खेलकुदलाई राजनीतिक स्वार्थमा प्रयोग गरिएको छ –शरदचन्द्र शाह

खेलकुदलाई राजनीतिक स्वार्थमा प्रयोग गरिएको छ –शरदचन्द्र शाह


नेपाली खेलकुदका वादशाह शरदचन्द्र शाहको गत बुधबार ६६ वर्षको उमेरमा निधन भएको छ । शाहको निधनसँगै नेपाली खेलकुदको सुखद कालखण्डको पनि अन्त्य भएको छ । लामो समयसम्म मिर्गौला रोगले पीडित शाहको केही समयदेखि सिङ्गापुरमा उपचार भइरहेको थियो । ०३४ देखि ०४५ सालसम्म राष्ट्रिय खेलकुद परिषद्को वागडोर सम्हालेका शाहले यो अवधिमा नेपाली खेलकुदको काँचुली फेर्न सफल भएका थिए । उनले सर्वप्रथम खेलकुदका ६ वटा राष्ट्रिय सङ्घलाई २६ वटामा पुर्‍याएर खेलकुदलाई नयाँ मार्गमा डोर्‍याएका थिए ।
आधारबिनाको संरचना तासको पत्ताजस्तै हो भन्ने बुझेका शाहले तत्कालीन समयमा खेलकुदको विकासमा चालेको दूरदर्शी कदम अहिले पनि उदाहरणीय बनेको छ । जसको ब्याज अहिलेसम्म पनि खेलाडी र खेलकुद पदाधिकारीहरूले खाइरहेका छन् ।
खेलकुदको विकासमा भौतिक संरचनाको अति आवश्यकतालाई उहिल्यै आत्मसात् गरेका शाहले ७२ जिल्लामा कवर्डहल बनाएका थिए । खेलकुदमा हिरो जन्माउन जिल्ला र केन्द्रलाई एउटै डोरीमा बाँधेर समानताको रेखा कोरेका थिए । यही उद्देश्यलाई पूर्ति गर्न शाहले ०३८ सालमा राष्ट्रिय खेलकुद प्रतियोगिताको अवधारणालाई पहिलोपटक अघि सारेका थिए । जसको छैटौँ संस्करण हालै सुदूरपश्चिममा सम्पन्न भएको छ । एक महान् परिकल्पनाकारका रूपमा रहेका शाह दक्षिण एसियाली महासङ्घीय खेलकुद प्रतियोगिता (साफ)को जन्मदाता पनि हुन् । उनकै परिकल्पनामा सार्क राष्ट्रका भारत, पाकिस्तान, बंगलादेश, श्रीलङ्का, माल्दिभ्स र भुटान सहमत भएका थिए । शाहको यो सफल छलाङले सन् १९८४ मा मूर्तरूप प्रदान गरेको थियो । नेपालले पहिलोपटक शाहकै नेतृत्वमा साफको आयोजना गर्न सफल भएको थियो । जुन अन्तर्राष्ट्रियस्तरमा नेपाली खेलकुदको लागि कोसेढुङ्गा सावित भएको छ ।
तत्कालीन अधिराजकुमार धीरेन्द्र शाहलाई राष्ट्रिय खेलकुद परिषद् र नेपाल ओलम्पिक कमिटीको संरक्षक बनाएर सदस्यसचिव र अध्यक्ष बनेका शाहले नेपाली खेलकुदको विकासलाई राष्ट्रियस्तरमा मात्र नभई अन्तर्राष्ट्रियस्तरमा समेत सफल अवतरण गराएका थिए । दोहोरी गीतको राष्ट्रिय प्रतियोगिता होस् या तेक्वान्दोमा ओलम्पिक पदक यो सबै शाहको रणनीति र दूरदर्शिताको प्रतिफल थियो । दोहोरी प्रतियोगितामा बमबहादुर कार्की स्वरमा शदरचन्द्र शाहले छमछमी नाच्दा र धीरेन्द्र शाहले उठेर नाचुनाचुझैं गरी ताली बजाउँदाको क्षण अहिले पनि खेलकुदमा अविष्मणीय बनेको छ । खेलकुदको समग्र विकासका लागि १४ अञ्चल ७५ जिल्ला घुमेका शाह त्यहाँका हरेक गोरेटोसँगसमेत परिचित थिए । शाहको खेलकुदप्रतिको यही लगावले त्यसबेला नेपाली खेलकुदले ठूलो फड्को मार्न सफल भएको थियो भने यही कारणले नेपाली खेलकुदलाई स्वर्णकालको संज्ञा दिइएको थियो ।
नेपाल ओलम्पिक कमिटीको संस्थापक अध्यक्ष तथा ओलम्पिक काउन्सिल अफ एसियाको संस्थापक उपाध्यक्ष र दक्षिण एसियाली ओलम्पिक महासङ्घको संस्थापक अध्यक्ष रहेका शरदचन्द्र शाहले तत्कालीन समयमा खेलकुदलाई अनुशासनको सिक्रीमा बाँधेर राखेका थिए । विकास, अनुशासन र गतिशीलतालाई प्रमुख नारा बनाएका शाह जहिले पनि खेलकुदमा केही गर्नुपर्छ भन्नेहरूका लागि प्रेरणाका स्रोत बनेका थिए । सदस्यसचिव त शरदचन्द्र शाहजस्तो हुनुपर्छ भन्ने विशिष्ट पहिचान बनाएका शाहको देहावसानपछि उनीप्रति सार्वजनिक सञ्चारमाध्यमद्वारा खर्चिएका शब्दलाई आत्मसात् गर्ने हो भने शाहको व्यक्तित्व कस्तो थियो भनेर सोझै अनुमान लगाउन सकिन्छ ।
यसरी नेपाली खेलकुदलाई रसातलबाट सगरमाथामाको चुचुरोमा पुर्‍याएका शाहले एघार वर्ष खेलकुदलाई हाँक्दा उनको चर्चाले शिखर छोएको थियो । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म खेलकुदले मौलाउने अवसर पाएको थियो । समग्र नेपाली खेलकुदको विकासका लागि उनले निभाएको भूमिका अहिले पनि सम्पूर्ण खेलाडी, प्रशिक्षक, कर्मचारी र खेलप्रेमीहरूका मानसपटलमा ताजै छ । अहिले पनि उनको कार्यकाललाई खेलकुदको स्वर्णयुग भनिन्छ । यसरी नेपाली खेलकुदका सदाबहार हिरोको रूपमा रहेका शरदचन्द्र शाहसँग वर्तमान खेलकुदको अवस्था, भित्रिएको विकृति र विसङ्गतिबारे घटना र विचार साप्ताहिकका लागि श्रीविक्रम भण्डारीद्वारा करिब चार महिनाअघि लिइएको अन्तर्वार्ता सान्दर्भिक ठानी प्रस्तुत गरिएको छ ।

० नेपालको खेलकुद क्षेत्रलाई कसरी नियालिरहनुभएको छ, मूलत: ०४६ पछि ?
– जुन निर्धारित लक्ष्य थियो र त्यसलाई प्राप्त गर्ने जुन बाटाहरू अपनाइएका थिए तीभन्दा बढी उपयुक्त लक्ष्य तथा मार्ग रोज्न सकिन्थ्यो सक्षम वा विहङ्गम दृष्टि (भिजन) भएका व्यक्तिहरूबाट । तर, त्यसबारे कुनै वास्ता गरिएन बरु आफ्नै तालमा, आफ्नै स्वार्थमा अगाडि बढ्न थालेपछि बाटो बिराउने सम्भावना त बढी नै हुने भयो । त्याग तपस्याबिना कुनै महान् लक्ष्य प्राप्ति हुँदैन । त्यागको अर्थ स्वार्थ त्याग हो, तपस्याको अर्थ लक्ष्य प्राप्ति गर्ने सम्पूर्ण शक्ति सङ्चय गर्नु र त्यो क्रममा विचलित नहुनु हो । अधिकांश समय त्यस्तो भएन । चिन्ताको विषय यही हो ।
० खेलकुदभित्र घुसेको राजनीतिलाई तपाईंले कसरी लिनुभएको छ ?
– दुर्भाग्यपूर्ण । मेरो बेलामा राजनीतीकरण गर्‍यो भनेर पछिपछि आरोप लगाउने काम पनि गरे । तर, त्यसबेलाका सबै छँदै छन्, कसैले प्रमाणित गरून्, त्यसमा म चुनौती दिन्छु । मेरो पालामा राजनीतिक स्वार्थ पूर्ति गर्न कसैलाई प्रयोग गरेको भए त्यसबेलाको अनुशासनको अनुकरणीय उपमा कसरी कायम गर्न सक्थ्यो ? अनुशासन कायम गर्ने क्रममा के भनिन्छ भने समूहलाई अनुशासित बनाउन कमान्ड गर्ने व्यक्ति उनीहरूभन्दा बढी अनुशासित भएर उपमा प्रस्तुत गर्न सक्नुपर्छ । त्यही गर्ने प्रयत्न मैले गरेको थिएँ ।
० राजनीतिक दलहरूले खेलकुदलाई राजनीतिक कार्यकर्ताहरूको भर्तीकेन्द्रको रूपमा मात्रै हेर्नुको कारण के होला जस्तो लाग्छ ?
– कुत्सित राजनीतिक उद्देश्य प्राप्ति गर्ने दुर्नियतबाहेक यसलाई अरू के भन्ने ? यो लेनदेनको व्यवस्था हुन गयो र खेलकुद क्षेत्रको विकासको प्राथमिकताचाहिँ दोस्रोकोटिमा पर्न गयो । यो दुर्भाग्यपूर्ण छ ।
० वर्तमान अवस्थामा खेलकुद क्षेत्रमा कुनै सुधारको सम्भावना देख्नुहुन्छ, यसका लागि राज्य र सम्बन्धित निकायले कस्तो रणनीति अख्तियार गरे राम्रो होला ?
– सम्भावना त अवश्य छ तर राजनीतीकरण हुनुभएन । सक्षम नेतृत्व विकसित हुन दिन पर्‍यो, उपयुक्त व्यक्तिको चयन हुन दिनुपर्‍यो र सम्बन्धित मन्त्रीहरूबाट अनावश्यक हस्तक्षेप हुनुभएन । लक्ष्यको समय–सीमा तोकिनुपर्‍यो । त्यो प्रस्ट रूपमा सबैलाई जानकारी दिनुपर्‍यो र त्यो प्राप्त भए–नभएको आधारमा प्रोत्साहन वा परिवर्तनको पहिले नै छलफलबाट स्वीकार गरिएको प्रक्रिया अपनाउनुपर्‍यो ।
० अहिले खेलकुदमा शरदचन्द्र शाहजस्तो खेलकुद बुझेको र इच्छाशक्ति भएको व्यक्तिको उपस्थिति खड्किएको छ, यसबारेमा के भन्नुहुन्छ ?
– त्यसबारेमा मैले भन्ने होइन । मेरो सुझाव यति मात्रै हुनसक्छ कि त्यो बेलामा कसरी योजना बनाइन्थ्यो, कसरी काम गरिन्थ्यो, कस्तो टिम थियो भन्नेबारे अध्ययन गरे राम्रै हुन्छ । हामीले जाने–बुझेका कुरा, सुधार हुनसक्ने अवस्था र खतराहरू के छन् भन्ने सबै जानकारी गराउन हामी त उपलब्ध छँदै छौँ । तर, यहाँ सल्लाह लिन पनि हिच्किचाउने गरिन्छ । असल नियतले सरसल्लाह गर्न पनि किन सङ्कोच मान्ने ? जे होस्, अहिले पनि मेरो मनमा खेलक्षेत्रप्रति शुभकामना र सद्भावनामा अलिकति पनि कमी आएको छैन ।
० तपाईंलाईं फेरि राष्ट्रिय खेलकुद परिषद्को सदस्यसचिव बनाइयो भने कहाँबाट कामको सुरुवात गर्नुहुन्छ ?
– म योजना–बैठकबाट काम सुरु गर्ने थिएँ । आजबाट अङ्ग्रेजी वर्षको अन्त्यसम्म सबै राष्ट्रिय सङ्घहरूले आगामी वर्षको योजना प्रस्ट रूपमा पेस गर्न सक्नुपर्छ । जसमा लक्ष्य, लक्ष्य प्राप्तिका उपाय, प्रशिक्षण, प्रतियोगिता, पूर्वाधार तथा आवश्यक साधन र त्यसलाई परिपूर्ति गर्ने उपाय त्यसमा प्रस्ट उल्लेखित हुनुपर्छ । यो जिल्ला तथा क्षेत्रीय इकाइहरूसँग समन्वय भएको र ती इकाइहरूबाट संलग्नताको प्रस्ट आश्वासन पनि उल्लेखित हुनुपर्छ । राखेपले सम्बन्धित इकाइहरूबाट त्यसको समर्थन भएको हुनुपर्छ । अर्थात सम्बन्धित इकाइ जस्तै एनआईएस, आर्थिक महाशाखा, सङ्घसंस्था समन्वय संस्था, इन्जिनियरिङ शाखाबाट त्यो योजनाको सम्भावना अध्ययन गरेर समर्थन प्राप्त भएको हुनुपर्छ । त्यो योजना खेलकुद पत्रकार क्षेत्रदेखि खेलप्रेमी, जनसाधारणले प्रस्ट रूपमा बुझ्ने र त्यहीअनुरूप मूल्याङ्कन गर्ने खालको हुनुपर्छ । आर्थिक पारदर्शिताको उपमा प्रस्तुत हुनुपर्छ ।
हाम्रो बेलामा कुनै बृहत् प्रतियोगिता अथवा राष्ट्रिय आयोजनाको समाप्तिलगत्तै लेखापरीक्षण गरिएको वासलात पत्रिकामा प्रकाशित गराइन्थ्यो । योजना बैठकमा राष्ट्रिय क्यालेन्डर बन्थ्यो, जसभित्र उपलब्ध जनशक्तिको परिचालनको पनि योजना समावेश भइसकेको हुनाले खेल्ने ठाउँ हुँदैनथ्यो । राष्ट्रिय क्यालेन्डरमा सबै खेल कहाँ कहिले हुने भन्ने प्रस्ट लेखिएर प्रकाशित भइसकेपछि बिहान कम्प्युटर खोलेर हेर्दा नेपालको खेलकुदको कार्यक्रम तथा त्यसबाट अपेक्षित नतिजाबारे सबैलाई जानकारी हुन्थ्यो र त्यहीअनुरूप सबैले मूल्याङ्कन गर्न सक्थे ।
० अहिले खेलकुद सङ्घ गठन पुनर्गठनदेखि लिएर नेपाल ओलम्पिक कमिटीसम्म विवादमा छ, यसको चुरो के जस्तो लाग्छ ?
– स्वार्थ, महत्ववाकाङ्क्षा तथा राजनीतिक स्वार्थ नै यसको जड हो भन्न सकिन्छ । खेलकुदभित्रको आकर्षण, विदेश भ्रमणको अवसर, आर्थिक पक्ष र आफ्नो मान्छे अगाडि बढाउने प्रवृत्ति नबढोस् भनेर उपाय र निर्देशनहरू प्रस्ट रूपमा समावेश भएको हुनुपर्छ । त्यो पनि पारदर्शी हुनुपर्छ । को, किन, के कामका लागि विदेश जाने र उपलब्धि कति प्राप्त हुने त्यसको पनि पूर्वजानकारी दिनु कुनै गाह्रो काम त होइन । र, राष्ट्रिय सङ्घहरूको राखेप र ओलम्पिक कमिटीको त्रैमासिक वासलात सम्बन्धित पत्रिकाहरूमा नियमित प्रकाशन गर्न के गाह्रो हुन्छ र ? यसले गर्दा हरेक किसिमको अनुशासन आत्मसात् हुँदै जान्छ ।
० तपाईंको विचारमा राखेप र राष्ट्रिय सङ्घबीचको सम्बन्ध कस्तो हुनुपर्छ ? सङ्घको स्वायत्तताबारे तपाईंको धारणा के छ ?
– हामीहरू खेलकुदमा आउँदा पनि यो विवाद जोरदार रूपमा थियो । राष्ट्रिय सङ्घहरूको कुरा लिएर खेलकुदका शक्तिशाली हस्तीहरू आपसमा जुधेका थिए । राखेपले फुटबल सङ्घको विषयमा मुद्दा हारेको थियो । तर, पछि त्यस्तो विवाद नै उत्पन्न भएन । दुवै इकाइ अर्थात् राखेप र सङ्घको उद्देश्य खेलको विकास नै हो भने त्यहाँ छलफल गरेर संयुक्त योजना बनाउन सकिन्छ । अर्को कुरा सङ्घ–संस्था समन्वय शाखा भएकाले समस्याहरू देखापर्नेबित्तिकै समाधानका उपायहरू खोजेर समस्या सल्ट्याइन्थ्यो । अनिवार्य रूपमा त्यसबेला १४ अञ्चल खेलकुद विकास समितिको पनि राष्ट्रिय सङ्घमा संलग्नता संस्थागत गरिएको थियो, ता कि कुनै समूहविशेष अथवा कुनै स्थानविशेषको (काठमाडौं वा विकसित नगर) आधिपत्य कायम हुन सक्तैनथ्यो, अर्थात् कसैको खल्तीको राष्ट्रिय सङ्घ बन्दैनथ्यो ।
० अहिले राखेपअन्तर्गत एक सय चारवटा खेलकुद सङ्घ छन्, यसको उद्देश्य र कारण के हो ? यसले खेलकुदको विकासमा सकारात्मक असर पार्छ कि नकारात्मक ?
– पहिलो कुरा एक सय चार पुगेको सुन्दा म अचम्म परेँ । संसारमा यति धेरै खेल छन् जस्तो त मलाई लाग्दैन । त्यसका लागि ओलम्पिक, एसियाली र दक्षिण एसियाली खेदकुदका खेल सङ्ख्या हेर्नुहोस् । त्यसैले उद्देश्य र कारण खेलकुदको माध्यमबाट अन्तर्राष्ट्रिय नाम कमाउनुभन्दा पनि अन्य कुनै कारण हावी भएको हुनुपर्छ । सीमित स्रोत भएको देशमा यसरी साधन छर्नु उपयुक्त हुँदैन । धेरै भएपछि झगडा हुनु स्वाभाविकै हुन्छ र पकड पनि खुकुलो हुन्छ । र निर्दिष्ट लक्ष्य प्राप्त गर्न धेरै नै अलग इकाइलाई समन्वय गर्न गाह्रो पनि हुन्छ ।
० अहिले खेलकुदमा दुईवटा ओलम्पिक कमिटी अस्तित्वमा देखिएका छन्, राष्ट्रिय र अन्तर्राष्ट्रिय । एनओसी यसरी विवादमा होमिनुको कारण के होला ?
– राष्ट्रिय र अन्तर्राष्ट्रिय पक्ष दुवैलाई कुरा बुझाइदिएको खण्डमा दुवैको उद्देश्य एउटै हुने हुनाले विवाद नहुनुपर्ने हो । जससम्म व्यक्तिगत अहम्, स्वार्थ र कसैले एक पक्ष र कसैले अर्को पक्ष समात्ने प्रक्रिया हुँदैन । यहाँ त एकथरी नेपालभित्र खेल्ने, अर्कोथरी विदेशी प्रतिनिधिहरूलाई राम्रो समन्वय गरी प्रभावित पार्ने । अनि दुईजनाको दुईथरी निर्णय हुने भो । वास्तविकता राष्ट्रभित्र राष्ट्रिय इकाइको सर्वमान्य स्थान नै रहन्छ नै । तर, अन्तर्राष्ट्रिय संलग्नता भएको हुँदा अन्तर्राष्ट्रिय संस्थाले पनि आफ्नो प्रतिनिधित्व महत्ववपूर्ण ठाउँमा देख्न चाहन्छन् तथा समन्वय भइरहेको हेर्न चाहन्छन् । तर, यी दुईमा उद्देश्य फरक छैन, समन्वयको अभाव मात्रै हो ।
० प्रधान अध्यक्ष रहेको एनओसी अवैधानिक भएको सर्वोच्च अदालतको फैसलालाई तपाईंले कसरी हेर्नुभएको छ ।
– सर्वोच्च अदालतको फैसलाबारे मलाई त्यति जानकारी छैन । तर, सर्वोच्चको कुनै पनि फैसला देशभित्र मान्य हुनुपर्छ भन्ने मेरो व्यक्तिगत धारणा छ ।
० पहिले राखेपको सदस्यसचिव नै एनओसीको अध्यक्ष हुन्थ्यो, अहिले त्यसो नहुनाले विवादको बीउ रोपिएको हो कि ?
– राखेपको सदस्यसचिव नै एनओसीको अध्यक्ष रहँदा समन्वयलाई बल पुग्थ्यो होला । तर, त्यस्तो हुनुपर्छ भन्ने न सुरुको परम्परा थियो न नियम । राखेपको सदस्यसचिव एनओसीको अध्यक्ष हुन निर्वाचित हुनुपर्‍यो नि, एउटा मनोनीत पद थियो अर्को निर्वाचित । र, मनोनीत व्यक्ति स्वत: निर्वाचित हुनुपर्ने नियम पनि थिएन, अन्तर्राष्ट्रिय रूपमा मान्य पनि हुने थिएन ।
० राखेपको विधानले सदस्यसचिवलाई तानाशाही बनाएको प्रस्ट रूपमा देखिएको छ, तपाईंलाई त्यसको निर्माणकर्ता भन्छन्, के यो सत्य हो ?
– सबैभन्दा पहिलो कुरा म राखेपको विधानको निर्माणकर्ता होइन । म राखेपमा आउनुभन्दा १९ वर्ष पहिले बनेको विधान हो । मेरो बेलामा उक्त विधान तानाशाह बन्न सक्ने सम्भावना थिएन । त्यसबेला राखेपको विधान परिवर्तन भएको मैले सुनेको छु, त्यसमा के छ, मलाई जानकारी छैन ।
० वर्तमान सदस्यसचिव युवराज लामाको कार्यशैलीप्रति कति सन्तुष्ट हुनुहुन्छ ?
– भर्खरै आउनुभएको छ, त्यसमा मैले अहिल्यै टिप्पणी गर्न उपयुक्त नहोला । हाम्रो बेलाको खेलाडी सदस्यसचिव भएकोमा मलाई खुसी लाग्नु स्वाभाविकै हो ।
० वर्तमान अवस्थामा खेलकुदमा भएका गठन र विघटनका प्रक्रियाले राजनीतिक रूपमै विवाद खडा भएको छ, तपाईंले कसरी हेर्नुभएको छ ?
– यसमा राम्ररी कुरा नबुझेको हुनाले यसै भन्न सक्तिनँ । हाम्रो कालमा त एउटै सङ्घ पनि विघटन भएको थिएन । अनुशासनको कारबाही त गल्ती गर्नेलाई हुनैपर्छ ।
० खेलकुदमा राजपरिवारको संरक्षकत्व उपलब्धिमूलक बन्नु र अहिले राजनीतिक संरक्षकत्वचाहिँ बदनाम हुनुको कारण के होला ?
– त्यसबेला खेलकुदको सर्वाङ्गीण विकास होस् भन्ने हेतुले राजपरिवारद्वारा संरक्षकत्व प्रदान गरिएको थियो तर अहिले के छ त्यो सबैलाई थाहा छँदै छ । अहिले खेलकुदलाई राजनीतिक स्वार्थसिद्धिका लागि प्रयोग गरिएको पाइन्छ ।
० अन्त्यमा, विगतको आफ्नो अनुभवको आधारमा राखेप, खेलकुद मन्त्रालय र
राष्ट्रिय सङ्घहरूको भूमिका कस्तो हुनुपर्ने देख्नुहुन्छ तपाईं ?
– समन्वकारी भूमिका हुनुपर्छ । आ–आफ्नो क्षेत्राधिकार जमाउनुभन्दा पनि आपसमा सहयोगात्मक र सबै मिलेर निर्दिष्ट लक्ष्य प्राप्त गर्न संलग्न तथा योजनाअनुरूप प्रतिबद्ध भएको हुनुपर्छ ।

टेबलटेनिसमा चतुरानन्दको ह्याट्रिक
अखिल नेपाल टेबलटेनिस सङ्घको अध्यक्षमा चतुरानन्दराज वैद्य ४ वर्षका लागि निर्वाचित भएका छन् । यो विजयसँगै वैद्य ह्याट्रिक गर्न सफल भएका छन् । सङ्घको गत फागुन २७ गते चौथो साधारणसभा भए पनि केन्द्रीय कार्यसमिति चयन गर्न नसकेपछि साधारणसभा स्थगित भएको थियो । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा शनिबार भएको निर्वाचनले चतुरानन्दको अध्यक्षतामा ११ सदस्यीय केन्द्रीय कार्यसमितिसमेत चयन गरेको छ । अध्यक्षका लागि तीनजनाले उम्मेदवारी दिएकोमा चतुरानन्दले सर्वाधिक २६ मत ल्याउँदै विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी सुदिल शाहीले १९ तथा पंकज सापकोटाले १७ मत प्राप्त गरेका थिए ।
दुई उपाध्यक्षका लागि पाँचजनाको उम्मेदवारी परेकोमा धर्ममान बज्राचार्य (३९ मत) तथा वृजेन्द्र हमाल (३७ मत) र महासचिवमा २४ मत ल्याएका कुवेरप्रकाश सिंह विजयी भएका थिए । उनका प्रतिद्वन्द्वी वसन्तराम नकर्मीले २० तथा सुजिता मानन्धरले १८ मत प्राप्त गरे ।
सचिवमा शंकर गौतम निर्विरोध भए । उनी निर्विरोध हुने एक्लो उम्मेदवारसमेत बने । कोषाध्यक्षमा तेजेन्द्रसिंह महराले ४७ मत ल्याउँदै विकास घिमिरेलाई पाखा लगाएका थिए । महराको मतसङ्ख्या अन्य उम्मेदवारको भन्दा सबैभन्दा बढी हो । विकासले मात्र १४ मत हासिल गरेका थिए । सुशीलकुमार पौडेल (४६ मत), सन्ध्या शाक्य (४६ मत), साफ स्वर्ण विजेता सिजरिन शाह (४४ मत), नवीनबहादुर सिंह (३७ मत) तथा सुवास श्रेष्ठ (३५ मत) सदस्यमा निर्वाचित भए । पाँच सदस्यका लागि नौजनाले उम्मेदवारी दर्ता गराएका थिए । अब तीन उपाध्यक्ष र पाँच सदस्यको मनोनयनपश्चात् केन्द्रीय कार्यसमितिले पूर्णता पाउनेछ ।

प्रचण्डद्वारा खेलकुद सङ्घको उद्घाटन पूर्वप्रधानमन्त्री एवम् एनेकपा
(माओवादी) का अध्यक्ष पुष्पकमल दाहालले नवगठित अखिल नेपाल खेलकुद सङ्घको हालै उद्घाटन गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आयोजित एक कार्यक्रमबीच दाहालले सङ्घको उद्घाटन गर्नुका साथै सङ्घका केन्द्रीय कार्यसमितिका पदाधिकारीहरूलाई प्रमाणपत्र प्रदान गरेका थिए । अर्जुनबहादुर केसीको अध्यक्षतामा गठित ३८ सदस्यीय अखिल नेपाल खेलकुद सङ्घ, केन्द्रीय तदर्थ समितिको उपाध्यक्षद्वयमा रवीन्द्र श्रेष्ठ र नवराज कोइराला, महासचिवमा दीपेश पुन, सचिवमा सन्तोष सुवेदी, सहसचिवमा राजेश्वरमान स्थापित तथा कोषाध्यक्षमा राजकुमार श्रेष्ठ छन् । उक्त सङ्घ राखेपमा १२०औँ सङ्घका रूपमा दर्ता भएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले खेलकुदको विकासका लागि उचित बजेटको व्यवस्थापन गर्नुपर्नेमा जोड दिँदै आफ्नो पार्टीको ध्यान पनि खेलकुद विकास गर्नमा केन्द्रित रहेको बताउनुभएको थियो । सो अवसरमा राखेप सदस्यसचिव युवराज लामाले खेलकुदलाई राजनीतिक आस्थाका आधारमा नभई खेलकुदकै हिसाबले चलाएको बताउँदै एकैजनाले ६–७ वटा खेल सिकाउन सक्ने गरी जनशक्ति तयार गर्न राखेपले तालिम सञ्चालन गर्ने योजना रहेको जानकारी गराउनुभयो ।