महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको विमान दुर्घटनामा निधन

महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको विमान दुर्घटनामा निधन


महाराष्ट्र (भारत)का उपमुख्यमन्त्री अजित पवारको चार्टर विमान दुर्घटनामा बुधबार (१४ माघ) बिहान निधन भएको छ । बारामतीमा अवतरण गर्ने क्रममा विमान दुर्घटनाग्रस्त हुँदा पवारसहित विमानमा सवार सबै पाँच जनाको मृत्यु भएको हो ।

बिहान करिब ८ बजे मुम्बईबाट उडेको सानो चार्टर विमान बारामती विमानस्थलनजिकै अवतरण प्रयासका क्रममा दुर्घटनामा परेको थियो । दुर्घटनास्थलमा विमानका अवशेषबाट आगो र धुवाँ निस्किएको देखिएको थियो । अजित पवार जिल्ला परिषद् चुनावसम्बन्धी कार्यक्रममा सहभागी हुन बारामती जाँदै गरेका बताइएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदी र केन्द्रीय गृहमन्त्री अमित शाहका साथै भारतका विभिन्न दलका सांसद तथा केन्द्रीय मन्त्रीहरूले पवारको निधनमा गहिरो दुःख व्यक्त गरेका छन् ।

दिग्गज नेता शरद पवारका भतिजा अजित पवार फरक-फरक समय र विभिन्न सरकारमा गरी सबैभन्दा धेरै अवधिसम्म महाराष्ट्रको उपमुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्ने नेता थिए । पृथ्वीराज चव्हाण, देवेन्द्र फडणवीस, उद्धव ठाकरे र एकनाथ सिन्दे नेतृत्वका सरकारहरूमा उनले उपमुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । उनका श्रीमती सुनेत्रा पवार एवम् छोराहरू जय र पार्थ पवार छन् ।