सरकारको नेतृत्व अब कुन पार्टीलाई दिनु उचित ?

सरकारको नेतृत्व अब कुन पार्टीलाई दिनु उचित ?


० आलोककुमार शर्मा
अबको सरकारको नेतृत्व नेपाली काङ्ग्रेसले गर्न पाउनुपर्छ भन्नेमा कसैले विवाद नगर्दा हुन्छ । मैले यसो भन्नुको कारण छ । त्यो के भने, मुलुकमा गणतन्त्र स्थापना भएयता तीन प्रमुख दल प्रत्येकले पालैपालो आ-आफ्नो नेतृत्वमा सरकार चलाउने मौका पाए । सुरुमा काङ्ग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सरकार बन्यो भने त्यसपछि क्रमशः माओवादी र एमालेले सरकार सञ्चालनको चाबी हातमा लिए । तर, तुलनात्मक रूपमा हेर्ने हो भने माओवादी र एमाले नेतृत्वको सरकार घोर असफल बन्न पुग्यो । संविधान निर्माण गर्ने सवालमा यी दुवै सरकारले व्यहोरेको असफलता ऐतिहासिक रूपमा धिक्कारयोग्य छ । तर, अत्यन्त कठिन कालखण्डमा पनि काङ्ग्रेसले सरकारको नेतृत्व गर्दै कसैले नचिताएको संविधानसभाको निर्वाचन सम्पन्न गरेर देखायो । यस हिसाबमा अब काङ्ग्रेसले नै सरकारको नेतृत्व पाउनुपर्छ, तब मात्र अबको ११ महिनामा संविधानलेखन कार्य सम्पन्न हुन सक्छ ।

० अमृत तामाङ
प्रधानमन्त्री माधव नेपालले एक्कासि राजीनामा दिएपछि सरकारको नेतृत्व लिन तीन ठूला दलहरू मात्र नभई मधेसवादी दलबाट पनि कसरत भएको देखिएको छ । देशलाई राजनीतिक निकास दिनका लागि सहमतिको आवश्यकता छ भन्नेमा सबै सहमत छन् तर प्रधानमन्त्री बनाउने सवालमा चाहिँ बहुमतीय प्रणाली अपनाउनुपर्ने तर्क गर्नेहरू पनि प्रशस्तै छन् । यसले अझ पनि यहाँ सत्ताको अस्वस्थ खेल चलिरहेको छ, देश र जनताका समस्याप्रति राजनीतिक दलहरू उदासीन नै छन् भन्ने प्रस्ट हुन्छ ।
यस्तो परिवेशमा म त के भन्छु भने अब संविधान बनेर चुनाव नभएसम्म यी दल या दलका नेताहरूलाई सरकारको नेतृत्व सुम्पनु नै हुँदैन । नागरिक समाजबाट कुनै निष्पक्ष र योग्य व्यक्तिको नेतृत्वमा कामचलाउ सरकार गठन गर्नुपर्छ, दलहरूचाहिँ सबै एकसूत्रीय रूपमा संविधान निर्माणकार्यमा जुट्नु अपरिहार्य छ । त्यसो भएपछि सत्ताको हानथाप पनि हुँदैन र संविधान पनि चाँडो निर्माण हुन सक्छ ।

० श्रीबहादुर थापा
भावी सरकारको नेतृत्वका सवालमा मेरो भनाइ यही छ कि ठूलो दलका नाताले माओवादीले नै सरकारको नेतृत्व गर्न पाउनुपर्छ । जनताले त्यसरी म्यान्डेट दिएको शक्तिलाई सकभर किनारा लगाएर अघि बढ्ने यहाँ अत्यन्त निकृष्ट चाल कतिपयले चलिरहेका छन् । यसो गर्नु भनेको फेरि पनि देशलाई द्वन्द्वको दलदलमा फसाउन खोज्नु नै हो । यदि माओवादीलाई अझै पनि जिस्क्याइरहने हो भने मुलुकले अबको अर्को एक दशकको अवधि पनि राजनीतिक रूपमा दिशाविहीन भएरै गुज्रनेमा शङ्कै छैन । मुलुकको सबभन्दा ठूलो दल अब अर्काको पिछलग्गु भएर बसिरहन सुहाउँदैन र मिल्दैन पनि ।

० सविता र्राई
खाइपाई आएको सत्ताको नेतृत्व छोडेर एमालेले आफूलाई निकम्मा सावित गरिसकेको वर्तमान अवस्थामा अब सरकारको नेतृत्व गर्ने पालो नेपाली काङ्ग्रेसको हो । माओवादी र एमाले एकप्रकारले असफल भइसकेका र संविधानसभाको निर्वाचनपछि काङ्ग्रेसले कस्तो शासन सञ्चालन गर्छ भन्ने हेर्न जनता इच्छुक पनि रहेको परिवेशमा उसको नेतृत्व स्वीकार गर्न एमाले र माओवादी हिच्किचाउनु पनि हुँदैन । बरु काङ्ग्रेसभित्रैचाहिँ को प्रधानमन्त्री बन्ने भन्नेमा छिटोभन्दा छिटो सहमति बन्नु आवश्यक छ ।

० किसनसिंह महतो
सत्ताका निम्ति लुछाचुँडी गर्ने दलहरूको प्रवृत्ति देख्दा त यिनीहरू सबै तिरस्कारयोग्य नै छन् । तर, एक न एकले त नेतृत्व गर्नैपर्ने हुन्छ । मेरो विचारमा जसले बहुमत जुटाउन सक्छ त्यही दललाई मौका दिनु उपयुक्त हुन्छ । लोकतान्त्रिक विधि पनि त्यही नै हो । हरेक दलले कसलाई प्रधानमन्त्री बनाउने हो, आ-आफ्नोतर्फबाट व्यक्तिको चयन भने गरिहाल्नुपर्छ । त्यसपछि अन्य दलको सहयोग जुटाउन पार्टीका सबै एक भएर लाग्नुपर्छ । अहिलेसम्म चर्चामा आएकाहरूमध्ये व्यक्तिको नाम लिनुपर्दा माओवादी नेता डा. बाबुराम भट्टर्राई प्रधानमन्त्रीका लागि उपयुक्त हुन्छन् कि भन्ने मलाई लाग्छ । उनलाई दिएमा एक त सबभन्दा ठूलो दलको कदर गरेझैं पनि हुन्छ र मुलुकको पनि केही न केही भलो नै होला ।

० अस्मिना श्रेष्ठ
दलहरू आपसी छलफलबाट टुङ्गोमा पुग्न सक्दैनन् भने अब सरकारको नेतृत्व काङ्ग्रेसले पाउनुपर्छ । पहिलो र तेस्रो नम्बरका दलहरूले अवसर पाइसके भने अब काङ्ग्रेसकै हक छ । गर्न सक्ने या नसक्ने सवाल आफ्नो ठाउँमा होला । काङ्ग्रेसको संसदीय दलका नेतालाई प्रधानमन्त्री बन्ने मार्ग प्रशस्त गरिदिएर दलहरू थपिएको अवधिमा संविधान निर्माण गर्न लागिपर्नुपर्छ ।