खरानीको तिलक लगाएको लोकप्रियतावाद !

खरानीको तिलक लगाएको लोकप्रियतावाद !


जेनजी आन्दोलन (गत भाद्र २३ र २४ गते) नेपालको आधुनिक इतिहासको सबैभन्दा शर्मनाक र रक्तपातपूर्ण युवा आन्दोलन थियो, जसमा ७७ जना नागरिकको ज्यान गयो र अर्बौंको धनजनको क्षति भयो । यो क्षति लोकप्रियतावादसँग सोझै जोडिएको छ, किनकि आन्दोलन नै लोकप्रियतावादी चरित्रको थियो । सामाजिक सञ्जालमा ‘सोझा/ठगिएका जनता’विरुद्ध ‘भ्रष्ट अभिजात वर्ग/पुराना दल/नेपो किड्स’को द्वन्द्वात्मक काल्पनिक कथा रचिएको थियो । ‘हामी जनता, उनीहरू हाम्रा दुस्मन’को भावुक नारा, भाइरल भिडियो र नेतृत्वविहीन डिजिटल मोबिलाइजेसनले शान्तिपूर्ण प्रदर्शनलाई घण्टाभित्रै हिंसात्मक भीडमा परिणत गऱ्यो । यसले राज्य जनता दबाउने शक्तिको रूपमा चित्रण गऱ्यो, जसको परिणामस्वरूप हाम्रो राष्ट्रिय गौरव संसद् भवन, जहाँ हाम्रा कानुन बन्छन्, को तोडफोड र आगजनीको प्रयास नियन्त्रण गर्न खोज्दा प्रहरीको गोली प्रहारबाट १९ जना पहिलो दिनमै मारिए, त्यसपछिका घटनाहरू बिर्सिनलायक छन् ।

दोश्रो दिन उत्तेजित र अराजक भिडले कुटी-कुटी, ज्युँदै सडकमा लतारेर मारिएका तीन जना प्रहरी हाम्रा दाजुभाइ थिए, घरमा साथीभाइ भेट्न आएका र होटेलमा बसेका पाहुना घरभित्रै जलाइए, घरेलु कामदारहरू जले, भाटभटेनी जस्तो प्रतिष्ठित व्यवसायको सामान चोर्न, लुट्न र आगजनी गर्न छिरेकाहरू आफैले र आफैसँग गएका प्रदर्शनकारीहरूले लगाएको आगोको ज्वालामा परेर ज्युँदै जलाइए । रवि लामिछाने जस्तै जेलबाट बाहिर निस्किन खोज्दा कोही जलेर त कोही सुरक्षाकर्मीको कारवाहीमा दर्जनौँ मारिए जसमा सात जना किशोर थिए । त्यसैदिन अराजक भीडले संसद्, सर्वोच्च अदालत, सिंहदरबार, सेनाको परमाधिपति बस्ने राष्ट्रपति कार्यालय, राष्ट्रपतिको निजी निवास, मन्त्रीहरूको घर, तारे होटलहरू, निजि निवासहरू र औद्योगिक प्रतिष्ठान र व्यवसायमा आगजनी गऱ्यो ।

जेनजी आन्दोलन र लोकप्रियतावादको सम्बन्ध

लोकप्रियतावादको मूल विशेषता जनताको इच्छालाई सर्वोच्च ठानेर संस्थागत माध्यम बाइपास गर्नु हो । जसले यो विशेषतालाई विश्वास गर्थे उनीहरूले नै यो नियन्त्रणबाहिरको हिंसा निम्त्याए । यो मानवीय र भौतिक क्षति लोकप्रियतावादको अपरिहार्य, मूल्य हो भन्ने तर्क बलियो छ । जब राजनीति ‘भावनात्मक अपील’ र ‘हामीविरुद्ध उनीहरू’मा आधारित हुन्छ, तब संस्थागत संवाद, सम्झौता र कानुनी प्रक्रिया ओझेलमा पर्छ । जेनजी आन्दोलनमा पनि यही भयो, सामाजिक सञ्जालको चामत्कारिक नेतृत्वले युवालाई उक्साएर ‘क्रान्तिकारी’ बनायो तर हिंसाको स्केल नियन्त्रण गर्न सकेन, जसले ७६ जनाको मृत्यु, २,००० भन्दा बढी घाइते र ५८६ मिलियन डलरको आर्थिक क्षति निम्त्यायो । परिणामस्वरूप सरकार ढल्यो तर लोकतान्त्रिक संस्थाहरू (संसद्, अदालत) क्षतिग्रस्त भए । यो घटनाले देखाउँछ कि लोकप्रियतावादले असन्तुष्टिलाई आवाज दिन सक्छ तर त्यसलाई हिंसात्मक रूपमा उग्र बनाउँदा देशले ठूलो मूल्य चुकाउनुपर्छ । यदि यो आन्दोलनलाई संस्थागत च्यानलमा राखिएको भए यति ठूलो रक्तपात र ध्वंश आवश्यक पर्ने थिएन । नेपालको सन्दर्भमा यो घटना लोकप्रियतावादले ल्याउने सुधारको पक्षभन्दा बिनासको पक्ष प्रवल बनेको ज्वलन्त उदाहरण बनेको छ ।

संस्थागत असफलताको परिणाम

लोकप्रियतावादले मानिसको दिमागमा नदेखिएको सुदूर भविष्यको आकर्षक कल्पना भर्दिन्छ । जेनजी युवाहरूमा ठूलो निराशा, क्रोध र असुरक्षा छ, जुन आन्दोलनअघि पनि थियो र अहिले पनि छ । बेरोजगारी, महँगी, भ्रष्टाचार र पलायनले जीवन असम्भव जस्तो लागेको छ । लोकप्रियतावादी नेताहरूले यो दयनीय अवस्था केवल पुराना दलको लुटको नतिजा हो, जो उनीहरूले निकट भविष्यमा सबै ठीक गर्छन् जस्ता सरल वाचा दिएर आशा र नियन्त्रणको भावना जगाएका छन् । यसले आशामा जिउने एक भ्रमको खेती गरेको छ । मानिसहरूले विगतका असफलताबाट सिक्नुको सट्टा नयाँको नाम दिएर उनीहरूलाई नै नायकमा विश्वास गर्छन् किनकि यो भावनात्मक रूपमा सजिलो र तत्काल राहत दिने खालको हुन्छ । यसो हुनमा पुराना भनिएका दलहरूले पटक-पटक वाचा गरेर अपेक्षित परिवर्तन दिन नसक्नुको कारण हो । परिणामतः सामाजिक र राजनीतिक रूपमा, नेपाली समाजमा लामो समयदेखिको विश्वासको संकट छ । जेनजी आन्दोलनले यो असन्तुष्टिलाई विस्फोट गऱ्यो, जसले सामाजिक सञ्जालमा नेपो किड्सविरुद्ध अवसरबाट बन्चित, गरिबका सन्तानको कथन स्थापित गर्दै प्रचार गऱ्यो । लोकप्रियतावादले यसलाई आम चरित्रको रूप दिन खोजिरहेको छ र हामी सबै ठगिएका छौँ, अब हामी ठिक गर्छौं भनिरहेको छ । राजनीतिक रूपमा पुराना दलहरूको संस्थागत असफलता (ढिलासुस्ती, वंशवाद, गठबन्धन राजनीति, भ्रष्टाचार)ले विकल्पहरूलाई आकर्षक बनाउनु स्वभाविकै हो । पीडित जनता लामो समयसम्म धैर्य गरेर बस्दैनन् ।

भावना र आक्रोशको अभिव्यक्ति

सजिलै ‘म्यानिपुलेट’ हुने चेतना बोकेका ठूलो संख्याका नेपालीले पुराना पात्रहरू (कांग्रेस-एमालेका नेतृत्व, वंशवाद, भ्रष्टाचार) प्रति सञ्चित आक्रोशलाई बालेन, रवि र कुलमान जस्ता नयाँ नेताहरूमार्फत अभिव्यक्त गर्न खोजिरहेका छन् । यो समाजको यथार्थ हो र यो ठ्याक्कै लोकप्रियतावादको सबैभन्दा शक्तिशाली विशेषतासँग जोडिएको छ । लोकप्रियतावादले ‘सोझा र ठगिएका जनता’विरुद्ध ‘भ्रष्ट अभिजात’को द्वन्द्वात्मक कथा रचेर मानिसको भावनात्मक आक्रोशलाई आफूतिर आकृष्ट गर्ने प्रयत्न गरेको छ । जेनजी आन्दोलन (भाद्र २३-२४) मा जसरी भीडले पुराना दललाई शत्रु ठानेर संसद् जलायो, ठ्याक्कै त्यही आक्रोश अहिले फागुन २१ को निर्वाचनमा ‘पुराना दलहरूलाई फेर्ने’ नारामा रूपान्तरित भएको छ । यो प्रक्रिया मनोवैज्ञानिक रूपमा अत्यन्त सरल छ । पुराना दलहरूले ३० वर्षदेखि पटक-पटक दिएको वाचा पूरा नगर्दा मानिसको मस्तिष्कमा क्रोध र अपमानको गहिरो घाउ बनेको छ । लोकप्रियतावादी नेताहरूले त्यही घाउमा ‘म तिम्रो आवाज हुँ, म तिम्रो आक्रोश हुँ’ भन्ने भावनात्मक ब्यान्डेज लगाइदिएका छन् ।

उनीहरूले जटिल नीति, तथ्य वा दीर्घकालीन योजना प्रस्तुत गर्दैनन्, बरु ‘पुराना दलले लुटे, अब हामीले सब ठीक गर्छौं’ जस्तो अति सरलीकृत कथा रचेका छन् । यसले सजिलै म्यानिपुलेट हुने चेतनालाई तत्काल राहत दिन्छ, जसरी अमेरिकी रास्ट्रपति चुनावमा ट्रम्पले ‘Drain the Swamp’ अर्थात् दलदलबाट निकाल भनेर अमेरिकी क्रोधलाई आफूतिर मोडेका थिए, ठ्याक्कै त्यसैगरी नेपालमा इमान्दारिता मेरो एक मात्र पहिचानको सस्तो नाराले काम गरिरहेको छ । निर्वाचन अभियानमा रवि, बालेन र कुलमानको प्रचार अभियानले यो आक्रोशलाई भोटमा बदल्ने काम गरिरहेको छ । समाजको यो यथार्थले देखाउँछ कि लोकप्रियतावादले आक्रोशलाई शक्तिमा रूपान्तरण गर्छ, तर त्यही आक्रोशलाई तर्कपूर्ण बहस वा संस्थागत समाधानतर्फ लैजाँदैन । फलस्वरूप निर्वाचनमा भावना जित्ने सम्भावना उच्च छ, तर निर्वाचनपछि वाचा पूरा नभए उही आक्रोश फेरि अर्को रूपमा विस्फोट हुन सक्छ । यो चक्र नेपालको लागि खतरनाक छ, किनकि सजिलै म्यानिपुलेट हुने चेतनाले भावनालाई तर्कमाथि विजयी बनाउँछ, जुन लोकप्रियतावादको अर्को मूल परिभाषा हो । तसर्थ, आक्रोशको अभिव्यक्ति नेपालको २०८२ को निर्वाचनको सबैभन्दा ठूलो ड्राइभिङ फोर्स हो र यो लोकप्रियतावादको सबैभन्दा प्रभावकारी हतियार पनि हो ।

नायक खोजिरहेको समाज

प्रसिद्ध जर्मन नाटककार बर्टोल्ट ब्रेख्तले भनेका थिए- ‘जुन समाजले नायक खोज्छ, त्यो समाज अभागी समाज हो ।’ यो भनाइलाई नेपाली समाजमा स्व. प्रदीप गिरिले पटक-पटक उद्धृत गरेर प्रसिद्ध गराइदिए । जब समाजले आफ्नो समस्या समाधान गर्न एउटा चामत्कारिक नायक/हिरो/मेसियाको प्रतीक्षा गर्छ, तब त्यो समाज आफैंमा असफल र अभागी भएको संकेत गर्छ । किनकि, सच्चा परिवर्तन व्यक्तिमा होइन, संस्थागत संरचना, सामूहिक जिम्मेवारी र तर्कपूर्ण प्रक्रियामा हुन्छ । नेपालको अहिलेको सन्दर्भमा यो भनाइ लोकप्रियतावादसँग जोडिन्छ र आगामी फागुन २१ को निर्वाचनलाई यसले स्पष्ट व्याख्या गर्छ । नेपालमा जेनजी आन्दोलनपछि ठूलो संख्यामा युवा र सर्वसाधारणले पुराना दलहरू (कांग्रेस, एमाले) लाई ‘भ्रष्ट अभिजात’ ठानेर तिनलाई दोष दिएका छन् । यस आक्रोश र निराशालाई बालेन शाह, रवि लामिछाने र कुलमान घिसिङ जस्ता व्यक्तिहरूले हामी नै समाधान हौँ भन्ने छवि निर्माण गर्न खोजिरहेका छन् । यसरी समाजले आफ्नो समस्या व्यक्तिमा समाधान खोज्दा ब्रेख्तले भनेको अभागीपन स्पष्ट देखिन्छ । लोकप्रियतावादले छोटो समयमा उत्साह दिन्छ, तर अभागी समाज बनाउने मुख्य कारण पनि यही हो, किनकि यसले समस्या समाधानको जिम्मेवारी व्यक्तिमा थोपर्छ, समाजबाट हटाउँछ ।

नेपालको धार्मिक र सांस्कृतिक विश्वास पनि कस्तो छ भने विगतदेखि नै एउटा व्यक्तिले देश बचाउँछ भन्ने परम्परा छ र सडकमा पनि राजा आउ देश बचाउ भन्ने नारा पटक-पटक गुन्जिन्छ, यस्तो भक्तिभावलाई मेसियानिक विश्वास भनिन्छ । लोकप्रियतावादीहरूले यसलाई आधुनिक रूप दिएका छन् र काल्पनिक नै सही ‘इमान्दारिता’को पैरवी गरका छन् जुन विश्वासयोग्य भने उनीहरूको चरित्रले देखाउँदैन ।

फेरि अर्को उदाहरणको रूपमा एमसीसीलाई नै लिउँ न । नेपालमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतालाई लिएर ‘अमेरिकी सेना नेपाल आउँछ’, ‘यो इन्डो-प्यासिफिक स्ट्राटेजीको हिस्सा हो‘, ‘नेपालको सार्वभौमिकता खतरामा पर्छ’ जस्ता भ्रमहरू फैलाउने काममा केही पढेलेखेका, राजनीतिक कार्यकर्ता र सामाजिक सञ्जालका प्रभावशाली व्यक्तिहरू पनि सक्रिय थिए । वास्तविकता यो हो कि एमसीसी एक विकास अनुदान कार्यक्रम हो, ५०० मिलियन अमेरिकी डलर (पछि थपिएर बढेको) जसले विद्युत् प्रसारण लाइन र सडक सुधारमा खर्च हुन्छ, यसमा कुनै सैन्य सर्त, सेना राख्ने प्रावधान वा नेपालको संविधानमाथि हस्तक्षेप गर्ने कुनै बुँदा छैन (एमसीसी नेपाल र अमेरिकी सरकार दुवैले बारम्बार स्पष्ट गरेका छन्) । तर यो जटिल अन्तर्राष्ट्रिय सहयोगलाई अमेरिकी साम्राज्यवादको षड्यन्त्रमा बदल्ने अतिसरलीकृत, भावुक र डरलाग्दो कथा बनाइयो, यो ठ्याक्कै लोकप्रियतावादको एक प्रमुख विशेषता हो ।

लोकप्रियतावादीहरूले प्रमाण र तथ्यभन्दा जनताको राष्ट्रियताप्रतिको संवेदना, असुरक्षा र विदेशीप्रतिको सन्देहलाई उक्साएर आफूलाई ‘राष्ट्र बचाउने’ नायकको रूपमा प्रस्तुत गर्छन् । एमसीसीविरुद्धको यस्तो भ्रमले समाजलाई ध्रुवीकृत गऱ्यो, वास्तविक विकास बहसलाई ओझेलमा पाऱ्यो र भावनात्मक उक्साहटलाई राजनीतिक शक्तिमा बदल्ने काम गऱ्यो, जसरी जेनजी आन्दोलन वा वर्तमान निर्वाचनमा पुराना दलहरूलाई राष्ट्रघाती/भ्रष्ट भनेर आधारहीन आरोप लगाउने प्रवृत्ति देखिन्छ । यसले देखाउँछ कि लोकप्रियतावादले सत्यलाई होइन, जनताको क्रोध र भयलाई हतियार बनाउँछ, जसको परिणाम दीर्घकालमा संस्थागत विश्वास र तर्कपूर्ण बहसको क्षय हुन्छ ।

देशमा सुशासन दिनु कठिन काम

नेपालको वर्तमान राजनीतिक परिवेशमा लोकप्रियतावादले जनताको असन्तुष्टिलाई आफ्नो हतियार बनाएको छ, तर यसले साँचो नेतृत्व र समस्याको समाधानभन्दा भावनात्मक उक्साहटलाई मात्र प्राथमिकता दिएको छ । उदाहरणस्वरूप, रवि लामिछाने, बालेन शाह र कुलमान घिसिङ जस्ता व्यक्तित्वहरूले पुराना दलहरूलाई भ्रष्ट अभिजात भनेर आधारहीन आरोप लगाउँदै आफूलाई इमान्दार सेवकको रूपमा प्रस्तुत गरेका छन्, जसले छोटो समयमा लोकप्रियता कमाउँछ तर राष्ट्रिय शासनको जटिलतासँग जुध्न तयार पार्दैन । विद्युत् प्राधिकरणमा हुँदा कुलमानले छरिएको विद्युत्लाई र सरकारले भारतबाट किनेको विद्युत्लाई ब्यवस्थित गरेर जनताको मन जित्न सकेका थिए, तर उनै मन्त्री भएर नेतृत्व लिँदा उनले गरेको विद्युत् व्यपारमा ४३ करोडको घोटालाको विषय, ब्यापारी र उद्योग प्रतिष्ठानलाई दिएको डेडिकेटेट लाइनको विषय र विद्युत् प्राधिकरणको एमडी बर्खास्ती र नियुक्तिमा उनले देखाएको साँघुरो चित्त उनकै मानमर्दन गर्ने स्तरको छ ।

बालेनको काठमाडौं मेयर कालमा उनका बाचाहरू अलपत्र पारेर गए, सबैभन्दा ठुलो फोहोरको ब्यवस्थापनमा उनको लापर्वाही नोटिस गर्ने खालको छ, उनका ९५ प्रतिशत प्रतिबद्धताहरू त शुरु नै हुन सकेनन् । रवि त मन्त्री हुन ओली र प्रचण्डको शरणमा परेका व्यक्ति हुन्, उनलाई लागेका दर्जन जति आरोप र मुद्धामा करिब १० करोड धरौटी बुझाएर निस्केका ब्यक्ति हुन् र उनी नियमित अदालतको निगरानीमै छन्, जेनजी आन्दोलनका बेला प्रधानमन्त्री हुन जेलबाट भागेका लामिछानेसँगै १४ हजार उनिजस्तै कैदी र अभियुक्तहरू जेलबाहिर निस्किए र अहिले पनि कति त फरारै छन् ।

यसले देखाउँछ कि लोकप्रियतावादले विदेशी शक्ति वा प्रतिद्वन्द्वीलाई दोष दिएर सजिलै सत्ता हासिल गर्न सक्छ, तर वास्तविक विकास, अर्थतन्त्र सुधार वा सामाजिक सद्भाव जस्ता चुनौतीहरू सामना गर्दा यसको कमजोरी उजागर हुन्छ । यो लोकप्रियतावादी प्रवृत्तिले जनतालाई भ्रममा राखेर निर्वाचन जित्न सक्छ, तर सत्ता सम्हालेपछि संस्थागत सुधार र दीर्घकालीन नीतिको अभावमा देश थप संकटमा पर्न सक्छ । जेनजी आन्दोलनमा ७७ जनाको ज्यान गएको र ५० खर्बको क्षति भएको घटनालाई समेत राजनीतिक फाइदाका लागि प्रयोग गर्ने उनीहरूको प्रयासले देखाउँछ कि पपुलिस्टहरूले विगतका गल्तीबाट सिक्नुको सट्टा नयाँ द्वन्द्व सिर्जना गर्छन् । यदि उनीहरूले सत्ता पाए भने भ्रष्टाचार नियन्त्रण, आर्थिक वृद्धि वा कानुनी शासन जस्ता वाचाहरू पूरा हुने छैनन्, उनीहरूले भने जस्तो छलाङ वास्तवमा असम्भव प्रायः छ, र उनीहरूको कृत्यले समाजलाई अस्थिर बनाउने छ । तसर्थ, राजनीतिलाई लोकप्रियतावादको जालबाट मुक्त गरेर तर्कपूर्ण बहस, प्रमाणित योग्यता र संस्थागत मजबुतीमा आधारित नेतृत्व छान्नु आवश्यक छ, किनकि भ्रममा आधारित विजयले देशलाई अभागी बनाउँछ, साँचो समृद्धि होइन ।

यो पनि हेर्नुहोस्-