राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको नाम नै फेर्ने प्रस्ताव आएपछि उज्यालो नेपाल पार्टी (उनेपा) सँगको एकता भङ्ग भएको निष्कर्ष निकालेको छ । उनेपासँगको एकता भङ्ग भएपछि शनिबार (२६ पुस) बसेको रास्वपा सचिवालय बैठकले कुलमान घिसिङले एकपछि अर्को प्रस्ताव ल्याएका कारण एकताले पूर्णता पाउन नसकेको निष्कर्ष निकालेको रास्वपा नेता शिशिर खनालको भनाइ छ ।
घिसिङले पार्टीको नयाँ नाम राख्नुपर्ने, आफूलाई वरिष्ठ उपसभापति बनाउनुपर्ने, निर्वाचन क्षेत्रको सिट बाँड्फाँड गर्नुपर्ने, पार्टीका अन्य पदाधिकारीमा पनि आफ्नो पार्टीका नेतालाई नियुक्त गर्नुपर्नेलगायत प्रस्ताव ल्याएपछि एकता भङ्ग भएकाबारे सभापति रवि लामिछानेले बैठकमा जानकारी गराएको उनले जानकारी दिएका छन् ।
पार्टी एकताका क्रममा भएको सहमतिभन्दा फरक र छुट्टाछुट्टै पूरक प्रस्ताव आउन थालेपछि एकता अगाडि बढ्न नसकेको रास्वपाको आरोप छ । एकतासँगै वरिष्ठ उपसभापति, महामन्त्री, पदाधिकारी, थप सचिवालय सदस्य, केन्द्रीय सदस्य र निर्वाचन क्षेत्रसम्मको बाँडफाँडको प्रस्ताव आएपछि एकतालाई पूर्णता दिन समस्या भएको खनालको भनाइ छ ।
यसअघि रास्वपा र उनेपाबीच भदौ २३ र २४ को जेनजी आन्दोलन, भ्रष्टाचारविरोधी चेतना, सुशासन र मेरिटोक्रेसीको नारालाई मूल आधार बनाउनेलगायत सातबुँदे सहमति भएको थियो ।
उता, शनिबार उनेपाका अध्यक्ष घोषित गरिएका कुलमान घिसिङको बेग्लै गुनासो छ । उनले भनेका छन्, ‘हाम्रो पार्टीलाई पदका लागि मोलमालाई गर्यौ भन्ने आरोप लागेको छ, यो गलत छ । यसअघि म वरियता क्रममा तल रहेर उपाध्यक्ष पदमा बसेको थिएँ । समावेशिता, सङ्घीयता लगायतको विषयमा पूरक सम्झौता नभएपछि एकता तोडिएको हो ।’
घिसिङले रास्वपासँग भएको सहमति भङ्ग भएको घोषणा गर्दै अब पार्टीको छुट्टै चुनाव चिह्न लिएर प्रतिनिधिसभाको निर्वाचनमा सहभागी हुने उद्घोष गरेका छन् । आफ्नो पार्टीले दशेभरका निर्वाचन क्षेत्रमा उम्मेदवार खडा गर्ने पनि उनले बताएका छन् ।
प्रतिक्रिया