महेशदोभानमा दुई बस र ट्रक आपसमा ठक्कर खाँदा १६ यात्रु घाइते

महेशदोभानमा दुई बस र ट्रक आपसमा ठक्कर खाँदा १६ यात्रु घाइते


  • विकाश रौनियार, धादिङ

पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका-६ स्थित महेशदोभान नजिक दुई वटा बस र एक ट्रक आपसमा ठोक्किँदा १६ जना यात्रु घाइते भएका छन् ।

काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको बागमती प्रदेश ०१-००६ ख ७४८८ नम्बरको बस, काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको बागमती प्रदेश ०१(००६ ख ६७१६ नम्बरको बस र सोही दिशातर्फ गइरहेको बागमती प्रदेश ००३-००६ ख २०५६ नम्बरको ट्रक राति करिब ११ः१० बजेको समयमा एकआपसमा ठोक्किएका हुन् ।

दुर्घटनामा बसमा सवार १६ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था मध्यम र १२ जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी (डीएसपी) प्रकाश दाहालले जानकारी दिएका छन् ।

घाइतेहरूको हाल बैरेनी अस्पतालमा उपचार भइरहेको छ ।

दाहालका अनुसार तीव्र गतिका कारण सवारीसाधनले नियन्त्रण गुमाउँदा उक्त दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । बस र ट्रक प्रहरीको नियन्त्रणमा रहेको छ।