहित तेस्रो मुलुकबाट पर्यटकहरू आउने गरेका छन् । उनीहरूको यहाँको बसाइ सहजीकरण गर्न ‘टुरिष्ट गाइड’हरू छन् । गाइडहरूले नै उनीहरूलाई घुमाउन लैजान्छन् । ठाउँबारे जानकारी दिन्छन् । त्यसबापत गाइडहरूले शुल्क लिन्छन् ।

तथापि, गाइडहरू कमिशन खान छोड्दैनन् । कमिशन दिने होटलमा लगेर राखिदिन्छन्, कमिशन दिने पसलमा लगेर पर्यटकलाई सामान किन्न लगाउँछन् । पर्यटकबस र ट्याक्सीचालकसँग पनि उनीहरूले कमिशन खान्छन् । जसले कमिशन दिन्छ, उसैको व्यापार चलाइदिने । गाइडले सस्तो र राम्रो भनेर सामान किनाउँछन्, आफूले कमिशन खान्छन् । एक सयको सामान पर्यटकलाई हजारौंमा बेचिन्छ । र, त्यो रकम पसले र गाइडले भाग लगाउँछन् ।

सरकारले विदेशी चढ्ने हरियो प्लेटको ट्याक्सी र बसमा पुरै भन्सार र भ्याट छुट दिएको हुन्छ । विदेशीलाई सस्तो परोस्, उनीहरू नठगिउन् भन्ने उद्देश्यले सरकारले हरियो प्लेटमा छुट दिन्छ । पर्यटकका निम्ति सरकारले आफू घाटा खान्छ । तर, चालक र गाइडहरू भने ठग्न छोड्दैनन् । जति मनलाग्यो, त्यति भाडा उठाइरहेको अवस्था छ । सरकारले हरियो प्लेटको ट्याक्सी र बसको भाडा निर्धारण गरेको छैन ।

यसरी पर्यटक ठगिँदा यातायात व्यवस्था विभाग र नेपाल पर्यटन बोर्ड टुलुटुलु रमिता हेरेर बसिरहेको छ । एअरपोर्टमा जम्मा २०७ वटा ट्याक्सी सञ्चालनमा छ । त्यहाँ २०५० सालदेखि नयाँ दर्ता बन्द छ । एअरपोर्टमा चल्ने कुनै ट्याक्सीमा मीटर जडान गरिएको छैन । ट्याक्सीचालकलाई जति मनलाग्छ, त्यति भाडा असुल्छन् । उनीहरूले पर्यटनलाई होटलमा लगेर राखिएबापत कमिशन पनि खान्छन् । आफूलाई जुन होटलमा कमिशन आउँछ, ट्याक्सीचालकले त्यही होटलमा लगेर राखिने गरेका छन् ।

बसको हकमा पनि यही नै हो । कालो प्लेटको ट्याक्सीले त पर्यटन देख्नेबित्तिकै दशौं गुणा भाडा बढाइहाल्छन् । पाँच सय रुपैयाँ उठ्ने बाटोमा पाँच हजार माग्छन् । व्यापारीलाई पनि विदेशी देख्नै हुँदैन । एक्लै हिँडेको विदेशीलाई झन् बढी ठगिन्छ । पाँच सयको सामान पाँच हजारमा भिडाउँछन् । झन् माग्नेले त विदेशीलाई धुरुक्कै रुवाउँछन् । घेरेर पैसा माग्छन् ।

हामीकहाँ भन्ने गरिन्छ- अतिथि देव भवः ! तर, पछिल्लो समय अतिथिलाई ठग्ने चलन मौलाएको छ । पहिले-पहिले अतिथिलाई सत्कार गरिन्थ्यो, भगवान् मानिन्थ्यो । पर्यटक पनि हाम्रो लागि अतिथि नै हुन् । उनीहरू नेपाल आउनु हाम्रै अर्थतन्त्र बलियो हुनु हो । यद्यपि, कसैले त्यो कुरा सोच्दैन । सबैलाई ठग्नु नै छ !

कतिपय विदेशी नेपाल आउँदा सार्वजनिक यातायातमा यात्रा गर्छन् । सहचालकले उनीहरूलाई नराम्रो व्यवहार गर्छन् । उनीहरूलाई ठग्न खोजिहाल्छन् । बसमा कसैले सिट पनि छोड्दैनन् । उभिएर उनीहरू यात्रा गर्छन् । केही दिनअघिको घटना हो, दुई विदेशी पनौतीबाट काठमाडौं चल्ने रुटको गाडी चढे । बसमा सीट थिएन । तीन जना सरकारी कर्मचारी सीटमा बसिरहेका थिए तर उनीहरूले विदेशीलाई सीट छोड्दिएनन् । पर्यटन प्रोत्साहनमा भूमिका खेल्नुपर्ने कर्मचारीहरूको व्यवहार त यस्तो छ भने व्यापारीले उनीहरूलाई नठग्लान् ? व्यापारीको त उद्देश्य नै जसरी पनि कमाउनु हो ।

विदेशी नागरिक हाम्रो देश आएपछि उसको जनधनको सुरक्षा गर्नु सरकारको दायित्व हो । उनीहरूले यहाँ राम्रो अनुभव गर्न पाएभने आफ्नो देशमा गएर प्रचार गर्छन् । नेपाल आउने पर्यटकको संख्या बढ्छ । अर्थतन्त्रमा त्यसले योगदान पुऱ्याउँछ । तर, सरकारलाई मतलबै छैन । कति विदेशी आए ? कति राजश्व जम्मा भयो ? सरोकारवाला निकाय यसमै केन्द्रीत छ । विदेशीहरू ठगिएका छन् कि, उनीहरूलाई असुविधा भएको छ कि, उनीहरू कहाँ बसिरहेका छन् ? के गरिरहेका छन् ? सरकारले बेवास्ता गर्दै आएको छ ।

अन्य मुलुकमा पर्यटकको इन्ट्री हुनेबित्तिकै उसको सम्पूर्ण डाटा सरकारले राख्छ । कहाँ गयो, के गऱ्यो ? सरकारसँग डाटा पुगिरहेको हुन्छ । यसले उनीहरूको सुरक्षा पनि हुन्छ, साथै देशमा कुनै अपराधिक क्रियाकलाप गर्न पाउँदैनन् । तर, हामीकहाँ त्यस्तो छैन । जसका कारण विदेशीहरू ठगिइरहेका छन्, लुटिइरहेका छन् । घुम्न आएका कतिको ज्यान गएको उदाहरण पनि छ । यस्तो अवस्थामा को नेपाल आउन चाहन्छ ? सरकार यस विषयमा गम्भीर हुनुपर्छ । विदेशीको संख्या यति पुऱ्याउने भनेर मात्र हुँदैन । उनीहरूलाई सुरक्षाको प्रत्याभूति दिलाउनुपर्छ । नेपाल आउन प्रोत्साहन गर्नुपर्छ ।

अहिले देशभर ठूल्ठूला होटल, रेष्टुरेण्ट खुलेका छन् । ती होटलले पर्यटकसँग मनोमानी शुल्क उठाइरहेका छन् । सरकारले शुल्क तोकिँदैन । जति लिए पनि भो । होटलले ग्राहक लगेबापत कमिशन दिन्छन् । त्यो कमिशन दिएको पैसा ग्राहकसँग उठाउँछन् । विदेशीको मात्र होइन, नेपालीको हकमा पनि त्यही नै छ । लामो रुटमा चल्ने सार्वजनिक यातायातले कुनै होटलमा लगेर गाडी रोकिदियो भने चालक-सहचालकले सित्तैमा खाना खान पाउँछन्, साथै कमिशन पनि लिन्छन् । त्यो पैसा होटलले ग्राहकबाट असुल्छ । यो अहिलेपनि चलिरहेको छ । यो ठगीको विरुद्ध कसले आवाज उठाउने ? नेपालीले त बोल्न सक्दैनन् भने विदेशीले के बोल्थे ?

यो देशमा जहाँपनि कमिशन । यहाँ कसैले कसैमाथि विश्वास गर्ने वातावरण नै छैन । जसले सक्छ, उसले लुटेको छ । नेपालका राजनीतिक दल, सरकारी कर्मचारी, व्यापारीलगायत सबै कमिशनखोर भइदिए । राजनीतिक दल र सरकारी कर्मचारी घुस र कमिशन खाएपछि कानुनविपरीत काम पनि गर्ने । व्यापारीको काम नै जसरी हुने कमाउने हो । विदेशी होस् या स्वदेशी, जोपनि ठगिएका छन् । जो ठग्न सक्छ, उही माथि गएको छ । यो समाजमा उसैको सम्मान गरिन्छ ।

मुलुकमा विभिन्न मितिमा राजनीति परिवर्तन भयो । सामान्ती, शोषक, लुटाहा, ठगहरूलाई कारबाही गर्छौं भनेर आन्दोलन गरियो । तर, के उपलब्धि भयो ? केही पनि रोकिएन । झन् ठगीधन्दा मौलायो । पहिले नेपालीलाई मात्र लुटिन्थ्यो, अहिले विदेशीलाई पनि लुटिन्छ । कसैले कसैको ख्याल नै गर्दैन । नैतिकता भन्ने चीज मर्दै गयो । सबै जना ठगेर मोटाउन थाले । सरकार कहिल्यै होटल अनुगमन गर्दैन, न शुल्क नै निर्धारण गर्न सक्छ ।

सरकार व्यापारीको अगाडि एकदमै निरीह भयो । कुन खानाको रेट कति ? कुन रुमको भाडा कति ? बसभाडा कति ? सामानको मूल्य कति ? ट्याक्सीभाडा कति ? शुल्क तोकिएको छैन । सामान्य भाडा त निर्धारण गर्न नसक्ने सरकारले देश बनाउने रे ! योभन्दा हास्यापद कुरा के होला ? नेपालमा कानुन छ, तर कार्यान्वयन गर्ने कोही भएनन् । कार्यान्वयन गर्नेहरू आफै तिनीहरूबाट कमिशन लिएर मोटाइरहेका छन्, अनि के कारबाही गर्थें ! नेपालीहरूले नेपालीलाई त ठगे, विदेशीलाई पनि छोडेनन् । यो विडम्बना कहिलेसम्म ?