हरेक कुराको बाधक माओवादी ः सुशील

हरेक कुराको बाधक माओवादी ः सुशील


नेपाली काङ्ग्रेसका कार्यवाहक सभापति सुशील कोइरालाले शान्तिप्रक्रियालाई निष्कर्षमा पुर्‍याउन र लोकतान्त्रिक संविधान निर्माण सुनिश्चित गर्न निर्वाह गर्नुभएको भूमिकाको अहिले चौतर्फी प्रशंसा भइरहेको छ । नेपाली काङ्ग्रेसमा अडान, स्पष्ट दृष्टिकोण भएका कोइराला त्यागी र सङ्घर्षशील नेता मानिनुहुन्छ । माओवादीको गलत क्रियाकलापको कडा प्रतिवाद गर्ने र लोकतन्त्रका निम्ति कसैसँग सम्झौता नगर्ने सभापति कोइराला राष्ट्रिय सहमतिका पक्षमा काङ्ग्रेस स्पष्ट रहेको बताउनुहुन्छ । उहाँसँग घटना र विचारका लागि ऋषि धमलाले गर्नुभएको कुराकानी ः
० राष्ट्रिय सहमति बन्ने सम्भावना क्षीण भएको हो –
– नेपाली काङ्ग्रेस प्रस्ट छ, राष्ट्रिय सहमतिबाटै मुलुकको निकास खोज्नुपर्छ । सहमति र सहकार्यको विकल्प छैन । माओवादीले आफ्नो विश्वसनीयता स्थापना गर्न सकेन । जति पनि सम्झौता, सहमति र समझदारी गर्‍यो, त्यो कुनै पनि पालना गरेन । १२ बुँदे, ८ बुँदे, ६ बुँदे, ३ बुँदेदेखि विस्तृत शान्तिसम्झौता सबै उल्लङ्घन गरेको छ । जबसम्म माओवादीले आफूलाई सुधार गर्दैन, जबसम्म प्रतिबद्धता पूरा गर्दैन, तबसम्म माओवादीलाई विश्वास गर्ने आधार छैन । माओवादी अध्यक्षसँग कुरा हुँदाखेरि हामीले स्पष्ट भनिसकेका छौँ । बुधबार बस्ने बैठकमा फेरि पनि हामी यो कुरा प्रस्टसँग उठाउँछौं । माओवादीले सहमति पालना गर्ने हो भने तत्काल राष्ट्रिय सहमति हुन्छ ।
० राष्ट्रिय सहमतिको बाधक माओवादी नै हो –
– राष्ट्रिय सहमति मात्र होइन, हरेक कुराको बाधक माओवादी नै हो ।
० अब कसरी सहमति हुन्छ त –
– आजसम्म कुनै पनि कुरा अगाडि बढ्न नसकेको कारण, शान्तिप्रक्रियाको बाधक माओवादी हो । संविधान निर्माणको बाधक माओवादी हो । सहमति सहमति भन्ने तर राष्ट्रिय सहमतिको बाधक पनि माओवादी नै हो । उसलाई प्रधानमन्त्री दिए मात्र सहमति हुने, अरूलाई चाहिँ नमान्ने । अरूलाई विश्वासमा लिनै नसक्नेसित कसरी सहमति हुन्छ – सहमतिको
जग भत्काउने नै माओवादी हो । उसले आफूलाई पुनरि्वचार गर्नुपर्छ र सुधार गर्नुपर्छ । हामीले एकदम गम्भीर भएर चिन्ताका साथ माओवादीलाई भनेका छौँ । जेठ १४ गते तीनबुँदे जुन सहमति भयो, प्रधानमन्त्रीले राजीनामा दिएको अवस्थामा त्यो पनि पालना गरेन । शान्तिप्रक्रिया टुङ्गो नलागी, वाईसीएलको अर्धसैनिक संरचना भङ्ग नभई, घरजग्गा फिर्ता नभईकन माओवादी नेतृत्वमा सरकार बन्नै सक्दैन ।
० भनेपछि माओवादी नेतृत्वमा सरकार
बन्न सक्दैन –
– माओवादी नेतृत्वमा सहमतिको सरकार बन्नै सक्दैन । माओवादीलाई अरूको नेतृत्वमा बनेको सरकारमा सहभागी गराउन सकिन्छ ।
० अब कसको नेतृत्वमा सरकार बन्छ त –
– अहिले भन्न सकिने अवस्था छैन । को प्रधानमन्त्री बन्छ – को सरकारमा बस्ने भन्ने कुरा मेरो सरोकारको विषय नै होइन । मूल कुरा शान्तिप्रक्रिया र नयाँ संविधान हो ।
० भनेपछि काङ्ग्रेसको नेतृत्वमा सहमति
होला त –
– तपाईं फेरि सरोकारै नभएको कुरा नगर्नोस् न । यस्तो प्रश्नको उत्तर म दिन चाहन्नँ ।
० नेपाली काङ्ग्रेसको भूमिका के हुन्छ त अब सहमति गराउनलाई –
– सहमति गर्नका निम्ति माओवादी नै जिम्मेवार भएर प्रस्तुत हुनुपर्‍यो । हामी माओवादीलाई सम्झाउँदै छौँ, यत्रो जनआन्दोलनको उपलब्धि तपाईंहरू बिथोल्दै हुनुहुन्छ । माओवादीको ध्यान उपलब्धिको कार्यान्वयनतिर छैन । खालि सरकारतिर मात्र ध्यान दिइरहेको छ । अहिले पनि माओवादी सत्ताकब्जाकै रणनीतिमा छ । उसले यस्तो रणनीति लिएसम्म विश्वासको वातावरण बन्दैन ।
० गठबन्धनका २२ दल अहिले एक छन् त –
– हामीले आज -मंगलबार) पनि ११ वटा साना दलसँग छलफल गरेका थियौँ । सबै पार्टीको धारणा समान छ । सबैको चिन्ता के छ भने शान्तिप्रक्रिया टुङ्गो नलागेसम्म स्थायी शान्ति पनि हुँदैन, संविधान पनि बन्दैन । माओवादीले मुलुकलाई अराजकतातिर लैजान चाहिरहेको छ ।
० नेपाली काङ्ग्रेसचाहिँ एक छ –
– काङ्ग्रेस एकढिक्का छ । हामी पार्टीलाई एकता साथ अगाडि बढाइरहेका छौँ ।
० काङ्ग्रेसमा प्रधानमन्त्री को बन्ने भन्ने विवाद छ नि –
– नेपाली काङ्ग्रेसमा प्रधानमन्त्री पदलाई लिएर कुनै विवाद छैन । यो प्रजातान्त्रिक पार्टी हो । यसमा छलफल र बहस हुन्छ । हामी सहमतिमा हरेक निर्णय गर्र्छौं । यो पत्रकारहरूले खडा गरेको विवाद हो । को प्रधानमन्त्री बन्ने विवादै छैन ।
० रामचन्द्र पौडेल कि शेरबहादुर देउवा भन्ने विवाद छ नि –
– तपाईं फेरि यस्तो उल्टोपुल्टो कुरा नगर्नोस् । काङ्ग्रेसमा कुनै विवादै छैन । यो कुरा लेखिदिनोस् । काङ्ग्रेस एक छ, एक ढिक्का भएर जान्छ । हामीले एकता प्रदर्शन गरिसकेका छौँ ।
० गिरिजाप्रसाद कोइरालापछि काङ्ग्रेसमा निर्णय लिनसक्ने नेताको सङ्कट आउँछ भन्ने थियो होइन र –
– सारालाई चिन्ता थियो, गिरिजाप्रसाद कोइरालापछि काङ्ग्रेस कसरी अगाडि जाला भन्ने । अहिले काङ्ग्रेसले हरेक निर्णय सामूहिक रूपमा, संस्थागत र एकढिक्का भएर निर्णय गरेको छ । म तपाईंलाई एउटा कुरा प्रस्ट कुरा भन्छु, काङ्ग्रेसले लोकतन्त्रको मानेमा कसैसँग सम्झौता गरेको थिएन र अब पनि गर्दैन । हामी सहमति, सहकार्य र एकतासाथ अघि बढ्छौँ । हाम्रो गाइड लाइन नै यही हो ।