सभ्यताको चिहानमा निरोको बाँसुरी : सत्ताको उन्माद र झुपडीको चित्कार

सभ्यताको चिहानमा निरोको बाँसुरी : सत्ताको उन्माद र झुपडीको चित्कार


इतिहासका पानाहरू पल्टाउँदा एउटा बीभत्स दृश्य सधैँ मानसपटलमा ताजा भएर आउँछ – जब रोम जलिरहेको थियो, सम्राट निरो बाँसुरी बजाएर रमाइरहेका थिए । आज एक्काइसौँ शताब्दीको काठमाडौंको सडक र वाग्मतीका किनारहरूमा त्यही इतिहासको पुनरावृत्ति भइरहेको छ । तर, आजको ‘निरो’ केवल एउटा व्यक्ति होइन, यो त परिवर्तन र नयाँपनको खोल ओढेर आएको एउटा सिङ्गो राजनीतिक प्रवृत्ति हो । जब डोजरको बीभत्स गर्जनले सुकुम्बासीका झुपडीहरू पिसिन्छन्, जब बालबालिकाका कापी-किताब धुलोमा मिसिन्छन् र जब भर्खरै सुत्केरी भएका आमाहरू ओत खोज्दै नाङ्गो आकाशमुनि छटपटाउँछन्, तब सिंहदरबार र बालुवाटारका महलहरूमा बसेका शासकहरू सुशासनको बाँसुरी बजाइरहेका हुन्छन् । यो बाँसुरीको धुन होइन, यो त गरिबको आन्द्राको कुँडाइ र सर्वहाराको रगतको समिश्रणबाट निस्किएको एउटा क्रुर अट्टहास हो ।

चुनावको संघारमा तिनै झुपडीहरू मन्दिर बने । परिवर्तनका ठूला कुरा गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका नेता र माननीयहरू त्यही धूलाम्य गल्लीमा पुगेर गरिबका हात समात्दै कसम खान्थे- ‘तिमीहरूको झुपडीका एउटा ढुङ्गा हल्लियो भने पहिले मेरो छातीमा डोजर चल्नुपर्छ ।’ ती शब्दहरू आज हावामा विलाएका छन् । हिजो ‘छाती थाप्छु’ भन्नेहरू आज मन्त्रालयका मखमली सोफाहरूमा टाँसिएर आफ्नै मतदातामाथि डोजर चलाउने आदेशको मौन साक्षी बनेका छन् ।

घन्टी बजाउँदा न्याय आउँछ भन्ने आशमा सुकुम्बासीका थरथराउँदा हातले घन्टीमा छाप हालेका थिए, तर आज त्यही घन्टीको आवाज डोजरको बीभत्स साइरनमा परिणत भएको छ । सत्ताको नशाले मान्छेलाई कतिसम्म अन्धो बनाउँदो रहेछ भन्ने प्रमाण आजका यी ‘नयाँ’ भनिएका ‘मसिहा’हरूले दिइरहेका छन् । हिजोका क्रान्तिकारी भनिनेहरु आज कसरी एकाएक निर्दयी दानवमा परिणत भए, यसको हिसाब इतिहासले ढिलो-चाँडो अवश्य माग्नेछ ।

शहर सुन्दरीकरणको नाममा मान्छेको रगत र आँसुको गारो लगाउनु कुन स्तरको सुशासन हो ? के एउटा शहर सुन्दर हुनका लागि त्यहाँका गरिबहरू सडकमा पुग्नुपर्छ ? के बाटो फराकिलो बनाउनुको अर्थ कसैको घरलाई चिहान बनाउनु हो ? बालेन सरकारको यो कदमले एउटा गम्भीर प्रश्न उब्जाएको छ; के यो देश केवल धनी र पहुँचवालाहरूको मात्र हो ? यहाँको कानुन केवल झुपडीमा मात्रै किन चल्छ ? ठूला ठूला भू-माफियाहरूले सार्बजनिक जग्गा मिचेर ठड्याएका आलिशान महलहरूमा डोजर पुग्न किन हप्तौँको ‘अध्ययन’ र ‘कानुनी राय’ कुर्नुपर्छ, तर एउटा सुकुम्बासीको झुपडी ढाल्न एक दिन पनि कुर्न आवश्यक ठानिन्न । त्यहाँ कुनै विलासी सामान थिएनन्, त्यहाँ त वर्षौंदेखि साँचिएका पुराना लुगा, केही थान एल्युमिनियमका भाँडा र आफ्ना सन्तानको भविष्यका लागि साँचिएका स-साना सपनाहरू मात्र थिए । ती सपनाहरूमाथि जब फलामको डोजर बज्रियो, तब मानवीय सभ्यताको पनि अन्त्य भयो ।

दृश्यहरू यति हृदयविदारक छन् कि ढुङ्गाको मुटु हुनेहरू पनि पग्लिन्छन् । बेमौसमी जाडोमा ओठ थर्थराउँदै बालबालिकाहरू स्कुलको झोला बोकेर आफ्नो घरको भग्नावशेष हेर्दै रोइरहेका छन् । हिजोसम्म ‘हाम्रो सरकार’ भन्ने वृद्धवृद्धाहरू आज आकाशतिर हात फैलाएर शासकहरूलाई सरापिरहेका छन् । घरपालुवा जनावरहरू समेत आफ्ना मालिकको घर भत्केको देखेर टोलाइरहेका छन् । तर, यो राज्य यति निर्दयी छ कि उसलाई यी दृश्यहरूले अलिकति पनि छोएको छैन । संवादको ढोका बन्द गरेर, गम्भीर छलफल, सर-सल्लाह र सरोकारवालासंगको संवादबिना, भरपर्दो न्युतम विकल्प बिना कुन सुरमा यो अमानवीय अभियान चलिरहेको छ ? के यो लोकतन्त्र हो ? कि यो केवल शक्तिको नग्न र सनकी प्रदर्शन हो ? एउटा निर्वाचित प्रतिनिधिले आफ्ना नागरिकसँग कुरा गर्नुपर्दैन ? विकल्पबिनाको विस्थापन भनेको मृत्युदण्ड सरह हो । हिजो भ्रष्टाचारविरुद्ध घन्टी बजाउनेहरू आज आफ्नै नागरिकको आँसुमा पौडी खेलिरहेका छन् । यो भन्दा ठूलो विडम्बना र नैतिकताको पतन अरू के हुन सक्छ ?

देशमा गरिखाने वातावरण भएन र पुरानो सत्ताले देश लुट्यो भन्दै आएका २५-३० वर्ष उमेरका युवा मन्त्री र सांसदहरूको सम्पत्ति विवरण सार्वजनिक हुँदा आज आम नागरिक जिब्रो टोकिरहेका छन् । जसले भर्खरै आफ्नो करियर सुरु गरेका छन्, तिनीहरूको नाममा करोडौँको बैंक ब्यालेन्स, किलोका किलो सुन, विलासी घर-घडेरी र हजारौँ कित्ता सेयर कहाँबाट आयो ? प्रधानमन्त्री बालेन साहले आफैँले दाइजोमा पाएको भनिएको १९० तोला सुनको विवरण कुनै पनि सामान्य चेत भएको नागरिकले पत्याउन सक्ने विषय होइन । यो पारदर्शी सुशासन हो कि सम्पत्ति शुद्धीकरणको नयाँ र आधुनिक रूप ? कसैका हदबन्दीभन्दा बढी जग्गा जमिन, कसैलाइ खुट्टा टेक्ने र ओत लाग्ने वास पनि नहुने कस्तो न्यायिक राज्य ?

अर्कोतर्फ, रास्वपाका सभापति रवि लामिछाने आफैँ करोडौँको सहकारी ठगीको मुद्दा झेलिरहेका छन् । अमेरिकादेखि नेपालसम्म फैलिएका उनका धन्दा, नागरिकतादेखि राहदानीसम्मका अपराधका शृङ्खलाहरूले देखाउँछन् कि ‘परिवर्तन’को खोल ओढेर कस्ता अपराधीहरू सत्ताको बागडोर सम्हाल्न पुगेका छन् । त्यहाँ कानुन किन सकृय हुँदैन ?

यो देशमा कानुनको दुईवटा रूप देखिएको छ- एउटा कानुन, जो झुपडी उखेल्न डोजर लिएर पुग्छ, र अर्को कानुन, जो करोडौँ ठग्ने र अपारदर्शी सम्पत्ति थुपार्ने शक्तिशालीहरूका अगाडि लाचार बनेर घुँडा टेक्छ । अपराधको जगमा उभिएका र अपारदर्शी जीवनशैली बाँचेका यी नेताहरू आज सुशासनको प्रवचन दिँदै गरिबका बच्चाको टाउकोमाथिको छाना खोस्दैछन् । सुत्केरी आमाहरू जाडोमा नाङ्गो आकाशमुनि छटपटाइरहँदा, सत्तामा बस्ने पापिष्टहरूको मुटु अलिकति पनि हल्लिएको छैन । तर याद राखियोस्, सत्ताको यो उन्माद धेरै दिन टिक्ने छैन । कुनै पनि क्रुर र तानाशाह शासक लामो चलेको इतिहास छैन । गरिबको आँसु र पीडाको श्रापले ठूला-ठूला साम्राज्यहरू ढलेका छन् भने यी भर्खरै पलाएका ‘नयाँ तानाशाह’हरूको के कुरा !

देश बर्बाद भयो भन्नेहरूले नै आज देशको मानवीय संवेदना र सामाजिक न्यायलाई बर्बाद गरिरहेका छन् । गरिबको ओत खोसेर आफ्ना लागि आलिशान साम्राज्य खडा गर्ने यी पापिष्टहरूको पटाक्षेप ढिलो-चाँडो अवश्य हुनेछ । ती बुढा बा-आमाका आँसु, सुत्केरीका सुस्केरा र बालबालिकाका खोसिएका सपनाहरूले तिमीहरूको विलासी महलको जग हल्लाउनेछन् । अपराधको शृङ्खला लुकाएर सुशासनको नाटक गर्ने दिन अब धेरै छैनन् । समयले सबैको हिसाब राख्नेछ र इतिहासले यी निर्दयी शासकहरूलाई कहिल्यै माफ गर्ने छैन । गरिबको झुपडी जलाएर महलको सपना देख्नेहरू हो, याद राख- झुपडी भत्किए पनि गरिबको आक्रोश अझै जीवित छ र त्यही आक्रोशको ज्वालाले भोलि तिम्रो सत्ताको अहंकारलाई भष्म बनाउनेछ । अझै समय छ, चेत खुलोस्, नत्र इतिहासको डस्टबिनमा तिम्रो नाम पनि ‘अमानवीय तानाशाह’को रूपमा दर्ता हुने निश्चित छ ।

यो पनि हेर्नुहोस्-