✍ पुरुषोत्तम ढकाल
यस्तै फुल्नुपर्छ फूल
अनुकुल हुनुपर्छ परिवर्तन
म भन्दिनँ मैले भनेजस्तै हुनुपर्छ वसन्त
र म बोल्दिनँ मेरो अनुभूतिको मेरो ब्यथा
पहेँलो फुलेको टारी र फाँटको त्यो कथा
नायक कस्तो हुनुपर्छ
म सोच्दिनँ मेरो अनुकुल
ठ्याक्क मैले भनेजस्तो
हिमालयले पनि बोलेको छ यो वर्ष
बारम्बार गर्जिएको छ तरुण
पूर्व, पश्चिम, पृथ्वी, जमिन, आकास
सबैले हरेक दिशाबाट सोधिरहेका छन्
नायकहरू कस्तो हुनुपर्छ ?
फुलेका तोरीका फूलहरूले रंग ल्याए
र, कामदेवले पनि यौवन र अमृत पस्किए
दुलही जस्तो मेरो देश अंग, अंगमा रोमाञ्चित छे
तर प्रिय देशवाशी तिम्रो हातमा छ देश
चुनावपछि बिरह नगाउनु है
चुनावपछि शंखले आर्यघाट रोज्यो भने
यो वसन्तको रंग र युद्धको तमासा हुनेछ
सुरुवात र अन्त्य एकसाथ आएको यो वसन्त
देशले नायक पर्खिरहेको छ
र तरुनीले अँगालो र देशले तरवार
मनमोहक नजर होस् वा तोरण लको तीर
त्यो कामुक आनन्द भए उत्तम
मुक्तिदिवस भए अति उत्तम
तिमीले, तिम्रो भोट जटिल बनाएजस्तै
यो वसन्त र तिम्रो भाग्यको जटिल प्रश्न पनि हो
सुरु भएको मेरो प्रिय वसन्त
र देशले पाए नायक वा खलनायकको विजय
नपाए फुलेर झरेको तोरीको फुलजस्तै
उदास अनि अर्को उदासी, मेरो वसन्त
र उदासिमै अन्तिम भोज खाने म र मेरो देश ।।
- लस एन्जलस, संयुक्तराज्य अमेरिका
(२५ जनवरी २०२६, साँझको अन्तिम प्रहर)
प्रतिक्रिया