होम सहकारीको १७औँ वार्षिक साधारणसभा सम्पन्न

होम सहकारीको १७औँ वार्षिक साधारणसभा सम्पन्न


ललितपुरमा रहेको होम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष मुकुन्द महर्जनको अध्यक्षता एवम् संस्थाका जेष्ठ सदस्य सानुबाबु महर्जनको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभामा संस्थाको वर्तमान अवस्था, आगामी कार्यदिशा तथा आर्थिक चुनौतीबारे गहन छलफल गरियो ।

साधारणसभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष महर्जनले आर्थिक, सामाजिक तथा संस्थागत प्रगतिबारे सदस्यहरूलाई जानकारी गराएका थिए । प्रतिवेदनमा संस्थाले आर्थिक अनुशासन कायम राख्दै सदस्य केन्द्रित सेवा विस्तारमा जोड दिएको उल्लेख गरिएको छ ।

२०६५ सालमा स्थापना भएको होम बचत तथा ऋण सहकारी संस्था सहकारी ऐन, नियमावली तथा सहकारीका मूल्य–मान्यताअनुसार सञ्चालन हुँदै आएको उल्लेख गर्दै अध्यक्ष महर्जनले ‘समुन्नत भविष्यका लागि बचत गर्ने बानी बसालौँ’ भन्ने नारासहित स्थापना भएको संस्थाले १७ वर्षको अवधिमा विभिन्न अनुभव र उपलब्धि हासिल गरेको जानकारी दिए ।

सो अवसरमा संस्थाको लेखा सुपरीवेक्षण समितिका संयोजक भुपेन्द्रमान बज्राचार्यले लेखा व्यवस्थापनसम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए । साधारणसभाले संस्थालाई अझ व्यवस्थित, पारदर्शी र सदस्यमैत्री बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ ।

उक्त संस्थामा हाल ५९४ जना सेयर सदस्य आबद्ध रहेका छन् ।