कारबाहीको सन्त्रासमा खेलकुद सङ्घ

कारबाहीको सन्त्रासमा खेलकुद सङ्घ


राष्ट्रिय खेलकुद परिषद्ले राष्ट्रिय खेलकुद सङ्घहरूलाई कारबाही गर्ने भनेपछि अहिले सङ्घहरूमा खैलाबैला मच्चिएको छ । राखेपका सदस्यसचिव युवराज लामाले सङ्घहरूलाई आफ्नो कित्ता स्पष्ट पार्न सङ्घहरूलाई निर्देशन दिएपछि यो स्थिति उत्पन्न भएको हो । राखेपअन्तर्गत ४० राष्ट्रिय खेलकुद सङ्घहरू रहे पनि उनीहरू विभाजित छन् । जसमा २६ सङ्घको आबद्धता नेपाल ओलम्पिक कमिटीमा रहेको छ भने अन्यले एनओसीलाई बहिष्कार गरेका छन् । यो समीकरण एनओसीको निर्वाचनताकाको भएको तर अहिले राखेपको मातहतमा बढी सङ्घहरू रहेको राखेपले दाबी गरेको छ । प्राप्त जानकारीअनुसार गोप्यरूपमा अन्य सङ्घहरूले पनि राखेपको कदमलाई सघाउने वचनबद्धता गरेको थाहा भएको छ ।
नेपाल ओलम्पिक कमिटीले अन्तर्राष्ट्रिय खेलकुदका हरेक गतिविधिमा राखेपलाई बाइपास गर्दै आफ्नो अधिनायकवाद लादेपछि एनओसीको नाकमा रस्सी लगाउन राखेपले यो रणनीति अख्तियार गरेको हो । खेलाडीको लागि करोडौँ खर्च गर्ने नेपाल सरकार, खेलाडी उत्पादन गर्ने राखेप, खेलकुदका सङ्घहरू राखेपका तर अन्तर्राष्ट्रिय मान्यताको शान देखाउँदै मोज लुट्ने ओलम्पिक कमिटी बनेपछि राखेपले यस्तो कदम उठाएको हो । नेपाली खेलकुदमाथि अन्तर्राष्ट्रिय प्रतिबन्धको धाक लगाउँदै आफ्नो स्वार्थसिद्ध गर्दै आएको एनओसीले अहिले लन्डन ओलम्पिकमा पनि तानाशाही प्रवृत्ति देखाएपछि राखेपले आफ्नो साखका लागि पनि यस्तो कदम उठाउन बाध्य भएको राखेपका सदस्यसचिव युवराज लामाले बताएका छन् ।
अन्तर्राष्ट्रिय मान्यता र ओलम्पिक चार्टरको दुहाई दिँदै खेलकुद र खेलाडीको भविष्यमाथि खेल्दै आएको एनओसीले लन्डन ओलम्पिकमा नेपाली खेलाडीको सहभागिता सम्बन्धमा राखेपसँग कुनै छलफल र परामर्श गरेको थिएन । राखेपलाई थाहै नदिई उल्टै ओलम्पिकमा सहभागिता दिन जाने खेलाडीको बिदाइ सदस्यसचिव लामाबाट गराएको थियो । त्यसपछि एनओसी र राखेपको सम्बन्धमा निकै ठूलो दरार परेको थियो । फलस्वरूप राखेपले एनओसीको हैसियत देखाउने प्रयासमा गत साता ‘लन्डन ओलम्पिक २०१२ सहभागिता, सम्भावना र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रम गरेको थियो । उक्त कार्यक्रममा लामाले एनओसीसँगको नौमहिने सहकार्यबाट आफू थाकिसकेको, गलिसकेको प्रस्ट पारेका थिए । सो अवसरमा लामाले अहिले पनि प्रधान नेतृत्वको ओलम्पिकमा सामन्ती संस्कार, निरङ्कुशता, अपारदर्शिता र आर्थिक अपचलनको पराकाष्ठा रहेकोसमेत दाबी गर्दै अब कुनै हालतमा उक्त एनओसीसँग सहकार्य हुन नसक्ने बताएका थिए । एनओसीको यही हैकमदावी प्रवृत्तिका कारणले आफू लन्डन ओलम्पिकको ‘सेभ द मिसन’ नबन्नेसमेत घोषणा गरेका थिए । तर, अहिले पनि आफ्नो जालमा पार्न एनओसीका पदाधिकारीहरूले राखेपका सदस्यसचिवले एनओसीलार्ई ‘सेभ द मिसन’ नहुने भनेर पत्राचार नगरेको बताएका छन् । यो कुरालाई सदस्यसचिव लामाले एनओसीका पदाधिकारीको ‘षडयन्त्र’को अर्को चाल भएको बताउँदै आफू सेभ द मिसन पनि नहुने र पत्राचार पनि नगर्ने प्रस्ट पारेका छन् । राखेपका अनुसार लामाले पत्राचार गरे त्यो पत्रलाई अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीमा पठाएर लामालाई आईओसीको कालोसूचीमा पार्ने एनओसीका पदाधिकारीको चाल रहेको बुभिएको छ ।
यसरी खेलकुदको वृक्षमा एनओसीको ऐंजेरूले नराम्रोसँग गाँजेपछि त्यो ऐंजेरूलाई काटेर फ्याँक्न राखेपले खेलकुदका सङ्घहरूसँग राय–सुझाब माग्दै छलफलको प्रक्रियालाई अगाडि बढाइरहेको छ । अहिले केही सङ्घहरूसँग पहिलो चरणको वार्ता सम्पन्न भइसकेको छ भने अर्को वार्तामा राखेपले ४० वटै सङ्घलाई बोलाएको छ । सो वार्तामा राखेपले सङ्घहरूसँग स्पष्ट धारणाबारे जानकारी माग्ने भएको छ । यसमा सङ्घहरूले सहयोग गर्ने कुरामा राखेपले विश्वास पनि प्रकट गरेको छ । राखेपका अनुसार राखेपअन्तर्गत रहेका र राखेपको विधानसम्मत गठन भएका सङ्घहरूले राखेपको कार्यमा हातेमालो गर्ने प्रस्ट पारेको छ । यदि सङ्घहरूले यसमा अटेरी गरे अथवा आलटाल गर्न खोजे उनीहरूलाई कानुनको दायरामा लिएर कानुनी कारबाही गरिने राखेपले जनाएको छ ।
राखेपको यो निर्देशनले अहिले खेलकुदका सङ्घहरूलाई बोलबोल माछा मुखभरि पानीजस्तै भएको छ । राखेप र एनओसीको विवाद चरम उत्कर्षमा पुगेपछि अब उनीहरू कतातिर लाग्ने त्यसलाई पहिल्याउन सकेका छैनन् । एकातिर खाई अर्कोतिर कुवाको अवस्थामा पुगेका सङ्घहरू अहिले गन्तव्यविहीन बन्न पुगेका छन् । एनओसीलाई साथ दिँदा राखेपले कारबाही गर्ने सन्त्रासले एकातिर उनीहरू छटपटाइरहेका छन् भने अर्कोतर्फ एनओसीमा खाईपाई खाएको दानापानी छुट्ने अवस्थामा पुगेको छ । यस्तो अवस्थामा सङ्घहरू अनिर्णयको बन्दी बन्न पुगेका छन् । राखेप सूत्रले सङ्घको निर्णय नै अहिले सबैभन्दा महत्वपूर्ण भएकोले सङ्घले समग्र खेलकुदको विकास, निकास र हितका लागि दूरदर्शी भएर निर्णय गर्ने बताएको छ ।
लन्डन ओलम्पिकमा सहभागी खेलाडीलाई कुनै पनि मानसिक असर नपरोस् भन्ने ध्येय राखेको राखेपले त्यसपछि एनओसीमाथि धावा बोल्ने पक्का भएको छ । यसका लागि केही सङ्घहरूले राखेपलाई साथ नदिएको अवस्थामा पनि राखेपले ओलम्पिक कमिटीलाई विघटन गर्ने प्रायः निश्चित भएको छ । राखेपले आफूहरूलाई प्रतिबन्धको कुनै डर नभएको बताउँदै खेलकुदको विकास र निकासका लागि प्रतिबन्ध सहन पनि तयार रहेको स्पष्ट पारेको छ । कतिन्जेल प्रतिबन्ध ? त्यो आफूहरूले राम्रोसँग बुझेको खुलासा गर्दै दुई–चार महिनामा सबै समाधान हुने बताएका छन् । अब प्रतिबन्धको डर देखाएर खेलकुदमा रजाइँ गर्ने सपना नदेखे हुन्छ भन्दै छिमेकी दक्षिण एसियाली राष्ट्रलाई आईओसीले यस्तै घटनामा कति महिना कारबाही गर्‍यो त्यसको इतिहास पल्टाए पनि काफी हुने राखेपको दाबी छ । खेलकुदको ऐन नियम कुल्चेर खेलकुदमा पार्टीगत राजनीति गर्नलाई कदापि नछोडिने पनि राखेपले बताएको छ ।
यसरी अहिले राखेप भोकाएको बाघसरी देखिएको छ । अब उसले आफ्नो आहारा कस–कसलाई बनाउँछ त्यो प्रतीक्षाको विषय बने पनि ओलम्पिक कमिटी पहिलो आहारा बन्ने प्रायः निश्चित छ । त्यसका लागि राखेपले साम, दाम, दण्ड र भेद चारै नीति प्रयोग गर्ने बुझिएको छ । खेलकुदका सङ्घहरूको सहकार्यवाट शुभारम्भ हुने राखेपको अभियान मन्त्रिपरिषद्सम्म पुग्नेछ । अन्तिम अस्त्र मन्त्रिपरिषद्को निर्णय हुने पनि राखेपले जनाएको छ । राजनीतिक निर्णय ओलम्पिकमा हस्तक्षेपको रूपमा चिनिने भए पनि समस्याको समाधानका लागि योभन्दा अर्को विकल्प नभएको राखेपको बुझाइ रहेको छ ।

स्व. बस्नेतका परिवारलाई आर्थिक सहयोग
राष्ट्रिय खेलकुद परिषद्का वरिष्ठ अधिकृत राजेन्द्रकुमार बस्नेतको परिवारलाई आर्थिक सहयोग प्रदान गरिएको छ । खेलकुद बचत तथा ऋण सहकारी संस्था लिमिटेडले स्व. बस्नेतका परिवारलाई तीन लाख रुपैयाँ प्रदान गरेको हो । स्व. बस्नेतको निक्षेप र सेयर बिक्रीबाट प्राप्त ५९ हजार चार सय ७० रुपैयाँमा खेलकुद बचतका २४ संस्थापकले रकम थप गरी एक लाख पुर्‍याएर प्रदान गरेका हुन् । बाँकी दुई लाख उनका नाबालक छोराको एसएलसीसम्मको अध्ययनका लागि प्रदान गरिएको थियो । उक्त दुई लाख मासिक रूपमा १० वर्षभित्र बाबा बचत सहकारीमा जम्मा गरिदिने खेलकुद बचतले जनाएको छ । स्व. बस्नेत खेलकुद बचतका उपाध्यक्ष थिए । दुवै रकमबराबरको चेक राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव युवराज लामाले स्व. बस्नेतकी धर्मपत्नी कल्पनालाई एक कार्यक्रमबीच हस्तान्तरण गरेका थिए ।
यसअघि पनि राखेपका स्थायी कर्मचारीहरूतर्फबाट एक लाख ९२ हजार तीन सय रुपैयाँ स्व. बस्नेतका परिवारलाई प्रदान गरिएको थियो । ४४ वर्षीय बस्नेतको गत फागुन २ गते अमेरिकास्थित न्युजर्सीमा सडक दुर्घटनामा परी निधन भएको थियो । स्व. बस्नेतका श्रीमतीसहित चार वर्षीय एक नाबालक छोरा छन् । छोराको पठनपाठनका निम्ति राखेपले पनि तीन लाख सहयोग गर्न युवा तथा खेलकुद मन्त्रालयमार्फत सरकारसमक्ष सिफारिस गर्ने निर्णय गरिसकेको छ ।

रजतधारी अनिशा लामा सम्मानित
काजकिस्तानको आस्तानामा भएको एसियाली सिन क्योकुसिन कराते च्याम्पियनसिपकी रजत पदक विजेता अनिशा लामा स्याङ्तान नगदसहित सम्मानित भएकी छिन् । नेपाल सिन क्योकुसिन कराते सङ्घ, लुनिभा सहकारी संस्था लिमिटेड, नेपाल खेलकुद महासङ्घअन्तर्गतको राष्ट्रिय फुलकन्ट्याक्ट कराते सङ्घ तथा नेपाल फुलकन्ट्याक्ट कराते महासङ्घले अनिशालाई नगदसहित प्रशंसापत्रद्वारा सम्मान गरेको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्मा आयोजित कार्यक्रममा अनिशालाई सिन क्योकुसिनले १५ हजार पाँच सय, लुनिभाले १० हजार तथा राष्ट्रिय फुलकन्ट्याक्ट र फुलकन्ट्याक्ट महासङ्घले समान पाँच–पाँच हजार नगद प्रदान गरेका थिए ।
त्यस्तै, उक्त प्रतियोगितामा प्रशिक्षकको भूमिका निर्वाह गरेका कुमार श्रेष्ठ पनि प्रशंसापत्रद्वारा सम्मानित भए । अनिशाले महिलाको ६५ केजी तौल समूहमा रजत हात पारेकी थिइन् । अनिशाले क्वाटरफाइनलमा मलेसिया र सेमिफाइनलमा रुसका खेलाडीलाई हराएकी थिइन् । फाइनलमा भने अनिशा काजकिस्तानकी खेलाडीसँग पराजित भएकी थिइन् । जुन २१ देखि २५ तारिखसम्म भएको प्रतियोगितामा १५ राष्ट्र सहभागी थिए । उक्त सफलतासँगै अनिशाले लिथुआनियामा सन् २०१३ मा हुने विश्व च्याम्पियनसिपका लागि छनोट भएको प्रशिक्षक कुमारले जानकारी गराए ।

ओस्कार तेक्वान्दो टिम च्याम्पियन
प्रथम काठमाडौं जिल्लास्तरीय तेक्वान्दो (युनियन) प्रतियोगितामा ओस्कार ६ स्वर्णसहित टिम च्याम्पियन बन्न सफल भएको छ । राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको पुरुषको २०–२५ केजीमा सुजन मार्पाले सुप्रिमका जङ्गे मगर तथा ३०–३५ केजीमा विवेक सिग्देलले ओस्करका सुजन लुइँटेललाई पराजित गरेका थिए ।
काठमाडौं जिल्ला खेलकुद विकास समिति तथा राष्ट्रिय तेक्वान्दो युनियन, नेपाल काठमाडौं जिल्ला कार्यसमितिद्वारा आयोजित प्रतियोगिताको पुरुष २५–३० केजीमा होली एन्जल्सका सुरज मगर पहिलो भए । फाइनलमा उनले ओस्करका अनिल कुँवरलाई पाखा लगाएका थिए । त्यस्तै पुरुषको ४०–४५ केजीमा सुप्रिमका श्यामचन्द्र क्षेत्री पहिलो र ग्रिनलन्सका सञ्जीव सङ्ग्रौला दोस्रो, ४७–५० केजीमा ग्रिनलन्सका निकेश महर्जन पहिलो र होली एन्जल्सका किशान बमजन दोस्रो, ५०–५४ केजीमा ओस्करका सुमन सेर्मा लिम्बू पहिलो र आरम्भ कपन युवा क्लबका सुजन तामाङ दोस्रो, ५४–५८ केजीमा ग्रिनलन्सका प्रकाश तामाङ पहिलो र होली एन्जल्सका विकास तामाङ दोस्रो तथा ५८–६२ केजीमा ओस्करका भरत गुरुङ पहिलो र होली एन्जल्सका अर्जुन खड्का दोस्रो भएका थिए ।
महिलाको ४९–५३ केजीमा होली एन्जल्सकी मनीषा मगर पहिलो र लिटिल मुन कपनकी पुष्पा पौडेल दोस्रो, ४७–४९ केजी ओस्कारकी सविना भट्टराई पहिलो, ३०–३५ केजीमा ओस्कारकी गंगा कार्की पहिलो र लिटिल मुनकी गोमा मगर दोस्रो तथा ३६–४० केजीमा ओस्कारकी रूपा थापा पहिलो र होली एन्जल्सकी अनिता सुनुवार दोस्रो भएका थिए । पहिलो हुने सबै खेलाडी मकवानपुरको हेटौंडामा हुने पहिलो मध्यमाञ्चल क्षेत्रीय तेक्वान्दो (युनियन) प्रतियोगिताका लागि छनोट भएको केन्द्रीय महासचिव राजकुमार कार्कीले जानकारी दिए । प्रतियोगितामा १४ स्वर्णका लागि एक सय २० खेलाडीले सहभागिता जनाएका थिए ।

दुवै ओलम्पिकलाई विघटन गर्ने सिफारिस
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ९३औँ बोर्ड बैठक राखेप संरक्षक प्रधानमन्त्री डा. बाबुराम भट्टराईको अध्यक्षतामा हालै राष्ट्रिय खेलकुद परिषद्मा सम्पन्न भएको छ । उक्त ऐतिहासिक बैठकले विभिन्न मुद्दाहरूमा निर्णय गरेको छ । जसमा समग्र खेलकुदको विकासमा प्रत्यक्ष सरोकार राख्ने र विगत थुप्रै वर्षदेखि विवादमा रहेको ओलम्पिक कमिटीको समस्या समाधानको मुद्दामाथि निर्णय गरिएको छ ।
नेपालमा स्पोर्टस् कलेज र स्पोर्टस् एकेडेमी तथा राष्ट्रियस्तरका प्रतियोगिता गर्न र अभ्यास गर्नका लागि समेत कभर्डहलहरूको कमी रहेकोले सातदोबाटोको सुटिङ रेञ्जमा खाली रहेको जग्गामा सुटिङ रेञ्जलाई असर नपर्ने गरी ६ वटा कभर्डहल निर्माण गर्न निर्णय गरेको छ । त्यस्तै खेलाडी जीवन व्यतीत गरिरहेका खेलाडीबाट दुई हजार पाँच सयदेखि तीन हजारसम्म प्रशिक्षण दिन सक्ने योग्य व्यक्तिहरू छनोट गरी स्तरीय खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ खेल शिक्षक तयार गर्ने निर्णय गरेको छ ।
यसैगरी नेपाल ओलम्पिक कमिटीको विवादमा पनि राखेपले निर्णय गरेको छ । राखेपले आफ्नो निर्णयमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त भनिएको ओलम्पिक कमिटीले नेपाल ओलम्पिक कमिटीको नामबाट राष्ट्रिय ओलम्पिक कमिटीमा परिणत गरी विभिन्न मितिमा काठमाडौं जिल्ला प्रशासन कार्यालयमा ओलम्पिक कमिटी दर्ता गर्ने प्रयासहरू गरिएको तर परिषद्को स्वीकृति लिनुपर्ने अवस्था भएकोले काठमाडौं जिल्ला प्रशासन कार्यालयमा दर्ता गर्न सम्भव नदेखिएकोले पुनः डोटी जिल्ला प्रशासन कार्यालयमा मिति ०६८ साउन २२ गते राष्ट्रिय खेलकुद परिषद्को सहमति र स्वीकृति नलिई दर्ता गरेको, राष्ट्रिय सङ्घहरूसँग सहकार्य गर्नुपर्नेमा नगरेको, विदेशबाट प्राप्त रकमहरूको पारदर्शिताबारे परिषद्द्वारा पत्रचार हुँदासमेत अटेर गरी गैरकानुनी तवरले रकम भित्याउने कार्य गरेको, ओलम्पिक कमिटीजस्तो मर्यादित संस्थालाई एनजीओको रूपमा दर्ता गरी सञ्चालनमा ल्याउने अभिप्रायले कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता गर्न कोसिस गरेकोले अन्तर्राष्ट्रिय मान्यता प्राप्त भनिएको ओलम्पिक कमिटीको मनसायमा खोट देखिएको छ ।
उल्लिखित कार्यहरूबारे परिषद्ले पत्राचार गर्दासमेत परिषद्को पत्रलाई बेवास्ता गरेको र खेलकुद विकास ऐन २०४८ र खेलकुद विकास नियम २०४९ को समेत बर्खिलाप गरी काम गर्दै आएको छ । त्यस्तै सम्मानित सर्वोच्च अदालतको पैmसलाबाट निरन्तरता पाएको नेपाल ओलम्पिक कमिटीले फैसलाको अवधिदेखि हालसम्म पत्राचारबाहेक कुनै पनि किसिमको कामकारबाही अगाडि नबढाएको देखिएको छ । तसर्थ ओलम्पिक चार्टर र नेपालको प्रचलित कानुनलाई मध्यनजर गरी दुवै ओलम्पिक कमिटीलाई विघटन गरी एक मात्र निर्वाचित ओलम्पिक कमिटी गठन गर्न उपयुक्त हुने देखिएकोले दुवै ओलम्पिक कमिटीलाई विघटन गर्न युवा तथा खेलकुद मन्त्रालयमार्फत मन्त्रिपरिषद्समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
त्यस्तै ६० वर्ष उमेर पुगेका, एसियाली खेलकुदमा पदक ल्याएका र ओलम्पिक खेलमा सहभागी भएका कुनै पनि खेलका खेलाडीलाई खेलप्रतिको आकर्षक बढाउन, निजहरूको जीवनवृत्तिमा सहयोग पुर्‍याउन, खेलकुदमा लाग्ने खेलाडीप्रति राज्यको दायित्व, भूमिका र जिम्मेबारीबोध गराउन खेलाडी प्रोत्साहन भत्तास्वरूप मासिक रु. पाँच हजार कार्यविधि बनाएर उपलब्ध गराउन प्रस्ताव गरिएको छ । त्यस्तै राष्ट्रिय खेलकुद परिषद्ले प्रयोगमा ल्याइरहेको दशरथ रंगशाला अन्तर्राष्ट्रियस्तरको एक मात्र रंगशाला रहेको भए तापनि उक्त रंगशाला पुरानो भई जीर्ण अवस्थामा पुगिसकेको हँुदा त्यसको विकल्पमा ४० देखि ५० हजारसम्म दर्शकक्षमता भएको अन्तर्राष्ट्रिय रंगशाला निर्माण गर्न अति आवश्यक देखिएको हुँदा ललितपुर जिल्लास्थित खुमलटारस्थित कृषि विकास कार्यालयले प्रयोग गरिरहेको जग्गा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण गर्न नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयमार्फत मन्त्रिपरिषद्समक्ष माग गर्न सिफारिस गर्ने निर्णय गरेको छ । मुलपानी वा हात्तीगौंडाको खेलमैदानमा फुटबल खेल खेल्न मिल्ने आठ हजारदेखि १० हजारसम्मको दर्शकक्षमता भएको मिनी रंगशाला बनाउनका लागि प्रस्ताव गर्ने निर्णय गरेको छ । विभिन्न १९ देशमा रहेका एनआरएनहरूलाई खेलकुद र संस्कृति विकासमा परिचालन गर्न खेलकुद तथा संस्कृति समाज गठन गर्न विधान बनाई प्रक्रिया थाल्नका लागि कार्यविधि बनाउने निर्णय गरिएको छ ।

राष्ट्रिय विशेष खेलकुद सम्पन्न
मंगलप्रसाद उमावि, नेपालगञ्जका राधेश्याम चौधरी र केन्द्रीय बहिरा उमावि, काठमाडौंकी लक्ष्मी महर्जनले १७औँ विद्यालयस्तरीय राष्ट्रिय विशेष खेलकुद प्रतियोगितामा दोहोरो स्वर्ण जितेकी छिन् । पूर्ण दृष्टिविहीनतर्फ राधेश्यामले छात्रको सटपुट र सफ्टबल थ्रोमा स्वर्ण हात पारेका थिए । सटपुटमा नमुना मच्छिन्द्र उमाविका सुमन देवकोटा दोस्रो तथा ल्याबोरेटरी मावि, कीर्तिपुरका युवराज लामा तेस्रो भए । सफ्टबलमा ज्ञानचक्षु मावि, धरानका दीपक राई दोस्रो तथा दमकडा उमावि, पाल्पाका कोषबहादुर दर्लामी तेस्रो भएका थिए ।
लक्ष्मीले बहिरातर्फ छात्राको दुई सय मिटर दौड र लङजम्पमा स्वर्ण जितेकी थिइन् । दौडमा धौलागिरी बहिरा विद्यालय, बाग्लुङकी तिलदेवी गर्बुजा दोस्रो तथा काभ्रे बहिरा विद्यालय, बनेपाकी सुष्मा श्रेष्ठ तेस्रो भएका थिए । लङजम्पमा सिर्जना बहिरा उमावि, पोखराकी डासीमाया खनाल दोस्रो तथा विराट बहिरा मावि, विराटनगरकी अनुराधा पौडेल तेस्रो भए । त्यस्तै, राष्ट्रिय खेलकुद परिषद्द्वारा आयोजित प्रतियोगिताको बहिरातर्फ छात्र लङजम्पमा विराटका राजुकुमार चौधरी पहिलो, केन्द्रीय बहिराका दीपक कटवाल दोस्रो तथा बहिरा बाल उमावि, भैरहवाका चित्रण गुरुङ तेस्रो भए । आंशिक दृष्टिविहीनको छात्र सफ्टबल थ्रोमा अमरसिंह उमावि, पोखराका जीवन तामाङ पहिलो, ल्याबोरेटरीका श्यामलाल ढुङ्गाना दोस्रो तथा मंगलका नरेश चौधरी तेस्रो भए । उक्त स्पर्धाको छात्रामा सपना चौधरी पहिलो, ओम पुन दोस्रो तथा हरिकला रोका तेस्रो भएका थिए ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पूर्ण दृष्टिविहीनको छात्रा सफ्टबलमा कर्णाली उमाविकी सरस्वती पनेरू पहिलो, नारायणीकी हरिमाया सारू दोस्रो तथा अमरकी रीता थापा तेस्रो भए । शारीरिक अपाङ्गको छात्रा १ सय मिटर दौड (वैशाखी नलिएर) मा खगेन्द्र नवजीवन मावि, जोरपाटीकी कविता लामा पहिलो, नेपाल अपाङ्ग सङ्घ, दाङकी रीता सिलवाल दोस्रो तथा लमजुङ सीबीआरकी अप्सरा पाण्डे तेस्रो भए । छात्राको सय मिटर दौड (दुई वैशाखी लिएर) मा अपाङ्ग सङ्घ, बाँकेका ललिता थारू पहिलो र हिरा थापा दोस्रो तथा अपाङ्ग सङ्घ, झापाकी आशामाया लिम्बू तेस्रो भए । विजेतालाई राखेपका पूर्वसदस्य एवम् नेपाल पारा ओलम्पिक कमिटीका अध्यक्ष दीपक कोइराला, खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख कमल खनाललगायतका व्यक्तिहरूले पुरस्कार प्रदान गरेका थिए । बिहीबारदेखि सुरु प्रतियोगितामा विभिन्न ३६ विद्यालयका तीन सय दुई प्रतिस्पर्धीले ४२ स्वर्णका लागि प्रतिस्पर्धा गरेका थिए ।