सत्ताको भोक र फुटको रोग

सत्ताको भोक र फुटको रोग


लोकतान्त्रिक गणतन्त्रमार्फत देशको मुहार बदल्न अग्रसर रहेको दाबी गर्दै आएका प्रत्येक राजनीतिक दल यतिबेला कुनै न कुनै रूपले विवाद र फुटको भूमरीमा परेका छन् । संविधानसभाको निर्वाचनपछि सबैभन्दा ठूलो दलको रूपमा देखापरेको माओवादी होस् या समानुपातिक प्रणालीको लाभ उठाएर मुस्किलले एक सिट प्राप्त गरेका चुरे भावरलगायतका झिना–मसिना ँदल’हरू नै किन नहुन्, फुटको रोगबाट आक्रान्त बनेका छन् । जति साना दल त्यति धेरै चिरा देखिनु जति दुःखद् छ त्यत्तिकै आश्चर्यपूर्ण र रोचक पनि छ ।
दलहरूमा देखापरेको फुटवादी चरित्रले यही सङ्केत गर्छ– नेपाली राजनीति अझ कैयन वर्षसम्म सङ्लिन नसक्ने नालीमा रूपान्तरण हुँदै छ । यसको अर्को दुःखद् पाटो यो पनि हो कि परिवर्तन, विकास, शान्ति र समृद्धिका लागि हुनुपर्ने ँराजनीति’ यहाँ फगत सत्ताप्राप्तिका लागि गरियो र थाहा छैन अझ कहिलेसम्म यही अभीष्टबाट नेपाली राजनीति परिचालित भइरहने हो ?
एकीकृत नेकपा माओवादीको घरझगडाले अत्यन्त छोटो समयमै झिल्कोबाट बढेर भयङ्कर ज्वालाको रूप लिन पुग्यो । विचारको विवाद भनिए पनि प्रकारान्तरले त्यहाँ सत्ताको विषय नै गढेको गन्ध आउँछ । त्यस्तै एकपटक फुटको जोडदार धक्का व्यहोरिसकेको एमालेभित्र ँजातिवाद’ले टाउको उठाउन खोजेको छ । जातीयता समाधान होइन बरु थप समस्या हो भनी नेतृत्वले सम्झाउन खोज्दा एमाले पार्टी पनि जातिवादीहरूको बुर्र्कुसीका कारण उत्पन्न कम्पनका कारण थर्थरी कामिरहेको छ । त्यहाँ पनि भाग नभेटेरै भुकाइ सुरु भएको बताइन्छ । उता, सत्तालाई पोल्टाको सातु बनाएर फाँको मारिरहनुपर्ने आदतका कायल मधेसवादी दलहरू फुटेर सातको सत्र भइसक्दा पनि चिरा पर्ने क्रम थामिएको छैन । सत्ताको भोक त्यहाँ दिन दुगुणा रात चौगुणाका दरले पन्पिरहेको छ । समानुपातिकको चिठ्ठाबाट एक सिट सभासद् हात पारेका फाच्चाफुच्चा दलसमेत ँजसको सिङ छैन उसको नाम तिखे’ उखान चरितार्थ पार्दै छन् । कार्यकर्ताभन्दा नेताको सङ्ख्या बग्रेल्ती भएका यस्ता दलका तीन नेता तीनतिर फर्किएर एकले अर्कालाई सत्तोसराप गरिरहेका हुन्छन् । कुर्सी भेट्नेले असंवैधानिक प्रधानमन्त्री र उनका कदमलाई अत्यन्त जायज कार्यका रूपमा वकालत गरिरहेको हुन्छ भने र्‍याल चुहाउँदाचुहाउँदै भाग नभेट्नेहरूचाहिँ सर्वसत्तावादको प्रखर विरोधी भएको स्वाङ रच्दै कम्युनिस्ट शासकको सत्तोसराप गरिरहेको अवस्थामा भेटिन्छन् । धन्य हो उ सत्तामा हात नपुग्ने हालतको सिकार बनेपछि पार्टीभित्रकै कुर्सी तानातानको खेलमा अल्झिएका काङ्ग्रेसी नेताहरू भने यतिबेला घरझगडा मिलाएर जाने ँमुड’मा देखिँदै छन् । नत्र त महिनौँदेखि काङ्ग्रेस पार्टी पनि ँलोभ–लाभ’कै दलदलमा दल्मलिँदै थियो ।
सत्ता या कुर्सीको मोह यसरी लत बन्न पुग्दोरहेछ कि बाबुराम भट्टराईजस्ता ँअभूतपूर्व’ अनुमान गरिएका व्यक्तिसमेत अनेक दाउपेच रची मक्किएको कुर्सीको किला ठोकठाक गरेरै भए पनि अडिने कसरतमा अभ्यस्त हुन थालेका छन् । प्रतिपक्षी दलहरू उनको राजीनामाको एकसूत्रीय मागलाई मन्त्रसरी जपेकोजप्यै छन् तर डा. भट्टराई भने यसरी राजीनामाको ँहठ’ प्रदर्शन नगर्न विरोधीहरूलाई निर्धक्क उपदेश दिन्छन् । राजीनामा त परै रहोस्, देश र जनता जे चाहन्छन् त्यसको ठ्याम्मै उल्टापुल्टा काम–कदम गरी–गरी सत्ताचाहिँ लम्ब्याइरहने जालेमाले चालमा प्रधानमन्त्री भट्टराई दिनानुदिन पोख्त बन्दै गएका देखिन्छन् । आफूले आवश्यक ठानेका तर नियमले नदिएका काम उनी अध्यादेशकै बलमा पनि सम्पन्न गरेरै छाड्न उद्यत् बनेका छन् । अन्य दलको विरोधले त ँकाग कराउँदै छ पिना सुक्दै छ’ भन्ने उखान चरितार्थ तुल्याउनेबाहेक थप प्रभाव देखाउन सकेकै छैन ।
सत्ताप्रति आशक्तिको यो रोगले नेताहरूको उत्थान–पतन त गराउँदै गर्ला, तर यसैका कारण नेपाल र नेपालीले चाहिँ कहिलेसम्म दुर्भाग्यको सिकार बनिरहनुपर्ने हो, यसको जवाफ कहाँ खोज्ने ? कोसँग खोज्ने ?