झापा जिल्लाको भद्रपुर नगरपालिका-२ अन्तर्गत सूर्यनगरस्थित ऐतिहासिक एवम् पुरातात्विक स्थल ‘कीचकबध’मा पुरातत्व विभागको टोलीले नवौं चरणको उत्खनन् समापन गरेको छ ।
पुरातत्व विभागका वरिष्ठ पुरातत्वविद् उद्धव आचार्यको नेतृत्वमा यही जेठ ६ आएको प्रमुख पुरातत्व अधिकृत नवराज अधिकारी र फोटोग्राफर रामचन्द्र श्रेष्ठको ३ सदस्यीय टोलीले जेठ ८ गतेदेखि कीचकबध स्थलमा स्थानीय श्रमिकको सहयोग लिएर पुनः चालेको उत्खनन् जेठ ३० गतेसम्म जारी राखेर ३१ गते टोली काठमाडौं फर्किएको हो ।
यसैबीच, जेठ ३० गते कीचकबध परिसरमै भद्रपुर नगर–प्रमुख गणेश पोखरेलद्वारा आयोजित पत्रकार सम्मेलनमा हालसम्म विविध कारणले रोकिंदै भइरहेको उत्खनन्को प्रगति लगभग ३० प्रतिशत रहेको जनाउँदै अहिलेसम्म गरिएका उत्खनन् स्थलभन्दा बाँकी रहेको स्थल अझै पुरानो हुन सक्ने पनि पुरातत्वविद् आचार्यले बताए ।
हालसम्मको उत्खनन्बाट पाइएको पुरातात्विक सामग्रीहरुको बेलायतस्थित बुर्हान विश्वविद्यालयको प्रयोगशालामा गरिएको परीक्षणबाट यो स्थल ईशापूर्व पहिलो शताब्दीको भएको पुष्टि भइसकेको बताएका टोली नेतृत्वकर्ता आचार्यको कथन छ– महाभारतकालीन विराट राजाको सालो कीचकको दरबार रहेको विश्वास गरिएको कीचकबधमा फेला परेका इँटा गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा भेटिएका इँटासँग मेल खान्छ ।
सो अवसरमा नगर–प्रमुख पोखरेलले ऐतिहासिक स्थल कीचकबधको संरक्षण र पुरातात्विक महत्व भद्रपुरको गौरव रहेको हुँदा नगरपालिकाका तर्फबाट अपनत्व लिई अबका दिनमा भद्रपुरको पहिचानसँग जोडिएको यस प्राचीन स्थलका निम्ति आगामी वर्षको बजेटबाट सम्बोधन गर्ने प्रतिबद्धता समेत जाहेर गरेका थिए । भद्रपुरको धरोहर कीचकबधलाई संरक्षण र प्रवद्र्धन गर्दै पर्यटकीय गन्तव्य बनाउनेगरी भद्रपुर नगरपालिकाका तर्फबाट संघ र प्रदेश सरकार समक्ष गरिएका प्रस्ताव एवम् पहलहरु बारे पनि उनले जानकारी दिए ।
कार्यक्रमको सहजीकरण गर्दै इतिहास विषयक पूर्वप्राध्यापक एवम् पत्रकार चिन्तामणि दाहालले-[ प्राचीन कीचकबधलाई पहिला भद्रपुरको सम्पदा, त्यसपछि प्रदेशको सम्पदा बनाउन सके मात्र नेपालकै राष्ट्रिय सम्पदा बनाउन सकिने भएकोले यस स्थलको ऐतिहासिकतालाई भद्रपुरको गौरव र अमूल्य सम्पदाका रुपमा पहिचान स्थापित गर्न भद्रपुर नगरपालिका र प्रदेश सरकारको भूमिका अहम् हुने सुझाउँदै भने- ‘भद्रपुरको शरहदमै यति प्राचीनस्थल, जो राष्ट्रिय सम्पदा र अझ विश्व सम्पदासम्म हुन सक्ने ऐतिहासिक स्थल छ, यस सम्पदाको महत्व अहिलेसम्म बुझ्न नसक्नु भनेको माल पाएर पनि चाल नपाएको अवस्था हो ।’

सीमित संघीय बजेटबाट हालसम्म भइरहेको उत्खनन्मा स्थानीय तहको समन्वय नहुँदा कामले गति लिन नसकेको देखिएको छ । प्रदेश सरकारले पनि हालसम्म यस ऐतिहासिक पुरातात्विक स्थलको संरक्षण र पर्यटकीय प्रवद्र्धनमा ध्यान दिएको छैन । जसले गर्दा सीमित बजेटका कारण वर्षैपिच्छे उत्खनन् गरिरहनु पर्ने र बाँकी काम अधुरो रहने गरेको छ । तर, केही साता अघि भद्रपुर नगरपालिकाको प्रतिनिधिमण्डलले प्रदेशका पर्यटन मन्त्री भीम पराजुलीलाई भेटेर कीचकबधको संरक्षण, चाँडो उत्खनन् र पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने बारेमा प्रदेश सरकारको सहयोगको आवश्यकता दर्शाउँदा मन्त्री पराजुलीले बहुवर्षीय योजनाका रुपमा आगामी २०८३–’८४ को बजेटमा सम्बोधन गर्ने प्रतिबद्धता जनाएको भद्रपुर-२ का वडाध्यक्ष राम कँडेलले जानकारी दिए ।
वडाध्यक्ष कँडेलका अनुसार, गत वर्ष वडाकै ५ लाख बजेटबाट कीचकलाई पाण्डव भीमले बध गर्दै गरेको भीमकाय प्रतिमा कम्पाउण्ड लगायत अत्यावश्यक क्षेत्रमा विद्युतीकरण गरिनुका साथै पोथ्रापोथ्री फाँड्ने र झार मार्ने विषादि छर्किने काम भएको थियो । गत वर्ष संघीय सरकारबाट विनियोजित ३ करोड बजेट नयाँ सरकार आएसँगै रोकिंदा पनि कीचकबधमा आवश्यकता अनुसार काम अघि बढाउन नसकिएको उनको भनाइ छ ।
यस बारेमा प्रदेश र संघीय सरकारले यस ठाउँलाई ऐतिहासिक गौरवको परियोजनाको रूपमा अगाडि बढाउन आवश्यक छ । यस ऐतिहासिक स्थललाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न सके भद्रपुरको मात्र नभई समग्र कोशी प्रदेशकै पहिचान र आर्थिक उत्थानमा टेवा पुग्ने निश्चित छ । तर, उत्खनन् शुरु भएको ४७ वर्षसम्म पनि सरोकारवालाहरू गम्भीर हुन सकेको पाइँदैन । जसले गर्दा कीचकबधको यो गौरवमय पुरातात्विक इतिहास केवल वर्षैपिच्छेको उत्खनन्मै सीमित रहँदै आएको छ ।
प्रारम्भमा २०३५ सालमा मेची क्याम्पसका प्रमुख घनश्याम खनालको नेतृत्वमा पहिलो पटक उत्खनन् गरिएको सो स्थलमा हालसम्म ९ वटा ऐतिहासिक दरबारका संरचना फेला परिसकेका छन् । सो स्थानमा २०५८ सालदेखि भने नेपाल सरकारको पुरातत्व विभागले आचार्यको नेतृत्वमा उत्खनन् गरिरहेको छ ।
हालसम्म यस स्थलमा उत्खनन्बाट २२०० वर्षभन्दा पुरानो दरबारको सुरक्षा पोष्ट, पर्खाल, तबेला, त्यसबेला मानिसले प्रयोग गर्ने भाला, बाण र माटाका भाँडावर्तन, पुराना इँटाका टुक्रा र कम्पाउण्ड सहितको भौतिक संरचना भेटिएको छ । जुन पुरातात्विक वस्तुहरूको कार्बन परीक्षणबाट यो स्थल २२–२३ सय वर्ष पुरानो मानिएको छ । जुन समयमा इण्डियामा शुङ्ग कुषाणकाल थियो ।
किंवदन्ती अनुसार, पाण्डव गुप्तबास बसेका बेला द्रौपदीमाथि कुदृष्टि राखेका कारण भीमसेनले बिराटनगरदेखि लखेट्दै ल्याउँदा कीचकलाई यहीं ठाउँमा बध गरेका थिए । त्यही कारण यस स्थानलाई कीचकबध भनिन थालेको हो ।
यति महत्वको राष्ट्रिय सम्पदा र अझ विश्व सम्पदासम्म बन्न सक्ने प्राचीन ऐतिहासिक धरोहर फेला परे पनि सरकारको चासो रहेको छैन । स्थानीयले गठन गरेको संरक्षण समिति त छ, तर, त्यो पनि निष्क्रियजस्तै पाइएको छ । यस अघि दिलबहादुर थेवे अध्यक्ष हुँदाताका भने डाँडाजस्तो स्वरुपको करीब १० बिघा क्षेत्रफल रहेको कीचकबध क्षेत्रमा पर्खाल लाउने लगायतका केही काम भएको थियो ।
पुरातात्विक महत्वको ऐतिहासिक स्थल ‘कीचकबध’ को संरक्षण र पर्यटकीय प्रवद्र्धनमा तीनै तहका सरकारले अपनत्व ग्रहण नगरेसम्म वर्षैपिच्छे संघको सीमित बजेटमा केही दिन वा हप्ताको उत्खनन्मै यसको महत्व झन्-झन् ओझेलमा पर्दै जाने छ ।
प्रतिक्रिया