खेलकुद बुझेको मायालुको पर्खाइमा सन्ध्या

खेलकुद बुझेको मायालुको पर्खाइमा सन्ध्या


०४४ सालमा टेबुलटेनिस खेल्दा सन्ध्यालाई टेबुलटेनिसको साधारण ज्ञानसमेत थिएन । लैनचोरस्थित कन्या स्कुलमा पढ्दै गर्दा उनलाई यो खेल खेल्ने अवसर मिलेको थियो । तत्कालीन टेबुलटेनिसकी प्रशिक्षक पद्मा सिंहले कन्या स्कुलमा आएर टेबुलटेनिस खेल्ने कोही छ ? हात उठाऊभन्दा उठेका सोह्र हातमध्येमा एउटा हात सन्ध्याको पनि थियो । स्कुलअगाडिकै टेबुलटेनिस प्रशिक्षण केन्द्रबारे सुइँको समेत नपाएकी सन्ध्याले १३ वर्षको उमेरदेखि टेबुलटेनिस खेल्न थालेकी हुन् । सोझै प्रशिक्षण केन्द्रमा प्रशिक्षण लिन पाएकी सन्ध्याको खेल्दै जाँदा यो खेलप्रति आकर्षण बढेर गएको थियो । सुरेन्द्र गुरुको प्रशिक्षणमा आफ्नो खेलजीवनको शुभारम्भ गरेकी सन्ध्याले त्यसपछि वरिष्ठ गुरुहरू रमेशराज जोशी र विजेन्द्र हमालबाट प्रशिक्षण लिएकी थिइन् ।
सामाजिक जटिलता र पढाइमा पर्ने सम्भाव्य असरका कारणले त्यसबेला महिला खेलाडीको चाप खेलकुदमा ज्यादै न्यून थियो । अझ सँगै टेबुलटेनिस खेल्न आएका १५ जना साथीले बीचैमा प्रशिक्षण छोडेर गएपछि सन्ध्या एक्लो वृहस्पति बन्न पुगेकी थिइन् । र पनि, खेलकुदप्रतिको दृढविश्वास र केही गर्नुपर्छ भन्ने भावनाले सन्ध्यालाई बिरानो ठाउँमा पनि कहिल्यै असजिलो महसुस भएन । उनले आफ्नो यात्रालाई निरन्तर जारी राखिन् । अझ आमा लीला शाक्य र बुबा प्रेमरत्नको प्रेरणा र हौसला उनका लागि बरदान सावित भयो । यही प्रेरणालाई आत्मसात् गर्दै सन्ध्या आफ्नो यात्रालाई अगाडि बढाउँदै आफ्नो लक्ष्यमा पुग्न अर्जुनदृष्टि लगाएर अगाडि बढेकी थिइन् ।
०४४ सालदेखि टेबुलटेनिस खेल्न थालेकी सन्ध्याले छोटो समयमै अर्थात् ०४५ सालमै राष्ट्रिय प्रतियोगिता खेल्ने अवसर पाइन् । धनगढीमा सञ्चालन भएको उक्त राष्ट्रिय प्रतियोगितामा पहिलो सहभागितामै महिला सिङ्गलमा प्रथम भई स्वर्ण पदक जितेपछि उनको हौसलामा चारचाँद लागेको थियो । योभन्दा अघि उनले अन्तरस्कुल र बालदिवसको अवसरमा आयोजना भएका प्रतियोगितामा प्रथम भएर सफलताको मार्गप्रसस्त गरेकी थिइन् । तर, वास्तविक रूपमा भन्नुपर्दा उनलाई सफलताको अनुभूति भनेको राष्ट्रिय प्रतियोगितामा प्रथम भएपछि भएको थियो । त्यसपछि निकै हौसिएकी सन्ध्या आफ्नो मिहिनेतको सिँढीलाइ अझ फराकिलो पार्दै कठिन अभ्यासमा जुटिन् । जसले उनको प्रतिभालाई निखार्ने काम मात्रै नगरी एक सक्षम र प्रभावशाली खेलाडीको रूपमा टेबुलटेनिसमा चिनाउन सफल भएको थियो ।
दिन प्रतिदिन सफलताको सिँढी चढ्दै गएकी सन्ध्याले सन् १९८८ पहिलोपटक भारतको मेरठमा भएको सातौँ इलेट्रा गोल्डकपमा सहभागिता जनाउने मौका पाइन् । उक्त प्रतियोगितामा भारत, नेपाल, माल्दिभ्स र बंगलादेशले प्रतिस्पर्धा गरे पनि सन्ध्याले कुनै चमत्कार देखाउन सकिनन् । खालि अनुभवको पाटो मात्रै बन्यो । तत्कालीन समयमा काठमाडौंमा सिनियर खेलाडीको दबदबा रहेकाले सिङ्गलतर्फ त्यति प्रतिस्पर्धा गर्न नपाएकी सन्ध्या गण्डकी अञ्चलबाट खेलेर भए पनि आफ्नो प्रतिभालाई उजागर गर्न सफल भएकी थिइन् । उनले ०४६ सालमा धरानमा आयोजना भएको राष्ट्रिय टेबुलटेनिस प्रतियोगितामा गण्डकी अञ्चलबाट टिम इभेन्टमा खेल्दै दोस्रो स्थान हात पारेकी थिइन् ।
०५१ साल सन्ध्याको खेलजीवनको अविष्मरणीय साल बनेको थियो । यो साल र धनगढी उनका लागि निकै लक्की सावित भएको थियो । सन्ध्याको खेलजीवनले पूरै कोल्टे फेरेको थियो । उनको खेलजीवन खुसीले भरिएको थियो । उनको लक्ष्य, सपना पूरा भएको थियो । सन्ध्या राष्ट्रिय च्याम्पियन बन्न सफल भएकी थिइन् । त्यो क्षण सम्भँmदा सन्ध्या अहिले पनि निकै रोमान्चित र भावुक हुन्छिन् । त्यो सफलता उनी कहिल्यै बिर्सन सक्दिनन् । कारण थियो– ०५१ सालमा धनगढीमा आयोजना भएको राष्ट्रिय टेबुलटेनिस प्रतियोगितामा उनले महिला सिङ्गलमा पूर्वच्याम्पियन एलिजा वन्तलाई पाराजित गर्दै राष्ट्रिय च्याम्पियन बन्ने सौभाग्य प्राप्त गरेकी थिइन् ।
राष्ट्रिय च्याम्पियन बनेपछि आकाशिएको सन्ध्याको व्यक्तित्व त्यसपछि दिनप्रतिदिन लोकप्रिय बन्दै गएको थियो । त्यसमाथि गुरुहरूले ‘अब अन्तर्राष्ट्रिय पदक जित्नुपर्छ, त्यहाँ सफलता हासिल गर्नुपर्छ’ भनेपछि त उनको खुट्टाले भुइँ छोडेको थियो । यसरी थुप्रै हौसलाका हातहरूले सन्ध्याको पिठ्युँलाई थमथमाएपछि उनमा नौलो जोस, जाँगर र उमङ्ग पैदा भएको थियो । केही गर्नुपर्छ भन्ने भावनाले पोलेको थियो । अझ जिम्मेवारी बढेको बोध भएको थियो । यसपछि सन्ध्याले लगातार दुईपटक राष्ट्रिय च्याम्पियन बनेर आफ्नो प्रभावशाली प्रदर्शनलाई निरन्तरता दिन सफल भइन् ।
सन्ध्याको ठूलो चुनौतीको रूपमा नेपालगञ्जमा ०५५ सालमा भएको चौथो राष्ट्रिय खेलकुद प्रतियोगिता रहेको थियो । त्यसबेला नम्बर एकको ताज पहिरिरहेकी सन्ध्याको शान नै बेग्लै थियो । उनीमा नचाहिँदो घमण्ड रगरगमा भरिएको थियो । वास्तविक रूपमा भन्नुपर्दा उनी यो रोगले ग्रस्त थिइन् । ओभर कन्फिडेन्टले आकाश छोएको थियो । परिणामस्वरूप उनी फाइनलमा आफ्नी निकटतम् प्रतिद्वन्द्वी गीता थापासँग मात खानुपर्‍यो । त्यो पराजयको क्षण अहिले पनि सन्ध्याको मानसपटलमा ताजै छ । आफ्नै गैरजिम्मेवारी भूमिकाले उनी पराजित भएकी थिइन् । उनी अहिले पनि त्यो बेला घुम्न नगएको भए पराजित हुनुपर्ने थिएन भनेर आफूलाई कोसेर बसेकी छिन् । यो प्रतियोगिता सन्ध्याको खेलजीवनको अँध्यारो पाटोको रूपमा रहेको छ । त्यसपछि हिम्मत नहारी सन्ध्याले ०६० सालमा पोखरामा भएको राष्ट्रिय प्रतियोगितामा गीता थापालाई पराजित गरेर बदला लिएकी थिइन् । ०६२ सालमा पुन पोखरामा भएको राष्ट्रिय प्रतियोगितामा मुना वासुकलासँग पराजित भएपछि सन्ध्याले अहिलेसम्म राष्ट्रिय प्रतियोगिता खेलेकी छैनन् ।
सन्ध्याको राष्ट्रियस्तरका प्रतियोगितामा जति दबदबा रह्यो त्यस्तो अन्तर्राष्ट्रिय प्रतियोगितामा हुन सकेन । नेपालको साधन र स्रोत विश्वको परिप्रेक्ष्यमा कमजोर सावित भयो । सन् १९८८ देखि नै अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाएकी सन्ध्याले १९८९ मा भुटानमा फ्रेन्डसिप प्रतियोगिता खेल्ने अवसर पाएकी थिइन् । त्यहाँ सिङ्गलतर्फ दोस्रो स्थान हासिल गर्न सफल भइन् । सोही साल भारतको मेरठमा भएको आठौँ इलेक्ट्रा गोल्डकपमा उनको चुनौती सहभागितामा मात्रै सीमित रहेको थियो । त्यस्तै सोही वर्ष दिल्लीमा भएको जुनियर एसियन च्याम्पियनसिपमा पनि सहभागितामै चित्त बुझाउनुपरेको थियो । यसरी थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगितामा सन्ध्याले प्रतिस्पर्धा गरे पनि रित्तो हात फर्किनुपरेको थियो ।
सन् १९९३ मा बंगलादेशको ढाकामा भएको छैटौँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता साफमा सन्ध्याले पहिलोपटक प्रतिस्पर्धा गर्ने मौका पाएकी थिइन् । जसमा उनले उत्कृष्ट प्रदर्शन गरे पनि पदक जित्नबाट भने वञ्चित हुनुपरेको थियो । अर्को वर्ष १९९४ मा चीनमा भएको १२औँ एसियन च्याम्पियनसिप र १९९५ मा चीनमै भएको ४३औँ वल्र्ड च्याम्पियनसिपमा उनको सहभागिता सहभागितामा मात्रै सीमित रहेको थियो । यसैगरी १९९६ मा सिङ्गापुरमा भएको १३औँ एसियन च्याम्पियनसिप र १९९८ मा थाइल्यान्डको बैंङकमा भएको १३औँ एसियाली खेलकुद प्रतियोगितामा सहभागिता जनाएर निकै अनुभव बटुल्न सफल भइन् ।
अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गरेको लामो लिस्ट सन्ध्याको खातामा भए पनि उनलाई आठौं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा पहिलोपटक महत्वपूर्ण पदक जित्ने सौभाग्य प्राप्त भएको थियो । आठौँ साफमा सन्ध्याले गीता थापासँग मिलेर महिला डबल्समा कास्य पदक जितेकी थिइन् । त्यस्तै पाकिस्तानमा भएको नवौँ साफ र श्रीलङ्कामा भएको दशौँ सागमा क्रमशः महिला टिम इभेन्टमा कास्य पदक जितेर ह्याट्रिक गरेकी थिइन् ।
लगभग दुई दशकको खेलकुद यात्रामा पूर्णविराम नलगाएकी सन्ध्याले अहिले सक्रिय रूपमा टेबुलटेनिस खेल्न छाडे पनि टेटेको विकासका लागि अहोरात्र खटेर लागेकी छिन् । अहिले उनी टेटेको सहायक प्रशिक्षकको रूपमा कार्यरत छिन् । जसका लागि सन्ध्याले आईटीटीएफबाट अन्तर्राष्ट्रिय लेभल वान कोचिङ कोर्सलगायत विभिन्न अन्तर्राष्ट्रिय कोर्स गर्न भ्याएकी छिन् ।
वर्तमान अवस्थमा टेबुलटेनिसको भविष्य निकै उज्ज्वल देख्ने सन्ध्याले प्रशिक्षणमा आएको सुधारले खेलाडीको स्तरमा वृद्धि भएको बताएकी छिन् । अहिले आधुनिक रोबर्ट मसिनद्वारा खेलाडीलाई प्रशिक्षण दिइरहेको र ड्रिलमा टे्रनिङ भइरहेकोले खेलाडीहरू निकै प्रोत्साहित भएको सुनाइन् । उनले समग्र नेपाली खेलकुदको विकासका लागि वैदेशिक प्रशिक्षण तथा विदेशी प्रशिक्षकको आवश्यकता भएको पनि प्रस्ट पारिन् । नेपाली खेलकुदमा राजनीतिक हस्तक्षेप हुनुहुँदैन भन्ने सन्ध्याले खेलकुद व्यक्तित्वलाई राष्ट्रिय खेलकुद परिषद्को नेतृत्व दिनुपर्नेमा जोड दिइन् ।
खेलकुदको लामो यात्रामा थुप्रै अविष्मरणीय क्षण भए पनि सन्ध्याले आफू राष्ट्रिय च्याम्पियन बनेर टेटेको नम्बर एक खेलाडी बन्दाको क्षणलाई मानसपटलमा सजाएर राखेकी छिन । यसर्थमा त्यसबेला उनको जे चाहना थियो पूरा भएको थियो । त्यसपछि टेटे खेल्दा उनमा निकै प्रसन्नता छाएको थियो । त्यस्तै उनको तीतो सत्यको रूपमा साफ गेममा सिङ्गलतर्फ कुनै पदक जित्न नसकेको रहेको छ । त्यो पछुतो अहिले पनि उनले पालेर राखेकी छिन् ।
टेबुलटेनिससँग मात्र माया साट्दासाट्दै वास्तविक माया गर्न बिर्सेकी सन्ध्याले अहिलेसम्म माया जोड्ने फुर्सद पाएकी छैनन् । त्यसबेला प्रेमका प्रस्ताव थुप्रै आए पनि खेलकुदको मातले गर्दा उनी बेहोसजस्तै बनेकी थिइन्, अर्थात् त्यसतर्फ ध्यान दिन नै पाइनन् । तर, अहिले मनले खाएको, खेलकुद बुझेको र आफूलाई वास्तविक रूपमा माया गर्ने मायालुको पर्खाइमा छिन् सन्ध्या । अहिले घरबाट विवाह गर्न दबाबमाथि दबाब आएको छ सन्ध्यामाथि । यसरी अहिले उनी अलमलमा परेकी छिन् । अब घरले रोजेकोसँग विवाह गर्ने कि आफूले रोजेको यो प्रश्न उनका लागि अहम् बनेको छ । सन्ध्या विवाह गर्न चाहन्छिन् आफूले रोजेको, मन पराएको तर उनलाई कसले रोजेको छ र मनप राएको छ त्योचाहिँ ररहस्य नै बनेको छ ।

विश्व तेक्वान्दोमा खेलाडीको नौलो अनुभव
नेपाली खेलकुदको समग्र विकास र विस्तारका लागि स्थापना भएको विश्वविद्यालय खेलकुद महासङ्घ नेपाल, वर्तमान अवस्थामा आफ्नो उद्देश्यमा खरो उत्रिँदै गएको कसैबाट छिपेको छैन । क्याम्पसमा अध्ययनरत विद्यार्थीबीच खेलकुदको माध्यमबाट आपसी भाइचारा कायम गर्ने र प्रतिभावान खेलाडी उत्पादन गरी मुलुकको खेलकुदको विकासमा विगत थुप्रै वर्षदेखि क्रियाशील रहेको छ । महासङ्घले नेपाली खेलकुदको विकासमा देखाएको यही सक्रियताले गर्दा राष्ट्रिय खेलकुद परिषद् र अन्तर्राष्ट्रियस्तरका विभिन्न संस्थाहरूको हातेमालो गर्न सफल भएको छ ।
छोटो समयमै आफ्नो गतिविधिलाई राष्ट्रियस्तरमा व्यापक रूपमा बढाएर नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय खेलकुदमा सहभागी गराउन सफल भएको छ महासङ्घ । सोही क्रममा नेपाली खेलकुदमा आफ्नो उपस्थितिलाई मजबुत बनाउन महासङ्घले चालेको कदमको अहिले व्यापक चर्चा–परिचर्चा भएको छ । गत वर्ष चीनमा आयोजना भएको एसियन बिच भलिबलमा महिला खेलाडीलाई सहभागिता गराउन सफल भएको महासङ्घले त्यसको केही समयपश्चात् नै तेक्वान्दो खेलाडीलाई समर युनिभरसाइडमा सहभागिता गराएको थियो । यसरी राष्ट्रबाट अन्तराष्ट्रसम्म खेलाडीको सहभागिता गराएर मुलुकको मान, सम्मान र प्रतिष्ठालाई सधैं बढाउँदै आएको छ । महासङ्घले खेलकुदको विकासमा निभाएको यही भूमिकाका कारण हालै धनगढी र महेन्द्रनगरमा सम्पन्न भएको छैटौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय टोलीको मान्यतासमेत पाएको महासङ्घका महासचिव पूर्णसिंह बोहराले बताएका छन् ।
आफ्नो गतिविधिलाई अगाडि बढाउने क्रममा हालै दक्षिण कोरियामा सम्पन्न भएको १२औँ विश्व युनिभर्सिटी तेक्वान्दो च्याम्पियनसिपमा चारजना नेपालका चर्चित खेलाडीको सहभागिता गराउन सफल भएको थियो । आयशा शाक्य, यानकुमारी चौलागाईं, पुष्प थापामगर र अनिश महर्जनले प्रतिस्पर्धा गरेको उक्त विश्व च्याम्पियनसिपमा नेपाली खेलाडीले सन्तोषजनक प्रदर्शन गर्दै अन्तर्राष्ट्रिय अनुभव बटुल्न सफल भएका थिए । चारजना खेलाडी र दुईजना अफिसियल रहेको उक्त टोलीको नेतृत्व नेपालका चर्चित तेक्वान्दो खेलाडी दीपक विष्टले गरेका थिए । उक्त विश्वस्तरीय प्रतियोगितामा प्रशिक्षणको कमीका बाबजुद पनि नेपाली खेलाडीले उत्कृष्ट प्रदर्शन गरेको प्रशिक्षक दीपक विष्टको दाबी छ ।
तर धमिलोपानीमा माछा मार्न पल्केका केही सञ्चारकर्मीहरूले यही सहभागितालाई लिएर अनाहकमा महासङ्घ र खेलाडीलाई विवादमा तान्न खोजेका छन् । खेलकुदको भावनाविपरीत गलत र भ्रमपूर्ण समाचार सम्प्रेषण गरेर महासङ्घ र खेलाडीको प्रतिष्ठामा हिलो छ्याप्ने दुस्प्रयास गरेका छन् । नितान्त व्यक्तिगत सोचबाट ग्रसित ती सञ्चारकर्मीले खेलकुदभन्दा पनि व्यक्तिगत कुराको उठान गरेकोमा प्रशिक्षक विष्टले दुःख प्रकट गरेका छन् । प्रशिक्षक विष्टले हुँदै नभएको, गर्दै नगरेको र आफ्नो कल्पनाभन्दा बाहिरको कुरालाई सार्वजनिक गर्दा आफूले खेलकुदमा बगाएको रगत–पसिनाको अवमूल्यन भएको बताए । वास्तविक सत्य के हो ? त्यसको सतहमा पुग्नुभन्दा हावादारी समाचार प्रकाशित गर्दा खेलकुदको भलो नहुने उनले प्रस्ट पारेका थिए । सो गलत समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको बताउँदै महासचिव पूर्णसिंह बोहराले यो महासङ्घको उन्नति–प्रगति देख्न नचाहने सीमित व्यक्तिको चाल भएको बताए । उनले यस्ता भ्रमपूर्ण समाचारले महासङ्घलाई कुनै फरक नपर्ने प्रस्ट पार्दै आफ्नो कार्य निरन्तर रूपमा अगाडि बढाउने प्रतिबद्धता जाहेर गरेका थिए ।
त्यस्तै प्रतियोगितामा सहभागिता जनाएका नेपाली खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगितामा नौलो अनुभव बटुलेको बताएका छन् । ती खेलाडीले विश्वस्तरीय प्रतियोगिताका लागि व्यापक तयारी गर्नुपर्ने बताएका छन् । सीमित प्रशिक्षणका बाबजुद पनि सहभागी खेलाडीहरूले सन्तोषजनक प्रदर्शन गरेकोमा उनीहरूले प्रसन्नता प्रकट गरेका थिए । सहभागी खेलाडीले प्रतियोगितालाई ध्यानमा राखेर तयारी गरेको खण्डमा नेपालले पनि उत्कृष्ट प्रदर्शन गर्ने दाबी गरेका थिए । पहिलो सहभागितामा नेपाली खेलाडी पहिलो चरणबाटै बाहिरिए पनि यानकुमारी चौलागाईंले भने उत्कृष्ट प्रदर्शन गर्न सफल भएकी थिइन् । उनले अन्तिम समयमा प्रतिद्वन्द्वीलाई रोक्न नसक्दा अग्रता लिए पनि पराजित हुनुपरेको थियो ।
त्यस्तै विश्व तेक्वान्दो च्याम्पियनसिपमा सहभागिता जनाएका खेलाडीलाई कोरियामा बस्ने प्रवासी नेपालीहरू मदन केसी, यादव कुँवर, पुरु जोशी र हिम गुरुङलगायतले सहयोग गरेका थिए । उनीहरूले खेलाडीहरूका लागि खाने–बस्ने उचित प्रबन्ध मिलाएका थिए । यसैगरी कोरियन प्रशिक्षक क्वान हुक जोङले नेपाली टोलीलाई सुरुदेखि अन्त्यसम्म हरेक कुरामा विशेष सहयोग गरेका थिए । सो अवसरमा विश्व तेक्वान्दो च्याम्पियनसिपका खेलाडीहरू सहभागी गराई उत्कृष्ट कार्य गरेबापत विश्व तेक्वान्दो महासङ्घका डेपुटी महासचिवले दीपक विष्ट, मदन केसी र लालकुमार लामालाई प्रशंसापत्र प्रदान गरेका थिए ।

नोबिस बक्सिङ हुने
नेपाल बक्सिङ सङ्घले पहिलो नोबिस बक्सिङ प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिता साउन १० देखि १३ गतेसम्म काठमाडौंमा हुने बक्सिङ सङ्घका अध्यक्ष राजीव श्रेष्ठले जानकारी गराएका छन् । आइबा युथ विश्व बक्सिङ च्याम्पियनलाई खेलाडी छनोट गर्ने उद्देश्यले उक्त प्रतियोगिता गर्न लागिएको हो । युथ बक्सिङ अक्टोबर १५ देखि २८ तारिखसम्म थाइल्यान्डको बैंककमा हुँदै छ । कम्तीमा दुई पुरुष खेलाडीलाई युथ बक्सिङमा सहभागी गराउने सङ्घका महासचिव दीपक लामाले बताए ।
सोही अवसरमा सङ्घले वार्षिक कार्यक्रम पनि सार्वजनिक गरेको छ । जसअन्तर्गत विभिन्नस्तरको आठवटा राष्ट्रिय प्रतियोगिता गर्ने, खेलाडीलाई ए, बी र सी श्रेणीमा वर्गीकरण गरी ए श्रेणीमा पर्ने खेलाडीलाई विभिन्न तौलसमूहमा वर्गीकृत गरी मासिक भत्ता, जीवनबिमा र वैदेशिक प्रशिक्षणको व्यवस्था, प्रमुख प्रशिक्षक, प्रमुख रेफ्री र जजलाई वैदेशिक तालिमको व्यवस्था, प्रशिक्षक, रेफ्री र जजलाई जीवनबिमाको व्यवस्था, खेलाडी तथा प्रशिक्षकका लागि अक्षय कोषको व्यवस्था, सन् २०१३ मा प्रथम दक्षिण एसियाली बक्सिङ च्याम्पियनसिप आयोजना तथा बक्सिङ खेलमा योगदान गरेका जिल्ला सङ्घ, प्रशिक्षक, रेफ्री, जज र खेलाडीलाई सम्मान गर्ने योजना सङ्घको रहेको छ । त्यस्तै दीर्घकालीन योजनाका रूपमा सुविधासम्पन्न बक्सिङको कभर्डहल निर्माण गर्नेसमेत सङ्घले जनाएको छ । त्यसका लागि मूलपानीमा राखेपसँग जग्गा माग गरिएको अध्यक्ष श्रेष्ठले बताए ।
सबै कार्यक्रमका लागि सङ्घले राखेपमार्फत सरकारसँग चार करोड ८८ लाख १० हजार चार सय ९१ रुपैयाँको बजेट पेस गरेको छ ।

बोरिस लिसानेभिच स्मृति टेनिस सम्पन्न
मिलन रोका र अश्लेषा लिसानेभिचले प्रथम बोरिस लिसानेभिच स्मृति जुनियर खुला टेनिस प्रतियोगिताको आ–आफ्नो स्पर्धामा स्वर्ण जितेका छन् । मिलन यू–१८ ब्वाइज सिङ्गल्स तथा अश्लेषा यू–१६ गल्र्स सिङ्गल्समा च्याम्पियन बनेका हुन् । सातदोबाटोस्थित टेनिस कोर्टमा भएको यू–१८ को फाइनलमा मिलन ७–५ र ६–४ को नतिजामा विजयी हुँदै लिसानेभिचलाई दोहोरो स्वर्ण जित्नबाट रोके । यू–१६ मा भने आइभनले स्वर्ण जितेका थिए । यू–१६ को फाइनलमा राष्ट्रिय च्याम्पियन अश्लेषाले विभूति कार्कीमाथि ६–३ र ६–१ को जित दर्ता गर्दै व्यक्तिगत दोस्रो स्वर्ण जितेकी थिइन् । अश्लेषा यू–१८ सिङ्गल्समा पनि च्याम्पियन बनेकी थिइन् । प्रतियोगितामा कूल १० स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो ।
यसअघि यू–१० सिंगल्सको ब्वाइजमा सम्यकभूषण बज्राचार्य र गल्र्समा इरा राउत तथा यू–१२ सिङ्गल्सको ब्वाइजमा संरक्षकभूषण बज्राचार्य र गल्र्समा माहिका राणाले स्वर्ण जितेका थिए । माहिकाले आफ्नो साढे पाँचवर्षे टेनिस करिअरमा पहिलो स्वर्ण जितेकी हुन् । यू–१४ सिङ्गल्सको ब्वाइजमा अभय गौचन र गल्र्समा विभूति कार्की पहिलो भएका थिए । प्रतियोगितामा नेपाली टेनिसको दुई उमेर समूहमा कीर्तिमानी समय बन्यो ।
यू–१६ र यू–१२ को क्वाटरफाइनल खेलमा क्रमशः सुदर्शन सिग्देल र आभाष मल्लले ३ घन्टा २५ मिनेट तथा इरा राउत र करुण गौचनले ३ घन्टा १० मिनेट लामो समयको कीर्तिमानी खेल खेलेका थिए । विजेतालाई नेपालका लागि रुसका राजदूत सर्गे भी भेलिकिम ९क्भचनभथ ख्। ख्भष्अिजपष्ल० ले पुरस्कार प्रदान गरेका थिए । यू–१२ को विजेताले चार हजार र उपविजेताले दुई हजार रुपैयाँ हात पारे । अन्य चारै स्पर्धामा पहिलो हुनेले १० हजार तथा दोस्रोले पाँच हजार नगद पुरस्कार पाए । उक्त प्रतियोगिता जयकर स्मृतिपछि दोस्रो ठूलो नगद पुरस्कारको जुनियर टेनिस प्रतियोगिता हो । अखिल नेपाल लनटेनिस सङ्घले उक्त प्रतियोगितालाई आफ्नो वार्षिक क्यालेन्डरसमेत समावेश गरिसकेको छ । अश्लेषा र आइभन स्व. बोरिस लिसानेभिचका नातिनी÷नाति हुन् । लिसानेभिच परिवार नै प्रतियोगिताको आयोजक हो ।

बिच भलिबल टोली चीन प्रस्थान
चीनको हायाङमा हुने तेस्रो एसियाली बिच खेलकुदका लागि ६ खेलाडीसहित सात सदस्यीय नेपाली टोली हालै त्यसतर्फ प्रस्थान गरेको छ । एसियाली बिचको औपचारिक सुरुआत जून १६ देखि हुने भए पनि भलिबलको प्रतिस्पर्धा भने त्यसअगावै हुनेछ । भलिबल जून १२ देखि सुरु हुँदै छ । भलिबलमा नेपालले दुई पुरुष तथा एक महिला टिम सहभागी गराएको छ । पुरुषको ँए’ टिममा सञ्जय अर्याल र इम मगर तथा ‘बी’ टिममा भरत शाह र चन्द्र कुँवर रहेका छन् । महिला टिममा निता शाह र चूडा खड्का रहेका छन् । सबै खेलाडी विभागीय टिम नेपाल प्रहरीका हुन् । प्रशिक्षकमा सुदेश रिमाल छन् । खेलाडीको छनोट बाँकेको सीतापुरमा भएको दोस्रो राष्ट्रिय पुरुष बिच भलिबल तथा सौराहामा भएको दोस्रो राष्ट्रिय महिला बिच भलिबल प्रतियोगिताको आधारमा गरिएको नेपाल भलिबल सङ्घले जनाएको छ । दोस्रो राष्ट्रिय पुरुष बिच भलिबलमा दोस्रो भएका भरत र चन्द्र आफ्नै खर्चमा सहभागी हुन लागेको सङ्घका अध्यक्ष दानबहादुर तामाङले जानकारी गराए । अन्य दुवै टिम आ–आफ्नो प्रतियोगितामा पहिलो भएका थिएका थिए । टोलीलाई सफलताको शुभकामन दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामाले बिदाइ गरेका थिए ।

अन्नपूर्ण राष्ट्रव्यापी बुद्धिचाल हुने
अन्नपूर्ण माविको आयोजनामा आठौँ राष्ट्रव्यापी अन्नपूर्णमैत्री खुला बुद्धिचाल प्रतियोगिता असार १ गतेदेखि हुने भएको छ । प्रतियोगितामा करिब दुई सय खेलाडीको सहभागिता रहने अन्नपूर्णका प्राचार्य चन्द्रप्रकाश राजभण्डारीले पत्रकार सम्मेलनमा जानकारी गराएका हुन् । ज्याठामा हुने तीनदिने प्रतियोगिताको अनुमानित बजेट ८५ हजार रुपैयाँ रहेको आयोजकले जनाएको छ ।

प्रमोद मेमोरियल पौडी प्रतियोगिताको तयारी
नेपाल पौडी सङ्घको आयोजनामा ७औँ प्रमोद मेमोरियल पौडी प्रतियोगिता यही जेठ ३१ र ३२ गते ललितपुरको सातदोबाटो अन्तर्राष्ट्रिय पौडीपोखरीमा सञ्चालन हुने भएको छ । विशेषगरी युवा खेलाडीलाई लक्षित गरी सञ्चालन हुन लागेको सो प्रतियोगितामा विभिन्न विद्यालय, क्लब र खुल्ला रूपमा युवा महिला तथा पुरुष खेलाडीको सहभागिता रहने नेपाल पौडी सङ्घका महासचिव जगतमान श्रेष्ठले जानकारी गराएका छन् ।
विभिन्न उमेर समूह र खुला प्रतिस्पर्धीले महिला र पुरुषसँग ५२ इभेन्टमा भाग लिनेछन् । सङ्घको वर्षको पहिलो प्रतियोगिताको रूपमा सञ्चालन हुने यस प्रतियोगितामा विभिन्न ७५ विद्यालयलगायत क्लब र खुलागरी करिब दुई सय ५० पौडी खेलाडीले भाग लिने विश्वास लिइएको सङ्घले जनाएको छ । प्रतियोगितामा उत्कृष्ट आठ प्रतिभाशाली खेलाडीलाई विशेष प्रशिक्षणमा राखी खेलाडीको क्षमता अभिवृद्धि गर्ने नेपाल पौडी सङ्घको कार्यक्रम रहेको छ ।