आफ्नै सरकार ढाल्न रहस्यमयी सक्रियता

आफ्नै सरकार ढाल्न रहस्यमयी सक्रियता


सरकारले दृढतापूर्वक अघि बढ्ने सङ्केतहरू देखाएपछि माओवादी नेतृत्वलाई भन्दा नेकपा एमालेका अध्यक्ष झलनाथ खनाललाई चिन्तित र व्याकुल बनाएको छ । माधवकुमार नेपालले राजीनामा दिएपछि प्रधानमन्त्री बन्ने मौका आफूलाई आउनेछ भन्नेमा विश्वस्त रहनुभएका झलनाथ खनाल सरकारमाथि यसरी दबाब सिर्जना गर्दै हुनुहुन्छ कि खनालको तुलनामा माओवादी नै ‘फिक्का’ देखिएको छ । राष्ट्रिय सहमति बन्छ भने बन्नेबित्तिकै पदबाट राजीनामा दिन तयार रहेको सार्वजनिक प्रतिबद्धता जनाउनुहुने प्रधानमन्त्री नेपालले आजै छोडौँ कि भोलि भन्दै धेरै दिन बिताउनुभयो । तर, सहमतिका सङ्केतहरू नदेखिएपछि सरकारलाई अरू प्रभावकारी ढङ्गले सञ्चालन गर्ने सोच प्रधानमन्त्रीले बनाउनुभएको छ । सत्ता गठबन्धनका सबै घटकका नेताहरू राष्ट्रिय सहमति बनेपछि मात्र प्रधानमन्त्री नेपालले राजीनामा दिनुपर्छ भन्ने पक्षमा दृढतापूर्वक उभिएका छन् । तर, झलनाथ खनाल र माओवादी नेतृत्व भने राष्ट्रिय सहमति बनाउनका लागि पहिले माधवकुमार नेपालको राजीनामा हुनुपर्ने अडान प्रस्तुत गर्दै छन् । ज्ञातव्य छ, माओवादी आफ्नो नेतृत्वमा सरकार गठन हुनुपर्छ भन्ने अडानबाट आजसम्म टसमस भएको छैन । झलनाथ खनालचाहिँ माओवादीले आफैंलाई प्रधानमन्त्री बन्न सघाउँछ भन्नेमा विश्वस्त देखिनुहुन्छ । त्यसो त खनाल आफूलाई माओवादीभन्दा कम क्रान्तिकारी ठान्नुहुन्न, त्यसैले आफू प्रधानमन्त्री नभए माओवादीको नेतृत्वमा सरकार गठन गरी आफूहरू दर्बिलो ढङ्गले उक्त सरकारमा सहभागी हुने र त्यसरी बन्ने या बनेको सरकारलाई वामपन्थी सरकारको संज्ञा दिने सोच पनि खनालले बनाउनुभएको बुझिन्छ । ज्ञातव्य छ, झलनाथ नेपाली काङ्ग्रेसप्रति अलिक बढी आग्रही मानिनुहुन्छ र उहाँ वामपन्थी गठबन्धनको नाममा काङ्ग्रेसलाई एक्ल्याउने एवम् काङ्ग्रेसबाहेकको सरकार बनाउने खेलमा क्रियाशील हुनुहुन्छ । त्यसैले नयाँ संविधान निर्माण र शान्ति स्थापनामा संसारले माओवादीलाई बाधक देखिरहँदा पनि खनालचाहिँ काङ्ग्रेसलाई बाधक देख्नुहुन्छ । तर, झलनाथ खनालको भूमिका प्रजातान्त्रिक गठबन्धनका विरुद्ध र माओवादीका पक्षमा भए पनि उहाँले चाहेकै कारण परिस्थिति उहाँको अनुकूल बन्न सक्ने देखिँदैन । आफ्नो पार्टीभित्र अल्पमतमा रहनुभएको हुनाले पनि उहाँलाई आफ्नो सोचअनुरूपको परिणाम निकाल्न मुस्किल परिरहेको छ । छयासीजनाको एमाले केन्द्रीय कमिटीमा अर्ठ्ठाईसजना झलनाथ र वामदेव गौतमतिर रहेका छन् भने अन्ठाउन्न नेता माधव-केपीका साथमा छन् । यस्तो अवस्थामा खनालले बाहिर जे-जे बोले पनि कार्यान्वयनका लागि पार्टीमा औपचारिक निर्णय गराउन सम्भव देखिँदैन । पार्टी केन्द्रीय कमिटीमा आफूले चाहेअनुरूपको निर्णय गराउन नसकिने बरु आफ्नो प्रतिकूल निर्णय हुन सक्ने भएकोले खनाल केन्द्रीय कमिटीको बैठक गराउन चाहनुहुन्न । आफू अप्ठ्यारोमा पर्ने भएकोले उहाँले बैठक भरसक नगराउने प्रयास गर्ने गर्नुहुन्छ । यसक्रममा यही असार १८ गते एक बैठक राख्ने प्रयास भएको एमाले सूत्रबाट बुझिएको छ । झलनाथको इच्छाविपरीत हुन लागेको यस बैठकले उहाँको इच्छा पूरा गर्ने विश्वास गर्न सकिँदैन । पछिल्ला दिनहरूमा खनाल सरकारविरुद्ध उत्ताउलो र अराजक ढङ्गले प्रस्तुत हुने गर्नुभएकोले प्रधानमन्त्री माधव नेपाललगायत एमाले नेताहरू उहाँसँग क्रूद्ध हुनुभएको छ । सरकारविरुद्ध प्रस्तुत हुँदा कतिपय अवस्थामा कतिपय नेताहरूलाई लाभ पनि हुन सक्छ । तर, अतिवामपन्थी र लोकतन्त्रवादीहरू बीचको धु्रवीकरण प्रक्रिया अघि बढ्दै गएको यस अवस्थामा खनालको सरकारविरोधी भूमिकाले उहाँलाई अग्ल्याएको छैन । बरु अन्ततः कतैको पनि नरहने स्थितिमा खनाल पुग्न सक्नुहुने देखिन्छ । एमालेभित्र चालीस प्रतिशत पुर्‍याउन पनि नसक्ने गरी खनाल कमजोर हुनुभएको छ भने काङ्ग्रेस र तराईकेन्द्रित दलहरूलाई पनि उहाँले धेरै नराम्रोसँग चिढ्याउनुभएको छ । रुक्मांगद प्रकरणदेखि माओवादीले पनि झलनाथप्रति सकारात्मक दृष्टिकोण बनाउन सकेको छैन । स्थिति यति धेरै प्रतिकूल हुँदाहुँदै पनि खनाल कुन शक्तिको आडमा उचालिनुभएको हो रहस्यको विषय बनेको छ । लोकतान्त्रिक शक्तिहरूलाई कमजोर तुल्याउने र आफैं अध्यक्ष रहेको नेकपा एमाले पार्टीलाई फुटाउने भूमिका निर्वाह गरेर उहाँले छवि धमिल्याउने र आफ्नै जग हल्लाउने काम मात्र गर्नुभएको ठान्न थालिएको छ । विगत एक वर्षदेखि प्रधानमन्त्रीको राजीनामा माग्दै विभिन्न चरणमा सङ्घर्ष गर्दै आएको माओवादी यतिबेला बाह्य तथा आफ्नै आन्तरिक कारणले थाकेको स्थितिमा छ र उसले राजीनामाको मुद्दा पहिलेझैं आक्रामक रूपमा उठाउन पनि छोडिसकेको छ । यस्तो अवस्थामा खनाल आक्रामक रूपमा अघि र्सर्नुभएको छ र सरकार बदल्ने जिम्मेवारी माओवादीबाट सारेर आफ्नै काँधमा लिएझैं गर्नुभएको छ । माधव नेतृत्वको वर्तमान सरकारले माओवादीका सबैखाले चुनौतीलाई पार गर्दै भविष्यमा पनि उनीहरूबाट आइपर्ने चुनौतीको सामना गर्ने सामर्थ्य जनाउँदै लगेको यो समयमा खनालका कारणले मात्र माधव नेपाल अप्ठ्यारो महसुस गर्दै हुनुहुन्छ । माधवले महसुस गर्नुभएको यही अप्ठ्यारो नै खनालका निम्ति ‘फलामको च्यूरा’ बन्न पुग्यो भने कुनै आर्श्चर्य हुनेछैन । खनालको नकारात्मक भूमिकाले उग्ररूप लिन थालेपछि सरकारले पनि दृढतापूर्वक अघि बढ्ने अठोट गरेको छ । अब सरकार ढलेको अवस्थामा र नढलेको अवस्थामा पनि सबैभन्दा ठूलो क्षति झलनाथ खनालले नै व्यहोर्नुपर्ने सम्भावना बढेको छ ।