नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी सङ्गठनलाई सुदृढ बनाउँदै जनताको भरोसा जित्नेगरी अघि बढ्नुपर्ने धारणा अघिसारेका छन् ।
शुक्रबार (१६ माघ) पार्टीको मधेस प्रदेश कार्यसमितिद्वारा जनकपुरधाममा आयोजित प्रदेश कार्यसमिति तथा प्रतिनिधिसभा सदस्य उम्मेदवारहरूको विशेष बैठकलाई सम्बोधन गर्दै सभापति थापाले सङ्गठनात्मक एकता, अनुशासन र सक्रियता नै पार्टीको मुख्य शक्ति भएको उल्लेख गरे ।
‘कांग्रेसमा कुनै गुट छैन, हामी सबै एक हौँ, सबै मिलेर अघि बढ्नुपर्छ, निवर्तमान सभापति शेरबहादुर देउवासँग सल्लाह लिइरहेका छौँ’, उनले भने । मधेसका मुद्दालाई नेपाली कांग्रेसले सम्बोधन गर्ने थापाको भनाइ छ ।
मधेस प्रदेशका राजनीतिक, सामाजिक र आर्थिक मुद्दालाई प्राथमिकतामा राखेर स्पष्ट एजेन्डाका साथ अघि बढ्न नेता तथा कार्यकर्तालाई आग्रह गर्दै सभापति थापाले आगामी निर्वाचनलाई लक्षित गरी पार्टीभित्र गुटबन्दीभन्दा माथि उठेर साझा लक्ष्यका लागि काम गर्नुपर्नेमा जोड दिए ।
प्रतिनिधिसभा सदस्य उम्मेदवारलाई जनतासँग नजिक रहेर काम गर्न, विकास र सुशासनलाई प्राथमिकतामा राख्न तथा पार्टीका निर्णय र नीतिहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न उनले आग्रह गरे ।
photo: rss
प्रतिक्रिया