राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजामा सुनसरीको रामधुनी नगरपालिका-२ स्थित शिवनगर माध्यमिक विद्यालयका सबै विद्यार्थी ननग्रेडेड (फेल) भएका छन् ।
शिक्षा विकास तथा समन्वय इकाई सुनसरीका शाखा अधिकृत रुद्र राईका अनुसार विद्यालयबाट एसईई परीक्षामा सहभागी भएका १० जना विद्यार्थीमध्ये एक जना पनि उत्तीर्ण हुन सकेनन् । सबै विद्यार्थी ननग्रेडेड भएपछि विद्यालयको शैक्षिक अवस्थामाथि गम्भीर प्रश्न उठेको छ ।
वि.सं. २०२७ मा स्थापना भएको उक्त विद्यालयमा हाल कक्षा १० सम्म अध्ययन-अध्यापन हुँदै आएको छ । पछिल्लो एसईई नतिजाले विद्यालयको पठनपाठन, व्यवस्थापन तथा शैक्षिक गुणस्तरप्रति स्थानीय अभिभावक र शिक्षा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।
स्थानीयवासीले विद्यालयको शैक्षिक सुधारका लागि सम्बन्धित निकायले तत्काल ध्यान दिनुपर्ने बताएका छन् । उनीहरूले शिक्षक व्यवस्थापन, नियमित अनुगमन र विद्यार्थीको सिकाइ स्तर सुधारमा विशेष योजना आवश्यक रहेको धारणा राखेका छन् ।
विद्यालयको कमजोर नतिजाबारे प्रतिक्रिया लिन प्रधानाध्यापक सुधीर कुमार चौधरीलाई सम्पर्क गर्न खोजिएपनि सम्पर्क हुन सकेन ।
प्रतिक्रिया