राजनीतिमा विवेकीय प्रयोगको महत्व सर्वाधिक रहन्छ । प्रतिनिधिको भूमिकामा रहने ब्यक्ति जति विवेकीय हुनुपर्ने ठानिन्छ, मतदातामा त्योभन्दा कम विवेकीय क्षमता हुनु नहुने विश्वास गरिन्छ । नेपालीमा एउटा उखान प्रचलित छ- हुलमुलमा जिउ जोगाउनु, अनिकालमा बीउ जोगाउनु ! यो उखानले भिडको विवेक हुन्न भन्ने सन्देश दिएको छ । जब बाहुबल प्रधान हुन थाल्छ तब विवेक कुना पस्छ ।
✍ देवप्रकाश त्रिपाठी
दार्शनिक दृष्टिमा प्राणी तीन प्रकारका हुन्छन् । पहिलो- प्राण भएको तर चेतना नभएको, जसमा एककोषीय प्राणी र वनस्पति पर्दछन् । दोस्रो- प्राण र चेतना भएको तर विवेक नभएको, जनावर तथा पशुपङ्क्षीलाई यस प्रकारको प्राणीका रूपमा लिइन्छ र, तेस्रो- प्राण र चेतनाका साथमा विवेक समेत भएका प्राणीलाई मानिन्छ, जुन मानिस हुन् । यसरी प्राणीको वर्गीकृत हुँदा प्राण, चेतना र विवेकलाई आधार बनाइएको छ र प्राणमात्र भएका प्राणी प्राण धान्ने बाहेकको कुनै पनि कर्म गर्न असमर्थ हुन्छन् । प्राण र चेतना भएका प्राणी (जनावर र पङ्क्षी)मा पाँच जन्मजात प्रवृत्ति रहन्छ र त्यही पाँच प्रवृत्तिको अधीनस्थ भएर तिनले आफ्नो जीवनचक्र पूरा गर्दछन् ।
भोक, निन्द्रा, प्रजनन, आर्जनात्मक र युयुत्सा (झगडा गर्ने गुण)लाई पाँच आधारभूत अर्थात् जन्मजात गुणका रूपमा लिइएको हुन्छ, जुन कसैले सिकाउनु पर्दैन र मेटिन पनि सक्दैन । पशुपङ्क्षीहरू त्यही जन्मजात गुणको दायरामा रहेर पूरा जिन्दगी बिताउँछन्, तिनले विवेक प्रयोग गर्ने क्षमता राख्दैनन् । प्राण र चेतनाका साथ विवेकसमेत हुने भएकोले मानिसलाई उत्कृष्ट प्राणी मानिएको हो । तर तिक्त सत्य के हो भने सबै मानिसमा विवेक रहने या रहे पनि प्रयोग गर्नसक्ने क्षमताको सुनिश्चितितता रहँदैन । स्वविवेकीय क्षमता मजबूत भएका मानिसलाई असाधारण मान्न सकिन्छ भने विवेकीय क्षमता कमजोर भएका मानिस र जनावरको जिन्दगीमा खासै भिन्नता रहन्न । आफ्नो लागि सङ्ग्रह गर्ने, निजी स्वार्थमा धक्का पुग्दा झगडा गर्ने (युयुत्सा), प्रजनन क्रियामा सामेल भइ बच्चा पैदा गर्ने र हुर्काउने, भोक लाग्ने र खाने एवम् निन्द्रा लाग्ने र सुत्ने (यी पाँच) कार्यमा सीमित रहेर जनावरले पनि जिन्दगी बिताइरहेको हुन्छ । यस अर्थमा विवेकीय प्रयोग गर्न नसक्ने/नखोज्नेहरूलाई दार्शनिक रुपचन्द्र बिष्टको शब्दमा मानिसको आकारका पशुका प्रकारका प्राणी भन्न सकिन्छ ।
राजनीतिमा विवेकीय प्रयोगको महत्व सर्वाधिक रहन्छ । प्रतिनिधिको भूमिकामा रहने ब्यक्ति जति विवेकीय हुनुपर्ने ठानिन्छ, मतदातामा त्योभन्दा कम विवेकीय क्षमता हुनु नहुने विश्वास गरिन्छ । नेपालीमा एउटा उखान प्रचलित छ, हुलमुलमा (भिडमा) जिउ (ज्यान) जोगाउनु, अनिकालमा बीउ जोगाउनु ! यो उखानले भिडको विवेक हुन्न भन्ने सन्देश दिएको छ । जब बाहुबल प्रधान हुन थाल्छ तब विवेक कुना पस्छ । यही यथार्थलाई बुझेर हुनुपर्छ, अमेरिकाको संविधानले आफ्नो कार्यकारी प्रमुख (राष्ट्रपति) चयन गर्ने प्रजातान्त्रिक प्रक्रियामा भिडको भूमिकालाई न्यूनीकरण गरिदिएको छ । सर्वसाधारण मतदाताले राष्ट्रपतिलाई मतदान गर्ने प्रतिनिधि (इलेक्टोरल कलेजका निम्ति) चुन्न पाउँछन्, तिनले सिधै राष्ट्रपतिलाई मतदान गर्न पाउँदैनन् । यदि त्यसकिसिमको ब्यवस्था नगरिएको भए अमेरिकाको भिडले सम्भवतः म्याडोना, मार्लिन मूनरो र माइकल ज्याक्सनहरूलाई राष्ट्रपति बनाइसकेको हुने थियो । मतदान गर्नका लागि ब्यक्तिमा विवेकीय क्षमता हुनुपर्छ र विवेकीय क्षमता प्रयोग गर्न असमर्थ मानिसको मत नाजायज कारणहरूबाट निर्धारित हुनसक्छ भन्ने कुराको विश्लेषण दूरदर्शी अमेरिकी नेतृत्वले धेरै पहिले नै बुझेको स्पष्ट हुन्छ ।
अमेरिकाले प्रेसिडेन्सियल प्राइमरिजका माध्यमबाट राष्ट्रपतिको उम्मेदवार बन्ने ब्यक्ति चयन गर्ने गरेको छ । पार्टीका तर्फबाट उम्मेदवार चयन गर्ने क्रममा पार्टी नेतृत्वको भूमिका शून्यबराबर र आम कार्यकर्ताको भूमिका निर्णायक हुने गर्छ । त्यसैले पहिलोपटक रिपब्लिकन पार्टीको तर्फबाट उम्मेदवार बन्न डोनाल्ड ट्रम्प अग्रसर हुँदा सोही पार्टीबाट राष्ट्रपतिविजेता जर्ज बुस र जर्ज डब्ल्यु बुसले वक्तब्य नै जारी गरेर ट्रम्पलाई उम्मेदवार नबनाउन आह्वान गर्दा पनि आम कार्यकर्तामा त्यसको असर परेन, उनीहरूले उम्मेदवार बनाइछाडे ! पछिल्ला दशकहरूमा अमेरिकाको राष्ट्रपति चयनमा ‘डीपस्टेट’को भूमिका सर्वाधिक महत्वपूर्ण हुन थालेको छ, त्यो बेग्लै पक्ष हो । औपचारिक र संवैधानिक प्रक्रियामा चाहिँ आम मतदाताको मतलाई त्यहाँ बेग्लै प्रकारले ब्यवस्थित गर्ने गरिएको छ ।
२०७९ सालको मङ्सीरमा हामीले नै पाँच वर्षका निम्ति प्रतिनिधि चुनेर पठाएका थियौँ, तर पाँच वर्ष नपुग्दै किन संसद् विघटन गरियो र अहिले किन चुनाव गराउनु परेको हो ? अवधि पुगेपछि चुनाव आउने र चुनावका माध्यमबाट सरकार बदलिने सुनिश्चितता हुँदाहुँदै किन सिंहदरबार जलाइयो ? किन सर्वोच्च अदालत र संसद् भवन जलाइयो ? जसले देशको निर्वैकल्पिक सम्पदा नष्ट गरे ती को थिए भन्नेजस्ता अहम् प्रश्नमा विचार गरेर मतदान गर्ने ‘मूड’ र क्षमता मतदातामा खासै देख्न पाइएको छैन ।
हो, प्राणीका रूपमा सबै मानिस समान छन्, हुन्छन् । तर ज्ञान, बुद्धि, कार्यक्षमता, इमानदारी र विवेकीय प्रयोगका दृष्टिले सबै मानिस समान कहिल्यै हुँदैनन, हुन सक्दैनन् ! यद्यपि कुनैपनि ब्यक्ति आफूलाई बराबर मात्र ठान्दैनन्, विशिष्ट ठान्छन् र मूर्ख नै भएपनि कोही भन्दा कम नरहेको मनोविज्ञान तिनमा हुनेगर्छ । त्यसैले एउटा राम्रो कविता लेख्नेले भन्दा कवितामाथि टिप्पणी गर्नेले आफूलाई ठूलो ठानिरहेको हुन्छ । टेलिफोनको आविष्कार गर्ने ब्यक्ति भन्दा आफू विशिष्ट रहेको अनुभूति टेलिफोनमा सम्वाद गरिरहने हरेक ब्यक्तिले गरेका हुन्छन् । विमानको आविष्कारक भन्दा आफू कुनै पनि दृष्टिले तलको या कमजोर नरहेको महसूस हरेक हवाईयात्रीले गरिरहेका हुन्छन् । निर्वाचनमा मतदान गर्ने क्रममा जतिसुकै सामान्य मानिसले पनि आफूलाई असाधारण ठान्ने गर्छ । उसले कसैलाई मतदान गर्नका निम्ति आफ्नै मापदण्ड बनाएको हुन्छ । एकथरी मानिस आफू कुनै पार्टीको सदस्य भएकै कारणले सम्बद्ध पार्टीको उम्मेदवारलाई मतदान गर्नु उपयुक्त ठान्छन् भने कतिपयले नाता-सम्बन्ध र मित्रतालाई आधार बनाएर निर्णय लिएका हुन्छन् । त्यस्तै, कतिपय चाहिँ आवेग, प्रतिशोधी र कुण्ठाग्रस्त मानसिकतामै मतदान गर्न पुगेका हुन्छन् । कोही त्यस्ता पनि मतदाता हुन्छन् जो उम्मेदवारका वरिपरिका मानिसको चुरिफुरी बढ्ने ठानेर पनि मतदानको निर्णय लिन्छन् र कतिपय मतदाता नगद या भोजनका आधारमा पनि उम्मेदवारलाई मतदान गर्न तयार भएका हुन्छन् । देशको स्थिति, एजेण्डा, आवश्यकता र भविष्य विचार गरेर मतदान गर्नेहरूको सङ्ख्या कुल उम्मेदवारहरूको सङ्ख्याभन्दा शायद बढी हुनेछैन । राज्यसत्तामा जस्तो प्रकारका मानिसको आवश्यकता परेको हुन्छ त्यसको क्राइटेरिया (शर्त) र आम मतदाताले मतदान गर्नका निम्ति आफैले बनाएको क्राइटेरियाका बीच कहिँ-कतै तालमेल नै छैन । तैपनि हामी निर्वाचनले निकास दिने किन ठान्दैछौँ, आश्चर्यको विषय छ ।
नेपालमा यतिबेला (२०८२, फागुन २१ गते) संसदीय निर्वाचन हुने भनिएको छ । २०७९ सालको मङ्सीरमा हामीले नै पाँच वर्षका निम्ति प्रतिनिधि चुनेर पठाएका थियौँ, तर पाँच वर्ष नपुग्दै किन संसद् विघटन गरियो र अहिले किन चुनाव गराउनु परेको हो ? अवधि पुगेपछि चुनाव आउने र चुनावका माध्यमबाट सरकार बदलिने सुनिश्चितता हुँदाहुँदै किन सिंहदरबार जलाइयो ? किन सर्वोच्च अदालत र संसद् भवन जलाइयो ? जसले देशको निर्वैकल्पिक सम्पदा नष्ट गरे ती को थिए भन्नेजस्ता अहम् प्रश्नमा विचार गरेर मतदान गर्ने ‘मूड’ र क्षमता मतदातामा खासै देख्न पाइएको छैन । मतदातामा विवेक हुन्थ्यो भने यो निर्वाचनमा सिंहदरबार, सर्वोच्च अदालत र संसद् भवन जलाउनेहरूलाई सख्त कानूनी कारबाही गर्न सक्ने/गर्न खोज्नेहरूलाई खोजी-खोजी मतदान गर्ने मानसिकता मतदाताले बनाउनुपर्ने थियो । यहाँ त उल्टै सिंहदरबार जलाउनेहरूलाई खोजी-खोजी प्रधानमन्त्री, मन्त्री र सांसद बनाउने मानसिकता पो देखिएको छ ! हिजो जनताको मन र मत जितेर सत्तामा पुग्न पाइने संवैधानिक ब्यवस्था हुँदाहुँदै मानिसको हत्या र राष्ट्रिय सम्पदा ध्वङ्श गर्नेहरूलाई मतदान गरियो, अहिले त्यसैको परिणाम बनेर सिंहदरबार लगायतका राष्ट्रिय सम्पदाहरू जलाइएका छन् । जसले ज्यादा विध्वङ्श मच्चाउन सक्छ उसैलाई सत्ताको साँचो सुम्पिने परम्परा बसाउने हो भने एउटा कुरा निश्चित छ- यो देश कहिल्यै बन्ने छैन ।
जो ब्यक्ति र समूहसँग मुलुक निर्माण र निकासको कुनै मुद्दा र दिशा छैन, तिनैलाई वैकल्पिक शक्ति ठान्ने भ्रमजालमा नेपाली मतदाता परेका छन् । त्यस्ता ब्यक्तिप्रति ‘मानिस’ मोहित भएका छन्, जसको विचार/सिद्धान्त के हो – कसैलाई थाहा छैन । न उनमा वक्तृत्व क्षमता देखिन्छ, न लोभलाग्दो पृष्ठभूमि र ब्यक्तित्व छ, न प्रत्यक्ष जनसम्पर्कमा अब्बल छन्, तिनिक-तिनिक हिँडेको र कालो वस्त्रभित्र लुकेर कुन्नी के-के गर्ने गर्छन् भन्ने सुनिन्छ, तथापि ‘मानिस’ तिनकै प्रति लठ्ठिएका छन् । यहाँनेर विवेक प्रयोग हुन खोजेको देखिएन ।
पुरानो नेतृत्वले अपेक्षित परिणाम हाशील गर्न सकेन, तिनले भ्रष्टाचार नियन्त्रण गरी सुशासनको प्रत्याभूति दिलाउन सकेनन् बरू आफै भ्रष्टाचारमा संलग्न भए । राष्ट्रियता र राष्ट्रिय एकताको प्रवर्द्धन गर्न उनीहरू असफल रहे, संविधानमा रहेका गम्भीर त्रुटि सच्याउनेतर्फ तिनको ध्यान गएन, यी सबै कुरा सही हुन् । तर तिनले सिंहदरबार, संसद् भवन र सर्वोच्च अदालत जस्तो देशको मुटु जलाएका थिएनन्, कसैले आलोचना गर्नेवित्तिकै अश्लील र अवान्छित गालीगलौजसहित हमला गर्ने कार्य उनीहरूबाट भैरहेको थिएन । तर अहिले स्यालले दुःख दियो भनेर ब्वाँसोलाई घरमा भित्र्याउने जुन रोग महामारी बनेर देखापरेको छ यसले नेपालको सार्वभौमिकता र राष्ट्रिय अस्तित्व नै बिसर्जन गराउने खतरा पैदा गरेको छ । निकास सुनिश्चित नगर्ने निर्वाचन देशका निम्ति एउटा गम्भीर बोझबाहेक केही हुने स्थिति छैन । त्यसैले सर्वपक्षीय सहमतिमार्फत निकास निर्धारण गरेर मात्र निर्वाचनमा जानुको विकल्प नेपाली देशभक्तको विवेकले देखेको छैन । हामी सबै नेपालीलाई विवेकीय क्षमता देउ पशुपतिनाथ, जय मातृभूमि !
यो पनि हेर्नुहोस्-
प्रतिक्रिया