पानीमा डुबेर महोत्तरीमा एकैदिन चार बालिकाको मृत्यु

पानीमा डुबेर महोत्तरीमा एकैदिन चार बालिकाको मृत्यु


पानीमा डुबेर महोत्तरीमा चार जना बालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार आज (८ जेठ) जिल्लाको मनरासिस्वा नगरपालिका-७ सरपल्लो गाउँको नदीमा तीन बालिका र गौशाला नगरपालिका-४ रजखोर गाउँमा एक बालिकाको डुबेर मृत्यु भएको हो ।

मनरासिस्वा नपा–७ सरपल्लोका वीरेन्द्र भण्डारीकी छोरीहरु १२ वर्षीया स्नेहाकुमारी र ६ वर्षीया शिवानीकुमारी तथा अजिज नदाफकी छोरी १२ वर्षीया अफसाना खातुनको डुबेर मृत्यु भएको हो । सरपल्लो गाउँकी तीनै जना बालिका आज दिउँसो अङ्कुशी र जङ्घा नदीको दोभानमा नुहाउन गएका थिए । नुहाउने क्रममा खुट्टा चिप्लेर नदीमा डुबेर मृत्यु भएको हो ।

प्रहरीका अनुसार गौशाला नपा–४ रजखोर गाउँ बस्ने नरेश महतोकी छोरी दुई वर्षीया दीपिका कुमारीको घरनजिकै रहेको खेतमा जमेको पानीमा डुबेर मृत्यु भएको प्रहरी निरीक्षक रमेश लामाले जानकारी दिए ।

मृतक चारै बालिकाको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जलेश्वरमा पठाइएको छ । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।