उपचारका क्रममा किशोरीको मृत्यु भएपछि अवस्था तनावग्रस्त

उपचारका क्रममा किशोरीको मृत्यु भएपछि अवस्था तनावग्रस्त


सर्लाहीको लालबन्दी नगरपालिकास्थित नवलपुरमा एक किशोरीको उपचारका क्रममा मृत्यु भएपछि अवस्था तनावग्रस्त बनेको छ ।

लालबन्दी नगरपालिका–१, नवलपुरमा पायल्सको उपचारका क्रममा सोही नगरपालिका–२, पुनर्वास बस्ने अन्दाजी १८ वर्षीया हंशु पासवानको मृत्यु भएको हो । नवलपुरमा रहेको मोहन आयुर्वेद औषधालयका चिकित्सकले लापरबाही पूर्ण ढङ्गले गलत शल्यक्रिया गरिदिएकाले किशोरीको मृत्यु भएको परिवारको आरोप छ ।

शल्यक्रियालगत्तै अवस्था गम्भीर बनेपछि किशोरीलाई थप उपचारका लागि हरिवनस्थित नमूना अस्पताल लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिएका छन् । घटनालगत्तै मृतकका आफन्त तथा स्थानीयले टायर बालेर पूर्वपश्चिम राजमार्गमा केहीबेर सवारी आवागमन अवरुद्ध गरेका थिए ।

सुरक्षा निकायको पहलमा घटनाको निष्पक्ष छानबिन गर्ने र पीडित परिवारलाई राहत उपलब्ध गराउने सहमतिपछि यातायात पुनः सञ्चालन भएको प्रहरी नायब उपरीक्षक राईले बताइ । किशोरीको उपचारमा संलग्न चिकित्सकलाई नियन्त्रणमा लिइ प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।