दूध दुहुने प्रतियोगितात्मक ‘रियालिटी शो’ सुरु हुँदै

दूध दुहुने प्रतियोगितात्मक ‘रियालिटी शो’ सुरु हुँदै


नेपालमै पहिलो पटक पशुपालक किसानहरूबीच दूध दुहुने प्रतियोगितात्मक रियालिटी शो ‘दूध’ सुरु हुने भएको छ ।

भरतपुर महानगरपालिका (चितवन)का व्यावसायिक पशुपालकमध्ये दूधलाई विविधिकरण गर्ने सहकारीमा दूध बिक्री गर्ने २० जना किसानलाई छनोट गरेर कार्यक्रम निर्माण गरिएको हो । कार्यक्रममा किसानको दूध दुहुने कौशलतासँगै पशुप्रतिको व्यवहार, आहारा व्यवस्थापन, गोठको सरसफाइ, दूधको शुद्धतालगायतका पक्षहरूको मूल्याङ्कन गरिने निर्माता रविन सुवेदीले जानकारी दिएका छन् ।

दूधमा आत्मनिर्भर जिल्ला चितवन उन्नत गाई भित्र्याउने जिल्लाका रूपमा चिनिन्छ । ‘पशुपालनकै माध्यमबाट यस क्षेत्रका धेरै किसानले राम्रो आर्थिक उन्नति गरेका छन् । आफ्ना सन्तानलाई स्वदेश तथा विदेशका विश्वविद्यालयमा पढाउन सफल भएका छन्, ती मेहनती किसानको सम्मानका लागि नै यो कार्यक्रम निर्माण गरिएको हो’, सुवेदीले भनेका छन् ।

पहिलो संस्करणको प्रतिक्रिया हेरेर आगामी दिनमा कार्यक्रमलाई बृहत् बनाउँदै लैजाने योजना रहेको उनले बताए । नयाँ पुस्तालाई समेत पशुपालन गर्दाको मेहनत र सङ्घर्षको कथा प्रस्तुतीकरण रोचक लाग्ने जनाइएको छ ।

हरेक मङ्गलबार साँझ एपी वान टेलिभिजनबाट प्रसारण हुने शो ‘मेरो सेरोफेरो’ युट्युब च्यानल र सिनर्जी एफएमबाट पनि प्रसारण गर्ने तयारी छ । कार्यक्रम संयोजक गोविन्द न्यौपानेले किसानलाई ‘आइडल’ बनाउने उद्देश्यले शो निर्माण गरिएको बताए । “कृषि कार्यक्रमहरू प्रायः एउटै फर्म्याटमा सीमित भइरहेका बेला विविधिकरण सम्भव छ भन्ने सोचसहित यो प्रयास गरिएको हो, किसानको गोठमै प्राविधिक, जनप्रतिनिधि र विज्ञ लगेर गरिने यो प्रतियोगितात्मक शोले किसानबीच समन्वयको भूमिका समेत खेल्नेछ”, उनले भनेका छन् ।

खेतीले मुख्य प्रायोजन गरेको यस कार्यक्रममा भरतपुर महानगरपालिका प्रवर्द्धकका रूपमा रहेको छ । कार्यक्रमका निर्णायकमा भरतपुर महानगरपालिकाका वरिष्ठ कृषि अर्थविज्ञ तेजेन्द्रप्रसाद पौडेल, कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपप्राध्यापक डा. शत्रुघन शाह, केन्द्रीय दुग्ध उत्पादक सहकारी सङ्घका उपाध्यक्ष भगिरथ तिमिल्सेना तथा राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुरका प्राविधिक अधिकृत डा. यज्ञराज पाण्डे रहेका छन् ।