एक दशकभन्दा बढी अवधिमा झण्डै दुई करोड अमेरिकी डलर घुस लिएको अभियोगमा चीनको एक अदालतले पूर्व न्यायमन्त्रीलाई सोमबार (२ फेब्रुअरी) आजीवन कारावासको सजाय सुनाएको छ ।
सन् २०२० देखि सन् २०२३ सम्म ६४ वर्षीय ताङ यिजुन चीनको न्यायमन्त्री रहेका थिए । उनले लियाओनिङ प्रान्तका गभर्नर र निङ्बो शहरका लागि चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी)का प्रमुखसहित विभिन्न पदहरू सम्हालेका थिए ।
राष्ट्रपति सी जिनपिङले सन् २०१२ मा सत्तामा आएदेखि नै भ्रष्टाचारविरोधी व्यापक अभियान चलाएका छन्, यद्यपि आलोचकहरूले यसलाई राष्ट्रपति सीले सम्भावित राजनीतिक प्रतिद्वन्द्वीहरूलाई समाप्त गर्ने रणनीति अपनाएको आरोप लगाउने गरेका छन् ।
पूर्वी चीनको ‘सियामेन इन्टरमीडिएट पिपुल्स कोर्ट’ले एक विज्ञप्तिमा भनेको छ, ‘ताङले सन् २००६ देखि सन् २०२२ को बीचमा ‘विभिन्न संस्था र व्यक्तिहरूका लागि लाभ प्राप्त गर्न’ क्रमिक रूपमा धारण गरेका पदहरूसँग सम्बन्धित फाइदाहरूको दुरुपयोग गरेको देखिन्छ।’
भुक्तानीको बदलामा पूर्व अधिकारीले व्यक्ति र कम्पनीहरूलाई प्रारम्भिक सार्वजनिक बोलपत्र निष्कासन, बैङ्कको ऋण सुरक्षित गर्न, जग्गा अधिग्रहण गर्न र अन्य मामिलामा सहयोग गरेको अभियोग लागेको थियो ।
ताङले कुल १३७ मिलियन युआन (१९.७ लाख डलर) प्राप्त गरेका थिए ।
अदालतले भनेको छ, ‘यसले भ्रष्टाचार कम गर्ने परिस्थितिहरूलाई ध्यानमा राखेको छ । ताङले आफ्नो गिरफ्तारीपछि अभियोग स्वीकार गरेको, पश्चाताप व्यक्त गरेकोे, दोषी स्वीकार गरेको र अनुसन्धानमा सहयोग गर्नुभएको छ।’
अर्का पूर्व चिनियाँ न्यायमन्त्री फु झेङहुआलाई सन् २०२२ मा भ्रष्टाचारको अभियोगमा दोषी ठहर गरिएको थियो । उनले दुई वर्षको राहतको साथ मृत्युदण्डको सजाय पाएका थिए, तर पछि सजाय आजीवन कारावासमा परिवर्तन भएको थियो ।
अधिकारीहरूले गत महिना चीनका सबैभन्दा शक्तिशाली जनरल झाङ युक्सियामाथि भ्रष्टाचारविरोधी अनुसन्धान सुरु गरिरहेका छन् । उनी हालैका दशकहरूमा पदबाट हटाइएको सबैभन्दा उच्च सैन्य व्यक्तित्व हुन् ।
प्रतिक्रिया