नेपाल ओलम्पिक कमिटीको विवादले पराकाष्ठा नाघेपछि खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद्ले कठोर निर्णय गर्ने भएको छ । ओलम्पिक विवादलाई सदाका लागि समाप्त पार्ने प्रयास भन्दै अब बस्ने बोर्ड बैठकले राष्ट्रिय र अन्तर्राष्ट्रिय मान्यता प्राप्त दुवै ओलम्पिक कमिटीलाई विघटन गर्ने तयारी भएको छ । सो कार्यका लागि राखेपले राष्ट्रिय खेलकुद सङ्घका पदाधिकारीहरूसँग एक चरणको वार्तासमेत सम्पन्न गरिसकेको छ । पहिलो चरणको वार्तामा राखेपले सङ्घका पदाधिकारीसँग राय–सुझाव लिनुको साथै ओलम्पिक कमिटीप्रतिको आफ्नो धारणा स्पष्ट पार्न सुझाव दिएको छ ।
वर्तमान अवस्थामा सङ्घहरूको ढाडमा टेकेर राखेपको टाउकोमा हान्ने काम गर्दै आएको ओलम्पिक कमिटीको हैकमी प्रवृत्तिलाई निमिट्यान्न पार्न यो कदम उठाउन लागिएको हो । सर्वप्रथम राखेपअन्तर्गतका ४० वटा सङ्घसँग बसेर समाधानको उपाय निकाल्ने, अन्यथा ऐन–कानुनबमोजिम दुवै ओलम्पिक कमिटीलाई विघटन गर्ने राखेप सूत्रले दाबी गरेको छ । समाधानका लागि सङ्घहरूको भूमिका निर्णायक हुने भएकोले मुलुकको कानुनअनुसार सङ्घहरूले दूरदर्शी भएर निर्णय लिनेमा सूत्रले विश्वास प्रकट गरेको छ । यदि सङ्घहरूले कानुनको अवहेलना गरेमा कानुनको दायरामा ल्याएर कारबाही गरिने भएको छ । स्मरणीय छ, अहिले ओलम्पिक कमिटीमा २४ सङ्घ आबद्ध छन् भने बाँकी १६ वटा बाहिरै रहेका छन् । जसमा ओलम्पिक पदकसमेत जित्न सफल तेक्वान्दो सङ्घ पनि रहेको छ ।
धु्रवबहादुर प्रधानले नेतृत्व गरेको ओलम्पिक कमिटी सामन्ती संस्कार, निरङ्कुशता, अपारदर्शिताबाट गुज्रिरहेको आरोप लगाउँदै राखेपका उपाध्यक्ष पीताम्बर तिमिल्सिनाले टाउको र ढाड जोगाउन ओलम्पिक कमिटीमा अप्रेसन गर्नुपर्ने जरुरी भइसकेको बताएका छन् । खेलकुदको सर्वोच्च निकाय राखेपलाई बाइपास गर्दै आफूखुसी कार्य गर्ने, विदेशी रकमको दुरुपयोग गर्ने, खेलाडीहरूको भविष्यमाथि खेलवाड गर्ने र सम्मानित सर्वोच्च अदालतको आदेशलाई लत्याउनेलाई अब राखेपले नाङ्गेझार पारेर सडकमा ल्याउने दाबी पनि उनले गरे । उपाध्यक्षले त्यसका लागि प्रक्रिया सुरु भइसकेको र आगामी राखेपको बोर्ड बैठकमा ओलम्पिक कमिटीको विवाद सदाको लागि समाप्त हुने बताए ।
गत साता राखेपको कुनै जानकारीबिना एनओसीले चारजना खेलाडीलाई लन्डन ओलम्पिकमा सहभागिताका लागि पठाएपछि राखेप र एनओसीबीच पानी बाराबारको स्थिति उत्पन्न भएको छ । त्यसपछि एनओसीलाई काउन्टर दिन सदस्यसचिव युवराज लामाले लन्डन ओलम्पिकमा नेपालको सहभागिता, सम्भावना र चुनौती विषयक अन्तरक्रिया कार्यक्रम गरेका थिए । उक्त कार्यक्रममा लामाले आफू एनओसीको तानशाही प्रवृत्तिबाट वाक्कदिक्क भएको प्रस्ट पार्दै अब एनओसीसँग कुनै किसिमको सहकार्य नगरिने बताएका थिए । त्यस्तै सो अवसरमा लामाले एनओसीलाई नाकमा रस्सी लगाउने आफूसँग अचुक उपचार भएको खुलासासमेत गरेका थिए । त्यसबेला लामाले आफ्नो अचुक उपचारको बारेमा केही खुलासा नगरे पनि अहिले त्यसको कार्यान्वयनका लागि दुवै ओलम्पिक कमिटीलाई विघटन गर्न लागिएको जानकारी घटना र विचारलाई प्राप्त भएको छ । सकेसम्म आउँदो साता नै राखेपको बोर्ड बैठकमा विघटनको निर्णय हुने बुझिएको छ ।
युरोकप २०१२
च्याम्पियनको ताज स्पेनको शिरमा
विगत एक महिना लामो युरोकपको भिडन्त हालै समाप्त भएको छ । युरोकपका दिग्गज १६ राष्ट्रको सहभागिता रहेको युरोकपमा स्पेनले बाजी मारेको छ । लिग चरणमा एउटै समूहमा रहेका स्पेन र इटालीबीच फाइनल भिडन्त भएको थियो । लिग चरणमा यी दुवै टोलीले एक–एक गोल गर्दै बराबरीको नतिजा निकालेका थिए । लिग चरणको नतिजालाई मध्यनजर गर्दै फाइनल निकै रोमाञ्चकारी हुने फुटबलविज्ञहरूले अनुमान लगाएका थिए । तर, अहिले यो कुरा गलत सावित भएको छ । स्पेन र इटालीबीच भएको फाइनल खेलमा स्पेनले इटालीलाई ४–० को विशाल अन्तरले पराजित गर्दै युरो च्याम्पियन बन्न सफल भएको छ । स्पेनको पूर्ण दबदबा रहेको फाइनल खेलमा स्पेनले पहिलो हापमा दुई र दोस्रोहाफमा दुई गोल गरेको थियो । यो जितसँगै स्पेनले युरोकपमा ह्याट्रिक पनि गरेको छ । यसभन्दा अघि जर्मनीले तीनपटक युरोकपको उपाधि जितेको थियो ।
यसपटकको युरोकपमा निकै उलेटफेर हुने अनुमान र अड्कल गरे पनि चिरपरिचित टोलीले नै युरोकपमा धाक जमाएका थिए । लिग चरणबाटै स्वीडेन र नेदल्यान्ड बाहिरिनु पीडादायक बने पनि इटाली भने भाग्यमानी सावित भएको थियो । गोलअन्तरले क्वाटरफाइनलमा प्रवेश गरेको इटालीले क्रोएसियालाई निराश पारेको थियो । यी दुई टिमको समान अङ्क भए पनि भाग्यले इटालीलाई दोस्रो चरणमा पुर्याएको थियो । प्रतियोगिताअघि निकै कमजोर आँकिएको आयोजक युक्रेनले पहिलो खेलमा युरोकपको सम्भावित विजेता स्वीडेनमाथि दुई शून्यले विजय हुँदै सनसनी फैलाएको थियो । तर, युक्रेनको यो जादुमय प्रदर्शन अन्य खेलमा देख्न सकिएन । त्यसपछिका दुवै खेलमा फ्रान्स र इंग्ल्यान्डसँग युक्रेनले पराजयको मुख देख्नुपरेको थियो । युक्रेनसँगको पराजयका कारणले स्वीडेनले फ्रान्सलाई दुई–शून्यले पराजित गरे पनि दोस्रो चरणमा पुग्न असफल भएको थियो । त्यस्तै अर्को आयोजक राष्ट्र पोल्यान्ड पनि दुइटामा बराबरी र एउटामा हार व्यहोर्दै पहिलो चरणबाटै बिदा हुनुपरेको थियो ।
यसरी लिग चरणमा खासै उलटफेरबिना ग्रीस, चेक गणतन्त्र, पोर्चुगल, जर्मनी, स्पेन, इटाली, फ्रान्स र इंग्ल्यान्ड क्वाटरफाइनलमा प्रवेश गरेका थिए । क्वाटरफाइनलको पहिलो खेल पोर्चुगल र चेक गणतन्त्रबीच भएको थियो । निकै प्रतिस्पर्धात्मक रहेको उक्त खेलमा पोर्चुगलले एक–शून्यले विजय प्राप्त गरेको थियो । यो खेलको हिरो क्रिस्ट्रियानो रोनाल्डो भएका थिए । रोनाल्डो नै उत्कृष्ट गोल गरेर आफ्नो टिमलाई सेमिफाइनलमा पुर्याएका थिए । दोस्रो खेल जर्मनी र ग्रीसबीच भएको थियो । युरोकपको प्रमुख दाबेदार जर्मनीले उत्कृष्ट खेलको प्रदर्शन गर्दै ग्रीसलाई चार–दुईको अन्तरले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको थियो । तेस्रो खेल स्पेन र फ्रान्सबीच भएको थियो । कसले जित्नेछ भन्ने कुरामा अड्कल लगाउनै गाह्रो रहेको उक्त खेलमा साविक विजेता स्पेनले फ्रान्सलाई धुलो चटाउँदै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित पारेको थियो । उक्त खेलमा स्पेनले फ्रान्सलाई दुई–शून्यले पराजित गरेको थियो । चौथो खेल इंग्ल्यान्ड र इटालीबीच भएको थियो । निकै सनसनीपूर्ण रहेको उक्त खेल अतिरिक्त समयमा पनि गोल नभएपछि टाइबे्रकरमा पुगेको थियो । टाइब्रेकरमा पुनः भाग्यमानी बन्दै इटाली सेमिफाइनलमा प्रवेश गरेको थियो । टाइब्रेकरमा इटालीले चार–दुईको नतिजा निकाल्दै इंग्ल्यान्डलाई निराश पारेको थियो ।
यसरी युरोकप २०१२ को सेमिफाइनलमा पोर्चुगल, स्पेन, जर्मनी र इटाली पुगेका थिए । युरोकपको पहिलो सेमिफाइनल पोर्चुगल र स्पेनबीच भएको थियो । गर या मरको स्थितिमा रहेको उक्त सेमिफाइलनमा दुवै टोलीले उत्कृष्ट प्रदर्शन गरेका थिए । निकै आक्रामक रूपमा प्रस्तुत भएका दुवै टोलीले थुप्रैपटक गोल गर्ने अवसर पाए पनि असफल भएका थिए । फलस्वरूप खेल अतिरिक्त समय हुँदै टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरको सुरुवात दुवै टोलीका लागि सुखमय रहेन । दुवै पक्षका खेलाडीले हानेको प्रहारलाई गोलकिपरले उत्कृष्ट बचाउ गरेका थिए । त्यसपछि दुवै टिमका खेलाडीले दुई–दुई गोल हानेर खेललाई अझ रौनकता थपेका थिए । अब कसले जित्ला भन्ने कुतूहल जागेको बेलामा स्पेनका खेलाडीले अर्को गोल थपेर आफ्नो टिमलाई अग्रता दिलाएका थिए । मुटु नै रोकिन पुगेको अवस्थामा पोर्चुगलका खेलाडीले हानेको बल पोस्टको बारमा लागेर फर्केपछि स्पेनले राहतको सास फेरेको थियो । त्यसपछि चर्चित स्ट्राइकर रामोसले स्पेनको तर्फबाट निर्णायक गोल गर्दै आफ्नो टिमलाई लगातार फाइनलमा प्रवेश गराउन सफल भएका थिए । रामोसले गरेको प्रहार बारमा लागेर पोस्टभित्र पसेपछि पोर्चुगलको फाइनलमा पुग्ने सपना चकनाचुर भएको थियो । रोनाल्डोको पालो नआउँदै स्पेन फाइनलमा प्रवेश गर्न सफल भएको थियो । पोर्चुगलले रोनाल्डोलाई अन्तिम प्रहारको रूपमा साँचेर राखेको थियो । आफ्नो टिम पराजित भएपछि रोनाल्डो हेरेको हेरै बनेका थिए ।
दोस्रो सेमिफाइनल तीनपल्टको च्याम्पियन जर्मनी र इटालीबीच भएको थियो । फुटबलका विज्ञहरूले यो खेलमा जर्मनीले सहजै बाजी मार्ने घोषणा गरेका थिए । तर, उनीहरूको घोषणालाई झुटो सावित गर्दै इटालीले जर्मनीलाई धुलो चटाउन सफल भएको थियो । उक्त खेलमा दुवै टिमले बलमाथि पकड जमाए पनि भाग्यले पुनः इटालीलाई साथ दिएको थियो । जर्मनीको सशक्त आक्रमणलाई विफल पार्दै इटालीले उत्कृष्ट प्रदर्शन गरेको थियो । फलस्वरूप खेलको २०औँ मिनेटमा अग्रता लिन सफल भएको इटालीले मध्यान्तर हुनु केही समय पहिले अर्को गोल थपेर जर्मनीलाई घरको बाटो देखाइदिएको थियो । यी दुवै गोल स्ट्राइकर मारियो बालोटेलीले गरेका थिए । बालोटेलीले दुवै गोल निकै आकर्षक ढङ्गबाट गरेका थिए । २१ वर्षीय निकै प्रतिभाशाली तथा जुरेली कटका बालोटेलीको यो प्रदर्शनपश्चात् इटालीको युरोकप जित्ने सम्भावना निकै बढेर गएको थियो । बालोटेली जर्मनीविरुद्धको उत्कृष्ट प्रदर्शनपछि रातारात विश्व फुटबल जगत्मा हिरो बन्न पुगेका छन् ।
ओलम्पिकमा लामा सेम द मिसन नबन्ने
लामो समयदेखि चल्दै आएको नेपाल ओलम्पिक कमिटीको विवाद अझ गर्माएको छ । राष्ट्रिय खेलकुद परिषद्ले हालै आयोजना गरेको ‘लन्डन ओलम्पिक २०१२ सहभागिता, सम्भावना र चुनौती’ विषयक अन्तरक्रिया राखेप सदस्यसचिव युवराज लामाले दुवै ओलम्पिकका पदाधिकारीलाई उपस्थित गराएर राखेपको धारणा राखेपछि ओलम्पिकको विवाद नौलो मोडमा पुगेको हो ।
सो अवसरमा सदस्यसचिव लामाले आफूले अन्तर्राष्ट्रिय मान्यता प्राप्त ध्रुवबहादुर प्रधान अध्यक्ष रहेको ओलम्पिक कमिटीसँग विगत नौ महिनादेखि सहकार्य गर्दै आए पनि अब त्यो सम्भव नभएको खुलासा गरेका थिए । एनओसीसँगको राखेपको सहकार्य ओलम्पिकका हरेक क्रियाकलापको पारदर्शिता मुख्य एजेन्डा भए पनि त्यसप्रति प्रधान ओलम्पिक कमिटीले कुनै चासो नदेखाएको लामाले बताए । लामाले सहकार्यको अवधिमा एनओसीले देखाएको रवैयाबाट आफू आहत भएको र अब कुनै पनि किसिमको सहकार्य नगरिने बताए । सहकार्यको समयमा पनि एनओसीका पदाधिकारीहरूको अपारदर्शिता र कानुन मिचाहा प्रवृत्तिबाट आफू दिक्क भएको, थाकिसकेको र गलिसकेको बताउँदै लामाले अब सर्वोच्च अदालतको आदेशविपरीत नजाने प्रस्ट पारेका थिए । लामाले अहिले पनि प्रधान नेतृत्वको ओलम्पिकमा सामन्ती संस्कार, निरङ्कुशता, अपारदर्शिता र आर्थिक अपचलनको पराकाष्ठा रहेकोसमेत प्रस्ट पारेका थिए । आफूले एनओसीका पदाधिकारीहरूलाई नयाँ मार्गमा डोर्याउन अथक प्रयास गरे पनि उनीहरूको स्वार्थ भाँजो बनेकोसमेत आरोप लगाएका थिए । सामन्तवादी सोच र हिटलर बन्ने रणनीतिमा एनओसीका पदाधिकारी लागेको प्रस्ट पार्दै लामाले यो समग्र खेलकुदका लागि दुर्भाग्य बनेको वताए ।
एनओसी र राखेपको दूरी बढ्नुमा समस्याका जड थुप्रै रहे पनि पछिल्लोपटक लन्डन ओलम्पिक सहभागितामा एनओसीले राखेपलाई बेवास्ता गर्दै आफूखुसी निर्णय गरेपछि राखेप एनओसीको गैरकानुनी क्रियाकलापको विरोधमा खुलेर मैदानमा उत्रिएको हो । अन्तरक्रिया कार्यक्रममार्फत एनओसीको भण्डाफोर गर्ने क्रममा सदस्यसचिव लामाले अब एनओसीसँग सहकार्य हुन नसक्ने बताउँदै आफू लन्डन ओलम्पिकमा ‘सेभ द मिसन’ भएर नजाने घोषणासमेत गरेका थिए । स्मरण छ, गत साता मात्रै एनओसीले लन्डन ओलम्पिकमा सहभागिता जनाउन जाने खेलाडीको बिदाइ कार्यक्रममा लामालाई ‘सेभ द मिसन’को रूपमा प्रस्तुत गरेको थियो ।
लामालाई लन्डन ओलम्पिकको सेभ द मिसन बनाउने र एनओसीका आर्थिकलगायत सम्पूर्ण क्रियाकलाप पारदर्शी ढङ्गले अगाडि बढाउने सर्तमा राखेप र एनओसीका बीचमा विगत नौ महिना अघि सहकार्य भएको थियो । तर, एनओसीका पदाधिकारीले यसलाई मौकाको फाइदाको रूपमा उपायोग गर्दा अहिलेको स्थितिको सिर्जना भएको हो । ‘हामीलाई अन्तर्राष्ट्रिय मान्यता प्राप्त छ, सर्वोच्चको आदेश पनि निरीह सावित भएको अवस्थामा राखेपले पनि केही गर्न नसक्ने घमण्ड पालेका एनओसीका पदाधिकारीले लन्डन ओलम्पिक सहभागितामा पनि राखेपलाई धोती लगाइदिएका थिए । अझ वर्तमान मुलुकको सङ्क्रमणकालको फाइदा उठाउँदै एनओसीले जसरी आफ्नो गतिविधि अगाडि बढाएको छ त्यो राखेपको टाउकोदुखाइ पनि बनेको छ ।
लामाले विदेशबाट खेलकुद र खेलाडीहरूको विकास र सहयोगका लागि आउने रकमको व्यापक दुरुपयोग भएको आरोपसमेत लगाएका छन् । विदेशबाट कति रकम आउँछ, कहाँ खर्च हुन्छ, त्यो अहिलेसम्म सार्वजनिक नभएको बताएका छन् । लामाले आफू अब लन्डन ओलम्पिकसम्म चुप लागेर बस्ने, त्यसपछि पनि एनओसी सही मार्गमा नआए त्यसको अचुक उपचार आफूसँग भएको खुलासा गरेका छन् । लामाले राखेपको ऐन, नियम र ओलम्पिका चार्टरकै आधारमा ओलम्पिक विवाद सदाका लागि समाप्त पार्ने दाबी गरेका छन् । लामाको यो दाबीमा कति सत्यता र दम छ त्यो प्रतीक्षा गर्नु नै बेस होला । अन्यथा लामाको विगतको एनओसीसँगको साँठगाँठलाई दरकिनार गर्न भने अवश्य मिल्दैन । यो नेपाली खेलकुद हो भविष्यमा जे पनि हुनसक्छ । यो सबैले देखेको र जानेको कुरा हो ।
सो अन्तरक्रिया कार्यक्रममा एनओसीका अध्यक्ष ध्रुवबहादुर प्रधान र महासचिव जीवनराम श्रेष्ठ व्यक्तिगत कारण देखाई अनुपस्थित रहेका थिए । कार्यक्रममा उपस्थित भएका दुवै एनओसीका उपाध्यक्ष उमेशलाल श्रेष्ठ र किशोरबहादुर सिंहले आ–आफ्नो दलिल प्रस्तुत गरेका थिए भने अन्यहरूले मिलेर जानुको विकल्प नभएको प्रस्ट पारेका थिए । ओलम्पिक विवादपछि पहिलोपटक दुवै पक्षका पदाधिकारी आमनेसामने भएर आफ्नो कुरा राखेको यो पहिलोपटक हो । राखेपले दुवै पक्षलाई समानताको दृष्टिकोणले हेरेको पनि यो पहिलोपटक हो । सो अवसरमा राखेपले ऐन–नियममा सबै कुरा उल्लेख भए पनि राखेपले त्यसलाई कार्यान्वयन नगर्दा समस्या उत्पन्न भएको उपाध्यक्ष किशोरबहादुर सिंहको जिकिर थियो भने राखेप र एनओसीमा समस्या रहेको स्वीकार गर्दै दुवै संस्थाको हैसियत र अधिकार प्रस्ट हुनुपर्ने कुरामा अर्का उपाध्यक्ष उमेशलाल प्रधानले जोड दिएका थिए ।
लन्डन ओलम्पिकमा नेपाली खेलाडी
लन्डनमा आयोजना हुने ओलम्पिक खेलकुदमा सहभागिता जनाउने नेपाली टोलीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घले हालै बिदाइ कार्यक्रमको आयोजना गरेको थियो । सो ओलम्पिक टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामाले बिदाइ गरेका थिए । सुटिङबाहेकको टोली गत साता लन्डनतर्फ प्रस्थान गरेको थियो । करिब एक महिनाको प्रशिक्षणपश्चात् नेपाली खेलाडीले ओलम्पिकमा सहभागिता जनाउने छन् । खेलाडी तथा प्रशिक्षकहरूलाई खेलाडी सङ्घले ट्रयाकसुट र जुत्ता प्रदान गरेको थियो ।
जुलाई २७ देखि १२ अगस्टसम्म आयोजना हुने ओलम्पिक प्रतियोगितामा नेपालले तीन खेल पौडीमा दुई, एथलेटिक्समा दुई र सुटिङमा एक गरी पाँच खेलाडी र तीन प्रशिक्षकलाई सहभागी गराउन लागेको छ । प्रतियोगितामा सहभागी हुन जाने खेलाडीमा पौडीतर्फ प्रसिद्धजंग शाह र श्रेया धिताल, एथलेटिक्समा प्रमिला रिजाल र तिलकराम थारू र सुटिङमा स्नेहाराज्यलक्ष्मी राणा रहेका छन् । प्रशिक्षकहरूमा ओङदेन लामा (पौडी), टीका सेढाईं (एथलेटिक्स) र ध्रुवविक्रम शाह (सुटिङ) रहेका छन् ।
प्रतियोगितामा प्रसिद्धले ५० मिटर फ्रि स्टाइलमा खेल्नेछन् । उनले यो दूरीको खेलमा २७.०४ सेकेन्डको रेकर्ड कायम राखेका छन् । धितालले १०० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्नेछिन । उनको उक्त दूरीमा एक मिनेट १० सेकेन्डको समय रहेको छ । एथलेटिक्सतर्फ दुवै खेलाडीले १०० मिटरमा प्रतिस्पर्धा गर्नेछन् । उक्त दूरीमा प्रमिला रिजालको १२.६ सेकेन्ड र तिलकराम थारूको ११ सेकेन्डको इलोक्ट्रोनिक टाइम रहेको छ । त्यस्तै एथलेटिक्सकी स्नेहाले १० मिटर एयर राइफलमा सहभागिता गर्नेछिन् । उनको ३८९ अङ्कको व्यक्तिगत रेकर्ड रहेको छ ।
उक्त अवसरमा सदस्यसचिव लामाले राज्यको प्रतिनिधित्व गरेर खेल्न जान लागेका खेलाडीलाई राज्यको एक मात्र खेल निकाय राष्ट्रिय खेलकुद परिषद्ले समेत जानकारी नपाउनु दुःखद् र गम्भीर विषय भएको भन्दै आफूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घले प्रमुख अतिथिको रूपमा बिदाइ गर्न दिएकोमा सङ्घलाई धन्यवाद व्यक्त गरेका थिए । राज्यको नेतृत्व गर्न जाने खेलाडीलाई राज्यको प्रतिनिधिहरूले बिदाइ गर्नुपर्नेमा राज्यलाई र एक मात्र खेलकुद निकाय परिषद्लाई गुमनाममा राखेर अन्तर्राष्ट्रिय मान्यता प्राप्त भनिने ओलम्पिक कमिटीले खेल क्षेत्रलाई एकलौटी बनाउन खोजेको र खेलक्षेत्रलाई भ्रममा पार्दै अन्य दिशातिर लान खोजेको लामाले बताएका थिए ।
खेल पेपर डटकम सार्वजनिक
नेपाली खेलकुदबारे कलम चलाउँदै आएको पत्रकारको समूह नेपाल दक्षिण एसियाली खेलकुद पत्रकार सङ्घले अन्तर्राष्ट्रिय खेलकुद पत्रकार दिवसको अवसर पारेर ‘खेल पेपर डटकम’ नामक अनलाइन खेल पत्रिका सार्वजनिक गरेको छ । उक्त पत्रिकाको राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामाले साइट अन गरेर सार्वजनिक गरेका थिए ।
युनाइटेड वल्र्ड सेन्टरमा आयोजित घोषणासभामा सङ्घले दक्षिण एसियाका अन्य पत्रकारलाई पनि समावेश गराउने उद्देश्यका साथ निकट भविष्यमा दक्षिण एसियाली खेलकुद पत्रकारको काठमाडौंमा सम्मेलन गर्ने, प्रत्येक वर्ष प्रदान गर्दै आइरहेको खेलकुद पत्रकारिता पुरस्कारको नाम परिवर्तन गरी सङ्घका संस्थापक अध्यक्ष स्व. ईश्वरमान सिंहको स्मरणमा ‘ईश्वरमान सिंह स्मृति खेलकुद पत्रकारिता पुरस्कार’ राखिने र प्रत्येक वर्ष दुईजना पत्रकारलाई नगद १० हजारसहित मेडल प्रदान गरिने र खेलकुद पत्रकारहरूकै सक्रियतामा खेलकुद मासिक पत्रिका प्रकाशन गरिने घोषणा गरिएको थियो ।
सो कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामाले पत्रिकाको थालनी गरेकामा धन्यवाद व्यक्त गर्दै छिटो र छरितो रूपमा पाठकसमक्ष सूचना प्रवाह गर्न यसले सहयोग पुग्ने बताउनुभयो । साथै लामाले १० हजार नगद पुरस्कार राशिमा परिषद्का तर्फबाट १५ हजार थप गरी २५ हजार बनाइनेसमेत बताउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासङ्घकी उपाध्यक्ष यशोदा तिमिल्सिना, राखेपका उपाध्यक्ष पीताम्बर तिमिल्सिना र वरिष्ठ पत्रकार केदार कोइरालाले सङ्घलाई बधाई तथा शुभकामना दिनुभएको थियो ।
शरदचन्द्र शाहप्रति श्रद्धाञ्जली
राष्ट्रिय खेलकुद परिषद्का पूर्वसदस्यसचिव शरदचन्द्र शाहको निधनमा सोमबार परिषद्ले शोकसभाको आयोजना गरेको छ । शाहको निधन भएको १३औँ दिनको अवसरमा स्व. शाहको चिरशान्तिको कामना गर्दै १ मिनेट मौनधारण गर्नुका साथै राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पीताम्बर तिमिल्सिना, सदस्यसचिव युवराज लामा, पूर्वसदस्यसचिव जीवनराम श्रेष्ठ, परिषद्का पूर्वसदस्य कमल थापा, परिषद्का पदाधिकारीहरू, राष्ट्रिय सङ्घका पदाधिकारीहरू, परिषद्का कर्मचारी, प्रशिक्षक तथा खेलाडीले स्व. शाहको तस्बिरमा पुष्पगुच्छा एवम् माल्यार्पण गरेर श्रद्धाञ्जली अर्पण गरेका थिए । सो अवसरमा सदस्यसचिव लामा, पूर्वसदस्य कमल थापा, करातेका गुरु जगत गौचन र फुटबल सङ्घका अध्यक्ष गणेश थापाले स्व. शाहले खेलकुद विकासमा पुर्याउनुभएको योगदानको चर्चा गर्दै उहाँको व्यक्तित्वबारे प्रकाश पार्नुभएको थियो ।
प्रतिक्रिया